विचार

जुरेली र चरिअमिलो !

नारायण घिमिरे |
माघ ७, २०७८ १०:२० बजे

स्कुल पढ्ने बेला जब गाउँघरमा छोरा मान्छेको बिहे हुन्थ्यो, घरको कान्छो छोरो भएकाले जन्त जाने सायदै पालो आउँथ्यो । एक घर एक जन्ती भन्थे । कि त बुबा, नभए दाइहरूमध्ये कोही एक जान्थे । आफ्नो लागि त्यो विवाह लुतो नकन्याई हुने । गाउँका केटीहरूको बिहेमा भने जन्तीलाई स्वागत, खानपान अन्य तैयारीका काम असरल्लै हुने । कान्छा यो गर । कान्छा उ गर । आगो ल्याउने, चुरोट ल्याउने, बाजा बजाउनेहरूलाई पिउने पा-थुरी ल्याउने, फोहोर आँगन बढारबुढुर पार्ने सबै काम हामी फुच्चेहरूको भागमा पर्दथ्यो । 

बिहेको खानेकुरोमा मलाई अत्यन्त मन पर्ने कसार र अर्सा थियो । हरेक घरका मुख्य मानिसलाई गुन्द्रीमा बसाएर टपरामा हालेर घरबेटीले बिहेको खाजा दिन्थे । हामीलाई भने आँगनको छेउमा बोलाएर ल खाओ भनी एक एक मुठी खाजा दिन्थे, सकियो ।


सबैलाई दिएर बचेको चुँडिएको अर्साको टुक्रा, फुटेको कसारको लतपत भएको एक मुठी चिउरा हाम्रो बिहे खाजा हुन्थ्यो । त्यही बिहे खाजा खान पनि हौसिएर पुगिन्थ्यो । बिहे घरको बाहिरको तानो मानो र काम सकेपछि गाउँमा पन्चे बाजामा तन्देरी तरुनी दोहोरी खेल्ने, नाच्ने गर्दथे । त्यो क्षण मेरा लागि भने स्वर्गीय आनन्दको क्षण हुन्थ्यो ।  हाम्रो ध्यान दोहोरीमा केटाको टोकाइमा केटी पक्षबाट कस्तो उत्तर आउला भन्‍नेतर्फ हुन्थ्यो । 

लोकगीतको भाकामा केटाको प्रश्नको प्रतिउत्तर केटोलाई खुत्रुक्कै पार्ने गरी दिन सक्ने केटी मान्छेभन्दा क्षमतावान संसारमा कोही हुन्‍न होला जस्तो लाग्दथ्यो । त्यस्ता केटी मान्छे सारै मन पर्ने मात्र हैन, आफ्नै उमेर सरहको रहेछ भने त सपनीमा आफैँले ऊसँग दोहोरी खेलेको र जितेको देखिन्थ्यो ।

यस्तैमा एक दिन कुमालटारीमा टिकावल्लभ मामाको माइलो भाइको विवाह हुने भयो । विवाह हुने केटा-केटी वल्लो गाउँ पालो गाउँका थिए । हामी पनि जन्तीमा सहभागी हुन पाइयो । बारीको डल्लामा बसेर जन्ती बाख्राको झोल थपी थपी मासु भात खाइयो । मामा धाक फुकाएर खर्च गर्ने बानीको हुँदा खान बसेका सबैले भागमा एक एक डाडु बाख्राको मासुको चोक्टा भेटेका थिए । अन्यत्र एक वा दुई चौटा प्राय: हाड र छालायुक्त मासुले भोज सकिन्थ्यो । झोल भने जति पनि थपी थपी भातमा हाली खान पाइन्थ्यो । बेलुकी दुलही भित्र्याएपछि दुलहाको घरमा दोहोरी चल्यो । हाम्रो गाउँ घरको महफिल जम्यो । 

गीतको बिचमा मास्टरले तरुनीहरूलाई घोचेर भने :
यो वनमा छैन के चरी, छैन के चरी
चरी भए बोल्ने थ्यो कै गरी 
चाइना फुलटिन, चाइना फुलटिन हो निरमाया
भेलीको रक्सीले धन्दै गुल्टिन...

