विचार

कोभिड कालमा घर-परिवारदेखि अड्डा-अदालतसम्मका कुरा

सुशीला कार्की |
कात्तिक १३, २०७७ बिहिवार १२:४५ बजे

कोरोना भाइरसले जीवनको उत्तराद्र्धमा आएर कुचो र डाडुपन्यु हल्लाउन बाध्य बनायो । जुन बेला केटाकेटी थियौँ, त्यसबखत घर–व्यवहारका हरेक कुरा जान्ने कौतूहल भइरहने हँुदा, कहिलेकाहीँ घरेलु कामकाज सिक्ने इच्छा हुनु स्वाभाविक हो ।

आमा–बुबाले त्यसबखत पढ–पढ भन्दै दबाब दिन्थे । त्यसबेला गरिने घरेलु काम राजीखुसीका थिए । त्यसमा कुनै कर र दबाब भने थिएन । उमेर पुगेपछि भने आफ्नो व्यवहार चलाउन घरको खर्च कम गर्न वा आयको बचत गर्न भनौँ अथवा शारीरिक स्वास्थ्यलाई सबल र सक्रिय राख्न घरेलु कामधन्दा गरियो । 


सोचाइ के थियो भने बूढेसकाल भएपछि केही जोगाएर भए पनि सहयोगीहरूको सहयोग प्राप्त गरिनेछ । तर मानिसले चिताए जस्तो कहाँ हुँदो रहेछ । कोरोना कालमा बाहिरका मानिस घरभित्र आऊजाऊ गर्नै नमिल्ने भयो । भीडभाडमा जानै नहुने भयो । कुनै बाहिरबाट खरिद भएर आएका सामान नबिग्रने किसिमका भए चार–पाँच दिनसम्म एकान्त कुनामा राख्दै त्यसपछि मात्र छुनु वा चलाउनुपर्ने बाध्यता सिर्जियो । 

पैसा नगद बाहिरबाट ल्याएमा साता दिनसम्म छुन नहुने स्थिति बन्यो । तिउन–तरकारी र बिग्रने वस्तु भए साबुन पानी, नुनपानी, खाने सोडा पानीले धोएर, पखालेर मात्र प्रयोग गर्नुपर्ने परिस्थिति बन्यो । त्यो पनि पखालेपछि घरबाहिर आँगनमा केही बेर घाममा राखेपछि मात्र भित्र्याउने काम गरिएन भने कोरोना भर्‍याङ, ढोकाको ह्यान्डिलमा सर्न सक्ने हुँदा सतर्कता अपनाउनुपर्ने जस्ता कामको सीमा नै रहेन । त्यतिको सतर्क हुँदाहुँदै पनि कतिलाई संक्रमणमा पारेर छाडेको सुनिन्छ ।

यद्यपि उल्लिखित नियम पालना नगरेमा ज्यानै जान सक्ने अवस्था हुनसक्छ । अथवा कोरोना भएर ज्यान जोगिनेको अनुभव सुन्दा काहालीलाग्दो छ । सास नै अठ्ठयाउने र घिटिकघिटिक पार्ने पीडादायक अनुभूति । साह्रै पारेको अवस्थामा पैसाको खोलो बगाउने अर्बपतिहरूले पैसा पानीसरह बगाए मात्र प्राण जोगिने परिस्थिति रहको सुनिन्छ । 

कोभिड भएपछि बाँच्ने सौभाग्य चाहिँ तिनले पाएका छन्, जसले तत्काल थाहा पाएर तत्कालै उपचार सुरु गरेका छन् । संक्रमण भएको दश–बाह्र दिनपछि उपचारै गरे पनि कमजोर मानिसको हकमा प्राण बच्ने सम्भावना कम रहेको देखिएको छ । तसर्थ भनिन्छ, यसको संक्रमणबाट भरसक बच्नु नै उपयुक्त हो । यसका लागि पहिलो उपाय हो, मानिसले मानिससँग सम्पर्क नगर्ने । भीडभाडमा नजाने र भरसक दूरी कायम गर्ने । यो काम कठिन यस अर्थमा पनि छ, किनकि मानिस सामाजिक प्राणी हो । मानिस समाजभन्दा बाहिर रहनु भनेको माछाको अस्तित्व पानीबाहिर रहनुसरह हो । 

