विचार

मिर्गाैला फेलमा आयुर्वेदिक काइदा

नारायण घिमिरे |
माघ ४, २०७७ १०:१५ बजे

दादा म पनि घिमिरे हो । हजुरकै गोत्र । हजुरको लेख पढ्छु । आफ्नै नजिकको दाजुभाइ जस्तो लाग्छ । मेरो मनको एउटा दुःख नराखी बस्न सकिनँ । अन्यथा नमान्नु होला । मेरो आमाको दुवै किड्नी फेलर छ । चिने, जानेको र आफन्त कसैको किड्नी मिलेन । मेरो एउटा दिएर राम्रो हुन्छ भने दिन्छु भनेको । मेरो पनि मिलेन । म त आमाकै शरीरको टुक्रा हो नि । तर मिलेन दाइ । मैले आमाका लागि केही गर्न सकिनँ । कुनै आयुर्वेदिक तरिका छ ? जसले कम्तीमा मैले आमाको जीवनमा केही सहजता थप्न सक्छु ।  

मेरा लागि यो प्रश्न कुनै अपरिचितले हैन, पूर्ण परिचित आफ्नैले सोध्यो जस्तो लाग्यो । आफ्नै आमालाई सम्झेँ । रुन मन त लाग्यो तर एकान्तमा नरहेकाले रुने अवसर पनि प्राप्त भएन । त्यो हार्ट ब्रेकिङ प्रश्नको कसरी उत्तर गरूँ । एक त म मेडिकल डाक्टर होइन । भएकै भए पनि सम्बन्धित क्षेत्रको हुनुपर्यो । सीमित खाद्य र औषधि विज्ञको हैसियतमा मैले उक्त प्रश्नको उत्तर दिन सक्ने हैसियत राखिनँ । उत्तर दिइनँ । 


मेरो श्रीमतीसँगको लामो संगतले ममा नेपाली समाजमा महिलाहरू अत्यन्त जरुरत नपरेसम्म अन्जान मानिससँग आफ्नो समस्या प्रायः राखी हाल्दैनन् । समस्या राख्न पनि उनीहरूमा एक स्तरको विश्वास विकास भएपछि मात्र राख्ने गर्छन् भन्ने मेरो निजी धारणा बनेको छ । आफ्नो दुःख मसमक्ष राख्ने घिमिरे बैनीका लागि अन्य दाजुभाइ जस्तै सायद म पनि दुःख पर्दा भाग्ने सुख पर्दा आफ्नै बन्ने अपरिचितका रूपमा हराएँ ।  

आज फेरि अर्को कार्की भाइको मेसेज आयो । दाइ हजुरको पीएसपी र अटिजमको औषधि विज्ञानतर्फको क्रिटिकल आलेख पढेँ । मेरो आमाको किड्नी फेलर छ । उमेरले ७१ । आयुर्वेदिक तरिकाको त्यस्तै क्रिटिकल आलेख पढ्न सक्छु वा पाउँछु ? यो प्रश्नले मलाई पहिले मबाट मन चुँडिएको अनुभूति लिइन् होला भन्ठानेको घिमिरे बैनीलाई सम्झायो । फेरि दुःख मान्नेबाहेक अर्को विकल्प मसँग थिएन । यस पटक भने मैले आफ्ना लागि बनाएको प्राविधिक टिपोट जसलाई डाक्टरी सल्लाह हैन कि मात्र सन्दर्भ सामग्रीको रूपमा हेरियोस् भन्ने अनुरोधसाथ सार्वजनिक गर्ने निश्चयमा पुगेँ । 

सम्पूर्ण पाठकहरूलाई यो प्राविधिक टिपोटलाई सूचनाका रूपमा मात्र ग्रहण गर्न र रोगबारे कुनै पनि उपचार वा सल्लाह जरुरत भए आफ्नो स्थानीय क्षेत्रमा उपलब्ध सम्बन्धित क्षेत्रको विषय विज्ञहरूको अनिवार्य सहयोग लिन अनुरोध गर्छु । 

आयुर्वेद चिकित्साको मर्म

अन्य रोगमा जस्तै आयुर्वेदले सबै प्रकारको मिर्गाैला सम्बन्धको समस्याहरूको सबै चरणको उपचार प्रदान गर्छ । मिर्गौलाको समस्याहरूको उपचारमा आयुर्वेद सफल तरिका हुनुको मूल कारण आयुर्वेदिक उपचार बिरामीको यथार्थ स्वस्थ अवस्थाको पहिचान गरी उसको शरीरको मूल प्रकृतिको पहिचानको आधारमा गरिने पध्दति हो । यो पध्दतिमा हरेक बिरामीको शरीरको प्रकृति, गुण, दोष आदिका आधारमा पहिले शरीरको संरचना यकिन गरिन्छ । त्यो अवस्थामा हुनुपर्ने निरोगीपन कस्तो हो भनी पहिचान गरिन्छ । 

जहाँ बिरामीको वास्तविक अवस्था र हुनुपर्ने अवस्थाको बीचको फरकलाई विकृतिका रूपमा पहिचान हुन्छ । जब विकृति पहिचान हुन्छ, उक्त विकृतिको मूल कारक तत्वहरूको पहिचान गरिन्छ । जब मूल कारक पहिचान हुन्छ, तब त्यसको अद्वितीय उपचार पध्दति तालिका बन्छ । जब तालिका बन्छ, तब उपयुक्त उपचार थालिन्छ । औषधि जरुरत हुँदा मात्र दिइन्छ । 

यहाँ महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको दुइटा भनाइ उध्दरण गर्न जरुरी छ । समस्या समाधानमा आइन्स्टाइन भन्छन्, ‘यदि मसँग समस्या समाधान गर्न एक घण्टा भयो भने म ५५ मिनेट समस्याको मूलकारण पहिचानमा सोच्छु र पाँच मिनेट समाधानबारे सोच्छु ।’ 

आयुर्वेदको उपचार पध्दति तालिकाले त्यही ५५ मिनेटको जरुरत पूरा गर्छ । जीवन जिउनुबारे आइन्स्टाइन बताउँछन् ‘जीवन जिउनु साइकल चलाउनुजस्तै हो । जहाँ तपाईँ आफ्नो सन्तुलन राख्नको लागि अघि बढिरहनु पर्दछ ।’ दैनिक जीविकालाई नियमित सञ्चालन गर्दै शरीरको संरचनालाई पूर्ण सन्तुलनमा फर्काएर रोग हैन, रोगको कारकको उपचार गर्ने पध्दति हो आयुर्वेदिक चिकित्सा पध्दति ।

