विचार

अपांगता, यौन चाहना र सहस्र समस्या

अनिता माझी |
कात्तिक २२, २०७८ सोमबार १०:५२ बजे

म सानी नै थिएँ कि जस्तो लाग्थ्यो । तर मान्छेको प्रेमभाव बुझ्‍ने भइसकेकी रहेछु । माथ्लो टोलको पसले दाइलाई देख्‍नेबित्तिकै निनी बजै (आमाको फुपू) को अनुहारमा झल्कने उज्यालो चमक र गुम्सिएका लाजको पोको म सजिलै बुझ्थेँ । उनी प्रेममा डुबेकी थिइन् । उनलाई थाहा थिएन, पसलेको भावना के छ ? उनी यति महसुस गर्थिन्, पसले दाइ देख्दा उनको खुसी उकालो लाग्थ्यो अनि दुःख जति ओरालो । 

निनी बजैको चञ्चलता देख्‍नेहरूले भन्थे, आ...यस्तो लाटीलाई नि के बैंस चढेको होला ? निनी बजै बोल्न र सुन्‍न सक्थिनन् । खेतीपाती गर्न, बस्तुभाउ स्याहार्न र कुल-पितृ रिझाउन भने औधि सिपालु । बीस पच्चीसको उमेरमै निनी बजैले सांगसँगै बिहे गर्न खोज्दा धेरैले बिहे गरी भने लाटीले कस्तो बच्चा पाउली ? लाटीलाई किन पोइ चाहियो भनेका थिए रे ।


घरबाट कहिल्यै कहीँकतै नहिँड्ने उनका लागि बितेका हरेक वर्ष लकडाउन जत्तिकै थिए । बाआमा बितेपछि भदैनीहरू (भाइको छोरीहरू)सँग बसेकी उनले कहिल्यै अपांग भत्ता पाइनन् । पाइन्छ रे भन्‍नेसम्म थाहा पाएकी थिइन् । कसरी पाउने भन्‍ने चाहिँ कसैले थाहा दिएनन् । कोभिड १९ को बेला समेत त्यसबारे उनलाई थाहा दिन कसैले आवश्यक ठानेनन् । न कहिले मास्क लगाइन्, न सेनिटाइजर । कहिल्यै बाहिर नडुल्ने उनको शरीरमा कोरोना भाइरस फनफनी डुल्यो । उनका वरिपरिका जान्‍नेसुन्‍ने सांगहरुले उनलाई रोगको भकारी सोचे । रोग सर्छ, फोहोर हुन्छ, के के हो के के । अन्ततः उनले भाइरसलाई जित्न सकिनन् । 

माथिको घटना कुनै काल्पनिक कथा होइन, यथार्थ हो । समाजमा यस्ता थुप्रै यथार्थ छन् । अपांगता भएका व्यक्तिहरूका भोगाइ, उनीहरूले खेपेका दुव्र्यवहार र विभेदका पहाडहरू लेखिसाध्य छैन । समाजमा जुनसुकै अप्ठयारो आए पनि त्यसको चोटिलो प्रहार उनीहरूमाथि नै पर्छ । समाजमा प्रभावकारी सुविधा आयो भनी त्यसको उपभोग गर्नबाट उनीहरू नै छुट्छन् । कोभिड-१९ को सूचना, स्वास्थ्य उपचार, राहत सामग्रीबाट उनीहरू पटकपटक छुटेका छन् । मिल्ने भए जनगणनामा समेत छुट्टाउँथे होलान् ।

अपांगतालाई लक्षित गरी ल्याइएको योजनाहरूमा उनीहरू पर्याप्त मात्रामा समेटिएका छैनन् । राज्यका संरचनाहरूमा उनीहरूको अर्थपूर्ण सहभागिता छैन । अपांगमैत्री भौतिक संरचना, सामाजिक न्याय, पारिवारिक वातावरण, शैक्षिक प्रक्रिया र राजनैतिक वातावरणको सृजना हुन सकेको छैन । जसकारण उनीहरूले उनीहरूमा भएका क्षमताहरू देखाउने अवसर नै पाएका छैनन् । सांग कहलिएकाहरू अहंको दलदलमा फसिरहेछन् । अपांगता भएका व्यक्तिहरूहरूलाई उनीहरूको केही गरिखाने सीप छैन । जान्दैनन् । सक्दैनन् । किन गर्नु पर्‍यो । आदि, इत्यादि भन्‍ने मानसिकता अझै छिमलिएको छैन । अपांगताभित्रै पनि महिलाको स्थिति अझ व्याप्त छन् । महिला हुनुको विभेद धेरै गहन छन् ।

