विचार

कलंकको भारी बोकाइमा ‘विश्‍व कीर्तिमान’

विनोद सिजापती |
माघ ६, २०७७ १८:६ बजे

सन् २०२१ को सुरुआतमा घटेका दुई घटना राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरूको जनवरी ६ का दिन अमेरिकाको संसद् भवन ‘क्यापिटोल हिल’ आक्रमण तथा जनवरी १६ का दिन युगान्डाको निर्वाचनमा छैटौँ पटक (३६ वर्षदेखि) राष्ट्रपति योवेरी मुसेबेनी विजय, यी दुवै अप्रत्याशित थिएनन् । यदि केही समानता थियो भने एउटाले अपराजित हुँदाको कुण्ठालाई विस्फोटक रूपमा प्रस्तुत गर्‍यो भने अर्कोले त्यो अवस्था आउन नै दिएनन् ।

लोकतान्त्रिक मूल्य-मान्यतामा आधारित अमेरिकी प्रणालीमा निर्वाचनमा धाँधली गर्ने गुञ्‍जायस नै थिएन भने मुसेबेनी स्वयंले निर्माण गरेको लोकतान्त्रिक व्यवस्थामा चुनावी नतिजा आफ्नो पक्षमा तुल्याउन भ्वाङप्वाल (छिद्र)हरूको निपुणतासाथ निर्माण गरेका थिए । 


२ सय ४४ वर्ष पुरानो लोकतन्त्र 
नोभेम्बेर १९, २०२० का दिन भएको निर्वाचनमा विजयी भएका राष्ट्रपति जो बाइडनको अमेरिकी संसद्‍बाट औपचारिक अनुमोदन कार्यक्रमको विरोध राष्ट्रपति ट्रम्पका समर्थकहरूले गर्छन् भन्‍ने अमेरिकीहरूलाई थाहा थियो । राष्ट्रपति ट्रम्पको उक्साहटमा भएको उक्त कार्यले यस्तो खराब अवस्था आउला भन्‍ने अनुमान विश्‍व जनमत खासगरी अमेरिकीहरूले गरेका थिएनन् ।
 
राष्ट्रपति उम्मेद्ववार ट्रम्पले सन् २०१६ को निर्वाचन परिणाम आफ्नो पक्षमा भएन भने त्यो अस्वीकार्य हुने घोषणा गरेका थिए । सोही धारणाको सुगा रटान तिनले सन् २०२० को निर्वाचनपूर्वका दिनमा दोहोर्‍याउन थालेका थिए । चुनावी परिणाम आफ्नो विपरीत हुने प्रबल सम्भावना देखेपछि तिनले चुनाव धाँधलीपूर्ण रह्यो भन्‍न थाले । सजग अमेरिकी नागरिकहरूका निमित्त ट्रम्पका विगतका कार्यहरूले गर्दा तिनले राष्ट्रपतिको चुनाव जित्‍नु भनेकै अकल्पनीय थियो । ट्रम्पको चार वर्षे कार्यकालमा भएका गतिविधिले अधिकांश अमेरिकीलाई मर्माहत तुल्याएको थियो ।
 
जनवरी ६ को घटनाले त उनीहरूलाई शिर निहुर्‍याउन बाध्य तुल्यायो । क्यापिटोल हिलमा त्यस दिन मञ्‍चन गरिएको ताण्डव नृत्यमा पाँच व्यक्तिले ज्यान गुमाए । झन्डै २८ वर्षपूर्व (अक्टोबर ४, १९९३) राष्ट्रपति बोरिस एल्टसिनको आदेशमा रुसी डुमा (संसद्) गरिएको ट्यांकको तोपले गरेको गोलाबारी प्रहारको यसले स्मरण गरायो । २ सय ४४ वर्षदेखि लोकतन्त्रले जरा गाडेको हुनाले क्यापिटोल हिल कब्जा गर्ने धुन्धुकारीहरूको प्रयास निरर्थक साबित भयो ।
 