जसरी हाल हरेक कुरामा मानिसको सुरक्षा पहिलो प्राथमिकता पर्छ, त्यस्तै आयुर्वेदिक उपचार पध्दतिमा अहिंसा पहिलो अनिवार्य सर्त वा पेसागत धर्म ठानिन्छ । नेपालको देवघाट क्षेत्रमा जन्मिएर संसारको पहिलो सर्जन बन्नु भएका आयुर्वेदका पथप्रदर्शक महर्षि सुश्रुतका अनुसार जब कुनै चिकित्सकले औषधि दिन्छ भने त्यो औषधि कम्तीमा उसको हालको अवस्था बिग्रन जिम्मेबार बन्नु हुँदैन । मतलव साइड इफेक्ट शून्य रहनुपर्छ । यहाँ शून्यको अर्थ जिरो होइन । त्यसको अर्थ हो अर्को रोग वा जटिल समस्या निम्ताउने बन्नु हुँदैन । 

आज चाइनिज ट्रेडिसनल मेडिसिनले समेत ध्यान नपु¥याएका ‘अहिंसा’ आयुर्वेदिक उपचार पध्दतिको पहिलो अनिवार्य आवश्यकता मानिएकाले मिर्गाैला असफल बनिरहेको अवस्थामा आयुर्वेदिक उपचार जानकारहरूको छनोटको विषय बनिरहनुको औचित्य प्रस्ट हुन्छ । 

के हो किड्नी फेलको अवस्था ?

सामान्य मान्छेमा पाँच लिटर जति रगत हुन्छ । जसमा प्रतिमिनेट १.१ लिटर रगत मिर्गाैला हुँदै यात्रा गर्ने गर्छ । हरेक पाँच मिनेटमा शरीरको रगत एक पटक मिर्गाैला हुँदै पुनः रक्त सञ्चार माध्यममा फर्कन्छ । मिर्गाैलाले सम्पूर्ण रगतको २२५ सम्म रगत एकैचोटि आफूसँग राख्न सक्छ । शरीरको रक्तसञ्चार प्रणालीलाई सन्तुलित बनाउन रगतको अम्लीयपन वा पीएच अनिवार्य रूपमा सन्तुलित गर्न अनिवार्य हुन्छ । मुख्य रूपमा शरीरले दैनिक कार्य गर्ने क्रममा निकाल्ने फोहोरका कारण तथा बाहिरी संक्रमण, रोग वा विकृति आदिका कारण पैदा भएको शरीरलाई हानि गर्ने फोहोर रगतको पीएचमा गडबडी गर्न जिम्मेवार रहन्छ । 

रगत सफा गर्ने क्रममा मिर्गाैलामा रहेको नेफ्रोनले रगत जम्मा गरी त्यसमा रहेको शरीरलाई काम नलाग्ने फोहोरमा परिवर्तन भएका आयोन, एमिनो एसिड, ग्लुकोज आदि छानेर पिसाबबाट बाहिर फल्दछ । मिर्गाैलामा हुने प्रत्येक नेफ्रोनको अत्यन्त सानो माइक्रोस्कोपिक फिल्टर हुने गर्छ । जसलाई ग्लोमेरुलस भनिन्छ ।  

उक्त ग्लोमेरुलसनै मिर्गाैलामा रगतलाई फिल्टर गरी सफा गर्ने काम गर्दछ । रगतमा रहेको हाइट्रोजन आयनले गर्दा रगतको पीएच घटने, नुनको मात्रा धेरै हुँदा ब्लडप्रेसर बढने, रगतमा घुलेका लवणहरूका कारण रगत जरुरी भन्दा धेरै बाक्लो हुने, रगतमा रहेका हानिकारक फोहोर पदार्थ जस्तै युरिया आदिले अन्य गम्भीर समस्या निम्त्याउनेजस्ता जोखिमबाट बच्न रगतको बारम्बार सफा गरिनुपर्ने आवश्यकता हुने गर्छ । तिनै फोहोरहरूलाई मिर्गाैलामा पठाएर छानेर रगतबाट छिटोछिटो हटाउन जरुरत पर्ने भएकाले रगत यति धेरै पटक रगत सफा गर्न मिर्गाैलामा पुगेर फर्किने गर्छ । 

मिर्गाैलाले रगत सफा गर्ने काम हुँदै गर्दा मूलतः तीन प्रमुख कार्यहरू हुने गर्दछ । पहिलो शरीरलाई काम नलाग्ने रगतका नाइट्रोजनयुक्त फोहोर पदार्थ रगतबाट हटाउनु । दोस्रो जरुरीभन्दा धेरै तरल पदार्थहरू बाहिर फाल्नु । तेस्रो रगतमा रहेका जरुरतभन्दा ज्यादा शरीरको विद्युतीय सञ्चारमा काम गर्ने इलेक्ट्रोलाइटहरू रगतबाट छानेर बाहिर फाल्नु । 

कुनै कारणबाट मिर्गाैलाको तीन नियमित काम अवरोध आउँदा रगत सफा हुन पाउँदैन । फोहोर रगतका कारण रगतमा नाइट्रोजनयुक्त पदार्थको वा इलेक्ट्रोलाइटहरूको वा तरल पदार्थको सन्तुलन गुम्न पुग्दछ । फोहोर रगतले शरीरमा विकृति जन्माउने दोषको रूपमा भूमिका खेल्छ । 
  
दैनिक कार्यहरू सम्पन्न हुने क्रममा शरीरका जीर्ण तन्तुहरू टुक्रने भत्कने भएर क्रिएटिनिन नामक नाइट्रोजनयुक्त एमिनोएसिडका यौगिक पदार्थहरू रगतमा तैरिन पुग्दछ । क्रिएटिनिनलाई मिर्गाैलाले पिसाबसँग शरीर बाहिर फ्याँक्छ । रगतमा नाइट्रोजनयुक्त पदार्थ सफा हुन नसक्दा रगतमा एमोनिया, युरिया, युरिक एसिड र क्रिएटिनिनको मात्रा बढ्दछ । इलेक्ट्रोलाइटहरूको सन्तुलन बिग्रिँदा रगतमा सोडियम र क्याल्सियमको मात्रा घट्छ । पोटासियम र फस्फोरस मात्रा बढ्दछ । रगतमा बढेको एसिडका कारण रगतको पीएच लेबल पनि घटिदिन्छ । 

तरल पदार्थको असन्तुलन हुने क्रममा मिर्गाैलाले धेरै तरल पदार्थ बाहिर फाल्न नसक्दा शरीरमा पानीको मात्र बढ्न सक्ने र शरीर सुन्निन सक्छ । रगतमा घुलेका लवणहरूका कारण रगत जरुरीभन्दा धेरै बाक्लो हुने स्थितिमा मिर्गौलाले उपयुक्त अवस्था रहँदैन । जुन बेला शरीरमा पानीको मात्रा उल्लेखनीय रूपमै घट्नसमेत सक्दछ ।

