विचार

हिउँ, मकलको आगो र डाउन ज्याकेट

राजाराम बर्तौला |
पुस १५, २०७८ १२:३१ बजे

पुस–माघको ठिहीमा लुगलुग काम्नुपर्ने बाध्यता वा परिस्थितिबाट मुक्त भएको धेरै लामो कालखण्ड बितेको छैन । अहिले उपलब्ध सुविधाले हिजोको बाध्यता बिर्साउन खोजे पनि यथार्थलाई भोग गर्नेहरू जीवित भएसम्म त्यो सम्झना रहिरहन्छ नै । म जो यो कथा भन्दै छु, त्यही हिजो र आजको कालखण्डलाई जोड्ने सेतु (पुल) पुस्ताको परेँ । न भुल्न सक्ने, न बिर्सन । हिजोको त्यो यथार्थ आज पनि चन्द्रागिरी र फूलचोकी साक्षी भएर बसेको छ । 

काठमाडौँमा पानी परिरहेको छ । आकाश धुम्म छ । उपत्यकाका डाँडाहरू सेताम्य भएका छन् । हिउँद हिउँको मौसम हो, हिमाल र लेक हाँस्ने । तर जब उपत्यकाका डाँडाहरू हिउँको बर्कोले छोपिन्छन् ठिहीले कठ्यांग्रिएका हामी काठमाडौँवासी भने घरभित्र सीमित हुन पुग्दछौं । हिउँ आफू भने फुरफुर फुर्किन्छ, हामीलाई भने दुई हातले छाती लुकाउनुपर्ने बनाउँछ । उत्तरी हावाको सिरेटोले जब यो तन छुन्छ, हिउँ बरफ बनेर जम्छ मुटुमा, आङ ढाक्न यथेष्ट कपडा नहुनेहरूका लागि । 


यो स्मरण चित्र कोर्दै गर्दा इलेक्ट्रिक हिटरको तातोमा, डाउन ज्याकेटमा बेरिएर बसेको छु । हिजो यस्तो कहाँ थियो ? कहाँ थियो यो ‘डाउन ज्याकेट’ भन्ने जिनिस ? ऊन र नुनको महत्व नै धेरै भएको समयमा ‘डाउन ज्याकेट’ विकल्पको त के कुरा आविष्कारसमेत थिएन भन्दा हुन्छ । अहिले परिस्थिति भिन्न छ । डाउन ज्याकेटको उपलब्धताले ठिहीको कहरबाट छुटकारा मिलेको छ । भन्न त डाउन ज्याकेट चराको (फ्वायल) या हाँसको प्वाखलाई प्रशोधन तथा परिमार्जन गरेर बनाइएको भन्दछन् । तर यति विशाल जनसंख्याको आवश्यकतालाई सीमित उपलब्धताले पूरा गरेको छ भनेर विश्वास गरिहाल्नु पनि सही नहोला । हामीले शरीरमा धारण गरेको अधिकांश डाउन ज्याकेटको भित्री भागमा राखिएको भनिएको प्वाँख धेरै हदसम्म कुखुराको भुत्ला रहने गरेको वास्तविकतालाई भुल्न हुँदैन । 

नेपालको बजारमा यसले कहिलेबाट प्रवेश पायो र यति विस्तारित भयो भन्ने यकिन जानकारी छैन । यद्यपि, यो धेरै अघिदेखि नै आएको भने होइन । मैले थाहा पाएसम्म चालिस सालको सेरोफेरोसम्म पनि यसको मासस्केलमा प्रचलनमा आएको जस्तो लाग्दैन । यदाकदा हिमाली यात्रामा जानेहरूले लगाएकोसम्म देखिएको थियो तर जनस्तरसम्म आएको भने धेरै पछिबाट हो । 

चिसोका लागि नाम चलेका त रुसी उत्तरी भूभाग, चीन, कोरिया तथा जापान धेरै चिसो हुने ठाउँहरू हुन् । न्यायो वस्त्रका लागि ऊन र तकिएको कपासको प्रयोग गरेको र बख्खु लगाएको धेरै पछिसम्म पनि देखिएको हो । नेपालमा तकिएको भोटो भित्री वस्त्र र दोलाई ओड्ने चलन धेरै पछिसम्म पनि थियो । सन् साठी र सत्तरीको दशकमा चिनियाँहरू र कोरियनहरूले बख्खु लगाएको देखिएकै हो । ‘डाउन ज्याकेट’को आविष्कार र आम प्रचलनमा आएको भने असीको दशक पछि नै हो । 

भनिन्छ, ‘आवश्यकता नै आविष्कारको जननी हो ।’ न्यानो कपडाको आवश्यकता त मानिलाई सिकारी युगदेखि नै थियो नि । त्यस बेलादेखि नै मानिसले चराहरू र पशुहरूको सिकार गरेर हिँड्दा पशुपन्छीहरूको आनीबानी र जीवनचर्याको विषयमा जानकारी पनि राखेका हुन् । ऊनबाट न्यायो कपडा बनाउन सिक्नेले पन्छी प्वाँखले छोपिएर चिसोबाट बचेको किन हेक्का राखेनन् होला र डाउन ज्याकेट पत्ता लगाउन यति धेरै समय लगाएका होलान् ?  