मुसेवनी होइनन् ट्रम्प 
७४ वर्षीय ट्रम्पलाई ७६ वर्षीय मुसेवनीसँग दाँज्‍न कुनै हालतमा पनि मिल्दैन । भोगटे र स्याउलाई दाँज्‍नु जस्तो हुन्छ । जन्मिँदै सुनको चम्चा मुखमा परेका ट्रम्पको विगत तथा पारिवारिक पृष्ठभूमि अत्यन्त दूषित तथा धमिलो छ । विपन्न राष्ट्रको युवाकाल शरणार्थी जीवनका रूपमा बिताएका राष्ट्रपति मुसेबेनी भने उत्कृष्ट लोकतान्त्रिक सेनानी थिए । स्वतन्त्र सेनानी डा. मिल्टन ओबोटेलाई ‘कू’ गरेर शासक बनेका तानाशाही इदी अमिनलाई अपदस्थ गरेर पुनः डा. ओबोटेलाई राष्ट्रपति पदमा आसीन गर्ने अभियन्ताहरूमध्ये निर्वासनमा रहेका (तान्जानिया) विद्यार्थी नेता थिए मुसेबेनी ।

राष्ट्रपतिमा पुनर्बहाली भएपछि (१९८०-०८६) डा. ओबोटे भ्रष्ट, निकम्मा तथा अधिनायकवादी साबित भए । त्यसपश्चात् मुसेबेनीले आफ्नो नेतृत्वमा नेसनल राजेस्टेन्स मुभमेन्ट (एनआरएम) गठन गरेर सफल सशस्त्र क्रान्ति गरे ।
 
ओबोटेलाई अपदस्थ गरेका मुसेबेनीले १९८६ देखि राष्ट्रपति पद सम्हाल्दै आएका छन् । अमिनको आठ वर्षे कार्यकाल (१९७१-१९७९) त्यसपश्‍चात्‌को डा. ओबोटेको ६ वर्षीय कार्यकाल युगाण्डाका निमित्त वास्तवमै कालरात्रि थियो ।

लोकतान्त्रिक सेनानी उपाधि पाउँदै पश्चिमा राष्ट्रको अत्यन्त प्रिय तथा दातृ निकायहरूको हिमायती अफ्रिकी नेता पहिचान स्थापना गरेका मुसेबेनी बिनानिर्वाचन एक दशकसम्म राष्ट्रपति भए । समस्त अफ्रिकामा सन् ९० को दशकको लोकतन्त्र पुनःस्थापना विद्रोहले युगाण्डालाई समेत समेट्यो । मुसेबेनीले बाध्य भएर १९९६ मा आम निर्वाचन गरे । उक्त निर्वाचनमा राष्ट्रपति निर्वाचित भएदेखि यो यस पटकको निर्वाचनसमेत जोड्ने हो भने तिनले ६ पटक निर्वाचित राष्ट्रपति हुने ख्याति प्राप्त गरेका छन् । 

जेसुकै गरेर अथवा जुनसुकै सौदाबाजी गरेर भए पनि सत्तामा आसीन हुने, नभएको खण्डमा शक्ति केन्द्रका रूपमा हाबी हुने प्रवृत्तिले न मुलुकलाई निकास दिन्छ, न त सम्बन्धित व्यक्ति वा नेताको साख गुम्‍नबाट जोगाउँछ ।

तिनलाई राष्ट्रपति पदमा आसीन भइरहनका निमित्त युगाण्डाको संविधान संशोधन गर्नुपर्‍यो, त्यो पनि दुई पटक । सन् २०११ मा दुई कार्यकालसम्म मात्र राष्ट्रपति हुने प्रावधान हटाउन का निमित्त तथा २०१६ मा ७० वर्षपश्चात् राष्ट्रपतिको उम्मेदवारी बन्देज हटाउन । 