क्रिएटिनिन क्रिएटिन मेटाबोलिजम हुँदा उत्पन्न हुने फोहोर हो । जब मांसपेशीमा क्रिएटिनवाट ऊर्जा उत्पादन गर्न मेटाबोलिज हुन्छ त्यहाँ क्रिएटिनिनको उत्पादन हुन्छ । क्रिएटिनिनबाट शरीरको लागि उपयोगी हुने अर्को पदार्थ उत्पादन हुने नभएकाले शरीरले यसलाई पुनः अव शोषित गरी लिने गर्दैन । जति उत्पन्न हुन्छ सबै मिर्गौलामा रगत छान्दा छानिएर बाहिर फालिन्छ वा उत्सर्जन हुने गर्छ । 

कुनै कारणबाट मिर्गाैलाको कार्यमा अवरोध आयो भने रक्त प्रवाहमा सबैभन्दा पहिले  क्रिएटिनिनको उत्सर्जन दरमा असर गर्दछ । क्रिएटिनिनको उत्सर्जन दर मिर्गौलाको रगत सफा गर्ने क्षमतासँग प्रत्यक्ष सम्बन्धित रहन्छ । त्यसैले रगतमा क्रिएटिनिनको मात्रा नापेर मिर्गौलाको स्वस्थ यकिन गरिन्छ । डाक्टरहरूले बिरामीको उमेर, जातीयता, लिंग, उचाइ र तौलजस्ता विषयसँग सम्बन्धित अनुभव र तथ्यहरू संयोजन गरी रगतमा देखिएको क्रिएटिनिनको मात्रा हेरेर निजको मिर्गौलाको रगत छान्न सक्ने प्रभावकारिता पत्ता लगाउँछन् । जसलाई ग्लोमेरुलर फिल्ट्रेसन रेट (जीएफआर) भन्ने गरिन्छ । 

मानिसमा ग्लोमेरुलर फिल्ट्रेसन रेट सामान्यतया शून्यबाट १२० सम्म देखिने गर्छ । जहाँ ६०-१२० सम्मको स्थिति सामान्य वा स्वस्थ मिर्गाैला, १५-६० को अवस्था रोगी मिर्गाैला र ०.१५ को अवस्थालाई मिर्गाैला बिग्रिएको वा किड्नी फेलको अवस्था मानिन्छ । प्रयोगशालामा १०० एमएल एक लिटरको दस भाग भएकाले यसलाई डेसिलिटर भनिन्छ । रगत जाँच गर्दा सेरम क्रिएटिनिनको मात्रा ०.८-१.३ मिलिग्राम र डेसिलिटर भएमा वा प्रतिघण्टा १.३ एमएल प्रतिकेजी शरीरको तौल पिसाब भएमा मिर्गाैलाले सामान्य रूपमा काम गरेको ठानिन्छ । जस्तै तपाईँको तौल ५० किलो छ भने २४ घण्टामा ५०८२४८१ वाट ५०८२४८३ भनेको १.२ लिटरदेखि ३.६ लिटर पिसाब आउँछ भने यसलाई सामान्य मानिन्छ ।

मूर्च्छित मिर्गाैलालाई उचित उपचारमार्फत पुनः सक्रिय गरिएको तथ्य आधुनिक विज्ञानकै मापनको तरिका अपनाएर वैज्ञानिक रूपमै प्रमाणित गर्न आयुर्वेद सफल बनेको छ । 

मेडिकल परिभाषाको रूपमा हेर्दा रगतमा सेरम क्रिएटिनिनको मात्रा ४८ घण्टामा ३ मिलिग्राम र डेसिलिटरभन्दा धेरै बढेको भेटियो वा ७ दिनमा सेरम क्रिएटिनिनको मात्रा सामान्यभन्दा १.५ गुणा बढेको भेटियो भने यसलाई एक्युट रिनल फेलर मानिन्छ । पिसाब दर प्रतिघण्टा ०.५ एमएल प्रतिकेजी शरीरको तौलभन्दा कम भयो भने पनि त्यसलाई एक्युट रिनल फेलरको स्थिति आएको भन्ने सोचिन्छ ।

जोखिमको हिसाबबाट हेर्दा सेरम क्रिएटिनिनको मात्रा सामान्यभन्दा १.५ गुणा धेरै हुनु वा ६ घण्टासम्म लगातार प्रतिघण्टा ०.५ एमएल प्रतिकेजी शरीरको तौलभन्दा कम पिसाब हुने अवस्था उच्च जोखिमको अवस्था हो । सेरम क्रिएटिनिनको मात्रा सामान्यभन्दा २ गुणा धेरै हुनु वा १२ घण्टासम्म लगातार प्रतिघण्टा ०.५ एमएल प्रतिकेजी शरीरको तौलभन्दा कम पिसाब हुने अवस्था संक्रमणको अवस्था हो । सेरम क्रिएटिनिनको मात्रा सामान्यभन्दा ३ गुणा धेरै हुनु वा २४ घण्टासम्म लगातार प्रतिघण्टा ०.३ एमएल प्रतिकेजी शरीरको तौलभन्दा कम पिसाब हुने अवस्था फेलरको अवस्था हो । 

चार हप्ता भन्दा धेरै एक्युट रिनल फेलर भएमा वा उक्त स्थितिमा सुधार हुने अवस्था नदेखिँदा मिर्गाैलालाई पूरै बिग्रेको वा किड्नी लसको अवस्था भनिन्छ । सो अवस्था तीन महिना नाघेमा त्यसलाई अन्तिम अवस्थाको रेनल डिजिज भनिन्छ । अन्तिम अवस्था भनेको रिनल रिप्लेसमेन्ट थेरापी जस्तै डायलाइसिस गर्नुपर्ने वा मिर्गाैला फेर्नुपर्ने अवस्था हो । रगतमा भएको विषाक्त पदार्थ मिर्गाैलाले सफा गर्न नसक्दा रगतमा नै रहने गर्दछन् । डायलाइसिस प्रक्रिया भनेको रगतमा रहेका उक्त विषाक्त पदार्थहरू मेसिनको मद्दतबाट हटाउने तथा रगतमा इलेक्ट्रोलाइटहरूको मात्रासमेत सन्तुलित गराउनु हो ।

जब एक पटक मिर्गाैला फेल हुने स्थितिमा पुग्छ तब त्यो मिर्गाैला पहिलेको अवस्थामा आउन नसक्ने गरी बिग्रिएको ठानिन्छ । शरीरलाई पूर्ण रूपमा सुरक्षित राख्न मेसिनले रगत सफा गर्ने काम दैनिक चार घण्टा हप्ताको तीन दिन गर्नु उपयुक्त हुन्छ । जुन खर्चिलो मात्रा हैन पीडादायक पनि छ । तसर्थ मिर्गाैला फेल बनिरहेको अवस्थामा आजसम्मको औषधि विज्ञानको निचोड सकेसम्म एक स्वस्थ मानिसले आफ्नो नजिकको प्रियजनलाई आफ्नो एउटा मिर्गाैला दानको रूपमा लिएर बिरामीलाई पहिलेजस्तै स्वस्थ जीवन दान दिनु हुनेछ । स्वस्थ मानिसमा दुईवटा मिर्गाैला हुने गर्छ ।

