विचार

प्रगतिशीलताको कसीमा बीपी

नीरज लवजू |
मंसिर २९, २०७८ बुधवार १७:२३ बजे

‘विथर नेपाल’ पुस्तकमा डीआर रेग्मीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा बीपी कोइरालाको उदयबारे अहिले उति चर्चा नगरिने विषयमाथि चर्चा गरेका छन् । नेपाली काङ्ग्रेस स्थापनामा नेतृत्वदायी भूमिका खेल्ने नेताहरूमध्ये थिए– डीआर रेग्मी अर्थात् डिल्लीरमण रेग्मी । पुस्तकमा उनले नेपालको प्रजातान्त्रिक आन्दोलनलाई क्रान्तिकारी र नेपाली समाजमा दिगो रूपान्तरणका मुद्दालाई ओझेलमा पारेर सामान्य हेरफेरमा सीमित राख्ने र आफ्नो नियन्त्रणबाट बाहिर जान नदिन तत्कालीन भारतीय शासकहरूले योजनाबद्ध रूपमा बीपी कोइराला नेतृत्वको काङ्ग्रेसलाई उकासेको दाबी गरेका छन् ।

बेलायतबाट भर्खर स्वतन्त्र भएको भारतका नेताहरूलाई त्यतिबेला आफ्नै आन्तरिक मामिलाको व्यवस्थापन गर्न हम्मेहम्मे थियो । त्यतिबेला उनीहरूलाई नेपालबारे धेरै चिन्ता र चासो लिइरहने समय पनि थिएन । तर, जब चिनियाँ जनमुक्ति सेना तिब्बत आइपुग्यो र तिब्बतलाई शान्तिपूर्ण ढंगले मुक्त गर्‍यो, तब मात्र भारतीय नेताहरूका लागि नेपालको महत्व उजागर भयो । उत्तरमा बाढी जस्तै उर्लिएको ‘कम्युनिज्मको लहर’ कुनै पनि बेला भारत पस्न सक्ने खतराबाट जोगिन भारतीय नेताहरू नेपाललाई बफर क्षेत्रका रूपमा प्रयोग गर्न चाहन्थे । त्यसो गर्न उनीहरूलाई पश्चिमा शक्ति राष्ट्र र तत्कालीन सोभियत सङ्घ समेतको दबाब थियो । 


जीर्ण बनिसकेको राणा शासकहरूले उर्लिएको कम्युनिज्मको बाढी रोक्न सक्ने अवस्था थिएन । त्यसका दुई कारण थिए : पहिलो, राणाहरूको अप्रजातान्त्रिक व्यवस्थाप्रति नेपाली जनतामा असन्तोष बढ्दै थियो । चार जना सहिदहरूलाई ज्यान सजाय दिएर र टंकप्रसाद आचार्यजस्ता नेताहरूलाई कालकोठरीमा थुन्दा पनि प्रजातन्त्रप्रतिको चाहना नेपाली जनताबीच कति पनि कम भएको थिएन । भारत बसेर प्रजातन्त्रका लागि लड्ने प्रजातान्त्रिक योद्धाहरू मात्र होइनन्, देशभित्र पनि गोपालप्रसाद रिमालको नेतृत्वमा दैनिक जागरण गीत गाउँदै राणाशासनको विरोध गर्ने क्रम सुरु भएको थियो । (दमनराज तुलाधरको संस्मरण) आपसी दुश्मनीले कमजोर बनेको राणाशासन देशभित्र र बाहिर प्रजातन्त्रप्रति जनताको बढ्दो चाहनाले क्रमशः कमजोर बन्दै गएको थियो । भारतमा सफल भएको स्वतन्त्रता आन्दोलनले पनि नेपाली जनताको मनमा त्यो चाहनाको न्यानो छरेको थियो । 

