विचार

बेलायतकी अनुषासँग भक्तपुरको छोटो कफी भेट !

नीरज लवजू |
कात्तिक २१, २०७८ १६:२४ बजे

अचानक सडकमा धिमे बाजा बजेको आवाजले उनको एकाग्रता बिथोलियो । क्याफेको सबभन्दा छेउको टेबुलमा उनी एउटा पुस्तकमा घोतलिरहेकी थिइन् । पुस्तक छेउको कपमा कफीको अन्तिम घुट्दो बाँकी थियो । एकतमास पुस्तकमा घोत्लिरहँदा उनले कपको कफी बिर्सेकी हुनुपर्छ- कफी निस्प्राण चिसो भइसकेको थियो । लामो समयदेखि सङ्गालेको एकाग्रता भङ्ग भएकोमा उनले मुख बिगारेको तीन वटा टेबुल परबाट मैले प्रष्ट देखेँ । किताबबाट आँखा उठाएर उनले पारदर्शी काँचबाट बाहिर आँखा डुलाइन् । 

सडकमा हाकुपतासी लगाएका युवती र दौरा सुरुवालमा कालो भादगाउँले टोपी लगाएका युवाहरू मच्ची मच्ची धिमे बजाइरहेका थिए । धिमे बाजाको तालमा तीन चार जना अधवैंशे उमेरका महिलाहरू एउटा हातको बुढी औंला कुममा राखेर अर्को हातले हाकुपतासीको फेर समातेर नाचिरहेका थिए । उनीहरू संसारका सबै दुःख बिर्सेर छमछम नाचिरहेका थिए-मानौं उनीहरूलाई त्यो संसार छोडेर फर्किन मन छैन । धिमे बाजा आफै वरपरका सबैको ध्यान तान्‍न मनग्य हुन्छ । त्यसमाथि आधा जीवनका सुख-दुःख भोगिसकेका महिलाहरूको नाच एक क्षण रोकिएर नहेर्ने बटुवाहरू कोही थिएनन् । धिमे बाजाको पछाडि एक हुल मानिसहरू पछ्याउँदै अघि बढिरहेका थिए । 


क्याफेको पारदर्शी काँचको बीचमा टाँसिएको अपारदर्शी स्टीकरले उनलाई त्यो दृश्य हेर्न अलि असजिलो भएको हुनुपर्छ । त्यसकारण उनी कुर्सीबाट थोरै उठेर बाहिर नियाल्दै थिइन् । उनको घुँडा टेबुलमा थोरै ठोकिएको थियो । क्याफेमा अरू कोही थिएन । कफी खाँदै गरेका दुई जना युवकहरू पनि धिमे टोलीमा मिसिसकेका थिए । 

धिमे बाजा अघि बढे पछि उनी कुर्सीमा थचक्क बसिन् । कपको अन्तिम घुट्को कफी घुट्काइन् । अनि क्याफे वरपर हेरिन् । सम्भवतः उनलाई यसअघि त्यहाँ मेरो उपस्थितिको हेक्का पनि थिएन । चारैतिर हेर्ने क्रममा संयोगले हामी दुवै जनाका आँखा जुधे । उनी मुसुक्क हाँसिन् ।

मलाई मुस्काउन के को खसखस ! म पनि हाँसेँ । उनी केही बेर फेरि पुस्तकमै घोत्लिने प्रयास गरिन् । तर, एकाग्रता भनेको पनि पानी जस्तै रहेछ । पोखिएपछि संगाल्नै गाह्रो । आङ तान्दै उनी फेरि बाहिर हेरिन् । अनि मतिर हेर्दै सोधिन्,“अघिको बाजा के को अवसरमा हो ?”