एउटा मात्र मिर्गाैलाबाट उसले आफ्नो पूरा आयु सामान्य रूपमा जिउन सक्छ । सामान्यतः मिर्गाैला दान गर्ने स्वस्थ मानिस र मिर्गाैला लिने बिरामीको रगत ग्रुपहरू मिल्न जरुरी ठानिन्छ । तर आजभोलि भारतको फरिदबादको एम्सजस्ता प्रतिष्ठित अस्पतालहरूले रगतको गु्रप नमिल्दासमेत स्वस्थ मानिसको मिर्गाैला अर्को बिरामीमा सफलतापूर्वक प्रत्यारोपण गरिरहेका छन् । मात्रा ७-१० दिन बिरामी अस्पतालमा भर्ना गरी काम पूर्ण गरी सामान्य बिरामी जस्तै मिर्गाैला प्रत्यारोपण गरिएका बिरामीहरू डिस्चार्ज गर्ने उनीहरू सफल बनिरहेका छन् ।

मिर्गाैला प्रत्यारोपण गरिएका बिरामीहरूले केही सिफारिस गरिएको औषधिहरू आफ्नो जीवनभर खानुपर्ने हुन्छ । किनकि शरीरको प्रतिरक्षा प्रणालीले केही समयमा उक्त मिर्गाैला शरीरको अंग नभएको महसुस गर्छ र शरीरवाट बाहिर पठाउन खोज्दछ । त्यो रोक्नको लागि ती ड्रगहरू खानुपर्ने भएको हो । तर पनि हालसम्मको उपलब्ध विकल्पमा डायलासिसभन्दा मिर्गौलाको प्रत्यारोपण गर्नु धेरै राम्रो ठानिन्छ । एक त मिर्गाैला प्रत्यारोपण गरिएका मानिसहरू दैनिक केही ओखतीहरू खाएपछि सामान्य मान्छे जस्तो तीन महिनाभित्र नै आफ्नो सामान्य दिनचर्यामा फर्केको भेटिन्छ ।

 एक सय जना डायलासिस गरिएका बिरामीमध्ये १० वर्षमा मात्र १५-२० प्रतिशत बाँचेको भेटिन्छ । तिनै बिमारी मिर्गौलाको प्रत्यारोपणपछि १० वर्षमा ७५८० प्रतिशत बाँचेको भेटिएको छ । खर्चको हिसाबमा समेत सबै खर्च हिसाब गर्दा प्रत्यारोपण  र नियमित सञ्चालन खर्च नियमित डायलासिसको वार्षिक खर्चकोभन्दा ३०-५० प्रतिशत सस्तोसमेत पाइएको छ ।        

किड्नी फेल हुने अवस्था सम्मको यात्रा ?

सुरुमा दैनिक खानपानमा थोरै तरल पदार्थको सेवन गरिने, पखाला, बान्ता, शरीरबाट अधिक रगत बाहिर जानु आदि कारणबाट शरीरमा पानीको मात्रा घट्न पुग्ने आदि कारणबाट मानिसमा ब्लड प्रेसर घट्ने, मुटुको धड्कन १०० बिट प्रति मिनेटभन्दा धेरै हुने, पल्स अनुभव हुन नसक्ने, घाँटीको जुगुलर भनेको प्रेसर घट्ने, छालालाई औंलाले दबाउँदा केही समय खाल्डो रहने, आँखा गडिने, र्‍याल सुक्खा हुने, तीन मिनेट जति उभिँदा डिहाइड्रेसनका कारण हुने ब्लड प्रेसर घट्ने लक्षण र थोरै मात्र पिसाब लाग्ने आदि हुने गर्छ । 

घाटीमा स्ट्रेपटोकोकल इन्फेक्सन भई घाँटी च्याप्प समात्ने, दुख्ने बिमारी भएकाहरूमा शरीरमा बढ्न गएको पानीको कमीका कारण पिसाबमा रगत देखिने, रगतको ब्लड प्रेसर बढ्ने, हात गोडा सुन्निने आदि हुन सक्छ । मांसपेशीका तन्तुहरू अधिक टुक्रनाको कारण पिसाब चिया रङको आउने, मांसपेशी दुख्ने, रिँगटा लाग्ने, बेहोस हुने आदि हुने गर्छ । धेरै पेनकिलर खाने बानी भएकोमा नेफ्रोनमा हुने एलर्जीले ज्वरो आउने, छालामा दुख्ने पिड्का, धब्बाहरू देखिने, हाडको जोर्नी दुख्ने, अप्ठ्यारो महसुस हुने आदि हुन्छ ।

 मिर्गाैलाले रगत सफा गरी निकालेको पिसाब, पिसाब थैलीमा जम्मा हुन्छ । प्रोस्टेट फुल्न गएर वा मिर्गाैलामा पत्थरी भएर पिसाब रोकिन गयो भने त्यहाँ फरक किसिमको तत्काल पिसाबको निकास दिने समाधान युक्त मेडिकल इमर्जेन्सीको जरुरत पर्दछ ।

कसरी यकिन गरिन्छ मिर्गाैलाको अवस्था ?

किड्नी फेलको अवस्था पहिचान गर्न ल्याबका परीक्षणहरू गर्ने गरिन्छ । जसअन्तर्गत रगतका इलेक्ट्रो लाइटहरूको परीक्षणमा रगतमा बढेको सेरम युरिया, सेरम क्रिएटिनिन, बढेको पोटासियम र फस्फेटको मात्रा र घटेको क्याल्सियम हेर्ने गरिन्छ । पिसाब परीक्षणअन्तर्गत दैनिक कति पिसाब हुने गरेको छ त्यसको मात्रा, रिनल युरिया र क्रिएटिनिनको बढेको मात्रा, पिसाबको बढेको अस्मोलारिटी आदि मापन गरिन्छ । 

साथै  पिसाबमा मिर्गाैलाबाट अत्यन्त सानो मात्रामा चुहिएको रगत वा रेड सेल कास्टसमेत गरिन्छ ।  पेटको एक्सरे, अल्ट्रासोनोग्राफी आदि रेनल इमेजिङ तरिकाबाट मिर्गाैलामा पत्थरी भएको नभएको यकिन गरिन्छ । कतिपय अवस्थामा मिर्गाैलाबाट मिर्गौलाको सानो मासुको टुक्रा वा तन्तु निकालेर प्याथोलोजिकल निदानको रेनल बायोस्पी तरिकासमेत उपयोग गरिन्छ ।

