विचार

विकास कोषले विनाश गरेको पशुपति !

लिलाराज खतिवडा |
कात्तिक १९, २०७८ शुक्रवार १२:४६ बजे

हुनुपर्ने पशुपति 
यता भैरवहरू मासु खाइरहेका । उता साँढे र गाईहरू हरियो घाँस खाएर उग्राइरहेका । बाँदरहरूलाई मनग्य फलफूल र छोडाएर खाने बदाम छरिएको । अनि बाँदरहरू रमाइरमाइ आहार गरिरहेका । मन्दिर परिसरमा ठूलो संख्यामा परेवाहरू पनि चारो खाइरहेका । खरायो, सेतामुसा, गिनीपिग र लोखर्केहरूलाई पनि यथेष्ट गाँजर, काँक्रो, लौका र विभिन्‍न सागहरूको व्यवस्था थियो । अरु किसिमका पशुपन्छी पनि फाट्टफुट्ट उपस्थित भएर उपलब्ध आहार गरिरहेका । बिरालो, सर्प, छेपारा, सुगा, कुखुरा, हाँसहरू बडा अनुशासित भएर आहार गरिरहेका ।

मान्छेहरू व्यवस्थित रूपमा पशुपन्छीलाई चारो खुवाइरहेका । भक्तजनहरू हातमा विभिन्‍न प्रकारका चारो, आहार र खाजाको पोको बोकेर पशुपतिनाथको मन्दिर धाउन थाले । टाढाटाढाबाट अन्य पशुपन्छी पनि भेला हुन थाले । जावलाखेलको चिडियाघरबाट फुत्किएर डाँफे, मयुर, सारस र बकुल्लाहरू समेत पशुपतिनाथ आइपुगे । सारा दृश्य फेरियो । 


अब ढुंगा र पित्तलका साँढेलाई प्रसाद चढ्न छाड्यो । शिवलिंगमा दूध चढाउन बन्देज लगाइयो । ढुंगाले बनेको हनुमानको मूर्तिमा सुनचाँदी नचढाएर बिमारी बाँदरको उपचार र उनीहरूका लागि पोषणयुक्त खानामा खर्च गर्न थालियो । पशुपतिनाथमा भट्ट र पूजारीहरू समेत खारेज भए । अब त्यहाँ सकेसम्म बढी पशुपन्छीहरू ल्याउने र तिनीहरूलाई आहार गराउने स्वयंसेवकहरू सक्रिय भए । सडकमा बेवारिसे भएका गाईवस्तु र भैरवहरूलाई सुरक्षित उठाएर पशुपति ल्याइयो । बिरामीको यथोचित उपचार गरियो ।

चिडियाघरबाट हात्तीहरू ल्याइयो । सौराहा र बर्दियाबाटसमेत हात्तीहरू ल्याइयो । पशुपतिको रौनक फेरिएको थियो । मान्छेहरू भन्‍न थाले, बल्ल पशुपति वास्तविक पशुपति हुन गयो । नत्र यहाँ पशुपन्छीलाई सताएर मान्छेले उनीहरूको आहार पनि खोसेर खाइरहेको अवस्था थियो । पशुपन्छीको भागसमेत खोसेर खाने मान्छे पापी हो कि होइन ? हो भने, उसलाई कस्तो कारबाही गर्ने ?  

हालको पशुपति    
पशुपतिनाथ मन्दिरमा विकास कोषका तर्फबाट भएका व्यापक भ्रष्टाचार अब जनमानसमा उजागर भइसकेका छन् । त्यहाँ धर्मका नाउँमा धन्दा भइरहेको पुष्टि भइसक्दा पनि कसैलाई कारबाही गरिएको सुन्‍नमा आएको छैन । पशुपतिको जग्गा हिनामिना, ऐतिहासिक भग्‍नावशेषमाथि गिद्धेनजर, भेटी अनियमितता, चोरी ढोकाबाट महँगो रकम लिएर भक्त छिराउने, पर्यटक ठग्‍ने लगायत भर्खरैको जलहरी काण्ड आराध्यदेवका आँगनमा छताछुल्ल छन् । 

