विचार

आर्काइभबाट

चाक्सीबारीको त्यो सम्मेलनले आन्दोलनको बिगुल फुक्यो

घर–आँगनबाट आह्वान गरिएको आन्दोलनको राष्ट्रिय रूप

हरि शर्मा |
माघ ५, २०७८ ६:५५ बजे

त्यो रोमाञ्‍चित दिन थियो । त्यति ठूलो संख्यामा राजनीतिक मानिस एकै ठाउँमा त्यसरी भेला भएका थिएनन्, पञ्‍चायतकालभरि । पहिलो त, सम्मेलन हुन्छ कि हुन्‍न भन्‍ने शंका थियो । किनभने प्रतिबन्धित पार्टीलाई सम्मेलन गर्न दिइएकै थिएन ।

नेपाली कांग्रेसका नेताहरूलाई मैले नजिकैबाट देखिरहेकै थिएँ । २०३६ पछि कांग्रेसका नेताहरूलाई प्रशिक्षणमा भेटिन्थ्यो नै । अझ त्यो दिन भारतीय नेताहरूको उपस्थिति मेरा निम्ति रोमाञ्‍चकारी थियो । चन्द्रशेखर जनताको पार्टीका अध्यक्ष तथा इन्दिरा गान्धीविरुध्द संघर्षमा उत्रिएका राजनीतिकर्मी थिए । सुब्रमण्यम स्वामी हावर्ड युनिभर्सिटीका प्रोफेसर कांग्रेसबाट आएका थिए । एमजे अकबरबारे धेरै सुनिएको थियो, उनी टेलिग्राफ र सन्डेको सम्पादक भइसकेका मानिस थिए । जसमा बीपीका लामा-लामा अन्तर्वार्ता आएका थिए । एम फरकी जस्ता मानिस आएका थिए ।


हाम्रा नेताहरू धेरै वर्ष भारतमा निर्वासनमा बस्दा ती नेताहरूले साथ दिएका थिए । अब अन्तर्राष्ट्रिय साथका कारण नेपालमा के हुन्छ ? जिज्ञासा थियो नै । कौतूहल के थियो भने नेपालको भूमिमा आएर खुला रूपमा कसरी सपोर्ट गर्छन् भन्ने सुन्‍न गएको थिएँ । भीड भएको हुँदा पछाडि रहेर सुनेको थिएँ मैले ।

त्यो दिनको याद मलाई झल्झल्ती हुन्छ— नेताहरूको उपस्थिति, ऐक्यबध्दता थियो । बीपीले टेलिग्राफमै दिएको अन्तर्वार्तामै भनेका थिए, ‘भारतमा साथीहरू छन्, नेपालमा मेरा अनुयायीहरू छन् ।’ अब नेपालको प्रजातान्त्रिक आन्दोलन कता जान्छ भन्‍ने किसिमको कौतूहल थियो ।

त्यतिखेर भारतबाट सर्वदलीय टोली आएको थियो । नेपालमा सर्वदलीय राजनीतिक प्रतिनिधित्व थियो । भारतबाट सर्वदलीय राजनीतिक टोली नै आएको थियो । त्यसरी सर्वदलीय नेताहरूलाई निम्ता गर्न तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला नै सक्रिय भएका थिए ।

उत्सवझैँ सम्मेलन
खासमा त्यो दिन उत्सव जस्तै थियो । कोही मानिस डरमा थिएनन् । भारतीय नेता चन्द्रशेखरजीलाई एभरेस्ट होटलमा राखिएको थियो । त्यहाँ पञ्‍चहरू जुलुस लिएर गएका थिए । त्यति माथिल्लो स्तरका भारतीय नेताहरू उपस्थित भएको ठाउँमा सरकारले धरपकड गर्ला र अप्ठ्यारो परिस्थिति सिर्जना गर्ला भन्ने आँकलन गरिएको थिएन ।

किनभने उनीहरू आन्दोलनकारीका लागि यति उत्साहप्रद र प्रेरणादायी थियो । त्यो दिन चन्द्रशेखरजीको भाषण आज पनि सम्झिँदा मेरा रौँ ठाडाठाडा हुन्छ । उनले गान्धीलाई उध्दृत गर्दै भनेका थिए, ‘मनबाट भय निकालिदिनुस् । जब तपाईंहरू मनबाट डर निकाल्नुहुन्छ, तब नेपालमा लोकतन्त्र आउने नै छ ।’