अदृश्य कोरोना भाइरसको उपस्थितिको कल्पना संसारमा कसले गर्न सकेको थियो र ? यो आयो, भविष्यमा अरू के–के आउने हुन भन्न सकिन्न । 

२०७६ चैत ११ देखि काठमाडौँमा लकडाउन सुरु भयो । त्यसपछि आवत–जावत, भेटघाट स्वतः बन्द गर्नुपर्‍यो । एक प्रकारले घरभित्र दैलो लगाएर बस्नुपर्नेसम्मको अवस्था कायम भयो । यी सब कारणबाट केही समयपछि एक प्रकारले निस्सासिए जस्तो नै अनुभूति भएको थियो । कतिलाई यही कारण डिप्रेसन नै भयो । विगत आठ महिनादेखि हामी आफ्नै घरभित्र अस्वघोषित कैदी बन्दी बनेका छाैं । 

सुरु–सुरुमा कठिनाइ त भयो नै । खाने सामग्री नुन, तेल, दाल, चामल, चिनी, तरकारी हरएक कुराको बन्दोवस्त गर्न बजार नगई हुँदैन । बरु पछि त रहँदा बस्दा त्यसको चाजोपाँजो पनि मिल्यो । ती सामान घरको आँगनसम्म आउने व्यवस्था पनि भएको छ । तर घरभित्रको दैनिक काम सफा, सुग्घर, दैनिक खानपिनको तयारी अरुले गरिदिने स्थिति रहेन र स्वयंले नगरी उपाय नै छैन । केही वर्षदेखि ती कामको निरन्तर बानी पनि हराएर गएको थियो । तर आजभोलि रहँदा बस्दा अलिअलि गर्दागर्दै त्यसको बानी पनि बस्यो । 

यो उमेरमा आएर कसरी घरको सारा काम गर्न सकिएला जस्तो लागेको थियो । तर हाम्रा आफन्त नातागोताका महिलाहरूले सुख–दुःखमा अति वृध्द अवस्थामा पनि सकी नसकी काम गरेको देखेका थियौँ । तिनीहरू जागिरे पनि थिएनन् र साह्रै पढेलेखेका पनि थिएनन् । घरभित्रको कामधन्दालाई नै सायद जीवन सम्झेका थिए । 

वृध्द अवस्थामा पनि अनुभवको आधारमा सकी नसकी बुहार्तन गरिरहन्थे । मैले पनि यसबेला तिनै कुरा सम्झे । भनिन्छ, अनिकालमा बिउ जोगाउनु, सहकालमा जिउ जोगाउनु । तर भन्नु मात्र रहेछ, केही न केही गर्न सकिँदो रहेछ नै । यो मनलाई जता मोड्यो, शरीर त्यतै जाने त हो नि !

विशेषतः आफन्त ईष्टमित्रहरूसँगको आऊजाऊ र भेटघाट एक प्रकारले बन्द नै छ । त्यसैले अतिथि सत्कार र भेटघाटमा हुने गरेको खर्च पनि शून्य बराबर नै हुने भयो । त्यस्तै लुगाफाटो र अतिरिक्त विलासीे खर्चमा पनि भारी कटौती भएको मान्नुपर्छ । 

अब अदालतको बहस कानुन व्यवसायीले घरबाटै कन्फ्रेन्सिङ कलद्वारा गर्दा हुने भयो । 

बाहिर बजारतर्फ आऊजाऊ नै नगरेपछि त्यसको प्रश्न नै रहेन । यसबेलाको अवस्था भनेको आफूसँग खस्रो मीठो मसिनो जे छ, त्यही खाऊँ र थोत्राथात्री जे छ सिएर–धोएर लाऊँ भन्ने नै हो । बाहिर हिँड्न नपरेपछि जुत्ताहरूले पनि घरमा नै पूर्ण आराम पाएका छन् । घरभित्र के छ–छैन, बाहिरका मानिस को हेर्न आउने हो र ? यस बेला खाने खर्चबाहेक अरु खर्चमा भारी कटौती आएको मान्नु नै पर्छ ।

