विचार

युद्धमा प्रेम र प्रेममा युद्ध !

नीरज लवजू |
मंसिर १३, २०७८ सोमबार १०:२ बजे

अघिल्लो साताको लेखाइमा विद्यार्थी हित समितिको पुस्तकालयबारे चर्चा गरिएको थियो । काठको सानो बक्साभरिको पुस्तक सङ्कलन नै हाम्रा निम्ति त्यतिबेलाको पुस्तकालय थियो । काठे बाकसमा राखिएका पुस्तकमध्ये सबभन्दा बाक्लो पुस्तक थियो- ‘वार एन्ड पिस’ । 

अर्थात्, रुसी साहित्यकार एवम् चिन्तक लियो तोल्सतोयको विश्वविख्यात उपन्यास ‘युद्ध र शान्ति’ । त्यो पुस्तकको आकार देखेर हामी आजित हुन्थ्यौँ । तिनताकाको बालसुलभ मनमा एउटै कुरा खेल्थ्यो- कसरी मात्र लेख्न सकेको होला यति बाक्लो पुस्तक ? 


पुस्तकको आवरणमा अगाडिका दुई खुट्टा उठाएको बडेमाको घोडामा नेपोलियन सवार भएको चित्राकृति थियो । आकारले नै आजित हामीले त्यतिबेला त्यो पुस्तक पढ्ने हिम्मत कहाँबाट जुटाउन सक्नु ! तर, हरेक पटक त्यो मोटो पुस्तकका पाना फरर पल्टाउँदा मनमा मधुरो आशावादी धुन भने बजेकै हुन्थ्यो- जीवनको कुनै दिन कसो नपढुँला र !

तोल्सतोयको ‘अन्ना केरेनिना’ र ‘रेजुरेसन’ छिचोलिसकेपछि भने ‘युद्ध र शान्ति’ पढ्ने आँट आयो । हिजोआज मसँग प्रशस्त समय छ । ‘युद्ध र शान्ति’ पढ्न योभन्दा उपयुक्त समय के होला र ! कक्षा ८ पढ्दा हामीलाई अङ्ग्रेजी पढाउनुहुने शिक्षक सेवानिवृत्त हुनुभयो । उहाँलाई गह्रौँ मनले बिदा गर्दै गर्दा मैले एउटा प्रश्न गरेको थिएँ, ‘सर ! अब फुसर्दका दिन के गर्नुहुन्छ ?’ 

बाक्लो सिसाको चाक्लो चस्माबाट मलाई नियाल्दै उहाँले भन्नुभएको थियो, ‘मैले रिटायर्ड लाइफमा पढ्न धेरै उपन्यासहरू जम्मा गरेको छु बाबु । अब ती उपन्यास पढ्दै दिन बिताउँछु ।’ उहाँको जवाफ मलाई खुबै मन परेको थियो । 
त्यसो त म रिटायर्ड लाइफबाट धेरै टाढा छु अथवा मलाई लाइफमा कहिल्यै रिटायरमेन्ट हुन्छ जस्तो लाग्दैन । तथापि, महामारीका कारण सार्वजनिक जीवनमा आएको सुस्तता र लकडाउनले बसालेको घर बस्ने बानीले गर्दा हामीले सानोतिनो अंशमै सही, सबैले रिटायर्ड लाइफ बिताइरहेको अनुभव हुन्छ । 

एउटा अनलाइन पसलबाट एक थान ‘वार एन्ड पिस’ मगाएँ । विद्यार्थी हित समितिको पुस्तकालयमा देखेको ‘वार एन्ड पिस’को आवरणभन्दा त्यसको आवरण फरक  रहेछ । मस्कोमा नेपोलियन प्रवेश गर्दा उनले देखेको निष्प्राण सहरको चित्राकृतिलाई यसको आवरण बनाइएको छ ।

नगरकोटको एउटा रेस्टुराँको आरामदायी सोफामा ‘वार एन्ड पिस’को अन्तिम पाना छिचोल्दै गर्दा मनमा एउटै वाक्य खेलिरहेको थियो- ‘सबै युद्ध जितेर पनि जितिँदो रहेनछ । सबै युद्ध हारेर पनि हारिँदो रहेनछ ।’ नेपोलियन आफूले चिताएसरि मस्को कब्जा गर्न सफल भए ।