युगान्तकारी अफ्रिकी नेता उपाधि सुशोभित मुसेबेनीको बिना निर्वाचन दस वर्ष लामो अवधिमा राष्ट्रपति पदमा आसीन हुँदाको कालखण्डमा तिनको लोकप्रियतामा खिया लाग्‍न थालिसकेको थियो । प्रथम निर्वाचनमा (सन् १९९६) निर्वाचित घोषित हुनका निमित्त तिनलाई धाँधलीको धेरै सहारा आवश्यक थिएन । तर, त्यसपश्चात्का पाँच निर्वाचन धाँधलीपूर्ण रहे । आफ्ना विरोधीहरू दिन प्रतिदिन निरंकुश हुँदै गए । झन्डै चार दशक (३६) राष्ट्रपति पदमा आसीन हुँदा मुसेबेनीले आर्जेको लोकप्रियतालाई पाताल पुर्‍याएका छन् । आज युगाण्डाका नागरिकहरू तिनलाई निरंकुश, अधिनायकवादी भ्रष्ट शासकका रूपमा प्रस्तुत गर्छन् । 

दातृ राष्ट्र तथा निकायहरूका निमित्त घाँडो सिध्द भएका छन् । कुनै समय डा. जोह्न गराङ (दक्षिण सुडान), लोरेन्ट कबिलाको (कंगो) तथा पल कागमे (रुवाण्डा)जस्ता नेताहरूको संरक्षक थिए, तिनी । वर्तमान कालखण्डमा मुसेबेनीलाई दक्षिण सुडान, कंगो तथा रुवाण्डाले खलनायक मान्छ । अन्य अफ्रिकी मुलुकहरूले तिनलाई बिर्सिसकेका छन् । डा गराङको हवाईजहाज दुर्घटनामा परेर भएको मृत्युमा मुसेबेनीको हात रहेको धेरैको धारणा छ । रुवान्डा र युगाण्डाको सेनाबीच त भिडन्त भई नै रहन्छ । 

आफ्नै मुलुकतर्फ फर्कंदा 
ट्रम्प तथा मुसेबेनीले प्रदर्शन गरेको चरित्र तथा संस्कारबाट हामी किमार्थ अपरिचित छैनौं । लोकतन्त्रका सेनानीहरू होऊन् अथवा समकालीन नेताहरू सबैमा ट्रम्प र मुसेबेनी प्रवृत्ति पाइन्छ । आजको दिनमा राष्ट्रले भोगेको नियति अर्थात् प्रधानमन्त्रीले संविधानद्वारा वञ्‍चित गरेको अधिकारको प्रयोग गरेर संविधानमाथि नै खड्ग प्रहार गरेका छन् । यदि अमेरिकामा पनि सम्भव भएको भए ट्रम्पले सोही कार्य गरेर सत्तामा झुन्डिरहने थिए । 

नेपाल कम्युनिस्ट पार्टी आन्तरिक सत्ता संघर्षको चक्रव्युहमा नफसेको हुँदो हो त प्रधानमन्त्रीले संविधानमाथि गरेको निर्मम प्रहारको स्वागत तथा समर्थन पनि ट्रम्प स्टायलमा हुनेथियो । सीमित रिपब्लिकन पार्टी नेताहरूले जस्तै चर्तिकला हाम्रा प्रधानमन्त्रीका भक्तजनहरूले पनि देखाउने थिए । प्रधानमन्त्रीको हैकम चल्ने भएको भए तिनको इसारामा अरिंगालहरूले ट्रम्प समर्थकहरू जस्तै गरेर न्यायालयमा आक्रमण गर्ने थिए । प्रधानमन्त्रीले आफ्नो कदम राजनैतिक भएको हुनाले विघटनको विषय न्यायालयको परिधिबाहिर रहेको आसय प्रकट गरिदिनुभएकै छ ।
 
व्यक्तिलाई सत्तामा टिकिरहने प्रबल इच्छा मानवीय चरित्रको अभिन्‍न अंग नै हो । राजगद्दी त्यागेर सन्‍यास लिने ‘स्वामी महाराज’ रणबहादुर शाह होऊन् अथवा जंगबहादुर, पद त्यागेको दुई-तीन वर्षभित्रै आफैंले घोषणा गरेका उत्तराधिकारीहरूलाई पाखा लगाएर सत्तासीन भएको हाम्रो इतिहास छ । सत्ता त्यागेर प्रशंसा कमाएका नेताहरूले समेत सत्तामा हाबी हुन खोज्दा लोकतन्त्र नै धराशयी पार्न सक्छन् भन्‍ने वास्तविकतालाई आत्मसात् गर्न सक्दैन रहेछन्, चाहे महात्मा गान्धी होऊन् वा मण्डेला ।
 