विभिन्‍न प्रतिवेदनको अनुसार २ देखि ३ गुना अपाङ्गता भएका महिलाहरू हिंसा, जोखिममा परेका छन् त्यो दर कोभिड १९ को बेलामा झन् बढी भएको छ । त्यसमाथि सीमान्तीकृत समुदायका आदिवासी, दलित, मधेसी र महिला अझै गहिरो मारमा छन् । उनीहरू विभेदको भूमरीमा रुमलिएका छन् । सीमान्तीकृत समुदायलाई गरिने उत्पीडनको विभेद । सीमान्तीकृत समुदायको महिला हुनुको विभेद । अपांग हुनुको विभेद । सीमान्तीकृत समुदायबाट अपांग हुनुको विभेद ।

पहिलो, दोस्रो, तेस्रो गरी बहु र अन्तरक्षेदनको अन्तरसम्बन्धित विभेद हुन्छ तर त्यसबारे बहस सुरु नै भएको छैन विभेदको एउटा आधार मात्र हेरिएको छ । आजसम्म कि महिला, कि अपाङ्गता, कि अन्य तर एउटै व्यक्ति महिला, आदिवासी, अपाङ्गता, ग्रामीण भेगको र निम्‍न आयस्तरको पनि हुन्छ र यी सबैको असर र प्रभाव व्यक्तिको सामाजिक, आर्थिक, शैक्षिक सचेतना सबैमा परेको हुन्छ ।

आखिर यो विभेदको सिलसिला कहिलेसम्म ? गहिरिएर सोचौँ त, के उनीहरू मानिस होइनन् ? उनीहरूले अन्‍न खाँदैनन् ? उनीहरूको भावना छैन ? उनीहरूको अधिकार छैन ? पक्कै छ । अपांगताभित्र पनि उनीहरूको स्थान न्यून छ, आफ्ना आवाज राख्‍न भन्‍न सकिने स्थितिमा देखिँदैनन् त्यसै न्यून प्रतिनिधित्व भएका अपाङ्गता भएका व्यक्तिमा उनीहरू पर्छन् र प्राथमिकताको आधारमा समतामूलक विचारभावले उनीहरूलाई राख्‍नुपर्ने देखिन्छ । 

बाबु-आमाले कमजोर आर्थिक स्थिति भएको सन्तानलाई पैतृक सम्पत्तिको केही अंश अरुलाई भन्दा अलि बढी दिन्छन् । कमजोर विद्यार्थीलाई शिक्षकले विशेष समय दिन्छन्, ताकि अरुसरह उसले पनि प्रगति गरोस् । न कि उसलाई झन् झन् कमजोर पारियोस् । हाम्रा सामान्य व्यवहार त यस्तो पो हुनुपर्ने होइन र ? तर जो सोझो उसैको मुखमा घोचो भनेझैँ कसैले पाउनुपर्ने अधिकार दिनलाई पनि हामी हाम्रै गाँस खोस्न आएझैँ गरिरहेका छौँ । 

समग्रतामा अपांगता भएका व्यक्तिहरू र न्यून प्रतिनिधित्व अपांगता भएका सीमान्तीकृत समुदायका महिलाहरूलाई यसैको भारीले थिचेको छ । उनीहरूलाई अरुसरह होइन प्राथमिकताका आधारमा आवश्यक पर्ने सम्पूर्ण अधिकारको खाँचो छ । विडम्बना उनीहरू सामान्य सूचनाबाट समेत विमुख छन् । निडवानले गरेको सर्वेक्षणको २०२१ को अनुसार न्यून प्रतिनिधित्व आदिवासी जनजाति, दलित तथा मधेशी अपांगता भएका समुदाय करिब ४६ प्रतिशत उत्तरदाताले महामारीको समयमा सम्प्रेषण गरिएका सूचनाहरू बुझ्‍न नसकेका अध्ययनले देखाएको छ ।

९१ प्रतिशत अपांगता भएका आदिवासी जनजातिहरूले कोरोना कालमा सामाजिक र आर्थिक संकट सामना गरेको उक्त तथ्यांकले देखाएको छ । यी सामान्य आधारभूत अधिकारबाट वञ्चितीकरणमा पारिएका यस्ता समुदायले राज्यको पहुँच र नियन्त्रणको अधिकार उपभोग गर्न पाउलान् ?

कोभिडको समयमा निडवानको कार्यक्रममा प्रदेश नं ५ बाट काठमाडौँ आएका अपांगता भएका थारु समुदायका एक पुरुष एक्कासि बिरामी भए । डाक्टरका अनुसार धेरै खाली पेट बसेर एक्कासि धेरै खाएकाले ग्यास्ट्रिक भएको रे । अस्पतालबाट फर्केपछि थारुले भने, “हाम्रो पाँच जनाको परिवारमा चार जना अपांगता भएका छौँ । कमाउने मान्छे उनको बुबा मात्रै । बुबाले लोकल मदिरा बेचेरै परिवारमा खर्च धानेका थिए । लकडाउले कमाइ नभएपछि जोहो गरिराखेका अन्‍न पानी परिवारका सबैले एकै पटक नखाईकन बिहान एकजनाले दिउँसो अर्कोले र बेलुका अर्कैले गर्दै एक दिनमा एकपटक, त्यो पनि आधा पेट खानेकुरा खाएर बसेका थियौँ ।” उनी भन्छन्, भोको पेटको युद्ध जित्न मेसोमा खाएका खानेकुराले नै अस्पताल पुर्‍याउँला भन्‍ने थाहा थिएन ।

