विचार

जस्टिस चन्द्रुको जीवन कसरी ‘जय भीम’ बन्यो ?

सुरेन्द्र नेपाल श्रेष्ठ |
मंसिर ५, २०७८ आइतवार १८:५ बजे

अहिले ‘जय भीम’ चलचित्रको चर्चा व्यापक भएपछि ‘जस्टिस चन्द्रु’ बारे चौतर्फी चर्चा चल्न थालेको छ । उनी वकील हुँदा लडेको एउटा मुद्धाको  वास्तविक कथामा बनेको चलचित्र रहेछ । कालो कोट लगाएर न्यायलाई किनबेच गर्ने वकीलहरू नै  हुन् भन्ने भनाइ बढ्दै गर्दा युवा युवतीहरू यो पेसाबाट विमुख हुँदै जानु स्वाभाविक हो  । तर खराबहरूको मात्रै कुरा हुने, राम्राहरू त्यतिकै हराउन नपाओस् भनेर यस खालको चलचित्र बन्ने क्रम बढेको छ ।  अहिले चन्द्रुसँग आफूलाई बाटो देखाइदिन अनुरोध गर्ने युवा युवतीको संख्या धेरै भइरहेको खबर छ ।  यसबाट वकालत पेसाप्रति सम्मान बढेको छ । यो वकील पेसाप्रति थप आकर्षण हुन थालेको संकेत पनि  हो ।

विकासका कुरा गर्नेहरूले विदेशमा सिकेको सीप भित्र्याएर नेपालको समृद्धि हुने कुरा निकै गर्छन् । मैले पनि नेपालमा अब वकालत गर्न पर्यो भनेर अधिवक्ताको लाइसेन्स नविकरण गर्न निवेदन दिएँ । विदेशी नागरिकता लिएको कारण नेपाली लाइसन्स नविकरण अस्वीकृत भयो । त्यसविरुद्ध दायर गरेको रिट चार वर्ष नाघिसक्दा पनि फैसला हुने पालो आएको छैन । म अझै त्यो दिन उत्सुकताका साथ् कुरिरहेको छु ।  


केही दिन अगाडि एक मित्रको फोन आयो । हामी केही दिन बिराएर हाइहेल्लो गरी रहन्छाँै । अहिले मेरो फोन सम्पर्क धेरै कम साथीहरू सँग मात्रै हुने गरेको छ । नियमित रुपमा  सायद धेरै सम्पर्क वहाँसँंग हुन्छ । विविध विषयमा छलफल वा जानकारी लिने दिने हुने गर्दछ । यसपालि वहाँको आवाजमा निकै खुशी झल्किन्थ्यो । धेरै लामो समयदेखि खोजी  रहेको कोही÷केही  भेटिए  जस्तो । मैले के खुशीको खबर सुनाउन लाग्नु भयो भनेरै सोधेँ । मन मनमा लागिरहेथ्यो कतै प्रधान न्यायाधीशको राजीनामा त आएन ? तर अपेक्षा विपरित कुनै हिन्दी फिल्मको नाम लिएर तपाईंले हेर्नु भयो भनेर सोध्नु भयो ।

मैले  सुरुमा फिल्मको नाम नै बुझिनँ । ‘एकदम राम्रो नयाँ  चलचित्र आएको रहेछ बीबीसी  हिन्दीले नै पनि विवेचना गरेको छ । एक पटक हेर्नु होला  ।  मैले लिंक पठाएको छु छोरीलाई पनि हेर्न भन्नु होला’ उहाँको आग्रह थियो । उहाँले यति भनेपछि मैले अड्कल लगाएँ यो पक्कै कानुनसँग सम्बन्धित हुनु पर्छ । चलचित्रबारे केही बताउन चाहनु भएन तर  यो चलचित्रले आफ्नो कानुन  व्यवसायको विगतलाई पुनर्ताजगी बनाइदियो । सारै घत लाग्यो । बाँकी पछि कुरा गरौँंला भनेर कुरा टुंगियो  ।

लिंक खोलेर हेरे चलचित्रको नाम ‘जय भीम’ रहेछ । झट्ट नाम सुन्दा महाभारतका बलिया भीम सम्झन पुगेँ ।  मोबाइलमा भएकोले पूरा पछि अलि फुर्सदमा हेराँैला भन्ठानँे तर छोरीसहित केही साथीहरूलाई त्यो लिंक पठाएँ ।  केही साथीहरूबाट कुनै लिंक आयो  भने  आफूले हेर्न अगाडि मैले पनि निश्चित साथीहरूलाई  सेयर गर्ने गरेको छु । आजसम्म कस्तो लिंक पठाएको बन्ने गुनासो आएको छैन ।  भोलि पल्ट गोविन्द बेलबासेजीले यस चलचित्रबारे कसैको  फेसबुक वालमा यस्तो टिप्पणी गरेको देखें ।

