विचार

कांग्रेस १४ औँ महाधिवेशन

गुटको पर्खाल नाघौँ, विवेक प्रयोग गरौं

परिवर्तन नेपाली कांग्रेसका युवाको काँधमा छ !

कृष्ण सादगी |
मंसिर २६, २०७८ आइतबार २०:१३ बजे

मंसिर महिना नेपालको राजनीतिमा महत्वपूर्ण रह्यो । यस वर्षको मंसिर महिनाले नेपालको इतिहासमा दूरगामी महत्व राख्ने निश्चित छ । प्रमुख राजनीतिक दलहरूको महाधिवेशनले गर्दा मंसिर महिनाको रौनक अन्य वर्षहरूको भन्दा पृथक छ । केही समय अगाडि नेकपा एमाले र राप्रपाले आफ्नो महाधिवेशन सम्पन्न गरिसकेका छन् । अहिले नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको छ । अबको केही दिनमा एनेकपा माओवादीको महाधिवेशन हुँदै छ । यो छोटो लेखमा यी सबै राजनीतिक दलको महाधिवेशनको समीक्षा गरिएको छैन । यसमा मात्र नेपाली राजनीतिका एक विशिष्ट व्यक्ति विश्वप्रकाश शर्मा र उनले विगतमा कोरेको आदर्शको राजनीतिमा केन्द्रित छ । 

नेपाल विद्यार्थी संघको नेतृत्वमा आएदेखि नै नेपाली कांग्रेसको मात्र नभई सम्पूर्ण राजनीतिक वृत्तमा एक चर्चित पात्र हुन्, विश्वप्रकाश शर्मा । राजनीतिबाट आदर्श हराउँदै जाँदा, राजनीति एक क्रुर र कुटिल खेल बन्दै जाँदा, राजनीतिलाई पेसा बनाउनेहरू हाबी हुँदै जाँदा विश्वप्रकाशले यीभन्दा पृथक् राजनीतिक यात्रा गरे । एउटा नेताले आम नागरिकले परिवारमा बसेर सुन्नै नसकिने भाषण गर्दै जाँदा विश्वप्रकाशले त्यसलाई बोलीबाट होइन, केवल व्यवहारबाट जवाफ दिँदै गए । राजनीतिमा हार स्वीकार गर्न नसक्ने संस्कारलाई चिर्दै विश्वप्रकाशले सम्मान गर्ने संस्कार अगाडि बढाए । राजनीति केवल सत्ताको लुछाचँुडी मात्र हो भन्ने न्यारेटिभ हाबी हुँदै जाँदा सामाजिक, सांस्कृतिक विकृति तथा विसंगतिविरुद्ध विश्वप्रकाशले अभियान सञ्चालन गरे । भूकम्प, बाढी–पहिरो तथा अन्य विपत्तिको समयमा राहत र पुनःस्थापनाका लागि अभियान सञ्चालन गरे । 


यी त केही उदाहरण मात्र हुन् । एउटा व्यक्तिले सधैँ सोच्ने र खोज्ने आदर्श राजनीति स्थापित गर्नका लागि विश्वप्रकाशले आफ्नो जीवनमा मानक निर्माण गरेका छन् । देश, काल परिस्थितिलाई मिहिन रूपमा विश्लेषण गर्ने र नागरिकको भावनालाई समेत समेटेर योजना बनाई तत्काल कार्यान्वयन गर्ने क्षमताका विश्वप्रकाश शर्मा यतिबेला नेपाली कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी दिएका छन् । प्रवक्ताको जिम्मेवारी निर्वाह गर्दै गर्दा नेपाली कांग्रेसलाई प्रविधिमैत्री बनाए । 

आम कांग्रेसजनमा घोर निराशा छाइरहेका बेला नेपाली कांग्रेसलाई देशको कुना कुनामा प्रविधिको पहुँचबाट सहज बनाउन अथक मिहेनत गरेर सफलता हासिल गरे । नागरिकको मन–मस्तिष्कमा नेपाली कांग्रेसलाई बसाल्न सफल भए । उनकै नेतृत्वमा नेपाली कांग्रेसको प्रचार विभाग यतिबेला प्रविधिमैत्री छ । कुनै पनि सूचना मिनेटभरमा प्राप्त गर्ने र वितरण गर्न सक्ने अवस्थामा छ । दुई दर्जनभन्दा कम सिटमा प्रत्यक्ष रूपमा जितेको नेपाली कांग्रेसलाई यो अँध्यारो कालखण्डमा दियो बालेर प्रकाश बाँड्ने कुरामा विश्वप्रकाशको भूमिका अब्बल रह्यो ।