मलाई दुईवटा भाषणले रोमाञ्‍चित तुल्याउँछ, एउटा चाहिँ त्यही दिन चन्द्रशखेरले दिएको भाषण हो । अर्को बीपीको निधनपछि १३औँ दिन भारतीय नेता मधु दण्डवतेको भाषण । उनको भाषणको सार थियो, ‘एक बीपी मरेर के गयो, यहाँ हजारौँ बीपी जन्मिन्छन् । बीपी एक रक्तबीज हुन् ।’ तिनले नेपाली क्रान्तिकारीहरूलाई उत्साह दिए ।

माघ ५ मा सम्मेलन हुन दिन्छन् र ? शंका चाहिँ थियो । तर नेपाली राजनीति र समाजको चरित्र कहिलेकाहीँ अलि फरक पनि हुन्छ । त्यसलाई शब्द चयन गर्न मिल्छ कि मिल्दैन, मलाई थाहा छैन । कहिलेकाहीँ अलि ‘काइते’ पनि देखिन्छ ।

पञ्‍चायतकालमा बाहिर सभा गर्न दिइएन भने मानिसका घर-आँगनमा चाहिँ कहिलेकाहीँ गर्न दिन्थे । जस्तो झापामा रामबाबु प्रसाईं-सीके प्रसाईंको घर-आँगनमा सभा गर्दाका बखत हस्तक्षेप गर्दैनथ्यो । पाल्पामा पनि टुँडिखेलमा सभा नगरी घर-आँगनमा गरिन्थ्यो । त्यसो गर्न दिनु भनेको पञ्‍चायती शासकले ‘स्केप’ पनि गर्न खोजेका हुन् । हुन पनि कसैको घर-आँगनमा मानिस विवाह-व्रतबन्धमा जम्मा भए, के गर्ने भन्‍ने किसिमको छुट पनि थियो ।

‘प्रतिबन्धित नेपाली कांग्रेस’को सट्टामा पुरानो नेपाली कांग्रेस लेख्‍ने चलन आइसकेको थियो ।

गणेशमान सिंहको घर-आँगनमा सम्मेलन भएपछि त्यही नीति अपनाएको हुन सक्छ । अर्कातिर गणेशमान सिंहको निरन्तर निष्ठा, लगाव, उहाँको व्यक्तित्वबाट निःसृत आन्दोलनको गरिमामय व्यक्तित्व थियो । गणेशमान सिंह, व्यक्तिलाई नै हामी आन्दोलनका रूपमा हेर्थ्यौ । नभए कसैको घर-आँगनबाट आह्वान गरेको आन्दोलनले राष्ट्रिय आन्दोलनको रूप लिन्छ भन्‍ने त लाग्दैन ।
 
यदि त्यो सम्मेलन गणेशमान सिंहको घरमा नगरेर कसैको घरमा गरेको भए सायद त्यसले त्यो वैधता हासिल गर्थ्यो कि गर्दैनथ्यो ? मलाई लाग्छ, गर्दैनथ्यो ।
 
गणेशमान सिंह, एउटा निरन्तरताको प्रतीक, दृढताको प्रतीक, नेपाली आन्दोलनको निरन्तरताको प्रतीक, साहसको प्रतिमूर्ति ठानिन्थ्यो । त्यो सम्मेलनमा जाने मानिसलाई पनि निर्भयमा थिए । 

अर्को त, खबरदारी पनि हो कि यो निजी घर हो भन्‍ने पनि थियो । त्यतिखेर राज्यले चाहेको भए, ऊ पस्‍न सक्थ्यो । त्यतिखेर ‘प्रतिबन्धित नेपाली कांग्रेस’को सट्टामा पुरानो नेपाली कांग्रेस लेख्‍ने चलन आइसकेको थियो ।

गणेशमान सिंहको घरमा भएको त्यो तीन दिने सम्मेलनले नै आन्दोलनको बिगुल फुकेको हो । आन्दोलनको माहौल सिर्जना गरेको हो । मानिसको मनबाट डर भगाएको हो ।
(राजनीतिशास्त्री शर्मासँग इकागजको कुराकानी ।)



Author

हरि शर्मा

शर्मा राजनीतिशास्त्री तथा अध्येता हुन् ।


थप समाचार
ad
x