समकालीन इतिहासमा नलुकेको रहस्य भनेको प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारको २०५१ को पतनको जरो कारण खोतल्दा थाहा हुन्छ । कोइरालाले प्रधानमन्त्री पदमा बहाली भएको दिनदेखि ‘गिरिजा बाबुले हामीलाई मानेनन्/टेरेनन्’को भारी बोके । उक्त सिकायत ‘नेतृत्वसँग परामर्श नगरेर स्वेच्छाचारी शासन सञ्‍चालन गरेको’ आरोपमा रूपान्तरित भयो ।

सत्ता त्यागेर प्रशंसा कमाएका नेताहरूले समेत सत्तामा हाबी हुन खोज्दा लोकतन्त्र नै धराशयी पार्न सक्छन् भन्‍ने वास्तविकतालाई आत्मसात् गर्न सक्दैन रहेछन्, चाहे महात्मा गान्धी होऊन् वा मण्डेला ।

आखिरमा ३६ पार्टी सदस्यहरूको धोखाको परिणाम भयो, पाँच वर्षका निमित्त निर्वाचित सरकारको अल्पकालीन पतन । त्यस कालखण्डदेखि हाबी हुँदै छ यो संस्कार, जसले प्रधानमन्त्रीलाई नागरिकहरूप्रति (उनीहरूको प्रतिनिधित्व गर्ने संसद्‍मार्फत) जवाफदेही हुने परिपाटीलाई अनावश्यक चुनौती दिने गर्छ । कम्युनिस्टहरूले समेत संसद्लाई नटेर्ने संस्कारलाई सम्पूर्ण रूपमा अंगीकार गरेका छन् ।
 
प्रायः सबै सत्तासीन नेतृत्वलाई थाहा हुन्छ कि उनीहरू जति–जति आफ्नो शासनकाल लम्ब्याउने गर्छन्, त्यति-त्यति अनुत्पादक एवं अलोकप्रिय हुने गर्छन् । हामीकहाँ सत्तामोह यति धेरै हाबी हुँदै गरेको छ कि पार्टीले ऐतिहासिक हार व्यहोर्दा पनि नेतृत्वले जिम्मेवारी वहन गरेर नैतिकताको आधारमा नेतृत्वमा त्याग्‍न चाहँदैन । सोही कारणले गर्दा यदि त्यागिहाल्यो भने पनि आफैँ हाबी हुन खोजेर आफू पछि आउनेलाई टिक्न नै दिँदैन । अन्ततोगत्वा पुनः आफैँ उक्त पदको दाबेदार भइदिन्छन् । अधिकांशले साखुल्ले भएर पार्टीलाई विगतको हैसियतमा पुर्‍याउने प्रतिबध्दता जाहेर गर्दै हाबी हुने प्रयत्‍न गर्छन् । 

झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेका नेता संसद् भंग गर्नाको कारण फेरि दुई तिहाइको बहुमत हासिल गर्नु हो भनेर निर्लज्ज घोषणा गर्छन् । जेसुकै अथवा जुनसुकै सौदाबाजी गरेर भए पनि सत्तामा आसीन हुने, नभएको खण्डमा शक्ति केन्द्रका रूपमा हाबी हुने प्रवृत्तिले न मुलुकलाई निकास दिन्छ, न त सम्बन्धित व्यक्ति वा नेताको साख जोगिन्छ । अन्ततोगत्वा नेतृत्व स्वयंले मुसेबेनीले जस्तै गरेर पदका निमित्त आफ्नो इतिहासलाई तिलाञ्‍जलि दिन अग्रसर हुन्छन् । 
 


Author

विनोद सिजापती

सिजापती संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोगका पूर्ववरिष्ठ आर्थिक सल्लाहकार हुन् ।


थप समाचार
ad
x