नेपाली राजनीति यतिबेला रूपान्तरणका सँघारमा छ । काँचुली फेर्ने चरणमा छ । राजनीतिभित्र पनि ७ दशकभन्दा लामो इतिहास बोकेको नेपाली कांग्रेस रूपान्तरणमा संघर्ष गरिरहेको छ । यो व्यक्तिको रूपान्तरणको मात्र प्रश्न होइन, अहिले प्रवृत्तिको रूपान्तरण पनि महत्वपूर्ण छ । केही समय अगाडि विश्वप्रकाशले सार्वजनिक गरेका आफ्ना प्रतिबद्धता पत्रलाई मिहिन रूपमा विश्लेषण गर्ने हो भने राजनीतिमा परिवर्तन ल्याउनका लागि विश्वप्रकाश शर्माले महामन्त्रीमा जित्नैपर्ने अवस्था छ । यो देश रूपान्तरणको महान् अभियानमा व्यक्ति परिवर्तन त महत्वपूर्ण छँदै छ, त्यससँगै राजनीतिक प्रवृत्तिसमेत परिवर्तन गर्नु आवश्यक छ । सोच परिवर्तन गर्नु आवश्यक छ । राजनीतिक चेतना, व्यवहार, शैली पनि रूपान्तरण गर्नुपर्ने आवश्यकता हुन्छ । यो परिवर्तन नेपाली कांग्रेसका युवाको काँधमा छ । ति युवामा विश्वप्रकाश शर्मा एउटा अब्बल नाम हो । 

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिले मतपत्र हातमा लिएर मतदानस्थलमा प्रवेश गर्दै गर्दा सोच्नु आवश्यक छ अबको नेपाली कांग्रेस कस्तो बनाउने हो रु भविष्यको नेपाली कांग्रेसमा आदर्शको स्थान हुन्छ कि हुन्न रु नेपाली कांग्रेसले बीपी, गणेशमान, किसुनजी, गिरिजाबाबु, महेन्द्रनारायण निधि, सुशील कोइरालाले बनाएको मानकमा थप आदर्श थप्दै जानुपर्दछ भन्ने लाग्छ भने त्यो पात्र को हुन सक्छ ? मतपत्र हातमा परेपछि आँखा चिम्म गरेर एकपटक सोच्नै पर्छ । मलाई विश्वास छ, त्यसरी आँखा चिम्म पारेर सोच्दा विश्वप्रकाशको अनुहार सबैभन्दा पहिला आउनेछ । 

नेपाली कांग्रेसमा गुटबन्दी छ भनिन्छ र देखिन्छ पनि । गुटबन्दीको नियम, सर्त र पर्खाल महाधिवेशन प्रतिनिधिले मान्नुपर्दैन र मान्ने पनि होइन । देशभरिबाट आउनुभएका महाधिवेशन प्रतिनिधि गुटको पर्खालमा बन्दी हुनुहुन्छ भन्ने पनि लाग्दैन । महाधिवेशन प्रतिनिधिहरूलाई म प्रवासमा रहेका लाखौँ नेपालीको प्रतिनिधिको रूपमा एउटा आग्रह छ देशमा केही गरौँ भन्ने चाहना हुँदा हुँदै प्रवासिन विवश म र मजस्ता लाखौँ नेपालीलाई आफ्नै मातृभूमि फर्काउने गरी देश बनाउनु छ । विदेशको भूमिमा बगाएको पसिना आफ्नै माटोमा बगाउँछु भन्ने सपना बोेकेका हजाराँै लाखाँै प्रवासीहरू राजनीतिक दलका नेता, तिनीहरूको व्यवहार, तिनीहरूको कार्यशैली र तिनीहरूको बोली व्यवहारबाट निराश छन् । यो निराशालाई आशामा बदल्नका लागि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको हातमा रहेको मतपत्र र स्वस्तिक छापले मात्र सम्भव छ । 

म आफू राजनीतिमा संलग्न छैन । तर मेरो जीवनका केही दशकका अनुभवलाई यतिबेला पल्टाउँदै हेर्दा के प्रस्ट भएको छु भने यो देश रूपान्तरण गर्यो भने त्यो नेपाली कांग्रेसले मात्र गर्न सक्छ । अन्यबाट सम्भव छैन । नेपाली कांग्रेसमा पनि पुराना पुस्ताले त्यसको जग बसाइदिनु भएको छ तर त्यो अपूर्ण छ । अब त्यो अपूर्ण क्यानभासलाई पूरा गर्न विश्वप्रकाशको पुस्ताले काम गर्न सक्नु परेको छ । र, त्यो काम गर्नलाई अब समय आइसकेको छ । यसैले सम्पूर्ण प्रतिनिधिज्यूहरूलाई एउटा विनम्र आग्रह छ, अब यो देशलाई रूपान्तरण गर्न सक्ने नेतृत्व चुनिदिनुस् । 