औषधि विज्ञानको उपचार  

औषधि विज्ञानमा किड्नी फेलरको उपचारका लागि बिरामीले भोगेको तत्कालीन समस्याबाट उसलाई मुक्त गर्न र त्यसले उत्पादन गरेको रोगहरूको लक्षणलाई दबाई बिरामीलाई तत्कालको लागि रोगबाट बचाउने विधि वा बिरामीको आयु लम्ब्याउने तरिका अपनाइन्छ । जस्तै रगतमा उक्त समयमा हुन गएको तरल पदार्थ र इलेक्ट्रोलाइटहरूको असन्तुलनलाई सन्तुलनमा फर्काउनु । जसअन्तर्गत निश्चित नुन र पानीको मात्रा तय गर्नु, शरीरबाट निश्चित मात्रामा नुन र पानी हटाउन सहयोग गर्ने डियारेटिकहरू (वाटर पिल्स (लुप एक्टिंग, पोटासियम स्पेरिङ, थियाजाइड) दिने ।

इलेक्ट्रोलाइटको असन्तुलन देखिएमा धेरै मात्रामा पोटासियम भेटिए पोटासियम बाइन्डर रेजिन जस्ता लुप-डियारेटिक दिने र खानामा समेत पोटासियम घटाउने । फस्फेट धरै मात्रामा भेटिए फस्फेट बाइन्डर एलिमुनम हाइड्रोअक्साइड दिने जसले आन्द्रामा फस्फेट सोसिन दिँदैन र रगतमा फस्फेटको मात्रा घटाउँछ । रगतको पीएच घट्ने एसिडोसिस देखिए मुखबाट वा रगतमा स्लाइनबाट सोडियमबाइकर्बोनेट दिने गरिन्छ । उक्त समयमा ल्याब टेस्ट गरी पटक पटक रगतमा तरल पदार्थको मात्रा र इलेक्ट्रोलाइटसको मात्रा कति छ भनी हेरिन्छ ।  
          
मिर्गाैलामा रगत नै कम पुगिरहेको अवस्थाले जन्माएको समस्यामा मिर्गाैलामा जे कारणबाट रगत जाने प्रक्रिया रोकिएको हो त्यसैको  उपचार रोजिन्छ । जसमा रगतमा जुन तरल पदार्थको कमीले समस्या जन्मिएको हो त्यसैको मात्रा बढाइने गरिन्छ । रगतकै कमीमा ब्लड ग्रुप मिल्ने रगत दिइन्छ । क्रिस्टोलोइडको जरुरत हुँदा  सोडियम स्लाइन आदि । पोलेको र प्याङक्रियाजमा उच्च दर्द हुँदा आल्बुमिनजस्ता कोलोइडसहरू दिइन्छ । हार्टफेलरजस्ता कारणले मिर्गाैलामा रगत नपुगेको अवस्थामा डोपामिनजस्ता मुटुको हार्ट बिट बढाउने इन्टोट्रोपिसहरू दिने गरिन्छ । 

मिर्गौलाको फेलरको अवस्थामा मिर्गाैला प्रत्यारोपण गर्न अर्काको अंगको तन्तु फेर्दा उक्त अंग आफ्नो नरहेकोले शरीरले त्यसलाई नस्विकार्ने अवस्थालाई घटाउन शरीरको रोग प्रतिरोधी क्षमता घटाउने इम्युनोसाप्रेसिव ड्रगहरू दिइन्छ । साथमा विभिन्न मेटावोलिक कार्य तथा शरीरको दर्दनाशक विभिन्न स्टेरोइड मतलव कर्टिकोसेरोइडहरूसमेत जरुरत पर्दछ । तन्तुहरू टुक्रिएर नष्ट हुने प्रक्रिया रोक्न रगतको नुन, चिनी, पानीको मात्रा सन्तुलित गर्न दैनिक १० लिटर स्लाइन पानी दिने गरिन्छ । 

पिसाब थैलीमा जमेको पिसाब बाहिर निक्लन समस्या भएको अवस्थामा अप्रेसनबाट प्रोस्टेटले समस्या दिएको भए प्रोस्टेट हटाई दिने र पत्थरीले समस्या गरेको भए पत्थर निकालेर फाल्ने तरिका अपनाइन्छ । समय रहँदै रोगको पहिचान हुँदा भने अप्रेसनबिना सम्भव हुने उपचार पध्दतिसमेत अँगाल्न सकिन्छ ।

आयुर्वेदिक उपचारको प्रभावकारिता   

आयुर्वेदिक पक्षवाट मिर्गौलाको (वृक्का) फेल हुँदा रोगको समस्या पहिचान र निदानमा चरक सहिताको सूत्रस्थानाको कियांता शिराशीयअन्तर्गत वर्णन गरिएको मूत्र रोगको अवधारणालाई मूल आधार मानिन्छ । आयुर्वेदिक उपचारमा आउने बिरामीहरू प्रायः ८०-९० प्रतिशत मिर्गाैला क्षतिग्रस्त भएपछि डाक्टरकोमा पुग्ने गरेको अनुभव देखिन्छ । कारण मिर्गाैला ५० प्रतिशत मात्र काम गर्दाको अवस्थामा समेत यसले आफ्नो कामहरू सामान्य सम्पन्न गरिरहेको हुन्छ । 

मानिसले मिर्गाैला ५० प्रतिशत बिग्री सक्दासम्म आफ्नो मिर्गाैलामा समस्या रहेको अनुभव गर्दैन । बिरामीको हिसाबमा रगतमा क्रिएटिनिनको मात्रा घटाउन सक्दा उसलाई आराम मिल्ने विश्वास रहन्छ । रगतमा क्रिएटिनिनको मात्रा घटाउन सक्दा रोगको निदान हुने भए मेसिनको मद्दतबाट रगतको विषाक्त पदार्थहरू हटाउने र बिग्रिएको इलेक्ट्रोलाइटहरूको सन्तुलन ठीक गराउने डायलाइसिस प्रक्रियाले रोग निको हुनु पथ्र्याे । तर हुँदैन । 

किनकि मिर्गौलाको सफल उपचारका लागि यसको मूलकारक मिर्गौलाको नेफ्रोनमा हुने माइक्रोस्कोपिक फिल्टर ग्लोमेरुलसको रगत सफा गर्ने क्षमतालाई पुनर्बहाली गर्न जरुरी हुन्छ । आधुनिक विज्ञानले मिर्गौला फेल हुँदा नेफ्रोनको ग्लोमेरुलस पुनः जीवित गर्न नसकिने गरी Irreversible Damage मृतः बनेको मान्यता राख्दछ । तसर्थ त्यहाँ डायलाइसिस र नयाँ मिर्गाैला प्रत्यारोपणमात्र सम्भाव्य  उपचारको उपाय ठानिन्छ । आयुर्वेदले भने मिर्गौलाको फेल हुँदा नेफ्रोनको ग्लोमेरुलस मृत हैन मुच्र्छित रहेको मान्दछ । 