तीन टेबुल परबाट उनले अचानक प्रश्न सोध्दा म एकक्षण अक्क न बक्क भएँ । तर, प्रश्नबाट म भाग्न सक्दिनथेँ । मैले आफू बसेको कुर्सीबाट अलि चर्को स्वरमा भनेँ,“आज नयाँ वर्ष हो नि ।” “ओ !” उनले त्यत्तिमै कुरा टुङ्ग्याइन् । 

क्याफेकी बहिनीले भर्खर टेबुलमा राखेको कागती पानीमा मह मिसिएको हट लेमनको पहिलो घुट्दो पिउँदै म मोबाइल खेलाउन थालेँ । उनी कतिबेला आफ्नो ठाउँबाट उठेर मेरो छेउ आएर उभिइन्, मलाई यादै भएन ।

“हेलो ! के म यहाँ बस्न सक्छु ?” उनको त्यो प्रश्न मेरोलागि फेरि पनि अनायास जस्तै थियो । यो पटक भने म त्यत्ति अकमकिइनँ । 

“स्योर !”, मैले बस्न सड्ढेत गर्दै भनेँ । 
“थ्याङ्क्स । मेरो नाम अनुषा । अनुषा राई ।” 
“हेल्लो ! म ...”
“तपाईं भक्तपुरको लोकल नै हो ?” 
“हो ।” 
“गज्जब भो ।” 
“किन र ?”

“लोकल मान्छेलाई लोकल कुरा धेरै थाहा हुन्छ नि”, हाँस्दै उनले भनिन् । दाँत मिलाउन उनले स्टीलको फ्रेम राखेकी रहिछिन् । म फेरि मुसुक्क हाँसेँ । “बाइ द वे, म एउटा रिसर्चको लागि मायामीबाट आएको हुँ”, उनले यसो भन्दा मलाई स्वचालित रूपमा पश्चिम बंगालकी सोनप्रियाको सम्झना भयो । (पाठक, माफ गर्नु होला । यो पटक पनि रिसर्चको लागि अर्की एक जना युवतीसँग भेट भयो । के गर्नु, यस्तै लेखिएको रहेछ ।) 

“ओ ! कुन विषयमा रिसर्च नि ?”, गिलासको धारमा चिरा पारेर अड्काइएको कागतीको स्लाइस मुखमा राख्दै मैले सोधेँ । “भक्तपुरलाई आजको जुन अवस्थामा छ, त्यो अवस्थामा पुर्‍याउन पोलिटिकल लिडरसिपले खेलेको भूमिकाको विषयमा मैले आउने जनवरीसम्ममा एउटा पेपर बुझाउनु छ । त्यसैले म भक्तपुर आएकी हुँ”, उनले आफ्नोबारेमा अलि खुलाइन् । “अनि नेपालमा तपाईंको घर कहाँ ?” 

“हाम्रो पुख्र्यौली घर खोटाङ हो रे । तर, हाम्रो सबै परिवार अहिले युकेमा छ । म मास्टर्स पढ्न मायामीको फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीमा भर्ना भएको हुँ । अहिले म फ्लोरिडामा नै बस्छु ।”

म आफू भक्तपुरबाट उति बाहिर कतै जान्‍नँ । तर, भक्तपुर बसेर पनि संसारका विभिन्‍न कुनाबाट मान्छेहरू मसँग ठोकिन आइरहेको देख्दा म आफै अचम्ममा पर्छु । सोनप्रियासँगको भेटघाटबारे पाठकहरू जानकार नै हुनुहुन्छ । उनीसँग बिताएको समय दिमागबाट नमेटिंदै अनुषासँग क्याफेमै भेट हुनु संयोग मात्र हो वा भविष्यमा यसको कुनै अर्थ हुने हो, म अहिले के भनुँ र ! 

“तपाईंको बारेमा केही भन्‍नुभएन नि ?”, अनुषाले भनिन् । उनले अघि पढ्दै गरेको पुस्तक बेलायती अध्येता इयान गिब्सनको ‘सफरिङ एन्ड होप, क्रिस्चानिटी एन्ड इथिक्स एमङ द नेवार्स अफ भक्तपुर’ रहेछ । आफ्नो परिचय दिनुअघि मलाई उनीसँग त्यो पुस्तकबारे सोध्न मन लाग्यो । 

“तपाईंलाई त्यो पुस्तक कस्तो लाग्यो ?” “मैले दोस्रो पटक पढ्दै छु । दिमागमा धेरै प्रश्न जन्माएको छ । कम्युनिस्टको बलियो संगठन भएको भक्तपुरमा इसाई धर्मको विकासबारे यो अध्ययन रोचक भए पनि अझै अनुत्तरित प्रश्न धेरै छन् । तर, यो पुस्तकको एउटा अध्यायले मेरो पेपर लेख्‍न सघाउने पक्का छ ।” “कुन अध्याय ?”