काभ्रेको एक तामाङ महिलाको घर वरिपरि टालाटुली कपडाहरू सुकाइएको थियो । झट्ट हेर्दा यो घरमा तीन जना सुत्केरी भएको अनुमान हुन्थ्यो । तर होइन । ती टालाटुली कपडाहरूमा उनको छोरीले दिसापिसाब गरेको रे । छोरी, बौद्धिक अपांगता भएको एउटा बालिका । बारम्बार कपडामै दिसापिसाब गरिरहने । कोभिड महामारीका बेला बौद्धिक अपांगता भएको एउटा बालिकाको आमाले छोरीको फाटेका कपडाहरू फेर्न पाएकी छैनन् । 

सेनेटरी प्याड किनिदिन पाएकी छैनन् । एकातिर घरमा छोरीको रेखदेख गर्ने उनीबाहेक कोही छैनन्, अर्कातिर पानीको साह्रै दुःख । फोहोर लुगा धुन घण्टौ धाउनुपर्ने कष्ट । उनी भन्छिन्, “मदिरा पार्ने पानी लिन जाँदा टाढाको पानीको मुहानमा लडेर श्रीमान् बिते । अहिले नजिकको जंगलबाट दाउरा ल्याउन पाउँदैन एक ट्रयाक्टर दाउराको सात हजारको दरले किन्‍नुपर्छ मैले पारेको मदिरा बेच्न पाएको छैन, अनि के खानु ? हामी आमाछोरीले पढेका छैनौँ । केही गर्न घर छोड्न सक्दिनँ । कतैबाट एक पैसा आउने बाटो छैन । पोहोर सालको ल्होसार र अरु सबै चाडपर्वमा मासु किनिनँ । मैले छोरीको दिसा पिसाब स्याहार्न कपडा किने । अब त त्यही पनि छैन । खै राहत राहत भन्छ । कता बाँड्छ कुन्‍नि, हामीलाई जानकारी छैन । 

यी प्रतिनिधिमूलक वास्तविकताले हाम्रो अवस्था र व्यवस्थालाई गिज्याइरहेको छ । प्याड किन्‍न नसक्ने स्थिति भएका अपांगता भएका महिलाहरू रगतमा लतपतिएका छन् । टालाटुली कपडा जोहो गर्न नसक्ने अपांगता भएकाहरू दिसापिसाबको दुर्गन्धमा पोतिएका छन् । आयआर्जनका स्रोत नभएकाहरू भोकभोकै दिन बिताउन बाध्य छन् । औषधि खर्च जुटाउन नसकेका दीर्घरोगीहरूको प्रतिरोधात्मक क्षमता खस्किरहेको छ । अपांगता भएका सीमान्तीकृत महिलाहरू महिला हिंसाबाट अझ बढी पीडित र त्रस्त छन् ।

कुनै चाडपर्व, उत्साह, सभा सम्मलेलन, अन्य पारिवारिक, सामाजिक समारोहमा सपांगतासरह अपांगता भएकाहरूले कति स्थान पाउँछन् ? उनीहरूलाई हामीले स्थान दिन्छौँ ? अपांगताभित्रै सीमान्तीकृत समुदायका आदिवासी, मधेसी, दलित र महिलालाई कति स्थान दिन्छौ ? सामान्य अवसरबाट समेत वञ्चितीकरणमा पारिएका उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारीबाट लाभ लिन सक्लान् ? 

अपांगता भएकाहरूले केही गर्नै जान्दैनन, गर्नै सक्दैनन्, राम्रो लगाउन, मीठो खान नपर्ने, केही नबुझ्‍ने जसरी गरिने व्यवहारले उनीहरूको मनोबल र आत्मस्वाभिमानमा मात्रै नभई समग्र विकासमा समेत प्रभाव पारिरहेको हुन्छ । अपांगता भएकाहरूलाई लक्षित गरेर विभिन्‍न राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन यु.एन्.सी.आर.पि.डि र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार ऐन २०७२ र प्रावधानहरू बनेका छन् । ती प्रावधानहरूमा सबै खालका अपांगता भएकाहरूलाई एउटै डालोमा राखिएको छ ।

प्राथमिकताका आधारमा वर्गीकरण नगरिएको त्यस्ता व्यवस्थाहरूले न्यून प्रतिनिधित्व भएका अपांगता भएको आदिवासी, मधेसी, दलित त त्यसभित्र पनि अपांगता भएका महिलाहरूलाई अर्थपूर्ण उत्थान हुन सकेको छैन । राज्यका महत्वपूर्ण निकायहरूमा उनीहरूको पहुँच पुगेको छैन । उनीहरू समाजको समताभित्र कहिले अटाउलान् ?


Author

थप समाचार
x