जार अलेक्सान्द्रमाथि उनले जीत हासिल गरे । मस्को सहरका भव्य दरबारहरू कब्जा गर्ने उनको सपना पूरा भयो । तर, मस्को पस्दा विजेता बनेर पसेका नेपोलियन मस्कोबाट भने पराजित भएर रातारात भाग्‍नुपर्‍यो । उनलाई कसैले लखेटेको थिएन । मस्कोमा शासन गर्न उनले त्यहाँ रहेका जनताको नाममा शासनको नियमावलीसमेत जारी गरिसकेका थिए । भागेका रुसी जनतालाई मस्को फर्किन आह्वान पनि गरेका थिए । तर, अहँ कोही फर्केनन् । मस्कोमा बाँकी रहेका निःसहाय रुसी र त्यहाँका रित्ता दरबारमाथि नेपोलियनले कति समय नै शासन गरेर बस्न सक्थे र ! मस्को कब्जा गरेर बसेका फ्रान्सेली सेनामाथि प्रत्याक्रमण गर्ने मत रुसी सेनाभित्रै अल्पमतमा थियो ।

प्रधानसेनापति कुटुजोब फ्रान्सेली सेनामाथि हमला गर्न आवश्यक नभएको अडानमा थिए । तथापि, संसार जित्न हिँडेका नेपोलियन मस्कोबाट भाग्‍नुपर्‍यो । उनीसँग मस्कोबाट भागेका फ्रान्सेली सेनाहरूमध्ये निकै थोरै सङ्ख्याले मात्र फ्रान्सको भूमि टेक्न सके । कोही बाटोमा भोकले मरे, कोही चिसोले त कोही थकानले मरे । 

युद्ध र प्रेम । यी दुई शब्द आपसमा विपरीतार्थक शब्दहरू जस्ता लाग्छन् । युद्धमा प्रेम कहाँ ! प्रेममा युद्ध कहाँ ! तर, तोल्सतोयजस्ता परिपक्व चिन्तकले यी दुई शब्द आपसमा परिपूरक भएको देख्नु कुनै ठूलो कुरो होइन । सन् १८०५ देखि १८२० सम्मको झन्डै दुई दशकको अवधिमा तत्कालीन रुसी समाजले भोग्‍नुपरेको समयको सामाजिक इतिहास हो-‘युद्ध र शान्ति’ । पढ्दै जाँदा कतिबेला इतिहासमा उपन्यास पढेजस्तो त कतिबेला उपन्यासमा इतिहास पढेजस्तो अनुभव हुन्छ । कतिबेला घटनाक्रमले नायक जन्माए जस्तो अनि कतिबेला नायकले घटनाक्रम जन्माएजस्तो ।

उपन्यासको अन्तिम खण्डमा तोल्सतोयले लेखेको इतिहास अध्ययनसम्बन्धी विचारमा उनी मानिसको ‘स्वतन्त्र चाहना’ (freewill) र ‘अपरिहार्यताको सिद्धान्त’ (principle of inevitability) बीचको दोहोरो द्वन्द्वात्मकता (binary opposition) को गहन सैद्धान्तिक चर्चा गर्छन् । कुनै पनि घटनाक्रम मानिसको चाहनाले मात्र पनि हुने गर्दैन । मस्कोमाथि हमला गर्नु नेपोलियनको चाहनाले मात्र सम्भव भएको थिएन । त्यसमा अपरिहार्यताको सिद्धान्त पनि कहीँ न कहीँ जोडिएको छ । तर, अपरिहार्य भएर पनि नेपोलियनजस्ता शासकले मस्को हेर्ने र शासन गर्ने चाहना नपालेको भए मस्कोमाथि हमला सम्भव थिएन । 

