विचार

गन्तव्य ग्लास्गो, बाटोमा लण्डन

ध्रुवहरि अधिकारी |
कात्तिक २६, २०७८ शुक्रवार १३:१६ बजे

प्रधानमन्त्री शेरबहादुर देउवाले शीर्षस्तरमा सहभागिता जनाएको जलवायु विषयक अन्तर्राष्ट्रिय सम्मेलन आज शुक्रवार (१२ नोवेम्बर) ग्लास्गोमा समापन हुँदै छ । सम्मेलनका उपलब्धिको चर्चा, समीक्षा विश्वभरका प्रेस माध्यमले गर्दैछन्; गरिहाल्छन् । मद्यपानमा रुचि राख्‍नेहरूले स्कटल्याण्डको विश्वप्रसिद्ध मदिरा ‘स्कच ह्विस्की’लाई पनि यथोचित ठाउँ देलान् नै । त्यस्तै, सन् २०१४ को जनमतसंग्रह पनि विस्मृतिको गर्भमा परिसकेको छैन होला । स्कटल्याण्डलाई छुट्टै देश बनाउने प्रस्ताव बहुमतबाट अस्वीकृत भएको थियो ।

आतिथेयी देश संयुक्त अधिराज्य (बेलाइत) की महारानी एलिजाबेथ द्वितीया (९५ वर्षीय)को अस्वस्थताको कारण सम्मेलनस्थलमा अनुपस्थिति रह्यो । तर प्रधानमन्त्री बोरिस जोन्सन र स्कटल्याण्डकी प्रथममन्त्री निकोला स्टरजियनले सम्मेलनलाई उपलब्धिमूलक र स्मरणीय तुल्याउन यथासक्य परिश्रम गरे । 


यता, गन्तव्य ग्लास्गोतर्फ लाग्नुअघि प्रधानमन्त्री देउवाले बाटोमा पर्ने शहर लण्डनमा दुई रात बास पार्ने गरी कार्यक्रम तय गरिएको रहेछ । विद्यार्थी जीवनको केही समय बिताएको शहर लण्डनमा छोटो विश्राम गरौं भन्‍ने देउवाको रहर पनि हुँदो हो । इच्छा स्वाभाविक हो ।

त्यही मौका पारेर नेपालप्रति विशेष सद्भाव र मित्रता राख्‍ने अंग्रेजहरू र बेलाइतमा रहे-बसेका नेपालीहरूका समूहसँग प्रधानमन्त्रीको भेटघाटको चाँजो मिलाइएको रहेछ । तदनुसार, कार्तिक १३ गते शनिवार (३० अक्टोबर) का दिन नेपालीहरूको समूह, गोर्खा सैनिकसँग सरोकार राख्‍ने समूह समेतका नेपालीभाषीहरूको समूहले बेग्लाबेग्लै भेटवार्ता गरेछन् । नेपाली कांग्रेसप्रति आस्था राख्‍नेहरूको जनसम्पर्क समितिले देउवालाई त ‘आफ्नै नेता’ मान्‍ने नै भए । उपयुक्त अवसर ठानेर नागरिकताको निरन्तरता लगायतका माग राखेर लेखिएका ज्ञापनपत्रहरू प्रस्तुत भएछन्  । यसको चर्चा बेलाइतका नेपाली सञ्चारमाध्यमहरूमा निस्केको देखिन्छ ।

प्रवासीलाई सल्लाह   
‘जुन देशमा बस्नु भएको छ सो देशको राजनीति गर्नुस् । बेकारमा नेपालको राजनीतिको पछाडि लागेर तनाव नलिनोस् ‘हिमालयमेल डट् कम् (himalayamail.com) ले देउवाले आगन्तुकहरूलाई सल्लाह दिएको जानकारी छापेको छ । विदेशी पासपोर्ट बोकेर नेपाली राजनीति नगर्ने देउवाको सुझाउ त्यसै अनलाइनमा भेटिन्छ ।

