विचार

न ओलीमा संवेदना देखियो, न पूर्वमाओवादी नेताले प्रायश्चित नै गरे

सञ्जय पन्थी |
मंसिर १६, २०७८ बिहीबार १८:२४ बजे

नेकपा एमालेको १०औं महाधिवेशन समपन्न भएको छ । जे-जसरी भएपनि लोकतान्त्रिक विधि अपनाएर चुनिएको नेतृत्वलाई बधाई दिन कर लाग्छ । १०औं महाधिवेशनबाट नवनिर्वाचित नेतृत्वलाइ बधाईसँगै यो नेतृत्वले पार्टी र मुलुकलाई कस्तो दिशामा डोर्‍याउँछ भन्ने सबैमा जिज्ञासा छ ।  

महाधिवेशन लोकतान्त्रिक मूल्य, मान्यतासहितको थियो वा थिएन भन्ने एमालेको वर्तमान नेतृत्वले लिने भावी कार्यदिशाले अझै स्पष्ट पार्नेछ । एमाले महाधिवेशनलाई लिएर आलोचना गर्ने अन्य दलका नेताहरूले आफ्नो विगत र वर्तमान समीक्षा गर्दा नै उत्तर पाउँछन् ।  त्यसो भनिरहँदा एमाले पूर्ण लोकतान्त्रिक अभ्यासमा छ, भन्न खोजिएको भने होइन ।


नेकपा एमालेलाई मनमोहन अधिकारीदेखि केपी ओलीसम्म पाँच पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । अन्तिम पटक केपी ओली बाहेक चार पटकका अल्पमत वा संयुक्त (हंग पार्लियामेन्ट) सरकारको नेतृत्व गरेको एमालेका कार्यकर्तालाई एक पटक अझै केपी ओलीको  बहुमतको नेतृत्व हेर्ने इच्छा भएको सजिलै बुझ्न सकिन्छ । केपी ओलीले दुई पटकसम्म संसद विघटन गरेको घटना इतिहासले मूल्यांकन गर्ला तर उनका कार्यकर्ताले उनलाइ सात खून माफ गरेका छन् । तर संविधान मिचेर प्रतिनिधिसभा पटक पटक विघटन गरेको मूल्य भने एमालेले कालान्तरसम्म चुकाउनुपर्नेछ ।

कुनैबेला ७० वर्ष उमेर हदमा लाहाछाप लगाएका जुझारु एमाले कार्यकर्ताले यस पटक पार्टी जीवनका लागि विषम अवस्था मानेर उक्त प्रतिवद्धतालाई बिर्सिदिएरै भएपनि चितवनमा केपी ओलीलाई दोस्रो पटक अध्यक्षमा निर्वाचित गराएका छन् । केपी ओली भित्रको अन्तर मनको मीमांसालाई नेता कार्यकर्ताले एक पटक पुनः विश्वास गरिदिएका छन् । उक्त विश्वासलाई अरुले टिप्पणी गरेर अब विश्वसनियतामा आँच पुर्‍याउन आवश्यक छैन । लोकतन्त्रमा विधिले मान्यता पाएपछि कतिपय अवस्थामा नतिजा गौण पनि बन्न सक्छ । नेकपा एमालेले अन्तिम अवस्थामा भएपनि विधि र प्रक्रिया अपनाएर नेतृत्व चयन गरेको तथ्यबाट हामी सबै जानकार छौं ।

विधि र प्रक्रिया के थियो,  कसरी अपनाइयो ? भन्नेतिर नजाऔं । नेतृत्वले विगतका गल्ती कमजोरीबाट पाठ सिकेर आफ्नो धुमिल छविमा कान्ति ल्याउन सकोस् । किनकी १० वर्षे हिंसाका बिरुद्ध खरो उत्रिएका नेता हुन् केपी ओली । यतिबेला उनले कार्यकताको मन जितेको एउटा कारण त्यही थियो भन्न सकिन्छ । दश बर्षे द्वन्द्वकालमा हिंसाले प्रातडित र पलाउन कार्यकर्तालाई शब्दबाट भएपनि राहत दिलाएको उनको विगत छ । त्यही विगतले गर्दा यस पटक पार्टी फुट्दा पनि नेता तथा कार्यकर्ताको ठूलो पंक्ति एमालेमा उनीसँग साथै रहेको हो भनेर बुझ्न सकिन्छ । त्यसो त उनले दोस्रो कार्यकालमा अध्यक्ष जितिरहँदा उनले तत्कालिन केही माओवादी नेताहरूलाई आफ्नो प्रतिवद्धता अनुसार नै पदाधिकारीमा चयन गराएका छन् । ओलीको वचनवद्धताले पनि पूर्वमाओवादी नेतृत्व नाजावाफ छ ।