अर्को पक्ष, राणाशासनको परम्परागत संरचनाको कारणले पनि कम्युनिज्मको लहरलाई रोक्न सक्ने थिएन । ‘प्राइममिनिस्टर’को तजबिजमा चल्ने त्यो व्यवस्था न वैचारिक रूपमा बलियो थियो, न भौतिक वा प्राविधिक रूपमा । तिब्बत पुगेको कम्युनिज्मको लहर रोक्न राणाले नसक्ने भएपछि भारतीय नेताहरूलाई नेपालमा एउटा बलियो घोडाको आवश्यकता थियो । भर्खर आफैँ उपनिवेशवादबाट मुक्त भएको देशका नेताहरूले नेपालमाथि थिचोमिचो गर्नु नैतिक रूपमा उचित थिएन । उनीहरू अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो बद्नामी हुने भनी डराएका थिए । प्रजा परिषद्का नेताहरू जेलमै थिए । नयाँ घोडा बन्न सक्ने क्षमता बोकेको अर्को पार्टी नेपालमा थिएन । त्यसकारण उनीहरूको स्वाभाविक छनौट भनेको भारतमै रहेका नेपाली जनताले गठन गरेको नेपाली काङ्ग्रेसलाई सिंहदरबारमा पुर्‍याउनु थियो । त्यो विशिष्ट अन्तर्राष्ट्रिय परिस्थितिमा २००७ सालको सङ्घर्ष भयो । भारतले चाहेजस्तै नेकाँ दिल्ली र बनारसका गल्लीबाट सिंहदरबारको बैठकमा पुग्यो । 

‘विथर नेपाल´’मा डीआर रेग्मीको दाबीअनुसार नेपालको प्रजातान्त्रिक आन्दोलमा छलफलमा आएका नेपाली वस्तुस्थितिअनुसार परिवर्तनका मुद्दालाई ओझेल पार्न प्रजातान्त्रिक आन्दोलनमा तुलनात्मक रूपमा कम योगदान भएका बीपीलाई भारतीय नेताहरूले अघि ल्याएका थिए । बीपीको समूह प्रजातान्त्रिक आन्दोलनभित्रै अन्य समूहको तुलनामा वैचारिक रूपमा कम परिपक्व र नेपालमा प्रजातान्त्रिक सुधारबारे अस्पष्ट थियो ।

डीआर रेग्मी नेपालमा सामन्ती राणाशासनलाई बिदा गरेर प्रजातन्त्र स्थापनाको पक्षमा त थिए । उनी स्वयं पनि त्यसका निम्ति लडेका थिए । तर, उनले नेपालको लागि परिकल्पना गरेको प्रजातन्त्र बीपीहरूले औँल्याएको प्रजातन्त्रभन्दा फरक खालको थियो । उनी नेपालमा पश्चिमा शैलीको प्रजातन्त्र अर्थात् भारतले स्वतन्त्र भएपछि लागू गरेको जस्तो प्रजातन्त्र स्थापना गर्ने पक्षमा थिएनन् । त्यस्तो प्रजातन्त्रले नेपाली जनताले चाहेको राजनीतिक र आर्थिक व्यवस्था स्थापना गर्न सम्भव नभएको उनको बुझाइ थियो । त्यस निम्ति उनले सोभियत समाजवादबाट धेरै कुरा सिक्न सकिने मत राखेका थिए । 

एसियाकै केही देशले डीआर रेग्मीले उठाएका ती प्रगतिशील मुद्दा कार्यान्वयन गर्न समाजवादी बीपीलाई केले छेकेको थियो ? 

नेपालको आर्थिक र सामाजिक विकासबारे रेग्मीले पुस्तकमा आज पनि निकै प्रगतिशील लाग्ने कयौँ विषय उठान भएका छन् । उनले आफ्नो पुस्तकमा उठाएका कतिपय मुद्दा आजको नेपालका निम्ति पनि निकै प्रगतिशील खालका छन् । कतिपय ती मुद्दा आजको नेपालमा लागू गर्दा पनि नेपाली समाजको रूप अर्कै हुने थियो । ती मुद्दा त्यतिबेलाको नेपालमा लागू गर्नु नेपाली शासक वर्गका लागि त असह्य हुने नै थियो, आफूलाई प्रजातान्त्रिक र समाजवादी बताउने भारतीय नेताहरूका लागि समेत अपाच्य हुने थियो ।

नेपालमा ती प्रगतिशील मुद्दा लागू गर्नु भनेको नेपाल पनि क्रमशः सामाजिक र आर्थिक सुधार (राजनीतिक सुधारबारे उनी अलि फरक मत राख्छन्) को हिसाबले समाजवादी सोभियत सङ्घकै ढाँचामा जानु हुने र त्यसले भारतलाई पनि मस्त निद्रा सुत्न नदिने विषयमा भारतीय नेताहरू सचेत थिए । त्यसैकारण डीआर रेग्मीहरू इतिहासको प्रवाहमा किनारा लगाइए र आफ्नो नियन्त्रणमा राख्न सकिने नेताहरूलाई जनताबीच लोकप्रिय बनाउन प्रयास गरियो । 