तोल्सतोयका यी विचार इतिहासबारे मार्क्सको विचारसँग निकटता राख्छ । मार्क्सले पनि इतिहासको निर्माता सधैँ जनता नै हुने, तर समयले जन्माएको व्यक्तिले पनि इतिहासको दिशा निर्धारणमा धेरै ठूलो भूमिका खेल्ने कुरा बताएका छन् । स्वतन्त्र चाहनाले नै सबै कुरा निर्धारण हुँदो हो त नेपोलियन मस्कोमाथि विजय हासिल गरेर सेन्ट पिटर्सवर्गतिर पनि हानिने थिए । तर, स्वतन्त्र चाहनाको निश्चित सीमा हुन्छन् । अपरिहार्यताको सिद्धान्त नै स्वतन्त्र चाहनाका सीमा हुन् । त्यसकारण उनी सेन्ट पिटर्सवर्ग जानु त परको कुरा, मस्कोसमेत पनि बेवारिसे छोडेर भाग्‍नुपर्‍यो । 

इतिहासकारले इतिहास लेख्दा उसले राजनीतिक वा सैनिक नेतृत्व संलग्न घटनाक्रमको व्याख्या गर्छ । उसले मितिमा खेल्छ । उसको ध्यान दरबार र सैनिक मुख्यालयमा केन्द्रित हुन्छ । नेताको भाषण र वक्तव्यमा उसको बढी ध्यान जान्छ । उसको प्राथमिकता सधैँ शासकको उदय र पतनमा हुन्छ । तर, एक जना परिपक्व साहित्यकारले इतिहासका ती पात्रहरूले कुनै पनि कदम चाल्दा एक जना सर्वसाधारणमा पारेको प्रभावलाई प्राथमिकतामा राखेर नियाल्छ । 

फ्रान्सेली युद्धवीर नेपोलियनले रुसमाथि हमला गर्दा रुसी जनताको जीवनमा कस्तो प्रभाव पार्‍यो ? नेपोलियनले केही समयका लागि मस्कोमा शासन गर्दा त्यहाँबाट भाग्न नसकेका रुसीहरूको अवस्था कस्तो थियो ? भागेका रुसीहरूका विशाल भवनहरूमा फ्रान्सेलीहरूले के गरेका थिए ? मस्कोमाथि फ्रान्सले कब्जा जमाइसकेपछि भाग्ने सम्भावना भएर पनि मस्कोमै रहेर ‘नेपोलियनको हत्या गर्ने’ योजनासहित बसेका पेयरे जस्ता पात्रहरूको नियति कस्तो भयो ? अनि युद्धमा गम्भीर घाइते प्रिन्स आन्द्रु जस्ता लडाकुहरू कसरी आफूलाई धोखा दिएकी प्रेमिकाकै काखमा प्राण त्याग्‍नुपर्‍यो ?

त्यत्ति मात्र होइन, नेपोलियनका सिपाहीहरू मस्कोमा पुग्दा उनीहरूको मनस्थिति कस्तो थियो ? उनीहरूले मस्कोमा के गरे ? अनि नेपोलियन आफैँ मस्को छोडेर भागेपछि फर्केका फ्रान्सेली लडाकुहरूको अवस्था कस्तो रह्यो ? देश गुमाउनुपरेको पीडामा रुसी किसानहरूले थालेको गुरिल्ला युद्धको शिकार बनेका फ्रान्सेलीहरूको हालत कस्तो रह्यो ? बिरामी पर्दा हिउँमै मृत्यु कुर्न बाध्य फ्रान्सेली सिपाहीहरूका क्षीण बन्दै गएको फ्रान्स पुग्ने सपना कसरी निभ्दै गयो ? यस्ता अनेकन् प्रश्न एक जना इतिहासकारका निम्ति सायदै चासोको विषय बन्ला । तर, तोल्सतोय जस्ता साहित्यकारहरू समयको पाप्रामा पुरिँदै गएको यस्ता घाउमा सुइरोले कोटर्दै अभिलेख नभएको जनताको इतिहास अभिलेखीकरण गर्न कस्सिन्छन् । 