केटी तर्फबाट जुरेलीको जवाफ तुरुन्तै आयो :
छन त यतै छ चरी, यतै छ चरी
कराउँदैन उसको मन नपरी 
चरिअमिलो, चरिअमिलो हो निरमाया
भेट हुँदा नपार मनै धमिलो...  

मास्टर फेरि हौसिएर बोले :
जेठी तिमीलाई मै लाने भइराछ 
रिबन सारी किनेर ल्याइराछ 
चाइना फुलटिन, चाइना फुलटिन हो निरमाया
भेलीको रक्सीले धन्दै गुल्टिन... 

जुरेलीको जवाफ आयो :      
केको बिहे गर्ला यो फुच्चेले, गर्ला यो फुच्चेले,  
हिजो फूल, आजको बच्चाले 
चरिअमिलो, चरिअमिलो हो निरमाया 
भेट हुँदा नपार मनै धमिलो... 

मलाई भने यो गीत मेरै लागि भने जस्तो लाग्यो । साह्रै घत पनि लग्यो । चित्त पनि दुख्यो । गर्न सकिने के नै थियो र ! दोहोरी अन्तिमसम्म बसेर सुनियो । सकिएपछि बाटा लगियो आफ्नै बार्दलीमा सुत्न । मनमा एउटै कुरो थियो । वाह ! कस्तो स्मार्ट केटी रहिछ जुरेली गाँठे । बिहेमा पहिलो पटक देखेको र सुनेको जुरेलीलाई सपनीमा सयौँ चोटि देखियो होला । तर पनि भौतिक रूपमा भेट्ने र कुरा गर्ने साइत कहिल्यै जुरेन ।  

आज भने जीवन पद्धति र जीवनको मान्यता निकै बदलिएको छ । समय, काल र परिस्थितिले जीवनमा पहिलो पल्ट आफूलाई लागेको संसारकै सबैभन्दा उत्कृष्ट र चतुर युवती जुरेलीको मुखबाट सुनेको चरिअमिलोको समेत पिछा लागेर समय बिताउने अवसर जुरेको छ । वेद आदिमा चाङ्गेरिका, चुक्रिका वा अम्बष्ठा भनी उल्लेख भएको चरिअमिलीलाई  भुइँमा लतारिएर बढ्ने हुँदा अङ्ग्रेजीमा क्रिपिङ वुड सोरल (Creeping wood sorrel or creeping oxalis) भनिन्छ । तराईमा बाघमाराका रूपमा समेत चिनिने चरिअमिली (चरिअमिलो) को झार सामान्य ज्वरो निको पार्न, काटेको र खटिरा आदि निको पार्न पनि प्रयोग हुन्छ । घाउमा लगाउँदा चरिअमिलीले चराउने गर्दछ । हाल चरिअमिलीको विभिन्‍न रोग प्रतिरोधी क्षमता हुने प्रमाणित भएको छ । जसमा यसको मधुमेह, क्यान्सर, अल्सर र छारे रोगको ओखती हुने तथा मुटु, कलेजो र मिर्गौला जस्ता अत्यन्त संवेदनशील अङ्गको सुरक्षा गर्ने समेत संलग्न छ ।       

झारका रूपमा खेतीबारीमा उम्रने चरिअमिलोको स-साना गानाहरू जमिनमुनि जीवित रहने र उपयुक्त समयमा चिसो जमिनमा बिरुवाका रूपमा उम्रने र छोटो समयमा निकै छिटो फैलिने बिरुवा हो । यसका पातहरू र फल अमिलो हुने हुँदा चटनीका रूपमा समेत खाने गरिन्छ । यसको जमिनमुनि रहेका गाना समेत अत्यन्त लाभकारी औषधीय मूल्यको हुन्छ ।  