‘वि.स. २०५०को दशकमा बुटवलमा एउटा वकीलको सम्झना दिलायो यो, फिल्मले । पुलिसले अदालतको गेटबाटै वकीलसँग खोसेर अदालतको आदेशले छुटेकी सुमित्रा घिमिरेलाई बेपत्ता बनाएपछि बन्दीप्रत्यक्षीकरणमा डिएसपी जय बहादुर चन्दलाई अदालतमा उभ्याउनेसम्मका उपलब्धि त भए तर धेरै उपलब्धि हात लाग्न सकेन । सुमित्रा सरकारी खोरमा लगेर मारिइन् तर सजाय पाउनु पर्ने जय ब.चन्दहरूले प्रमोसन पाए ।

बाटो बनाउने ठेक्का पाएका ठेकेदारले बुटवल बजारभरि बाटो धुलाम्य पारेर वेपत्ता हुँदा कानुनको सहारामा सहरवासीलाई राहत दिलाउन इन्जिनियरलाई अदालतमा उभ्याउँदा रातारात बाटो कालोपत्रे बन्नुमा वकील मात्र होइन तत्कालीन न्यायाधीशहरूलाइ पनि सलाम छ । सञ्जोग मिलेको खण्डमा बुटवलतिर जाँदा पुराना वकीलहरूसँग सन्दर्भ खोजी गर्नु भएमा रमाइलै हुनेछ ।’

मैले पनि यो चलचित्र साह्रै रुचिका साथ हेरेँ ।  धेरै पछि राम्रो फिल्म बने जस्तो लाग्यो ।  त्यसो त बेला बखत अदालत,न्याय,कानुनसँग सम्बन्धित् विषयमा बनेका चलचित्रहरू खोजी गरेर नै हेर्ने गरेको छु । यो चलचित्र हेर्न सुझाउनु भएकोमा गोविन्दजीलाइ धन्यवाद ।  

जसको बारेमा यो चलचित्र बनेको छ त्यसबारे बुझ्न मन लाग्नु स्वाभाविक थियो ।  पूरा चलचित्र हेर्दा कहीँ कतैबाट यो नाम कसरी राख्यो होला भन्ने अन्दाज लगाउन सकिएको थिएन ।  त्यसबारे खोज्दै गर्दा अर्को झन् घतलाग्दो तथ्य पत्ता लाग्यो ।  आजकल आफूलाई अलि घत लागेको विषय कुनै माध्यमबाट जानकारी हुँदा लिपिबद्ध गर्ने जाँगर चलेको छ ।  हेरौँ को–कसलाई पढ्ने फुर्सद मिल्छ होला यो जानकारी ?

चन्द्रु कृष्णस्वामी अहिले सत्तरी वर्षका भए । सन् १९१४ मार्च ८ मा उनले मद्रास हाईकोर्टको न्यायाधीशबाट अवकाश पाए । ३१ जुलाई २००६ मा न्यायाधीशको रूपमा न्यायालयमा प्रवेश गरेका चन्द्रुले दैनिक औसत  ८५ मुद्दाको छिनो फानो लगाए । करिब साढे छ वर्षको उनको कार्यकालमा झण्डै ९६ हजार मुद्दाका  फैसला गरे । सन् २००८ मा उनले मन्दिरमा महिला पुरोहित हुन् पाउँछ  भन्ने फैसला गरेका थिए ।  सो निर्णय गर्दा उनको तर्क थियो, ‘पुरोहितको काम भगवानको पूजा गर्ने हो पुरोहित पुरुष नै  हुन पर्छ  भन्ने छैन ।  कसले भन्दा पनि के गर्ने भन्ने मुख्य विषय हो ।’  उनका धेरै फैसलाले भारतीय समाज रुपान्तरणमा दूरगामी प्रभाव पार्न सफल भएका थिए ।

उनले अवकाश प्राप्त गरेको दिन आफ्नो बिदाइमा कुनै औपचारिक कार्यक्रम नराख्न अनुरोध गरे । सबै न्यायाधीश  कर्मचारीलाई उनीहरूकै कोठामा गएर बिदा मागे । उनले आफ्नो सबै जायजेथाको विवरण र गाडीको चाबी निमित्त मुख्य न्यायाधीशलाई बुझाएर सार्वजनिक यातायातमा आफ्नो निवास  लागेका थिए । केही दिनपछि सरकारी आवास छाडी नजिकै दुई कोठाको  अपार्टमेन्ट भाडामा लिएर अध्यापन गर्न थाले । भविष्यमा कुनै पनि सरकारी जिम्मेदारी नलिने र कानुन व्यवसाय नगर्ने घोषणा गरे । 
 