पशुपति यस्तो मन्दिर हो जहाँ पित्तलको साँढेको पूजा हुन्छ र जीवित साँढेहरू रोग र भोकले आक्रान्त । पत्थरका हनुमान र भैरवको पूजा हुन्छ । तर जीवित बाँदर र कुकुरहरूको हालत निरीह छ । बिरामी पशुहरूलाई उचित उपचार र यथेष्ट भोजन छैन । पशुको दाना पनि खोसेर त्यहाँ मान्छेहरूले खाइदिएका छन् । भैरवको नाउँमा पशुपतिनाथको मन्दिरमा पशुबलि पनि दिइन्छ । तर त्यहाँका कुकुरहरूले मासु चाख्‍नसमेत पाउँदैनन् । यहाँ मान्छेहरूलाई पुगिरहेको छैन । कुकुरलाई कसले याद गर्ने ?

पशुपतिनाथलाई राजनीतिक आशीर्वादले चल्ने विकास कोषले ठिकसँग चलाउन नसकेको मात्रै होइन । भएको पनि बर्वाद तुल्याएको छ । शौचालय कहिल्यै चुस्त बनाउन सकेन । राम मन्दिरपछाडिको ऐतिहासिक र पुरातात्विक गोपाल मन्दिरलाई चिहानघारी बनाएको छ । भएको मन्दिर भत्किएको छ । मर्मत सम्भार छैन । रेखदेख छैन । राजनीतिक लठेतहरूलाई धर्मको महत्त्व साँच्चिकै थाहा हुँदो रहेनछ । कुनै पनि स्थानीय विगत कैयौँ वर्षदेखि पशुपति विकास कोषका कार्यहरूप्रति सन्तुष्ट छैन । उनीहरूले विकास कोषलाई पशुपतिका नाउँमा केवल धन्दा गरिरहेको आरोप लगाउँदै आएका छन् । स्थानीय बासिन्दा मात्रै होइन, पशुपतिमा चराचुरुंगी, पशु, साधु, भक्त, पर्यटक कोही पनि खुसी छैन । सूर्यघाटलाई स्थानीयले संरक्षण गरेर राखेकामा त्यसमा पनि विकास कोषले देखिसकेको छैन । बेलाबेला त्यहाँ हुुने पूजाआजा र रामायण भजनमा उसले धावा बोल्न छाडेको छैन ।

पशुपतिमा छैन लोकतन्त्र
हालसालै राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराउने पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई १५ हजार रूपैयाँ जरिवाना तिराएको छ । कोषका प्रमुख कार्यकारी निर्देशक डा. खतिवडाले नेपाली नागरिकको सूचना माग्‍ने र पाउने हकको उलंघन गरेको भन्दै उनलाई जरिवाना गरिएको आयोगले जनाएको हो । झापा घर भएका र अहिले काठमाडौं बसोबास गर्दै आएका बलबहादुर प्रधानले पशुपति क्षेत्र विकास कोषको कार्यालयमा प्रमुख कार्यकारी निर्देशक खतिवडा र सूचना अधिकारीसमक्ष आफूसँग सरोकार भएको सूचनाको माग गरेकामा उनलाई सूचना दिइएन ।

उनलाई गुण्डागर्दी पारामा जवाफ दिइयो र उनको अपमान पनि गरियो । मागअनुसार कोषले सूचना उपलब्ध नगराएकाले सूचना पाऊँ भनी आयोगसमक्ष पुनरावेदन गरेकामा सूचना मागकर्ताको पुनरावेदन साथै संलग्‍न कागजात, विपक्षीबाट प्राप्त लिखित जवाफ तथा आयोगबाट भएका पटक-पटकका आदेशको समेत बेवास्ता गरेपछि विकास कोषका खतिवडालाई जरिवाना गरिएको प्रमुख आयुक्त गुरुङले जानकारी दिएका छन् । 