डाउन ज्याकेटको विषयमा यति लामो गन्थन किन गरेको भने हिजो साँझदेखि चन्द्रगिरी र फूलचोकीमा हिउँ परिरहेको छ । हिउँ पर्नु र नपर्नु, घाम लाग्नु र बादल लाग्नु, यी सबै त प्राकृतिक ऋतुचक्र हुन् भने यसले यति ठूलो फरक के प¥यो त ? फरक पर्नु नपर्ने हो । यो मौसमले बनाउने वातावरणीय अनुकूलता र प्रतिकूलतामा किन यति धेरै चासो राख्नु ? हिउँ पर्नु पनि त्यही एउटा कालचक्रभित्रको पाटो न हो । हो, फरक त केही परेको छैन । सालबसाली प्रक्रियाको अर्को एउटा क्रिया मात्र हो । उसमा परिवर्तन आएको छैन । फरक हाम्रो व्यवहारमा हो । चालिस सालसम्म चन्द्रागिरी र फूलचोकीमा हिउँ पर्दा हिउँसँग खेल्न जाने सामथ्र्य, क्षमता, जाँगर कमै मानिसमा थियो । मानवीय पर्याय पर्यटकीय चेत नभएर हैन बरु कठ्यांग्रिने चिसोसँग पौंठेजोरी खेल्न आवश्यक साधनको कमी भएर हो । हामीसँग त्यो जाडो छेक्ने सामानहरूको पहुँचमा क्षमता कम थियो । आज डाउन ज्याकेट लगायत अरु विभिन्न साधन उपलब्ध छन् र त्यसमा सामान्य मानिसहरूको पहुँचको क्षमता पनि वृद्धि भएको अवस्था छ । त्यसैले चन्द्रागिरी र फूलचोकीमा हिउँ पर्दा सहरका युवकयुवतीहरूलाई हिउँसँग खेल्ने अवसर छ । हिउँसँग साक्षात्कार गर्ने चाहना पनि छ । 

‘उहिले हाम्रो पालामा’ भनेर भन्दा धेरै अगाडिको कुरा पनि हैन, त्यही चालिस सालतिरको कुरा होला । त्यो पनि जागिरे जीवनकै सम्झना भन्नुप¥यो । सहर जहिले पनि सहर जस्तै हुन्छ । सुविधाभोगी भन्दा पनि हुन्छ । आम ग्रामीण जनजीवनभन्दा भिन्न । तर काठमाडौँ सहर सहर जस्तो थिएन । गाउँभन्दा बेसी । हुन्छ नि, जुम्लाबाट नेपालगञ्ज आउँदाखेरि काठमाडौँ पुगेजस्तो लाग्ने, नेपालगञ्जबाट काठमाडाँै आउँदा बम्बै पुगेजस्तो लाग्ने र काठमाडाँैबाट बम्बे पुग्दा लन्डन पुगेजस्तो लाग्ने । लन्डनको नजरमा काठमाडौँ त गाउँ नै भयो नि, होइन र ? काठमाडौँ अहिले जस्तो थियो तीस वर्ष अगाडि पनि त्यस्तै थियो, एउटा सुतेको सहर । अब त्यसमाथि झरी, बादल र हिउँ परेको बखत कस्तो हुँदो हो ?

दसैँको मालश्रीको धुनसँगै काठमाडौँमा बिहान तुसारो पर्न सुरु गथ्र्याे । तुसारोले सेताम्मे पारेका चउर, बाटा र चौबाटाहरूमा चरपचरप टेकेर हिँड्दा सिसाका टुक्राहरूमा हिँडेको जस्तो लाग्ने । अहिले तुसारो त देखिन्छ तर मंसिर–पुसमा मात्र । तुसारोको आगमनसँगै घरघरमा आमाहरूलाई आफ्ना केटाकेटीहरूका लागि फलाटिनको कपडा, कपासले तगेको भोटो सिलाइदिन हतारो हुन्थ्यो । सहरमा अहिलेजस्तो ‘इलेक्ट्रिक वा ग्यासको हिटर वा हुनेखानेहरूको घरमा तातो हावाफाल्ने एसी’ हुँदैन थियो । माटाको ‘मकल’ बल्थे घरघरमा न्यानोका लागि । महिलाको पछ्यौरा, दोहरो तगेर सिलाईएको चोली र पुरुषको ‘दोलाइ’ हुन्थ्यो चिसो छेक्ने साधन । 
कष्टकर पो थियो त हिउँद नेपालीहरूका लागि । अझै भनूँ भने महिलाहरूको लागि । चिसो पानीसँग खेल्नुपर्ने चुल्हो चौकामा । कुनै कुनै वर्ष काठमाडौँमा हिउँ पथ्र्यो, सधैँ होइन । तापक्रम माइनस गएको समय घरभित्र नै खुम्चिनुको विकल्प थिएन । हिउँ थुप्रिँदा काठमाडौँ झ्याल ढोका बन्द गर्दथ्यो । काठमाडौँ चिसोसँग खेल्न डराउँथ्यो । 