“नारायणमान बिजुक्छेंबारे लेखिएको अध्याय । इयानले क्रिस्चियानिटीका मूल्य र बिजुक्छेंका राजनीतिक आदर्शको तुलनात्मक अध्ययन गरेका छन् । रोचक छ । तर, यसमा के अपूर्णता छ, त्यही विषयमा म अध्ययन गर्नेछु । तपाईंले यो पुस्तक पढ्नुभयो ?” “उम । अलि अगाडि नै पढेको ।” “ह्वाट इज यर इम्प्रेसन ?” (तपाईंलाई कस्तो लाग्यो ?)

“इयान रिसर्चको लागि भक्तपुर बस्दा उनको चर्चा सुनेको थिएँ । एकाध पटक उनलाई देखेको पनि थिएँ । उनी नेपालीभाषा राम्ररी बोल्थे । तर, त्यत्तिबेला मैले सुनेको उनको अनुसन्धानको विषय र यो पुस्तक फरक भएकोले पुस्तक पढ्दा असजिलो अनुभव भएको थियो । बिजुक्छेंसम्बन्धी अध्यायमा उनको तुलनात्मक अध्ययन अलि स्वाभाविक लागेको थिएन ।” “तपाईं कहीं पढाउनुहुन्छ ?” 

“अहँ, अहिलेसम्म त अलि अलि पढिरहेको मात्र छु ।” “आइ मिन, तपाईं के गर्नुहुन्छ ?”, मेरो कुराले उनलाई सायद हँसायो । 

“म लेखपढमा रुचि राख्छु । अरू त्यस्तो परिचय दिन लायक के छ र खोई !” “हो, मलाई चाहिने मान्छे नै तपाईं जस्तो मान्छे हो ।” दुवैको अनुहारमा हाँसो छचल्कियो । 

“यो परिचयको अवसरमा अर्को एक राउन्ड कफी खाऊँ न त ?”, उनले सोधिन् । “ठीक छ । तर, अर्को क्याफेमा बसौँ । एकै ठाउँमा कति बस्नु ।”  

“लौ, तपाईंको ठाउँ हो । जहाँ लानु हुन्छ लानुस् । म पछि लागेँ”, उनले हास्यचेतसहित भनिन् । आज नेपाल सम्बत्को नयाँ वर्ष । भक्तपुरमा हरेक वर्ष नेपाल सम्बत्को नयाँ वर्षको दिन खौमामा स्थापित मास्टर जगतसुन्दर मल्लको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम हुन्छ । सांस्कृतिक पोशाकमा सजिएका महिला, पुरुष, युवा-युवती र केटाकेटीहरू सबै खौमामा पुगेर मल्लको प्रतिमामा श्रद्धा अर्पण गर्ने दसकौं पुरानो नयाँ संस्कृति हो । मैले अनुषालाई भक्तपुर दरबार क्षेत्रकै कुनै क्याफेमा कफी खाने प्रस्ताव गरेँ । 

“वाउ ! मेरो रिचर्सको काम त आजैदेखि नै सुरु हुने भयो त्यसो भए”, अनुषाले भनिन् । हामी इन्द्रेणीको उकालो उक्लिएर खौमातिर लाग्यौँ । मानिसहरू जगतसुन्दर मल्लको प्रतिमा अघि जम्मा हुन थालिसकेका थिए । पर कतै धिमेको आवाज खौमामा गुञ्जिन थालिसकेको थियो । अनुषाले आफ्नो जुटले बनेको झोलाबाट क्यामरा निकालेर वरपरका तस्बिर कैद गर्न थालिन् । केही बेरमै खौमामा मान्छेको घुइँचो लागिसकेको थियो । दरबारक्षेत्रभित्र कार्यक्रमका आयोजकहरूले माइक मिले नमिलेको परीक्षण गरेको सुनियो ।