स्वास्थ्य हकमा पनि अस्पताल सरसराउँदो मानिसले जानु भनेको काल बेसाउनु हो भन्ने कुरा सबैले ठानेका छन् । यसबेला जे भए पनि डाक्टरको सम्पर्कमा नगएर मानिसहरू घरमा नै बसी भएसम्म घरेलु उपचार गर्न विवश छन् । सामान्य ज्वरो, रुघाखोकीमा अस्पतालमा जाँदा कोरोनाको आशंकामा बिरामीलाई अस्पतालमा कोरोना परीक्षणका लागि भर्ना नै गरिदिने चलन छ ।

त्यसपछि बिरामीलाई खानेकुरा घरबाट ओसारेका भाँडाहरू, अथवा लुगाफाटो दिनदिनै फेराइदिएको, तत्काल फिर्ता नभई बिमारी डिस्चार्ज हुँदा  मात्र फिर्ता गरिने कारणबाट परिवारले सास्ती भोग्नुपर्ने हुन्छ । बिरामीलाई कुर्ने मानिसले पनि बाहिर आवत–जावत गर्न नपाउने कारणबाट पनि धेरै झन्झटिलो हुँदा भरसक मानिस यसबेला अस्पताल जान मान्दैनन् । 

त्यस्तै निजी अस्पतालको हकमा भन्ने हो भने हतपत बिरामीलाई भर्ना गर्न हिजो–आज चाहँदैनन् पनि । सरकारी अस्पतालमा बिरामी राख्ने बेडदेखि अक्सिजन र भेन्टिलेटरसम्म सबै चिजको अभाव छ । त्यसै त, हाम्रा सरकारी अस्पताल भौतिक आवश्यक साधनको परिपूर्र्तिका हकमा अघिदेखि नै स्वयंमा रोगी नै छन् । झन् यसबेलाको क्रियाकलाप हेर्दा झारा टार्ने कामसम्म हुने गरेको देखिन्छ ।

कोरोना संक्रमणको व्यापकतादेखि नै घरभित्र बन्दीसरहको जीवन जिउनु परे पनि, रोगहरूबाट मुक्ति पाउन मैले हिजोआज कमसेकम बिहान ध्यान, योग, प्रणायाम, कसरतमा लामो समय दिन थालेकी छु । यसले मनमा ठूलो उत्साह आउने, शारीरिक स्फूर्ति र मस्तिष्कलाई शान्त र नियन्त्रित बनाउँदो रहेछ । 

त्यसपछि साँझमा समय दिएर घरआँगनमा हिँड्ने काम निरन्तर चलाएकी पनि छु । बिहानको समयमा घरको सरसफाइ र भान्साको कामपछि, दिउँसो पढ्ने र लेख्ने कामले गर्दा दैनिकी  व्यस्त बनाएको छ । यी कामले गर्दा आफ्नो स्वास्थ्य पनि ठीक रहने, मन प्रफुल्ल हुने, काम गर्नलाई शरीरमा फूर्ति पनि कायम हुने हुँदा उमेर ढल्केपछि काम पटक्क गर्न सकिन्न भन्ने अवधारणा पनि गलत रहेछ । 

काम निरन्तर गरिरहे र गर्ने बानी बसेमा गरिरहन सकिँदो रहेछ । यद्यपि गर्न सक्दिनँ भन्ने लागेमा गर्न सकिन्न । यो शरीरलाई पनि मनले नै नियन्त्रण गर्ने हो । हो, युवा अवस्था जस्तो भारी बोक्ने, बलपूर्वक काम निरन्तर गर्न वृध्द अवस्थामा सकिन्न । तर पटक्क गर्न सकिँदै सकिँदैन भन्ने चाहिँ होइन रहेछ । हाम्रा आमा र आफन्त नातागोताहरूले नब्बे वर्षको वृध्द हुँदा पनि पकाएको, खाएको र घरको काम गरेको देखेकै हो । 