पूर्वमाओवादी नेताहरूको डुब्न लागेको राजनैतिक जीवनमा ओलीले नयाँ प्रकाश नारायणीको किनारमा लगेर भरिदिएका छन् । पूर्वमाओवादी नेताहरूका लागि आफैं बैशाखी बनेर वैतरणी नै तारिदिएका छन् । उनीहरुले विगतमा अनाहकमा एमाले कार्यकर्तालाई हत्या गरेको गल्तीलाई क्षमा गरिदिएका छन् । बरु उनीहरुले प्रायश्चित गर्छन् की गर्दैनन् त्यो उनीहरूको अन्तरआत्माको कुरा भयो । तर मानव अधिकार दिवसका अवसरमा केही साता अघिमात्र केपी ओलीले दिएको मन्तव्य उनीहरूका लागि पनि हेक्का रहोस ।

एमाले केन्द्रीय सदस्य सूर्य थापाका अनुसार माओवादीले करिब ३ सय एमाले कार्यकर्ताको हत्या गरेका थिए । ती कार्यकर्ताको दोष के थियो ? अहिलेसम्म माओवादीले पुष्टी गर्न सकेको छैन । व्यक्ति हत्याको राजनीति गरेर अन्ततः एमालेमा अवतरण गरेका रामबहादुर थापा, टोप बहादुर रायमाझी लगायतका कुटिल र मुक्केबाज माओवादी नेताहरुलाई रातो कार्पेट बिछ्याएर एमालेले अन्तत: स्वागत गर्‍यो ।

प्रसंग र आश्यकता अनुसार त्यसको विश्लेषण गरौंला । एमाले कार्यकर्ताले केपी ओलीको साख बचाउन  भएपनि नचाहँदा- नचाहँदै यस पटक महाधिवेशनमा उनीहरूलार्इ पदाधिकारीमा निर्वाचित गराइदिएका छन् । आफ्ना कार्यकर्ताको संवेदना भित्रको घुट्कोलाई अध्यक्ष केपी ओलीले पनि राम्रैसँग बुझेका हुनपर्छ । किनकी त्यतिबेला यदु गौतमको स्मृति सभामा उनले गरेको भाषण संवेदनायुक्त प्रतिरोधात्मक थियो ।

कार्यकर्ताले पनि विगत बिर्सिएर केपी ओलीको राष्ट्रवादी लालसाभित्रको ताज बचाइदिएका छन् । साथै अव्यक्त रूपमा ठूलो गुन लगाएका छन् । कार्यकर्ताको समर्पण र त्यागलाई केपी ओलीले अब पनि वेवास्ता नगरुन्, हैकम नदेखाउन् ।

रुकुममा यदु गौतम देखि अर्घाखाँचीका एमाले शुभचिन्तक विष्णु प्रदीपको अनाहकमा हत्याका तत्कालीन माओवादीका जिम्मेवार नेता थापा र रायमाझी लगायतले सार्वजनिक रुपमा प्रायश्चित गर्न नसकेपनि अन्तरमनले प्रायश्चित गरुन् । निर्भिकता र जवादेहीताका लागि प्रायश्चित आवश्यक रहन्छ । महात्मा गान्धीले भनेका छन्, क्षमा र  प्रायश्चित गर्न नसक्ने मानिसमा हिंसा संरक्षित रहन्छ । कतै उनीहरूमा अझैपनि प्रतिसोध बाँकी त छैन ? 

यदु गौतमका बारेमा भन्नै परेन । उनी २४ क्यारेटका एमाले कार्यकर्ता नै बनिसकेका थिए । रुकुम जस्तो हिंसा प्रातडित जिल्लामा बसेर उनले संगठनलाई पुरयाएको योगदान एमाले कार्यकर्ताले शायदै बिर्सिएको हुनर्पछ । त्यसैगरी विष्णु प्रदीप एमाले नेतृ एवं पूर्वमन्त्री शान्ता मानवीका देवर थिए ।

शान्ता मानवीलाई राजनीतिक जीवनमा टिकाइरहन आड,  भरोसा दिन विष्णु प्रदीप र नेता मोदनाथ प्रश्रितको साथ रह्यो ।   त्यो सत्यतालाई मानवीको अन्तरआत्माले मात्र मनन गर्न सक्छ । मानवीको भनाइलाई विश्वास गर्ने हो भने एमाले उपाध्यक्ष विष्णु पौडेललाई राजनीतिमा ल्याउन गोपीरमण उपाध्याय (गोपी गुरु) र उनै मानवीको ठूलो योगदान छ ।  गोपी गुरू उपाध्यक्षमा पराजित घनश्याम भूषालका पनि राजनैतिक गुरू हुन् ।