हामी दरबार क्षेत्रका सबै दृश्य देखिने एउटा क्याफेको कौसीमा पुग्यौँ । कौसीको सबभन्दा छेउको टेबुलमा बस्यौँ । दरबार क्षेत्र केही बेरमै मानिसको हुलले भरियो । कालो चस्मा लगाएका युवा युवतीहरूको एउटा समूह नाची नाची धिमे बजाइरहेका थिए । अनि छेउमा अघि क्याफेबाट देखिएको समूह पनि धिमे बजाइरहेको थियो । अधवैंशे महिलाहरू थाके सायद, उनीहरू पाटीमा थुचुक्क बसेका थिए ।

कार्यक्रम सुरु हुने चाँजोपाँजो मिलाउँदा गर्दा र्‍यालीमा सहभागी युवा युवतीहरू मोबाइलमा तस्बिर खिच्दै थिए-घरी यताबाट त घरी उताबाट । विभिन्‍न समूहका सहभागीहरू आ-आफ्नो समूहका सामूहिक तस्बिर खिच्न आफ्ना सदस्यहरूको खोजी गर्दै यताउता गरिरहेका थिए । “त्यो प्रतिमा कस्को हो ? कोही सहीद अथवा विभूति ?”, जगतसुन्दर मल्लको प्रतिमामा माल्यार्पण सुरु भइरहेको थियो । त्यतै सङ्केत गर्दै अनुषाले सोधिन् । 

“उनको नाम मास्टर जगतसुन्दर मल्ल हो । शिक्षक भएकोले उनलाई मास्टर भनिएको हो । उनी मातृभाषाबाटै शिक्षा दिनुपर्ने विचारका पक्षपाती थिए । उनले मातृभाषामै शिक्षा पाए विद्यार्थीले चाँडै धेरै कुरा सिक्ने विचारको वकालत गरेका थिए । आफ्नो विचारको उनले अभ्यास र प्रयोग पनि गरेका थिए । विभिन्‍न भाषाका साहित्यिक कृतिहरू नेपालभाषामा अनुवाद गरेर उनी आफ्ना विद्यार्थीहरूलाई पढाउँथे । मास्टर जगतसुन्दर जस्ता व्यक्तिहरूकै कारण आजसम्म नेपालभाषाको संरक्षण भएको हो”, मैले जानेको कुरा अनुषालाई भनेँ । कफी आयो । दरबार क्षेत्रमा धिमे, धाँ र माइकको आवाजले हामीलाई आपसमा भनेको कुरा पनि सुन्‍न असहज भइरहेको थियो । 

“तपाईं राई भाषा बोल्नुहुन्छ ?”, मैले अनुषालाई सोधेँ । उनी हल्का लजाएर भनिन्,“ओहो ! कहाँबाट जान्‍नु नि । बल्ल बल्ल नेपाली भाषा त जानेको छु । मेरा बुवाआमाले पनि राई भाषा उति राम्रो बोल्नु हुन्‍न । बोजुहरूले मात्र बोल्नुहुन्थ्यो । हाम्रो पुस्तासम्म आइपुग्दा राई भाषा त बेलायतको अङ्ग्रेजीले खाइहाल्यो नि”, उनले राई लवजमा भनिन् । उनको राई लवजको मिठास अर्कै थियो । नेवारहरूले नेपालीभाषा, तराईबासीले नेपालीभाषा बोल्दाको अलग अलगै मिठास भएजस्तै । 

“राईहरूको पनि ‘जगतसुन्दर मल्ल’ पक्कै हुनुपर्छ”, उनले थपिन्,“मास्टर मल्लको विचार शतप्रतिशत सही हो । त्यसो गर्दा भाषा पनि जोगिने गर्छ । तर, त्यसो भइरहेको छैन । त्यसैले संसारमा भाषाहरूको परिवार सङ्ख्या घट्दैछ । भाषामा पनि महामारी फैलिएको छ-स्पेनिस, अङ्ग्रेजी, फ्रेन्च र अहिले त चाइनिज पनि ।”