बीपी कोइराला भारतीय नेताहरूबीच जतिसुकै चिनिए पनि नेपाल, विशेषतः काठमाडौँका जनताले उनलाई चिनेका थिएनन् । काठमाडौँका जनताको निम्ति नेता भनेको फेरि पनि टंकप्रसाद आचार्य नै थिए । टंकप्रसादको रिहाइपछि काठमाडौँमा उर्लिएको मानवसागर त्यसको पुस्ट्याइँ थियो । तर, टंकप्रसादहरू राणाको कालकोठरीमा कैद रहेकै बेला बीपी काठमाडौँका जनताबीच काम गर्ने भनी आएका थिए । केही दिनमै उनी पक्राउ गरे । पक्राउ परेको केही दिनमै उनले विभिन्न माग राखी जेलभित्रै अनशन सुरु गरे । उनको अनशनलाई समर्थन गरेर प्रजा परिषद्का कैदीहरूले पनि कारागारभित्र अनशन थाले ।

आमरण अनशनका कारण प्रजा परिषद्का नेताहरू इन्तु न चिन्तु भइसकेका थिए । प्रजा परिषद्का अनशनकारीहरू त्यतिबेला तीनछक परे जब बीपीले अनशन सुरु गरेको केही दिनमै आफ्ना माग फिर्ता गरेर अनशन छोडी बनारस गए । बीपीलाई आफ्नो समर्थनमा बसिएको उनीहरूको अनशनबारे थाहा थियो । तथापि, उनी ती सत्याग्रहीलाई बेवास्ता गरेर आफू मात्र रिहा भई भारततिर लागेका थिए । टंकप्रसाद आचार्यसम्बन्धी जेम्स फिसरले लेखेको पुस्तक ‘ज्युँदा सहिद’मा आचार्यले यो घटनाको सविस्तार चर्चा गर्दै बीपीको व्यक्तित्वबारे चर्चा गरेका छन् । 

बेलायतीहरू घर फर्केपछि हौसला गुमाएका शिथिल र कान्तिहीन राणाशासन ढालेर आफ्नो तखतको राज्य (भेसल स्टेट) बनाउने भारतीय शासक वर्गको योजना कार्यान्वयन गर्न उनीहरूका लागि बीपी समूह उपयुक्त निस्कियो । भारतीय शासक वर्गलाई तुलनात्मक रूपमा प्रगतिशील मुद्दा बोकेको डीआर रेग्मीलाई उकास्नु आफ्नै लागि अहितकारी हुने राम्ररी थाहा थियो । टंकप्रसाद आफैँ नेपालमाथि भारतको थिचोमिचोका विरोधी थिए । बीपीले भने कुनै सन्दर्भमा ‘भारत र नेपाल अलग देश नभएको’ अभिव्यक्ति नै दिएका थिए । उनको राजनीतिक हुर्काइ पनि मुख्यतः भारतमै भएको थियो । त्यसकारण पनि बीपी भारतीय नेताहरूको छनौटमा परे ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेकाँको भूमिकालाई अस्वीकार गर्न मिल्दैन । तर, इतिहासलाई फर्केर हेर्दा वा समीक्षा गर्दा साँच्चै डीआर रेग्मीले ‘विथर नेपाल’ पुस्तकमा उठाएका मुद्दा बीपीले पनि उठाएका भए के उनी त्यतिबेला जुन सङ्घर्षको नेतृत्वमा पुगेका थिए, त्यहाँ पुग्ने थिएन वा थिएनन् ? अथवा उनले ती मुद्दा बोकेर सरकारमा गएपछि कार्यान्वयनको जग राखेका भए नेपाल आजको अवस्थाभन्दा माथि उकासिने थियो वा थिएन ? ती विषय उठाउन बीपीलाई के कुराले रोकेको थियो ? एसियाकै केही देशले डीआर रेग्मीले उठाएका ती प्रगतिशील मुद्दा कार्यान्वयन गर्न समाजवादी बीपीलाई केले छेकेको थियो ? अहिले त यी प्रश्न काल्पनिक खालका छन् । तर, इतिहासको समीक्षा गर्दा यी विषयमा पनि घोत्लिन पाए इतिहासका पात्रको सही मूल्याङ्कन मात्र हुने होइन, इतिहासको सही समीक्षा पनि हुने थियो । 


 


Author

थप समाचार
x