उनीहरू कै अभिभावकत्वमा विष्णु पौडेल पंचायती कालखण्डमा राजनीतिक कार्यकर्ता बनेर पार्टीमा सर्मपित भएका हुन् । अनिमात्र उनै अनेक आरोह-अवरोह पार गर्दै (नेकपा महासचिव हुदै) यस पटक उपाध्यक्षमा निर्वाचित बनेका छन् । उनी पार्टीमा समवन्यकारी नेताका रूपमा चिनन्छन् ।

केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा प्राविधक कारणले अष्टलक्ष्मी शाक्यले मन्त्री पद अस्वीकार गरेपछि सभासद रहेकी मानवीलाई पौडेलकै जोडबलले नै मन्त्री बनाए । अवला मानवीलाई ज्योतिषीले गरेको भविष्यवाणी साकार तुल्याउन अन्तिममा पौडेल नै दाहिना भएका हुन् ।

एमालेको सचिव बनेका टोपबहादुर रायमाझीले (आफ्नै जिल्ला निवासी) मानवीका देवर विष्णु प्रदीपको हत्याको जवाफ दिन सक्लान् ?  त्यसो त उनै मानवीका मावली भाई अर्घाखाँची खिदिमका कोश्लेश्वर गौतम (पंचायती कालका सेल्टरदाता) ले द्वन्द्वकालमा व्यवसाय चलाउन गाउँमै अडाना राखेको पैत्रिक सम्पत्ति समेत उनै टोपबहादुरको संरक्षण रहेका कार्यकर्ताले हड्पिएर उनलाई धोती न टोपी बनाइदिए । उनै पिडित गौतमकी पुत्री (सानी वहीनी) ल्याएर मानवी आफै अभिभावक बनेर शिक्षा-दिक्षा दिलाएर विवाह दान समेत गरिदिएकी छन् । जिल्लाबासीके हैसियतमा यदि टोपबहादुर मानवी कामरेडको नयाँ बानेश्वर स्थित घरमा पुगे चियापानी गराउने उनै माओवादी पीडित परिवारकी ती नानीले कुन श्रद्धाले आथित्यता टक्राउलिन् ?

०६६ सालमा माओवादी आफ्नै कारणले सत्ताबाट बर्हिगमन भैरहँदा एमालेलाई विष बृक्षको उपमा दिएर नेता प्रचण्डसँगै अहंकारयुक्त गालाी गलौजमा उत्रिने रायमाझी र थापाहरूलाई एमाले कार्यकर्ताले मत दिएर पार्टीको उच्च पदमा आसिन गराएका मात्र छैनन् गुन नै लगाएका छन् । उनीहरुको मतलाई कलान्तरमा थापा र रायमाझीले कुठाराघात नगरुन् !

थापा, एमालेमा स्थापित नेता बनिरहँदा रायमाझी अर्को महाधिवेशन भैरहँदा अवसरको खोजीमा बाबुराम भट्टराईको कित्तामा नपुगुन् । किनकी उनमा राजनैतिक सहिष्णुताको अभाव छ, अर्घाखाँचीको गणितिय मतको मुल्यांकन गरेर उनी एमालेमा प्रवेश गरेको हुन भन्दा अन्यथा हुने छैन । त्यहाँ उनले चलाएका अनेक धन्दा छन् । उनका अनेक धन्दाको साक्षी एमाले पूर्वनेता गुणनिधी भूषाल र स्थानिय चेत नारायण आचार्य र अच्युत गौतम (अर्घाखाँची) छन् ।  कुनैबेला एमालेलाई वर्ग शत्रुको हैसियत निशाना र  व्यवहार गर्ने माओवादी नेता र नेतृत्वलाई पटक-पटक थुकको घुट्को पिएर एमाले कार्यकर्ताले अभिभावदन गरिरहेका छन् । उक्त तथ्यलाई बुझ्न नसक्ने नेता केपी ओली हैनन् । एमाले प्रवेश गरेर महाधिवेशनमा निर्वाचित पूर्व नेता माओवादीहरुले पनि बुझ्न सकुन् । 

महाधिवेशनमा सहभागी एक एमाले कार्यकर्ताका अनुसार, प्रतिस्पर्धामा पार्टीको आन्तरिक जीवनका लागि पूर्व माओवादी नेताहरुलाई विजयी बनाए पनि अन्तर मनको चेतनामा पराजित घनश्याम भुषाल र आगन्तुक कोमल वलीप्रति जति सम्मान छ, उनीहरु प्रति सायदै हुनेछ । किनकी माओवादीको ज्यादती विगत विर्सन लायक नरहेको ती कार्यकर्ताले सुनाए ।

पार्टीमा केन्द्रीय सदस्य रहेकी यदु पत्नीले महाधिवेशनमा ती पूर्व माओवादी नेताहरुलाई मत हालिन वा हालिनन् ? त्यो उनको वैयक्तिक स्वतन्त्रताको विषय हो । तर यतिबेला आफ्ना श्रीमानलाई हत्या गर्ने र गराउने समूहका पूर्वनेता रायमाझी र थापालाई कुन हैसियतमा अभिभावदन गर्लिन् ।