लामो समयको जडीबुटीयुक्त उपचारले बिस्तारै १० प्रतिशत, फेरि १० प्रतिशत गर्दै ५० प्रतिशत वा सोभन्दा बढी मुच्र्छित नेफ्रोनको ग्लोमेरुलसलाई पुनर्जीवित गर्न सकिन्छ भन्ने दृढ विश्वास लिन्छ आयुर्वेद । जसको अनुसार ५० प्रतिशतसम्म नेफ्रोनको ग्लोमेरुलस जीवित बनेको बिरामीको मिर्गाैला अन्य उपचार बिना कुनै समस्या नदिने गरी काम गर्ने बन्दछ । बिरामी ठीक भएर निरोगी बन्दछ । 

किड्नी फेलको सन्दर्भमा आयुर्वेदिक उपचार के साँच्चैको प्रभावकारी रहन्छ त भन्ने बुझ्न सन्  २००८ देखि २००९ सम्मका पिडी पटेल आयुर्वेद हस्पिटल नदिअद, गुजरातको ओपीडी र आईपीडी भर्ना भएका एक सय जना बिमारीहरूमा गरिएको एक महिना लामो उपचारको एउटा अध्ययन वा अनुसन्धानको नतिजाबारे गहिरिएर हेर्नु उपयोगी हुनेछ ।

सन् २०११ मा आयुर्वेदिक रिसर्चको जर्नल एवाईयूमा प्रकाशित उक्त अनुसन्धानको नतिजाले बताएअनुसार ३० एमएल प्रतिमिनेट ग्लोमेरुलर फिल्ट्रेसन रेट (जीएफआर) रहेका एक्युट रिनल फेलर (डाइबेटिक नेफ्रोप्याथी भएका बाहेकका) भएका पीडी पटेल आयुर्वेद हस्पिटल नदिअद, गुजरातको ओपीडी र आईपीडी भर्ना भएका एक सय बिरामीहरूमा एक अनुसन्धान गरियो ।

जसमा उच्च रक्तचाप हाइपर (टेन्सनका ८६, क्रोनिक नेफ्रिटिसका ०७, पोलिसिस्टिक किड्नी डिजिजका ०५ र अब्सट्रकट्रिब नेफ्रोप्याथीका ०२ जना बिरामी थिए । सबैलाई सामान्य स्वस्थ खाना खान दिइयो । बिरामीहरूको लगातार एन्टिहाइपरपरेटिभ औषधिहरूको खुराकमा कुनै हस्तक्षेप गरिएको थिएन । 

उनीहरूलाई एक महिनासम्म तीन आयुर्वेदिक ओखतीहरू सेवन र एक गुदद्वारमा दिइने पञ्चकर्म थेरापी गराएर उपचार गरियो ।

१) गोक्सुरा, गुग्गुलु, त्रिफला, त्रिकटु, मुस्ता मिलाएर बनेको गोक्सुरादी  गुग्गुलु एक ग्राम दिनको ३ पटक

२) गोक्शुरा, अमलाकी, गुदुची सबै बराबर मिसाएर बनेको रसायन  चुर्ण ३ ग्राम दैनिक २ पटक

३) वरुण ट्वाक, बिल्वा,  मूला, अपामार्ग,  चित्रक,  मूला, अरनि,  शिग्रु, ब्रुहती, किरात्तिकता, करान्जा, शतावरी मिलाएर बनेको वरुनादी क्वाथ १० ग्राम हरेक दिन २ पटक

४) पुनर्नावादी क्वाथा (आयुर्वेदिक ट्याब्लेट)  को  निरुहा बस्ती (गुदद्वारमा दिइने पञ्चकर्म थेरापी) दैनिक । उनीहरूको उपचार पहिले र पछि स्वस्थ परीक्षण गरिएको थियो । बिरामीको लक्षण, अल्बूमिनुरिया, सेरमक्रिएटिनिन, ब्लड युरिया, हेमोग्लोबिन सबै नपिएको थियो । नतिजाहरू स्टाटस्टिकल्ली सिग्नीफिकेन्ट रहेको प्रमाणित गरिएको थियो ।

परीक्षणबाट सेरम क्रिएटिनिन, रगत युरिया र एल्बमिनुरिया क्रमशः २०.७१, ३२.१५५ र ३६.७०५ घटेको भेटियो । हेमोग्लोबिनको मात्रा र मूत्र उत्सर्जन वृध्दि क्रमशः ४.३८५ ५६.५४५ भेटियो । प्राप्त नतिजा स्टाटस्टिकल्ली सिग्निफिकेन्ट भएकाले अत्यन्त महत्वपूर्ण थिए । सबै बिरामीहरूको अस्पताल भर्ना हुँदा देखिएको बिरामीको लक्षण र ल्याब टेस्ट नतिजामा ५० प्रतिशत भन्दा बढीले सकारात्मक उपलब्धि भएको देखाएको थियो ।

दक्ष आयुर्वेदिक विज्ञ डाक्टरहरूले गरेको वैज्ञानिक परीक्षणको यो नतिजाले मुच्र्छित नेफ्रोनको ग्लोमेरुलसलाई आयुर्वेदिक तरिकाबाट पुनर्जीवित गर्न सकिन्छ भन्ने आयुर्वेदको दृढ विश्वासलाई अनुसन्धानबाट प्रमाणित गरिदिएको छ ।

आयुर्वेदिक उपचार : विशेष मामला अध्ययन

आयुर्वेदमा मूत्रलाई (पिसाब) क्लेदको (चिसो, ओसिलो र हिलो) उत्पादन मानिन्छ । आचार्य सुश्रुतका अनुसार अपना वायु मूत्र प्रणालीको सञ्चालनमा जिम्मेवार रहन्छ । अपना वायुमा आउने विकृति नै विभिन्न मूत्र रोगहरूको कारण हो । शरीर भित्रबाट कुनै पनि पदार्थको तल र बाहिरतर्फको बहाव वा प्रवाहलाई अपना वायु भनिन्छ । संस्कृतमा अप शब्द अधः शब्दबाट आएको हो । जसको अर्थ तल्लो भन्ने लाग्दछ ।

अपना वायुले पिसाब शरीरबाट छुट्टाएर बाहिर फाल्न मद्दत पुर्याउँदछ । मिर्गौलाको ग्लोमेरुलले रगतबाट पिसाबलाई छुट्टाउन सहयोग गर्छ भने अपना वायुको अन्य गतिविधिले पिसाबलाई बाहिरसम्म लैजान सहयोग गर्छ । 