गुट, उपगुट र सिन्डिकेटको आग्रह पूर्वाग्रहबाट माथि उठेर कांग्रेसको तस्बीर बदल्न आफ्नो विवेक र मतको प्रयोग गर्नुहोस् । यो तस्बीर बदल्न सक्ने नयाँ पुस्ताले यो पटक महत्वपूर्ण पदमा उमेद्वारी दिएका छन् । गुटको पर्खाल नाघ्नुहोस् । कांग्रेसलाई रूपान्तरण गर्न सक्ने र देश निर्माण गर्न सक्ने अब्बल युवाको छनौट गरीगरी मतदान गर्नुहोस् । मलाई विश्वास छ यसरी पर्खाल नाघ्ने साहस गर्दैगर्दा विश्वप्रकाशको राजनीतिक आदर्श, व्यवहार, दूरदर्शिता तथा देश निर्माणको दृष्टिकोणले तपाईंलाई पक्कै पनि उहाँलाई एक मत दिन मन लाग्नेछ । 

विभागीय प्रमुखको जिम्मेवारीलाई कुशलतापूर्वक सम्पादन गर्दै पार्टीलाई पद्धतिमा चलाउन उनी निरन्तर लागिपरेका देखिन्छन् । अध्ययन र लेखन अनि अन्य कयाँै सिर्जजशीलता उनको जीवनशैली हो । दिनदुःखीहरूकोमा र समाजका सदस्यहरूको घर परिवारमा हुने दुखद घटना र क्षणहरूमा साथ र भरोसाका लागि पुग्नु उनको बानी हो । आफ्नो दलभित्रै मात्र हैन समग्र नेपाली राजनीतिक दलका निष्ठावान् इमानदार कार्यकर्ताको नाम लिनु पर्दा उनी शीर्ष स्थानतिर पर्ने गर्दछन् । नेपाली दूर दराजका गाउँ गाउँबाट उनलाई नियालिरहेका फ्यानहरूको भावनालाई पनि कांग्रेसका प्रतिनिधिहरूले बुझ्न सक्नु पर्दछ । भूगोलको नेपालभन्दा भावनाको नेपाल बाँचिरहेका हामीजस्ता हजारौं साथीहरूका बीचमा पनि उनी एक उम्दा आशा र भरोसाका मानक हुन् । त्यसैले सिंगो कांग्रेस प्रतिनिधिहरूको पक्तिले परिवर्तनका असल र योग्य संवाहकलाई चिन्न सक्नुपर्छ । यो मौकालाई सदुपयोग गर्न सक्नुपर्छ । 

सामाजिक रूपान्तरणमा राजनीतिको अहम् र महत्वपूर्ण भूमिकालाई उनले गम्भीरतासँग उठाइरहेका छन् । समाज रूपान्तरणमा राजनीतिक दलहरूको भूमिका कमजोर भएकोमा सबैलाई निरन्तर सशक्त ढंगले झकझक्याइरहेका छन् । र उनका प्रयासहरूले हालसम्म सामाजिक रूपान्तरणका विषय सवालमा भए गरिएका त्रुटि, हेलचेक्र्याइँ र बेवास्ताले अब फेरि कहिल्यै धर नपाउने अवस्था सिर्जना गर्न थालेको छ । 

आफ्नै दल र क्षेत्रमा पनि एकपछि अर्को गरी पटक पटक निष्ठुर घात प्रतिघात गर्ने पार्टीभित्र डाह, ईष्या र सन्डिकेटको खेती चलाइरहेका छुद्र, टिके र मुसे पवृत्तिप्रति पनि उनको विनम्रताभाव देखेर यो पंक्तिकार सधँै आश्चर्यमा पर्दछ । उनलाई नजिकका मित्रहरूले अनौपचारिक संवादमा सोध्ने गर्दछन् किन तपाईंलाई घात गर्नेहरूप्रति पनि शालीनता प्रकट गर्नुहुन्छ रु उनी भन्ने गर्दछन् पत्थरलाई फूलले जवाफ दिने हो । यतिखेर उनको शैली र व्यवहारमा गान्धीको गहिरो छाप देखिन्छ । 

त्यसैले, असल र योग्य मानिसको छनौट गर्ने यो अवसर अब कांग्रेसका प्रतिनिधिहरूले नगुमाउनु होस् । विश्वप्रकाशको विजयले दलमा मात्रै हैन समाज र देशमा नयाँ आशाको किरण भर्ने कुरा निश्चित छ । विवेक प्रयोग गरौं । गुट, उपगुट र सिन्डिकेटका सबै पर्खालहरू नाघौं । 


 


Author

थप समाचार
x