यदुको हत्या भएपछि शोकलाई शक्तीमा बद्लने प्रतिवद्धता गर्ने अंग्रपंक्तिका नेतामा केपी ओली हुन् । तर उनै ओली तत्कालिन समयमा पार्टीको नेतृत्व गर्ने माधव नेपालका लागि भन्दा पनि उनै यदु लगायत तीन सय एमाले कार्यकर्ताका हत्याका जिम्मेवार पंक्ति प्रति सहिष्णु देखिए । तर पनि उनीहरूले प्रायश्चित गर्न सकेका छैनन् । एमालेमा नव प्रवेशी माओवादीहरू प्रति अझै पनि एमालेजनको जिज्ञासा, छ ।

तत्कालीन समयमा एमाले हुनु के गल्ती थियो ? कांग्रेस र राप्रपा कार्यकर्ताको हत्या र प्रातडनाको झन कुरै छाडौं । मदन भण्डारीका भनाईलाई स्मरण गर्ने हो  भने राजनीतिमा कोही स्थायी शत्रु र कोही स्थायी मित्र हुदैन् । यतिबेला समयले त्यसलाई प्रमाणित गरेको छ । कुनैबेलाका पंचायती व्यवस्थाका हस्ती कमल थापा एमाले माओवादीका नजिकका मित्र हुन पुगेका छन् । तर उनले माओवादीहरुले जस्तो व्यक्तिगत रिसानीलाई राजनीतिक शक्तिमा उपयोग गरेर बदलाको राजनीतिक गरेनन् । भलै उनले आस्थाको राजनीति गरिरहेका छन् । बहुदलबादी र गणतन्त्रबादीहरुलाई गाली गरे होलान् तर भेट हुँदा आत्मीयता र संस्कार प्रदान गर्न उनी चुकेका छैनन् ।

उनमा राजनैतिक संस्कार अहिलेसम्म कायम छ ।  एमाले महाधिवेशनमा शुभकामना दिन पुग्दा थापाले त्यो संस्कार देखाए तर माओवादी अध्यक्ष प्रचण्ड निमन्त्रमा भएपनि महाधिवेशनमा शुभकामना दिन जान सकेनन । उनको प्रतिनिधित्व गर्दै लीलामणी पोखरेल पुगे । प्रचण्ड र कमल थापा बीचको संस्कारलाई कसरी तुलना गर्नै ?  राजनीतिमा नैतिकता हुन्छ । नैतिकताको राजनीतिमा एकले अर्कालाई आलोचना गर्न सक्छ तर कटु आलोचना गर्दैन् । कटु आलोचना त्यतिबेला मात्र हुन्छ, चेतनाले जब कसैलाई उपेक्षा गर्छ । उपेक्षाका राजनीती यतिवेला नेपालमा हावी भैरहेको छ । राजनीतिमा पनि बौद्ध दर्शनको मूल्य र मान्यता आधारित चरित्र मैत्री, करूणा, मुद्धिका र उपेक्षा लागु भैरहेको हुन्छ ।

भगवान बुद्धको देशका नागरिक हामी भनेर गर्व गर्ने नेताहरुले कस्तो राजनीतिक संस्कार स्थापित गरिरहेका छन् ?  साथै लोकतान्त्रिक दलहरुमा प्रायश्चितको संस्कार रहन्छ । त्यसैगरी वाम पार्टीमा आत्मालोचनाको संस्कार हुनुपर्नै हो । तर नेपालका दलहरुलमा न प्रायश्चितको संस्कार स्थापित हुन सक्यो, न आत्मलोचनाको संस्कार । यस्तो अवस्थामा नेपालका दलहरुमा जीवनभर एउटा आस्था र आर्दशको स्कुलिंगमा हुर्किएका नेता कार्यकर्ता पद र प्रतिष्ठाका लागि रातारात दल परिवर्तन गर्ने र उच्च पदमा आसिन हुने संस्कार स्थापित भएको छ । यस्तो अवस्थामा कस्तो लोकतन्त्रको अभ्यास भैरहेको छ । यही अभ्यासका बीच नेपालका प्रमुख राजनैतिक दलहरुले पार्टीको वैधानिकताका लागि यतिबेला महाधिवेशन गरिरहेका छन् । महाधिवेशनमा विचार र आर्दशको चिन्तन भन्दा पनि पद र प्रतिष्ठाका लागि अस्वभाविक चरित्रको अभ्यास र सौदा भैरहेको छ । दलहरु भित्र मौलाएको त्यही संस्कारले मुलुकमा भ्रष्टाचार, दुराचार र व्यभिचार व्याप्त छ भन्दा अन्यथा हुने छैन।


Author

थप समाचार
x