क्रोनिक किड्नी डिजिजलाई आयुर्वेदमा मूत्र-घात भनिन्छ । मूत्र-घातको मुल कारणमा पिसाबलाई शरीर बाहिर निकाल्ने मुख्य मार्गको सञ्जालमा (मूत्र वाह स्रोत) विषालु पदार्थको (अम) कारण हुन पुगेको क्षति मान्दछ । विषालु पदार्थले पुर्‍याउने क्षतिका कारण मिर्गौलाको ग्लोमेरुलस मूच्र्छित बन्छ । ५० प्रतिशतभन्दा धेरै ग्लोमेरुलस मूच्र्छित बन्दा मिर्गाैलाको कारण शरीरमा समस्या देखिन थाल्छ । त्यो क्रम बढ्दै जाँदा मिर्गाैलाले प्रभावकारी काम गर्न छोड्छ ।

एउटा बिन्दुमा मिर्गाैला फेल हुन्छ । फलतः मिर्गौलाको विषाक्त पदार्थ शरीर बाहिर फाल्ने काममै अवरोध हुन पुग्दा सम्पूर्ण रगत नै विषाक्त पदार्थ युक्त बनिदिन्छ । आयुर्वेदको यही अवधारणाको आधारमा विषाक्तताको कारण मूच्र्छित बनेको मिर्गौलाको ग्लोमेरुलसबाट विषाक्तता हटाउन सक्दा मूच्र्छित अवस्थाबाट जागृत गर्न सकिन्छ । जुन अन्तत पुनः आफ्नो नियमित कार्यमा फर्कन सक्छ । अधिक संख्यामा मूच्र्छित बनेको मिर्गौलाको ग्लोमेरुलसलाई जागृत गरी स्वस्थ गर्न लगभग एक डेढ वर्षको समय लिने गर्छ । 

ब्रह्माण्डको सम्पूर्ण तत्वहरू पञ्चतत्व निर्मित हुन्छन् । तसर्थ तिनीहरूको प्राकृतिक संरचना, गुण र दोषहरूबीच गहिरो अन्तरसम्बन्ध रहन्छ भन्ने अवधारणामा आयुर्वेदिक उपचार काम गर्दछ । आयुर्वेदिक उपचारमा शरीरको संरचना (प्रकृति) र जीवन शक्ति (दोष) लाई प्राथमिक आधार बनाएर उपचार योजना बनाइन्छ । जहाँ उपचार आन्तरिक शुध्दीकरण प्रक्रियाबाट सुरु हुन्छ । त्यसपछि विशेष आहार, जडीबुटी जन्य उपचार, मसाजथेरापी, योग, ध्यान, अन्य थेरापी आदि संलग्न गरिन्छ । 

अशुध्दताहरू हटाएर बिमारीको लक्षणहरूलाई घटाउने,  रोग  प्रतिरोध गर्ने क्षमता बढाउने, चिन्ता कम गराउने, विश्वास जागृत गर्ने, सद्भाव बढाउने र जीवन तुलनात्मक रूपमा सन्तुलित पार्दै जाने काम गरिन्छ । विभिन्न तेलहरू, मरमसलासहितका जडीबुटी र अन्य हर्बस ओखतीहरू व्यापक प्रयोगमा ल्याइन्छ ।

गुजरात राज कोटको आरके युनिभर्सिटी आयुर्वेद कलेज एन्ड हस्पिटलले अगस्ट २०२० मा ओलर्ड जर्नल अफ फर्मासिउटिकल रिसर्चमा प्रकाशित केस स्टडीअनुसार सुन्निएको खुट्टा, फुलेको अनुहार, सुन्निएको आँखा, श्वास फेर्न गाह्रो अवस्था, पिसाब फेर्दा गाज आउने, भोक नलाग्ने, कब्जियत भएको लक्षण बोकेर एक ५५ वर्षीय पुरुष बिरामी अस्पतालको इमर्जेन्सीमा आइपुगे । चार वर्षदेखि सामान्य लक्षण बोकेका उनको जोर्नीहरूमा कार्टिलेज चोइटिने ओस्टियोआर्थराइटिस रहेछ । 

दुई वर्षदेखि दर्दनाशक ओखती पेनकिलर खाँदै आएका उनीमा समस्याले चापेपछि अस्पताल आइपुगेका रहेछन् । वात (पित्त नाडी, शब्द प्रकृति, तातो स्पर्श रहेका मध्यम आकृतिका उनको सम्पूर्ण ल्याब परीक्षणहरू गरिए । मधुमेह नभएको, रक्सी चुरोट नपिउने, विवाहित, पल्स ९० मिनेट, बीपी १५०-९० एमएम/एचजीलगायत अन्य परीक्षण भए ।

ब्लड युरिया २०५.९ मिलिग्राम प्रतिडेसिलिटर, सेरम क्रिएटिनिन ९.२४ मिलिग्राम प्रति डेसिलिटर, सोडियम १३१ मिलिइक्युभ्यालेन्ट प्रतिलिटर, पोटासियम ३.५६ मिलिइक्युभ्यालेन्ट प्रतिलिटर, हेमोग्लोबिन ७.८ ग्राम प्रतिडेसिलिटर भेटियो । युरिन स्पेसिफिक ग्राभिटीका अनुसार दुवै मिर्गाैला सानो, पातलो इरिभर्सिबल ड्यामेज भएको, रिनल मेडुला र कर्टेक्स गुमेको अवस्था भेटियो । किड्नी फेलको सुरुको अवस्थामा रहेका उनलाई होमोडायोलाइसिस गर्न सिफारिस गरियो । तर बिरामी तयार भएनन् । उनले आयुर्वेदिक उपचार मागे । माग अनुरूप आयुर्वेदिक उपचार सुरु गरियो ।    

दक्ष आयुर्वेदिक चिकित्सकले सबै प्रक्रिया पूरा गरी उपचार पध्दति तालिका बनाए । जसमा दुई ट्याब्लेट खानापछि दैनिक दुई चोटि मनतातो पानीसँग खाने गरी पुनर्नावा  मन्दुर, ४ ग्राम खानापछि दैनिक दुई चोटि मनतातो पानीसँग खाने गरी वैशवनर चुर्ण, १५ एमएल  खाना अघि दैनिक दुई चोटि मनतातो पानीसँग खाने गरी गुदुच्यादी कशय र १५ एमएल खाना पछि दैनिक दुई चोटि मनतातो पानीसँग खाने गरी निरी केएफटी दिइयो । 