मानव मात्रका लागि देवीहरुको उत्कृष्ट जडीबुटीको रूपमा ग्रहण गरिने चरिअमिलीको प्रमुख रासायनिक यौगिक अक्सालिक एसिड र भिटामिन ‘सी’ हो । यसमा प्रशस्त अक्सालिक एसिड पाइने हुँदा यसको वैज्ञानिक नाम अक्जालिस कोर्निकुलाटा (Oxalis corniculata) हुन गएको हो । यसले उपलब्ध गराउने मनोवैज्ञानिक स्वास्थ्य तथा जीवन्त शक्ति प्रदायक रासायनिक यौगिकहरूमा भने विभिन्‍न फ्लेभोनोइड्स, फाइटोस्टेरोल, फिनोल, ट्यानिन्स, फ्याटी एसिड र वाष्पशील तेलहरू आदि पर्दछ । 

परिअमिलीको पातमा फ्लेभोनोइड्स, आइसोभिटेक्सिन र भिटेक्सिन प्रचुर मात्रामा रहन्छ । शरीरको लागि बाहिर वाट आपूर्ति गर्न जरुरत हुने लिनोलिक एसिड, लिनोलेनिक एसिड, ओलिक एसिड, पाल्मिटिक एसिड र स्टेरिक एसिड जस्ता फ्याटी एसिडहरू समेत  परिअमिलीको पातमा पाइने गर्दछ ।

एक परीक्षणमा १०० ग्राम चरिअमिलीको पातमा पानी ८६%, कार्बोहाइड्रेट ८.२%, नाइट्रोजन ३.५६%, चिल्लो ०.८%, सोडियम १.१२%, पोटासियम २.१७ %, क्याल्सियम १५० मिलिग्राम, फस्फोरस ७८ मिलिग्राम, फलाम ८ मिलिग्राम, नियसिन ०.६ मिलिग्राम,  भिटामिन सी ७८ मिलिग्राम, बिटा क्यारोटिन ६०५० माइक्रो ग्राम र अक्जालेट ७-१२% भेटिएको थियो । चरिअमिली अमिलो हुनुको कारण यसमा हुने अधिक अक्जालेटको कारणले हो । 

परम्परागत रूपमा नाक, घाँटी र फोक्सोमा असर गर्ने भाइरस अर्थात् इन्फ्लुएन्जाको उपचारमा  चरिअमिलीको प्रयोग हुँदै आएको छ । त्यस्तै ज्वरो नियन्त्रणमा, सानो आन्द्रा पोल्ने दुख्ने गराउने इन्टराइटिसमा, पखालाको ओखतीको रूपमा, दर्दनाक चोटपटक लाग्दा, भिटामिन ‘सी’को कमीले लाग्ने स्कर्भीमा, हात खुट्टाको लिगामेंट च्यातिएर मर्किंदा, काटिँदा रक्तस्राव रोक्न, पिसाबको विकारको ओखतीको रूपमा र विषालु सर्पको टोकाइमा ओखतीका रूपमा चरिअमिलीको व्यापक प्रयोग हुने गर्दछ ।

आधुनिक अनुसन्धानबाट चरिअमिली भाइरस प्रतिरोधी मात्र होइन ब्याक्टेरिया प्रतिरोधी र शरीरमा जीवाणुको सङ्क्रमणले नमताउने दर्द अथवा शरीर पोल्ने दुख्ने दर्द नाशक समेत रहेको प्रमाणित भएको छ । अधिक ग्यासको समस्या निको गर्ने, पाचन शक्ति बढाउने, छालाको रोग निको गर्ने चरिअमिली पायल्सको उपचार गर्ने गज्जबको ओखती समेत हो । 

मानिसमा हुने एलर्जीको प्राय: ओखती हुने गर्दैन । तर निकै धेरै मानिसको छालाको एलर्जीलाई चारिअमिलीले निको गरेको भेटिएको छ । आज हाम्रो समाजमा सिटामोल वा प्यारा-सिटामोलको साइड इफेक्ट हुन्‍न भन्‍ने भ्रमका कारण टाउको दुख्ने र ज्वरो आउने गर्दा पटक पटक सिटामोल वा प्यारा-सिटामोलको लिने लगभग एक तिहाइ जन-सङ्ख्यामा सिटामोल वा प्यारा-सिटामोलको अधिक डोज अर्थात् ओभर डोजको समस्याले ग्रस्त भेटिन्छ । सिटामोल वा प्यारा-सिटामोलको ओभर डोजको समस्याको उपचारमा चरिअमिलीको प्रयोग उत्कृष्ट भेटिएको छ । 