हालसालै राष्ट्रिय सूचना आयोगले सूचना उपलब्ध नगराउने पशुपति क्षेत्र विकास कोषका प्रमुख कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालाई १५ हजार रूपैयाँ जरिवाना तिराएको छ । कोषका प्रमुख कार्यकारी निर्देशक डा. खतिवडाले नेपाली नागरिकको सूचना माग्‍ने र पाउने हकको उलंघन गरेको भन्दै उनलाई जरिवाना गरिएको आयोगले जनाएको हो ।

स्मरण रहोस्, संविधानले प्रदान गरेको हकअनुसार नागरिकले प्रक्रिया पूरा गरेर सूचना माग्दा नदिनु एक जघन्य अपराध हो । नेपालमा प्रजातन्त्रको तीन दशक अभ्यास भइसक्दा पनि सरकारी ओहोदामा नियुक्त एक जिम्मेवार कर्मचारीले सूचना लुकाउनुमा कसको दोष हो ? के सरकारले पशुपति विकास कोषमा प्रजातन्त्रको सामान्य परिभाषा पनि नजान्‍ने लठैतलाई नियुक्त गरेको हो ? कि विकास कोषका कर्मचारीले प्रजातन्त्र र नागरिक हककै 

खिल्ली उडाएका हुन् ? 
नेपालको संविधानको धारा २७ मा प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि बिषयको सूचना माग्‍ने र पाउने हक हुनेछ भन्‍ने उल्लेख भएको छ । त्यसै व्यवस्थाको कार्यान्वयनको लागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएको र ऐनको दफा ३ को उपदफा (१) मा प्रत्येक नेपाली नागरिकलाई यस ऐनको अधीनमा रही सूचनाको हक हुनेछ भन्‍ने उल्लेख भएको छ भने उपदफा (२) मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनिक निकायमा रहेको सूचनामा पहुँच हुनेछ भन्‍ने उल्लेख भएको छ । यसबाट सूचनाको हक सम्बन्धी संबैधानिक र कानूनी व्यवस्थाको पालना गर्न गराउन सबै सार्वजनिक निकाय जिम्मेवार हुनुपर्छ भन्‍ने विश्वास आयोगले लिएको छ । नागरिकको सूचना माग्‍ने र पाउने हकको सम्मान गर्नु गराउनु सवैको कर्तव्य रहेको पनि आयोगले सबैलाई स्मरण गराएको छ ।

पशुपति विकास कोष भ्रष्टाचार र अनियमितताको दलदलमा भासिएको छ । गौशाला प्रहरीसँगको मिलेमतोमा विकास कोषका कर्मचारीहरू पशुपतिमा अनेक पाप गरिरहेका छन् । उनीहरू जोगी, भजन मण्डली र भक्तजनहरूलाई अनेक बहानामा दुःख दिइरहन्छन् । अनि ठूलो रकम लिएर धनीमानी र माफियालाई चोरबाटोबाट पशुपतिको दर्शन गराउन व्यस्त हुन्छन् । स्थानीयवासीका अनुसार विकास कोषले पशुपतिनाथको मन्दिरलाई लुटेर खाइरहेको छ । उसले पुरातात्विक महत्त्वका भग्‍नावशेषहरू बेचेर खाएको छ ।

यहाँसम्म कि विकास कोषका कर्मचारीहरूलाई न पशुपतिको इतिहास थाहा छ, न महत्त्व । उनीहरू पुरातात्विक महत्त्वका सामग्रीहरू चिन्‍ने ल्याकत पनि राख्दैनन् । यी कुनै दल विशेषका लठैतहरूले पशुपतिनाथ मन्दिरको हुर्मत काढिसकेका छन् । कालोमोसो दलेर चार किल्ला कटाउन पर्नेहरूलाई सरकारले किन अझै विकास कोषमा अनेक सुविधा दिएर राखिरहेको छ ? प्रजातन्त्र र नागरिक हककै खिल्ली उडाउने विकास कोषका कर्मचारीहरूलाई अब जनकारबाही नै गर्नुपर्ने हो त ? 


Author

थप समाचार
x