रेलवे कर्मचारीको परिवारमा सन् १९५१ में ८ मा   श्रीरंगम , तमिलनाडुमा जन्मिएका चन्द्रुका एक दिदी र चार भाइ थिए । उनी साइँलो छोरा हुन् । पछि उनीहरू चेन्नईमा  बसाइँ सरेका थिए । सानै उमेरमा आमाको मृत्यु भयो बुबाले अर्को विवाह नगर्ने निर्णय गरेकोले घरको कामहरू सबै आफैले हेर्न पर्ने भयो ।   केही समयमा दाजुहरू विदेश लागेको, दिदीको विवाह भैसकेको थियो । बुबाको पनि मृत्यु भएपछि सानो भाइलाई दिदीकोमा पठाएर आफू चेन्नईको एउटा छात्रवासमा बस्न गएका थिए ।

बोटानी  विषयमा स्नातक गर्न लोयला कलेज चेन्नईमा भर्ना भएका चन्द्रु त्यहाँको विद्यार्थी संगठनमा सक्रिय रहेको कारण दोस्रो वर्षमा कलेजबाट निष्काशित  भए । तत्कालीन राजनैतिक घटनाक्रम र उनलाई अन्तर्राष्ट्रिय विषयमा बढी चाख भएको कारण भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीले उनलाई आकर्षण गर्यो । कलेजबाट निष्काशन भए पछि सौभाग्यवस केही सम्पर्कको आधारमा उसले मद्रास क्रिस्टियन कलेजमा भर्ना पाए र डिग्रीसम्मको अध्ययन पूरा गरे ।

त्यतिन्जेल उनी राजनीतिमा पनि साह्रै सक्रिय भइसकेको कारण  पढाइपछि कुनै काममा  नलागिकन करिब दुई वर्षमा उनले तमिलनाडु भरी भ्रमण गरी पार्टी संगठन बलियो बनायो । समाजमा रहेको व्यापक असमानता शोषण अत्याचारलाई आफैँले प्रत्यक्ष रूपमा अनुभव गरेको हुँदा कम्युनिस्ट सिद्धान्तप्रति झन् बढी प्रतिबद्ध भए । 

तर राजनीति गर्न पनि कानुन चाहिन्छ भन्ने भएपछि दाजु के राज गोपालको सल्लाहमा चन्द्रु कानुन पढ्न थाले । पढाइ सकेपछि उनले ‘रो एन्ड रेड्डी’मा काम अभ्यास थाले ।  यी दुई वकीलहरू बेलायत छाडेर भारत आएका थिए । भारत आउनुको मुख्य उद्देश्य कानुन वा न्यायलाई किन्न नसक्नेहरूको सहयोग गर्नु थियो । कालान्तरमा यो फर्मले  पनि  ठूला ठूला कम्पनीका मुद्दाहरू लिन थालेपछि करिब आठ वर्ष काम गरेर चन्द्रुले सन् १९८३ देखि आफ्नो छुट्टै फर्म खोले ।

यस बीचमा उनको राजनीतिक जीवनमा ठूलो परिवर्तन आयो ।  सन् १९८८ मा भारतले श्रीलंकामाथि हस्तछेप गर्दा भाकपाले त्यसको समर्थन गर्यो तर चन्द्रुले यसको विरोध गरे । पार्टीले उनलाई कारबाही गर्यो । यसपछि भने चन्द्रु फेरि पार्टीमा फर्किएनन् । बरु आफ्नो पेसामार्फत झन् सक्रिय भएर उनले अन्यायमा परेकालाई न्याय दिलाउन थाले । 

कानुन व्यवसायीको रूपमा उनले राम्रो ख्याति प्राप्त गर्दै जाँदा सन् १९९०  मा वरिष्ठ अधिवक्ता भए । त्यही वर्ष उनले विवाह पनि गरे ।  उनको श्रीमती भारथी   पनि स्थानीय कलेजमा अध्यापक छिन् । सन् २००६ मा बारबाट मद्रास हाइकोर्टमा अस्थायी न्यायाधीशको रूपमा नियुक्त भएका थिए । उनले अदालतमा हुने ढिला सुस्तीलाई आफ्नो तर्फबाट कमी गर्ने सुरुआत गरे ।  

बिहान कामभन्दा १५ मिनेट अगाडि पुग्ने, प्रशासनिक काम १०÷१५  भित्र सकाएर बेञ्चमा बसेर मुद्धा मामिला हेर्ने, अफिस बन्द भएपछि पनि एक घण्टा बसेर त्यस दिनको काम सबै सकाउने उनको बानी थियो । उनले आफ्नो सुरक्षाको लागि कुनै प्रहरी आवश्यक नभएको भनेर लिएनन् । त्यति बेला अदालतमा ६० जना न्यायाधीशको लागि चार जनाको दरले सुरक्षा र एक जना पीएसओ समेत गरी ३ सय प्रहरी चाहिन्थ्यो । यति संख्याले त एउटा क्षेत्रको नै सुरक्षा गर्न पुग्छ भन्ने उनको जिकिर थियो । सन् २००९ मा उनी स्थायी न्यायाधीश बनेपछि त बहस गर्दा पनि आफूलाई ‘माइ लर्ड’ नभन्न उर्दी जारी गरेका थिए ।  