चरिअमिलीमा पाइने फाईटोकन्सटिचूएन्टले रगतको सेरम इन्जाइमहरू मूलत: ग्लुटामेट अक्जालो एसिटेट ट्रान्समिनेज, ग्लुटामेट पाईरुभेट ट्रान्समिनेज, अल्कलाइन फस्फेटेजलाइ घटाउने कार्य गर्दछ । उक्त कार्य फोक्सोको रक्षा गर्ने हेपाटो-प्रोटेक्टिब भूमिका खेल्न अत्यन्त प्रभावकारी हुने गर्दछ । त्यस्तै मानिस बिरामी पर्दा वा रोगको सङ्क्रमणको समयमा उसका संवेदनशील अङ्गहरूलाई अक्सिडेसन प्रक्रियाले हानी हुनबाट बचाउनसमेत उक्त फाइटोकन्सटिचूएन्टहरुले एन्टीअक्सिडेन्टको भूमिका खेल्ने गरेको भेटिएको छ । 

रगतसहितको पखालाको ओखतीका लागि १५ देखि २५ मिलिलिटर चरिअमिलीको  पातको रस दिनको दुई पटक खान दिइन्छ । गुदद्वारको लुन्द्रो (फिस्टुला) र पायल्समा मलाशयको लुन्द्रो र वरपर चरिअमिलीको  पातको लेदो दैनिक दलिन्छ । राम्रो नतिजाको लागि मोहीसँगै पिउने वा मोहीमा बनेको लेदो लगाउन सकिन्छ । पीडादायी सुन्‍निएको स्थानमा मन तातो पानी प्रयोग गरी बनेको चरिअमिलीको पातको लेदो दलेर निको पार्न सकिन्छ ।
 
अमिलीको पातको लेदोले शीतलता दिने हुँदा सबै प्रकारको पीडादायी सुन्‍निएको र पोल्ने दुख्ने समस्यामा प्राय प्रयोगमा आउँछ । ज्वरोको उपचारका लागि जरासहितको सम्पूर्ण बिरुवाको १० ग्राम लेदोलाई १०० एमएल पानीमा राखी २५ एमएलसम्म घट्ने गरी उमालिन्छ । उक्त रस (डेकोक्सन) दैनिक दुई पटक ज्वरो निको नहुँदासम्म पिउने गरिन्छ ।

छालाको मुसा निको गर्न चरिअमिलीको पातको रसलाई बराबर मात्रामा प्याजको रस सँगै मिसाइन्छ ।  जहाँ  जहाँ मुसा आएको छ जहाँ छालाको पुरानो भाइरल डिसअर्डरका कारण सानो, चिल्लो, पीडारहित गुलाबी डल्लाहरू (नोड्यूलहरू) जसलाई निचोर्दा दूध जस्तो तरल पदार्थ आउँछ त्यसमा दलिन्छ । केही दिनको यस्तो उपचारले त्यस्ता मुसाहरू निको हुन्छ । 

टाउको दुख्‍ने समस्यामा चरिअमिलीको तीन पाते पात लिएर मसिनो लेदो बनाएर निधारमा दलिदिँदा टाउको दुखाइ घट्दछ । भर्खरै गर्भावस्था हुँदाको समयमा लगातारको चरम वाकवाकी र उल्टीलाई चरिअमिलीको पात, नरिवल, नुन र कागतीको रस मिलाएर बनाएको चटनीले राम्रो राहत दिन सक्छ ।

चरिअमिलीको पातको रसले मानिसमा तनाव उत्पन्‍न गर्ने हर्मोन कोर्टिसोलको मात्रा घटाइदिने गरेको भेटिएको छ । एक टेबल चम्चा हरियो चरिअमिलीको पातको रसलाई त्यति नै मात्राको क्यासटर ककइल अर्थात् अरंडी वा अँडिरको तेलमा मिलाएर निधारमा मसाज गर्दा अनिद्राको उपचार गर्न र शान्त भएर सुत्न सहयोग पुग्छ ।