“त्यसैले त हरेक वर्ष भक्तपुरमा जगतसुन्दरको उप्रतिमामा माल्यार्पण हुन्छ”, मैले यति भन्दै गर्दा मेरो नाक अलि अग्लो बनेको थियो । “मालाले मात्र त भाषा जोगिंदैन नि फेरि”, अनुषा अलि फरासिलो बन्दै थिइन् । राईकी छोरीलाई फरासिलो बन्‍न आइतबार कुर्नुपर्छ र !  

“बेलायतमा त नेवारहरू पनि आफ्नो भाषा कमै बोल्छन् । कोही कोही परिवारले भने केटाकेटीलाई नेपालभाषा सिकाएका छन् । उनीहरू नेपालीभाषा बोल्दैनन् । या त नेवारी अथवा अङ्ग्रेजी भाषा मात्र बोल्छन् । मेरो एक जना कलेज फ्रेन्ड पनि नेवार छ । उसलाई नेपालीभाषा राम्रो बोल्न आउँदैन । घरमा नेवारी बोल्छ, हामीसँग अङ्ग्रेजीमा बोल्छ । उसको पुख्र्यौली घर काठमाडौँको बसन्तपुर भन्थ्यो”, अनुषाको कफी फेरि पनि निष्प्राण भइसकेको थियो । मेरो कप रित्तिएको अहिले हो र ! 

दरबार क्षेत्रमा बोल्ने वक्ताहरूले राजनीतिक विषयमा पनि बोलेका थिए । अनुषाले बोल्ने वक्ताहरूको विषयमा सोधिन् । “उनीहरूमध्ये कोही लेखक र संस्कृतिकर्मीहरू पनि छन् । मुख्य वक्ता भने यहाँका सांसद हुन् । उनी पहिला यहाँका नगरप्रमुख पनि थिए । तपाईंको रिसर्चको निम्ति रिसोर्स पर्सनहरू”, मैले दबुमा बसेका अतिथिहरूलाई औंल्याउँदै भनेँ । “नाइस !”, उनले भनिन् । 

उनले कफीको अन्तिम घुट्को घुट्काउँदै गर्दा दरबार क्षेत्र लगभग सुनसान भइसकेको थियो । फोटो खिच्दै गरेका केही युवायुवतीहरूबाहेक त्यहाँ माइकका सामान मिलाउँदै गरेका केही मान्छे मात्र थिए । आज म्हपुजा । घरमा चाँडै पुग्नुथियो । त्यसकारण अनुषालाई आज छुटिने मनसाय पोखेँ । 

“ओ, स्योर । म केही बेर यहीं बस्छु । एक-दुई चरणको कफी यहीं खाएर निस्कन्छु । इयानको पुस्तक आज टुङ्याउँछु । क्रिस्चियन बनेका केही भक्तपुरबासीको अन्तवार्ताको खण्ड मात्र बाँकी छ”, उनले भनिन्,“बरु तपाईं व्यस्त हुनुहुन्‍न भने मेरो काममा केही सहयोग गर्नुहुन्छ कि ? जीवनभर आभारी हुनेछु ।” 

‘जीवनभर आभारी हुने’ कुराले मलाई हँसायो । “त्यति धेरै पनि विनम्र हुनुपर्दैन । अर्को दिन भेटुँला । बिहान भेटेको क्याफेमा आउनु होला । म प्रायशः बिहान त्यहीँ हुन्छु । अहिले म लागेँ । भेटेर खुशी लाग्यो । तिहारको शुभकामना !”, टेबुलमा अघि देखि घाम ताप्दै गरेको मोबाइल ज्याकेटको खल्तीमा राखेर म निस्केँ । उनी उठेर थोरै झुकेर मेरो कुरामा सहमति जनाउँदै भन्दै थिइन्, “स्योर, स्योर ।”



Author

थप समाचार