‘यो त प्रधानमन्त्रीले ठीक कुरा गर्नुभएको हो नि’  देउवा-नेतृत्वमा स्कटल्याण्ड गएको नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले काठमाडौं फर्केपछि लण्डन भेटघाटको सन्दर्भ आउनासाथ मलाई सुनाए । जहाँ जुन देशमा बसोबास गरेको छ त्यसै ठाउँमा भोट दिन र उम्मेदवार हुन योग्य भई त्यसको अभ्यासमा लागिसकेपछि नेपालको राजनीतिमा पनि कार्यकर्ता सरहको चासो राख्‍ने र मतदान गर्ने अधिकारको खोजी गर्नु उचित होइन पनि । उताको हक-दाबी छोडेर यता फर्केपछिको कुरो भिन्दै हो । नत्र एक-व्यक्ति एक-भोटको के मतलब रह्यो ? के मान्यता भयो ?   

‘लण्डन नेपाल न्यूज’ अनलाइनमा देउवाले ‘बेलायतवासी सबै नेपालीहरूप्रति नेपालको सद्भाव रहेको’ भनेर आश्वस्त पार्न खोजेको कुरा पनि लेखिएको छ । देउवाको यो भनाइ बेलाइतमा स्थायी बसोबास रहेका नेपालीभाषीहरूप्रति लक्षित हो भनेर सहजै बुझ्न सकिन्छ । ‘गैरआवासीय नेपालीहरूले नागरिकता नपाउने कुरै छैन, उनीहरूले पाइहाल्छन् नि नागरिकता’ भन्‍ने देउवाको कथनले जुन देशमा बसोबास गरेको छ त्यही देशको नागरिकता पाइने कुरालाई इङ्गित गरेको हुनुपर्छ ।

किनभने प्रधानमन्त्रीले नेपालको सन्दर्भमा यसो भन्‍न सक्ने ठाउँ हाल प्रचलनमा रहेको ‘नेपालको संविधान’ (२०७२) ले दिएको छैन । स्पष्टै छ, धारा १४ बमोजिम संघीय कानुनअनुसार प्राप्त हुने नागरिकताले त्यस व्यक्तिलाई निर्वाचनमा मतदान दिन पाउने अधिकार प्रदान गर्दैन । यस्तो किटान संवैधानिक व्यवस्थाविपरीत गएर प्रधानमन्त्रीले कसैलाई सर्वाधिकारसम्पन्‍न नागरिकताको प्रमाणपत्र दिन, दिलाउन सक्ने कुरै होइन । र, यो संवैधानिक प्रावधानको ज्ञान देउवालाई नहुने प्रश्नै उठ्दैन ।

थप कुरो पनि छ धारा १४ को व्यवस्थाबारे । यसमा सार्क संगठनका भारत, श्रीलङ्का समेतका सातवटा सदस्य-राष्ट्रमा रहे-बसेका नेपालीभाषीहरूलाई बाहिर पारिएको छ । यसरी ठूलो संख्यामा रहेका देशका नेपाली र नेपाली भाषीहरूलाई ‘बाहेक’ गरिएको संवैधानिक प्रावधान अदालतमा चुनौती दिएर खारेज गराउन सकिन्छ । यस्तै मत छ बलराम केसीको जो सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् ।   

अर्को प्रासङ्गिक विषय
उपेन्द्र महतो, राम थापा, जीवा लामिछाने समेतको पहलमा ‘गैरआवासीय नेपाली’ नाम राखेर खोलेको र सन् २००३ मा पहिलो सम्मेलन भएको संस्थाको विधानमा संस्थालाई एक स्वतन्त्र, नाफा नकमाउने, गैर-सरकारी निकायका रूपमा चिनाउने क्रममा ‘गैर-राजनीतिक’ (नन-पोलिटिकल) पनि भनिएको रहेछ । यसबारे क्यानडावासी नरेश कोइरालाले काठमाण्डू पोष्टमा छपाएको लेखमा (४ नोवेम्बर २०२१) सविस्तार चर्चा गरिएको छ । कोइराला भन्छन् : विधानको व्यवस्थाविपरीत संस्थालाई ‘राजनीतिक’ बनाएको र यसमा राजनीतिक हस्तक्षेप निम्त्याएको किमार्थ ठीक भएन । 