यो कोरोना संक्रमणकाल हेर्दा एउटा के कुराको ज्ञान हुन आयो भने संसार जतिकै भने पनि मानव जातिको वशमा रहेनछ । विज्ञानले यतिको उन्नत्ति गरेको भए तापनि, यसको संक्रमणबारे तत्काल पूर्वजानकारी नहुनु र हठात नियन्त्रण गर्न नसक्नु यसैका प्रमाण हुन् । संसारभरि ११ लाख ६० हजारको हाराहारीमा मानिस मरिसकेका छन् । मर्ने क्रम जारी छ । हामीले आधुनिकता र विकासका नाममा सक्दो प्रकृतिको दोहन गर्‍यौँ, त्यसैको परिणामस्वरूप यस्ता माहामारीलाई बेलाबखत भोग्न हामी विवश छौँ । 

मानिसले प्रकृतिको सामीप्यमा रहेर सरल जीवन भोग्नुपर्ने हो । तथापि मानव जातिले प्रकृतिलाई चुनौती दिन मिल्दैन । तसर्थ सरल र सुलभ जीवन जिउने प्रयास गर्नु उपयुक्त हो । हामीले आधुनिकताका नाममा चरम भौतिक विलासी जीवन अपनायौँ । आज यस महामारीबीच कैयौँको नोकरी, सेवा, पेसा, व्यवसाय संसारभरि बन्द भएर एक प्रकारले व्यवहार नै धराशयी भएको छ । जुन बेला हामीसँग पर्याप्त स्रोत–साधन थिए, त्यसबेला संसार मानव जातिका निम्ति सदाबहार छ भन्ने ठान्याैँ ।
हामीसँग भएका स्रोत–साधन भविष्यमा आउने अकाल र अप्ठ्यारो परिस्थितिका निम्ति भनेर सञ्चय गर्ने प्रयाससम्म पनि कहिल्यै गरेनौँ ।

तसर्थ, आज यो महामारीबीच मानिसहरू हठात् बेरोजगार छन् । भोकभोकै हुन पुगेका छन् । यसै कारणले पनि हत्या–हिंसाका, अपराधका घटनाले सीमा नाघेको छ । आजभोलि मानिस कोरोनाको संक्रमणले मात्र पीडित छैनन् । तथापि समाजमा हुने गरेको हत्या हिंसा, उचनिच, भेदभाव र असामाजिक क्रियाकलापबाट हुने अन्यायका कारणले पनि पीडित छन् । आर्थिक मन्दी, रोजगारको अभावले पनि अपराधमा त्यति नै वृद्धि भएको छ ।

त्यसो त, आम नेपाली जनताले आफ्नो जीवनमा दुःख, कष्ट, सामाजिक भेदभाव र गरिबी आदि–अनादिकालदेखि भोगेर आएकै हुन् । बेला बेलामा आएका विभिन्न महामारीले गाउँ–गाउँ नै सखाप पारेका उदाहरण छन् । संसारमा कहिले दादुरा, कहिले ठेउला, कहिले माई, कहिले बर्डफ्लू, स्वाइन फ्लू, एचआइभी एड्स, इबोला जस्ता कैयौँ रोग एकपछि अर्को संक्रमण भएको देखिएको हो । ती सरुवा रोगहरूबाट मानिस बराबर मरेकै पनि हुन् ।

मुद्दाको फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनजस्ता लिखत अनलाइनबाट दर्ता हुन सम्भव भएकै पनि हो । अब अभियुक्तको बयान, साक्षीको बकपत्र तथा फैसला सबै अनलाइनबाट आदान–प्रदान हुन सम्भव छ । 

कोरोना भाइरस यस्तो सरुवा हो, जसबाट बच्न मानिससँग संसर्ग गर्न मिल्दैन । तथापि आम गरिबहरूले काम नगरी खान पुग्दैन । कोरोनाको डरले पेट भोको राख्न पनि सकिँदैन । यसको नियन्त्रणको सम्भावना तत्काल कम छ भनिन्छ । संसारभरिका प्रत्येक मानिसले प्रतिरोधक औषधिको उपयोग गरे मात्र सम्भव छ । त्यो कहिलेसम्म होला ? फेरि पनि स्वाइन फ्लू र बर्ड फ्लू जस्तो घरीघरी देखापर्ने नै पनि होला । 