मेरो सम्झनामा ताजै छ, चौतीस पैतीस सालतिरको कुरा हो काठमाडौँमा तापक्रम माइनस दुई गएको थियो । सरकारी अड्डामा बिजुली त थियो तर हिटर थिएन । हाकिमहरू ‘मकल’को वरिपरि थिए भने हामी सहायकहरू भाँच्चिएका कुर्सीहरू बालेर आगो तापेर दिन कटाएका थियौँ । सरकारी अड्डामा जाडो हुँदा यही मकल ताप्ने हो । 

अहिले जसरी चन्द्रागिरी र फूलचोकीमा हिउँ परेको छ नि त्यसैगरी अझ त्यो भन्दा धेरै बाक्लो र भारी हिउँ परेको थियो त्यो बेलामा पनि । सेताम्मे देखिएका थिए काठमाडौँलाई घेरेर बसेका पहाडी थुम्काहरू । फूलचोकी, चन्द्रागिरी र शिवपुरीको त कुरै भएन यसै पनि आफू अग्ला भएकोमा घमण्ड गर्नेहरू हिउँको भारीले थिचिएका थिए । टलक्क टल्किएर, मुस्कुराउँदै श्रीपेच नै लगाए जसरी गमक्क गम्किएका थिए । घाम परेपछि टल्किएका अरु शिखरहरू पनि आँखाको नानीमा आएर ठोक्किँदै सुदरताको नापजोख गर्दै थिए । 

सरर चलेको चिसो बतासले जसै दाँत कट्कियो त्यसै गरी मुटुलाई दुई पाखुराले थिचेर दबाउन पर्‍यो । डाउन ज्याकेट भएको भए त्यो बेला, चियो थेग्ने थियो होला सायद । हुन त दुईसरो कपडाको ज्याकेटले पनि धानेको थियो जिन्दगी, काठमाडौँको कठ्यांग्रिने जाडो । 

काठमाडौँको हिउँदमा धेरैपटक हिमाल ठोक्कियो आँखामा तर अवसर जुटेन यसलाई छुने, स्पर्श गरेर अनुभूत गर्ने । हिउँलाई हेरेर मात्र हैन स्पर्र्शले अनुभूत गर्नु पर्दछ । हिउँको चिसोभित्रको आगोलाई अनुप्राणित गर्नुपर्दछ । हिउँभित्र आगो हुन्छ, त्यसै भन्छ हाम्रो शास्त्रीय विद्या । त्यसलाई अनुशीलन गर्नु पर्दछ हिउँसँग खेलेर । 
आजभन्दा ३८ वर्षअघि हिउँले छोपिएको जुम्ला, मेरो वासस्थान तथा कार्यालयको प्राङ्गणले आल्हादित बनाएको थियो । फुसफुस परेको हिउँ जमेर हिमशिला बन्दछ । हिउँलाई हातमा लिएर डल्लो बनाउँदै गुडाइदिने हो भने एकैछिनमा विशालकाय शिला बन्दछ र त्यसलाई आफूले चाहेको रूप र कला दिन सकिन्छ । हामीले कात्तिकमा बनाएको यस्तै विशाल शिला वैशाखसम्म थियो र जमिन तातेसँगै बिलाएर गायो जसरी अरु नाशवान् वस्तुहरू बिलाएर जान्छन् । 

प्रकृतिले दिएको अलौकिकतामा हराउने हो भने, सुन्दरताको आस्वादन गर्ने हो भने, त्यसलाई स्पर्श गरेर हेर्नु पर्दछ, अनुभूत गर्नु पर्दछ । हिजो हामी हिमस्पर्श  गर्न फूलचोकी या चन्द्रागिरी जान असमर्थ थियौँ । तर आज त्यो सबै सम्भव भएकोे छ । अब पर्यावरणीय र पार्वत्य विकाससँगै पर्यटकीय सौन्दर्यसहित हिउँदे खेलका लागि उपयुक्त आवश्यक सुविधाहरूसमेत थपेर आकर्षण गन्तव्य निर्माण गरिनु आवश्यक देखिन्छ ।



Author

थप समाचार
ad
x