चर्चित दृष्टान्त
सन्दर्भ फेरि लण्डन भेटघाटमा देउवाले दिएको मन्तव्यतिर लैजाऔं । जुन देशमा बस्नुभएको छ सो देशमै राजनीति गर्नोस् भन्‍ने देउवाको परामर्श हलुका टिप्पणी वा खोक्रो आदर्श वा सन्देश मात्र होइन । बेलाइतमा कतिपय स्थानीय निकायमा नेपालीभाषी ब्रिटिश नागरिक निर्वाचित पदाधिकारी भएको खबर निस्किरहेको हुन्छ । भोलि-पर्सि भारतीय मूलका ब्रिटिश नागरिक जस्तै नेपाली मूलका ब्रिटिशहरूले पनि त्यहाँ आ-आफ्नो हैसियत बनाउन सक्छन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा नेपालबाट गएका हरि भण्डारी राज्यस्तरको संसद्का लागि उम्मेदवार भए र विजय पनि हासिल गरे । ह्यारी भण्डारी परिचित नाम हो । हालसालै न्यू योर्क राज्यबाट सराहना श्रेष्ठको चर्चा आएको छ । ‘म नेपाली-अमेरिकी हुँ, राज्यस्तरीय संसद्का लागि उम्मेदवार भएकी छु’ भनेर मतदाताहरू समक्ष प्रस्तुत भएकी छिन् ।

केही वर्षअघि रौनियार थरका नेपालीमूलका अमेरिकीले पनि चुनावी राजनीतिमा भाग लिएका थिए । हालकी उप-राष्ट्रपति कमला ह्यारिसकी आमा भारतीयमूलकी र बा जमैका देशमा जन्मेका थिए । साबिकका नेपालीले पनि यस्तो कुराबाट सिकेर आफूले कर्मथलो बनाएको देशको असल नागरिक हुने बानी बसाल्नु पर्छ । नत्र ओल्लो घाट न पल्लो तीरको भइन्छ । र, जातिपातीको अस्वस्थ राजनीति नेपालमै रहन दिँदा जाती हुन्छ । उता गएपछि सबै एकै जाति-नेपाली । नेपालीभाषी । 

उताको राहदानी (पासपोर्ट) बोकेर नेपाल-भ्रमणमा आउन जहिलेसुकै पाइहालिन्छ । विदेशी पर्यटक त वर्षेनि हजारौंको संख्यामा नेपाल हेर्न आउँछन् भने नेपाली बोल्नेले नेपाल आउन नपाउने कुरै भएन । नेपालसँगको सामाजिक, सांस्कृतिक सम्बन्ध कायम राख्‍न चाहनेलाई परिचयपत्रको व्यवस्था भएकै छ ।

निर्धारित दस्तुर तिरेर ‘पर्सन अफ् नेपाली ओरीजीन’ भनिने  परिचयपत्र लिएपछि १० वर्षलाई प्रवेशाज्ञा (भिसा)प्राप्त भइहालेको छ, पटक-पटक प्रवेशाज्ञा लिइरहनु पर्दैन । बरू नेपाल आउँदा नेपालको पर्यटन (विमान सेवा, होटल आदि) मा योगदान हुने हिसाबले दुई-चार रुपिञा बढी तिर्नुपरे पनि तिरेर उदारता प्रदर्शन गर्नु बेश हुन्छ । साह्रै कञ्जुस्याञी पनि किन गर्नु ? जन्मभूमिप्रतिको कृतज्ञता जनाउन पाइने अवसर किन खेर फाल्नु ?


Author

थप समाचार
x