मानिसको जीवनको रङ कति थरी हुन्छ ? जति मानिस छन्, जीवनको पनि उति नै थरी रङ हुन्छ । अझ एकै मानिसको जीवनको पनि धेरै थरी जीवनका रङ हुन्छन् । ‘युद्ध र शान्ति’ पढ्दै गर्दा यो कृति मानिसका जीवनका रङको कोलाज जस्तो भान हुन्छ । मानिसभित्र असङ्ख्य मनोभावना हुन्छ । एकै दिनमा पनि हामीले कयौं मनस्थिति जानेर वा नजानेर छिचोलिरहेका हुन्छौँ । यो उपन्यासभित्र मानिसका हरेक थरी मनस्थितिलाई शब्द र अभिव्यक्ति दिइएको छ ।

तोल्सतोयले उपन्यासमा प्रेमभित्र पनि अनेकन् मनोभावना- आकर्षण, ईष्र्या, मौन प्रेम, क्षोभ, द्वैष र घृणासम्मका चित्र उतारेका छन् । प्रिन्स एन्ड्रुसँग विवाह बन्धनमा बाँधिन आतुर नताशा एनाटोली कुरागिनसँग भाग्न तम्सिन्छिन् । के उनले प्रिन्स एन्ड्रुलाई गरेको प्रेम असल प्रेम थियो ? अथवा कुरागिनप्रतिको उनको प्रेम थियो वा आकर्षण मात्र ? कि एन्ड्रुप्रति बदलाको भावना मात्र ? यदि एन्ड्रुलाई प्रेम गर्थिन् भने कुरागिनसँग किन भाग्न तयार भइन् ? होइन, भने युद्धमा गम्भीर घाइते बनेका एन्ड्रुलाई आफ्नै प्रेमी जस्तै स्याहार गर्न किन उनी अघि सरिन् ? समयान्तरमा नताशाले एन्डु«कै मित्र पेयरेसँग विवाह गर्छिन् । एकै जना मानिसको जीवनमा पनि कति धेरै रङ हुने गर्छ ! 

उपन्यासमा सयौं पात्र छन् । तीमध्ये धेरै त युद्धवीरहरू छन् । यो उपन्यासको नायक को हो भनी मलाई कसैले सोधे- म भन्नेछु-नेपोलियन । (तोल्सतोयकालीन उपन्यासहरूमा पात्रहरूमध्ये कसैलाई नायक बनाउनु अनिवार्य जस्तै थियो । जो हिजोआजको उपन्यासमा कम हुँदै गएको छ ।) तर, उपन्यासमा नेपोलियनबाहेक पनि धेरै नायकहरू छन्, जसप्रति पाठकलाई सधैँ चिन्ता र चासो लागिरहन्छ । एक जना त्यस्तै पात्र हुन्- पेयरे । सेन्ट पिटर्सवर्गका कुलीन बैठकहरूमा ‘उत्ताउलो कुरा गर्ने’ पेयरे फ्रान्सेली क्रान्तिबाट प्रभावित थिए । उनी फ्रान्समै पढेका थिए । तर, उनले पहिलो विवाह असफल भयो । कुलीन रात्रिभोजमा विशेष रुचि भएकी हेलेनाले सम्पत्तिको लोभमा पेयरेसँग विवाह गरिन् ।

उनीहरूका रुचि र सोच एकअर्कासँग कति पनि मिल्दैनथ्यो । अन्ततः त्यो सम्बन्धको वियोगान्त भयो । नेपोलियनले मस्को कब्जा गरिसकेपछि पेयरे त्यहाँबाट भागेनन् । उनी ‘नेपोलियनको हत्या’ गर्ने उद्देश्यसहित मस्कोमै बसे । उनी फ्रान्सेली सेनाको कब्जामा परे । उनी प्राणदण्डको शिकार बन्न बल्लतल्ल जोगिए । युद्धबन्दी बनाइए । पेयरेले उत्तम जीवनको खोजीमा धेरै ठाउँ भौंतारिए । धार्मिक सन्त पनि गरे । तर, उनलाई आफूसँग युद्धबन्दी बनाइएको एक जना किसान काराटेभले दिएको ज्ञान नै जीवन बाँच्‍न मनग्य भयो । फ्रान्सेलीहरूको कैदमै यात्रा गर्ने क्रममा बिरामी परेपछि काराटेभको हत्या हुन्छ । 
पेयरेले अन्ततः आफ्नो अव्यक्त प्रेमिका नताशासँग विवाह गर्छन् । 