संसारमा यस्ता सरुवा रोगहरूको हमला पहिलेदेखि नै बराबर हँुदै छ र भइरहनेछ । यो रोकिनेछैन । निरन्तर एकपछि अर्को आक्रमण भइरहनेछ । मानव जातिले युगाैँदेखि यस्ता रोगव्याधिविरुध्द संघर्ष गर्दै आएका हुन् र गरिरहनेछन् । सम्भवतः त्यसैले पनि मानव जातिको अस्तित्व कायम रहेको पनि हो । अन्यथा संसारबाट विभिन्न कालखण्डमा लुप्त भएका अन्य प्राणीहरू जसरी नै मानवको पनि अस्तित्व समाप्त भएर जाने थियो ।

यथार्थमा भन्ने हो भने यो कोरोना संक्रमणले एउटा नौलो संस्कृतिको विकास भएको अनुभूति भोलिका दिनमा गराउनेछ । मानिसले यस सरुवा रोगबाट जोगिन मानिसको सम्पर्कबाट बाहिर रहनुपर्ने अवस्था देखिन आयो । यो समस्याको समाधानका निम्ति हिजोआज श्राध्द, सोह्र श्राध्द गर्दा अनलाइनबाटै पुरेतलाई नभेटीकनै गर्नेसम्मको चलनको विकास भएको छ । त्यसरी दक्षिणा वा अन्य चढाउने सामान जिन्सी नगदबापतको रकम अनलाइनबाट दिँदा हुने नै भयो । त्यस्तै विवाहमा अब जन्ती नै चाहिएन र निम्तालुहरूलाई पनि नबोलाई दुई परिवार बसेर विवाहको फोटो र भिडियो खिचेर चाँजोपाँजो मिलाउँदा हुने भयो । 

यो कोरोनाकालमा दुई परिवार मात्र मिलेर जन्ती र निम्तालुको अनुस्पस्थितिमा कतिपयले त्यही गरे । अब अदालतको बहस कानुन व्यवसायीले घरबाट कन्फ्रेन्सिङ कलद्वारा गर्दा हुने भयो । मुद्दाको फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनजस्ता लिखत अनलाइनबाट दर्ता हुन सम्भव भएकै पनि हो । अभियुक्तको बयान, साक्षीको बकपत्र तथा फैसला सबै अनलाइनबाट आदान–प्रदान हुन सम्भव छ । सम्मेलन मिटिङ सबै जुमबाट संसारभरि हुन सम्भव छ भने त्यसका निम्ति यहाँ पनि कुनै समस्या रहेन । दसँैमा मान्यवरबाट आशीर्वाद दिन, लिन र दक्षिणा अनलाइनमार्फत बैंकबाट दिन–लिन सम्भव छ । 

हामीकहाँ सबै चाडबाड मनाउन किन सम्भव नहुने ? त्यस्तै खरिद–बिक्री किनमेलको व्यापारलाई अनलाइनद्वारा व्यापारीहरूले सक्रियता बढाए हुन्छ । सामान मागअनुसार घर–घर पठाउने र पैसा बदलामा अनलाइनबाट लिने काम गरे हुन्छ । व्यापारी र खरिदकर्ताबीच भेट हुनुपर्ने बाध्यता के छ र ? 
त्यस्तै शिक्षाको सम्प्रेषण विद्यार्थीमा यसरी नै गरौँ । पुस्तक वितरण गराैँ र रेडियो, टेलिभिजनमार्फत र अनलाइनबाट पढाऊँ ।

त्यसको उचित व्यवस्था सरकारले गर्न सक्नुपर्छ । किनकि कोरोना कहर जसरी आएको छ, त्यसैगरी एक दिन बाटोमा हिँडिरहेको मानिस अचानक बाटैबाट गायब हुने रोग संसारमा नआउला भन्न सकिन्न । अदृश्य कोरोना भाइरसको उपस्थितिको कल्पना संसारमा कसले गर्न सकेको थियो र ? यो आयो, भविष्यमा अरू के–के आउने हुन भन्न सकिन्न । 

(कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।)
 


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
x