चरिअमिलीको सार तत्त्व आधुनिक तथा आयुर्वेदिक दबाइहरूमा हाल व्यापक रूपमा प्रयोग भइरहेको छ । चरिअमिलीको रस मानिसलाई मानसिक रोगमुक्त गर्ने धेरै प्रकारका ओखतीको मुख्य कच्चा पदार्थको रूपमा समेत प्रयोग हुने गरेको छ ।

जस्तै आयुर्वेदिक काइदामा अदुवाको धुटो (चूर्ण), पिपलाको जराको चूर्ण, सेतो चितुको (चित्रक)  चूर्ण, हात कल्ला (गज-पिप्पली), गोक्षुरा, पिपला फल, धनियाँ, बेल, वितुल पोटि (पाथा), ज्वानो हरेक ९.६ ग्राम, चरिअमिलीको रस ३.०७२ एमएल, गाईको घिउ ६६८ ग्राम,  ३.०७२ ग्राम दही सँगै मिसाएर सम्पूर्ण मिश्रण जडीबुटीको घिउमा परिवर्तन नभएसम्म मन्द तातोमा तताइन्छ । 

यसरी प्राप्त तैयारी आयुर्वेदिक घिउ नै चरिअमिली लगायतका जडीबुटीबाट निर्मित घिउ मानिन्छ । आयुर्वेदमा औषधिका रूपमा जडीबुटीको सारतत्व समावेश भएको घिउ प्रयोग गरिनुलाई स्नेह कर्म भनिन्छ । पेट गडबड हुँदा (ब्लोटिङ), अपच हुँदा, पखाला लाग्दा, पिसाब फेर्दा दर्द हुने (डाई सुरिया) र पायल्सको उपचारका लागि उक्त चरिअमिलीको घिउ (चंगेरी घृत) तातो पानीमा चौथाइदेखि आधा सानो चम्चा हाली दिनको एक वा दुई पटक खाली पेटमा खाने गरिन्छ ।

समयको गति सँगै अत्यन्त दुर्लभ ओखतीय खाद्य तथा औषधिको अनुसन्धान हुने क्यानडाको अत्याधुनिक प्रयोगशालामा रहेर खाद्य तथा औषधिको विधामा अनुसन्धान गर्ने क्रममा तिनै जुरेलीले मेरो दिमागमा हालिदिएको चरिअमिलीको खाद्य तथा औषधि विज्ञानमा रहेको क्षमताले मलाई भने चकित पारिदिएको छ । 

समयले साथ नदिँदा न त मलाइ कहिल्यै जुरेलीलाई भेटेर उसभित्र मैले देखेको मानवीय स्मार्टनेस र क्षमताको चर्चा गर्दै तारिफ गर्ने साइत जुर्‍यो, न त हाम्रा गाउँ घरमा प्राकृतिक रूपमा जताततै पाइने र जुरेली साँझमा गाइने चरिअमिली जस्ता जडीबुटीको सदुपयोग गरी मुलुकको उन्‍नतिको लागि केही योगदान गर्ने अवसर कहिल्यै मिल्यो । 

हुन पनि हाम्रोमा कानुनी रूपमै विभिन्‍न तहमा व्यवधान खडा गरी नियत बस स्थापित गरिएको अड्चनमाथि जति थप जटिलता थपिदियो त्यति त्यसबाट फाइदा पुग्ने माफिया वर्गमार्फत हाम्रा शासक वर्गको विदेशमा रहेका परिवारको विदेशी बैङ्कमा सलामीबापत नगद प्राप्त हुने परिस्थितिले हाम्रा जनतामारा कानुन सुध्रन लगभग असम्भव प्राय: देखिन्छ । रैथाने जडीबुटी र परम्परागत सीप तथा ज्ञानबाट समाजको उन्‍नति गर्न योगदान दिन चाहने हरेक प्रयासलाई अपराधीकरण गरी तुहाइदिने जोखिम यत्रतत्र कायम रहेको भेटिन्छ ।



Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x