कुनै पनि फरक संस्कृतिको साहित्य पढ्न अर्को संस्कृतिको पाठकलाई सामान्यतः असहज अनुभव हुनु स्वाभाविक हो । गोर्कीको ‘आमा’ उपन्यासको अनुवादमा ‘सोमाबार’ शब्द बुझ्न धेरैलाई असहज भएको अनुभव हुनुपर्छ । तोल्सतोयका उपन्यासहरू पढ्दा पनि त्यस्तै सांस्कृतिक दूरी अनुभव स्वाभाविक रूपमा हुन्छ । युद्धप्रति रुसी युवाहरूको भावना लामो समय युद्धको अनुभव नगरेका नेपाली समाजका पाठकलाई अनौठो लाग्न सक्छ । युद्धको भयानक दृश्यहरूको चित्रण हिजोआज श्रव्यदृश्य र चलचित्रको प्रचुरताको कारण कल्पना गर्न सहज भए पनि त्यसको रौद्रता र निर्ममताको अनुभव गर्न नेपाली पाठकलाई गाह्रै पर्न सक्छ ।

तथापि, मानिसको भावनाको भाषा भने जुनै पनि संस्कृतिबीच पनि समानता हुन्छ । प्रेम, घृणा, एक्लोपना, निराशा, त्रास, आक्रोश, दिक्दारी, उत्साह, समर्पण आदि मानिसका भावनाको भाषा एउटै हुन्छ । ‘अन्ना करेनिना’मा भ्लासिक र ‘रेजुरेसन’को नेख्लुदोभको भावना, उपन्यासमा चित्रित किसान जीवनको व्याख्याले उपन्यासप्रति जो कोहीले निकटता अनुभव गर्न सक्छ । 

सन् १९१७ मा रुसमा अक्टोबर समाजवादी क्रान्ति भयो । तर, त्यो एकै दिनको प्रताप थिएन । त्यसको निम्ति ‘युद्ध र शान्ति’ कालदेखि नै वैचारिक तयारी भइरहेको वास्तविकता उपन्यासमा तोल्सतोयले विभिन्न पात्रमार्फत व्यक्त विचारबाट थाहा हुन्छ । साहित्यिक र वैचारिक रूपमा परिपक्व समाजमा मात्र समाजवादजस्तो उच्चतम मानव समाजको चर्चा हुनसक्छ र स्थापनाको आधार तयार हुन सक्छ । क्रान्ति सांस्कृतिक स्तरसँग पनि जोडिएको विषय हो । 
तोल्सतोय जस्ता साहित्यकारहरूको ‘युद्ध र शान्ति’ जस्ता विशिष्ट कृतिकै कारण रुसमा समाजवादी क्रान्तिको आधार तयार भएको हो । विचार शून्य समाजमा न साहित्य जन्मन सक्छ, न क्रान्ति नै । ‘युद्ध र शान्ति’ रुसी इतिहासको विशिष्ट कालखण्डको सामाजिक इतिहास हो । रुसी समाज र इतिहासको समीक्षाका निम्ति यस्ता कृतिले बलियो आधार प्रदान गरेको हुनुपर्छ जसले समाजवादी क्रान्तिका निम्ति ब्याड तयार गरिदियो ।

‘युद्ध र शान्ति’को अन्तिम पानासँगै टेबुलमा रहेको कपको अन्तिम घुट्को कफी घुट्काइयो । तर, अर्को एक कफ तातो कफी मागेर उपन्यासका पात्रहरूको स्मरण गर्न मन लाग्यो । “भाइ, एक कफ अर्को ब्ल्याक कफी है !” कफीसँगै उपन्यासका पात्रहरू सम्झन थालेँ । मनमा एकतमासले एउटा धुन गुञ्जिरह्यो- उफ्, मानिसको जीवन पनि कहाँबाट कहाँ पुग्ने रहेछ !”


Author

थप समाचार
x