 उनी वकिल हुँदा लडेका  मुद्दाहरू मध्ये सन् १९९३ मा भएको एउटा घटनामा स्थानीय आदिवासीमाथि प्रहरीबाट  चरम  ज्यादती भएको   मुद्धा  थियो ।  यो मुद्दाको फैसला हुन् १४ वर्ष लाग्यो ।   सन् २००६मा  न्याय पाएको  त्यही मुद्दामा आधारित यो चलचित्र भर्खरै नोभेम्बर २ देखि अमेजन प्राइममा  सार्वजनिक भएको हो ।  हलिउड  चलचित्रलाई पनि पछाडि पारेर आइएमडीबी रेटिङमा नयाँ रेकर्ड कायम सफल यो चलचित्र धेरै नै राम्रो बनेको अनभूति छ मेरो । 

गजबको विषय के पाएँ भने यो चलचित्र हेरी  सक्दा पनि नाम चाहिँ कसरी ‘जय भीम’ भयो त्यसको कुनै आधार भेटिएन । कहीँ कतैबाट पनि अड्कल काट्न नसकिने यो नाम जुराउँदाको कथा भने रोचक रहेछ । भारतीय कानुनी इतिहासमा अहिलेसम्म सबैभन्दा अग्रणी नाम भनेको बी.आर.अम्बेडकर मानिन्छ । आधुनिक भारतको संविधान निर्माण गर्ने प्रमुख व्यक्ति उनी नै हुन् ।  

अम्बेडकर आफँै पनि दलित समुदायको हुँदा के कति हेलाहोचो सहनु पर्यो र त्यस  विरुद्ध  उनले सुरु गरेको  विद्रोह सर्बव्यापी  नै छ । यसै क्रममा भारतीय दलित आन्दोलनका एक प्रमुख व्यक्ति एल एन हरदासले दलितहरू भेट हुँदा ‘जय भीम’ भन्ने परम्परा सुरू गरेका थिए । जुन ‘जय हिन्द’ भन्दा धेरै अगाडि सुरु भएको मानिन्छ ।  उनी अम्बेडकरको एक सच्चा अनुयायी थिए ।  कानुनको पर्यायको रूपमा अम्बेडकरको व्याख्या गर्दथे । 

अम्बेडकरको अगाडिको नाम भीमराव रामजी हो । त्यसैले उनलाई उच्च सम्मान गर्दै  न्यायको जीत नै भीमको जीत हो भनेर व्याख्या गर्ने गर्थेे र यो अहिलेसम्म पनि चल्दै आएको छ । यसै बारेमा  सन् २०१६ मा  बलिउडले ‘बोले इंडिया जय भीम’ भन्ने चलचित्र नै बनाएको थियो  । वकील चन्द्रुले न्यायलाई मार्न नदिएको मुख्य कथा रहेको यो फिल्मको नाम ‘जय भीम’ राख्नुमा अन्तिममा  विजय न्यायको  नै हुन्छ भन्दै अम्बेडकरलाई पनि सम्झिन कारण मान्न सकिन्छ । चन्द्रु आफै पनि अम्बेडकरको  खास अनुयायी थिए ।  उनले माक्र्सबाद पढेको कारण आफूलाई अम्बेडकर बुझ्न धेरै सहज भयो भन्ने गर्दथे ।  

जस्टिश चन्द्रु बारे लेखिरहँदा  हामीले डाइनामिक  ल फर्म चलाउँदाको  मेरो कानुन व्यवसायी मित्र चन्द्रकुमार बस्नेतलाई नसम्झिने  कुरै भएन ।  अहिले पनि चन्द्रजी सिन्धुपाल्चोकमा यही  फर्म चलाएर बस्नु भएको छ ।  जस्टिश चन्द्रुको जस्तो नभए पनि त्यहाको परिवेशमा चन्द्रजीलाइ पनि समाजले सम्झन योग्य कामहरू गर्दै जान शुभकामना  दिन चाहन्छु । जय भीम !

(लेखक लामो समयदेखि संयुक्त अधिराज्य बसोबास गर्दै आएका अधिवक्ता हुन् ।)
 


Author

सुरेन्द्र नेपाल श्रेष्ठ

(लामो समयदेखि बेलायत बसोबास गर्दै आएका श्रेष्ठले इकागजमा निरन्तर विविध विषयमा कलम चलाउँदै आएका छन् ।)


थप समाचार
x