२०१८ को मे महिनाको अन्तिमबाट सुरु गरिएको उपचार २०१८ को जुलाई मध्यसम्मको ५० दिनको उपचारमा जम्मा चार पटक बिरामीको ल्याब परीक्षण र अन्य परीक्षण गरियो । जसमा  हेमोग्लोबिन ७.८ वाट ९.३ ग्राम प्रतिडेसिलिटर, ब्लड युरिया २०५.९ वाट ८० मिलिग्राम प्रतिडेसिलिटर घटेको, सेरम क्रिएटिनिन ९.२४ वाट ५.३ मिलिग्राम प्रतिडेसिलिटर घटेको, सोडियम १३१ वाट १३५ मिलिईक्युभ्यालेन्ट प्रतिलिटर देखिएको, पोटासियम ३.५६ बाट ५.०४ मिलिइक्युभ्यालेन्ट प्रतिलिटर पुगेको, अल्बुमिन तीन लेबलबाट ट्रेस मतलव नगण्यमा झरेको देखिएको थियो ।

सुन्निएको खुट्टा र फुलेको अनुहार र सुन्निएको आँखा तीन लेवलबाट दुई, श्वास फेर्न गाह्रो अवस्था तीन लेबलबाट एक, पिसाब फेर्दा गाज आउने तीन लेबलबाट एक, भोक नलाग्ने तीन लेबलबाट शून्य, कब्जियत भएको लक्षण तीन लेबलबाट शून्यमा झरेको भेटिएको थियो । समग्रमा छोटो समयमै आयुर्वेदिक उपचारले बिरामीको स्वस्थ स्थितिमा उल्लेखनीय सुधार देखिएकोले आयुर्वेदिक उपचारले आफ्नो प्रभावकारिताको पुष्टि गरेको भेटिएको थियो । जसमा आधुनिक मापनका तरिकाहरू नै अपनाएर आयुर्वेदिक उपचार पध्दतिको प्रभावकारिताको पुष्टि गरिएको थियो ।

पुनरनभा, निसोध, अदुवा, मरिच, पिपला, भ्याभिदङ, दारको बोक्रा, चितु, कुथ, बेसार, चुत्रो, हर्रो, बर्रो, अमला,  अजय फल (दन्ती), लामो पिपला, मधेसी खिर्रो, पिपलाको जरा, लामो पिपलाको जरा, मोथे, मधुर भष्म र गोमूत्र गरी २२ पदार्थ मिसाएर बनेको पुनर्नवा मधुर फलामको कमीको कारण रातो रक्तकोष हेमोग्लोबिन बन्न नसकेको स्थितिको सुधार गर्ने, पिसाब लगाउने र मांशपेसीको तन्तु र कोषिकाको पुनः उत्पन्न गर्न सहयोग गर्दछ । 

गुर्जो, धनियाँ, निम, रक्तचन्दन, पैंयु गरी पाँच चिज मिलाएर बनाइने गुदुच्यादी कशय रगत बनाउने र शरीरलाई कायाकल्प गर्न पुनर्ताजकी गर्ने तागत राख्दछ । 
हिमाली नुन, ज्वानो, सुप, अदुवा, हर्रो मिलाएर बनाइएको वैशवनर चूर्णको अग्निवर्धक गुण तथा ग्यास घटाउने गुण हुन्छ । यसले आन्द्राको पाचन शक्ति बढाउने, तन्तुहरूमा घटेको मेटाबोलिजमको दर बढाउने गर्दछ । पुनरनभा, गोखुर, त्रिनपञ्चमूल (पाँचवोटा झारको जरा (कुश, सिरु, काँस, उखु र मुंज वा सार नामक फुल्ने काँस जस्तो झार), सिप्लिकान, बालका झार (उशिर वा खसखस), रक्तचन्दन, काँक्रोको गेडा, धनियाँ, पलासको फूल मिसाएर बनाएको निरी केएफटी नेफ्रोंनको सुरक्षा गर्ने, पिसाब लगाउने, इलेक्ट्रोलाइट तथा एसिड बेस ब्यालेन्स मिलाएर रगतको प्रेसर व्यवस्थापन गर्न सघाउने किड्नी रेगुलेटरको काम गर्दछ ।   

अन्त्यमा,

किड्नी फेलजस्तो समस्यामा दुवै पश्चिमा विज्ञानको आधुनिक सुविधा र आयुर्वेदको परम्परागत उत्कृष्ट उपचार पध्दतिका सबल पक्ष अँगालेर उपचार गरिनु बुध्दिमानी देखिन्छ । किड्नी डायलाइसिस्स होस् वा बिग्रिएको मिर्गाैला नयाँ दानमा पाएको मिर्गाैलाले फेर्ने विकल्प रहँदा मिर्गाैला फेर्ने कामका लागि आधुनिक विज्ञानमा भर पर्नु उत्कृष्ट रहनु स्वभाविकै छ । 

किनकि आयुर्वेदिक क्षेत्रले आधुनिक औषधि विज्ञानको हाराहारीमा आफ्नो क्षमता विकास गर्न कानुनी बन्देज लगाइएकाले आयुर्वेदिक पध्दति सर्जरीमा आधुनिक औषधि विज्ञानको हाराहारीमा पुग्न सकेको छैन । समय क्रममा आधुनिक औषधि विज्ञानले समेत सम्भव भएसम्म प्राकृतिक, हर्बल र मानवमै लामो समय प्रयोग भएर अब्बल गनिएका स्वस्थको पुनस्र्थापना, पुनर्ताजकीकरण र रेखदेखको विकल्पहरूलाई पहिलो प्राथमिकतामा राख्न सुरु गरेको छ । जुन नाम नलिएर अवलम्बन गरिएका आयुर्वेदिक उपचार पध्दतिको अवधारणा नै हो । 

आयुर्वेदको अहिंसा नीतिका कारण होस् वा अन्य विभिन्न कारणहरू वाट मिर्गाैला फेल जस्ता संकटग्रस्त अत्यन्त जटिल परिस्थितिको मुकाबिला गरिरहेका बिरामीहरू आयुर्वेदिक पध्दतितर्फ आकर्षित भएको देखिन्छ । आयुर्वेदिक उपचार पध्दतिले निकै लामो समयदेखि मिर्गाैला फेलजस्ता समस्या कुशलतापूर्वक समाधान गरिरहेकै थियो । तर पनि पर्याप्त प्रमाणित वैज्ञानिक आधारहरू प्रस्तुत नगरिँदा यसको विश्वसनीयतामा प्रश्न उठ्ने गरेको देखिन्थ्यो । 

हाल आएर आयुर्वेदिक पध्दतिको मिर्गाैला फेलजस्ता संकटग्रस्त अत्यन्त जटिल परिस्थिति उपचारयोग्य रहेको र मूच्र्छित मिर्गाैलालाई उचित उपचारमार्फत पुनः सक्रिय गरिएको तथ्य आधुनिक विज्ञानकै मापनको तरिका अपनाएर वैज्ञानिक रूपमै प्रमाणित गर्न आयुर्वेद सफल बनेको छ । यसले आयुर्वेदिक उपचार पध्दति माथिको विश्वास झन् बढ्न गएको छ ।

(खाद्य तथा औषधिविज्ञ)


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x