विचार

औंसी मनाउनुको वैज्ञानिक पक्ष

नारायण घिमिरे |
माघ २३, २०७७ ९:५० बजे

प्रोटिन एक जैविक अणु अथवा बायोमोलिकुल हो जुन एमिनो एसिडहरूको बिल्डिङ ब्लकहरूले बनेको हुन्‍छ । जीवित वस्तुहरूका लागि प्रोटिन शक्ति वा तागतको स्रोत मात्र हैन, जैविक कोषहरू धेरै प्रोटिन मेसिनरीहरूबाट सञ्चालित हुने गर्छ । केही वर्षअघि वैज्ञानिकहरूले पहिला एमिनो एसिड अथवा एमिनो एसिडसँग सबै गुण मिल्ने अणु अन्तरिक्षमा फेला पारे । त्यस्तै वर्षौं पहिले नै जिउँदो जीवनका लागि महत्वपूर्ण हुने अन्य अणुसमेत अन्तरिक्षमा भेटिए । साथै एमिनो एसिडका सिक्रीहरूसमेत भेट्टाइयो । तर पूर्ण प्रोटिन बनाउन पुग्ने मात्रामा भने भेटिएको थिएन ।

निर्जीव पदार्थबाट सजीव पदार्थ बन्‍न सबैभन्दा पहिले निर्जीव पदार्थले सजीव पदार्थको बायोमोलिकुल बनाउनु अनिवार्य हुन्‍छ । उक्त बायोमोलिकुललाई हामी एमिनो एसिड भन्‍ने गर्छौं । तिनै एमिनो एसिडहरू निर्धारित सिक्रीजस्तो लहराको गुजुल्टो बनाएर मिलेर प्रोटिनहरू बनाउँछ । प्रोटिनहरूबाट सजीव पदार्थ निर्माण भएको भेटिन्‍छ ।


हालै प्रयोगशालामा गरिएको अनुसन्धानमा धूम केतु वा पुच्छ्रेताराको टुक्रा प्रिस्टिन स्पेस रकमा मिथाएल-एमाइन भेटिएको थियो । जीवको अस्तित्वको प्रतिनिधित्व गर्ने मिथाएल एमाइन प्रिस्टिन स्पेस रकमा भेटिनु आश्चर्यजनक कुरा थियो । किनकि बिना कुनै शक्ति ब्रह्माण्डको भ्याक्युम वा खाली ठाउँमा बायोमोलिकुल मिथाएल एमाइन बन्‍न सक्ने सम्भावना तत्कालीन विज्ञानको समझ बाहिरको कुरा थियो ।

मिथाएल एमाइनलाई प्रयोगशालामा जब अल्ट्रा हाइ-भ्याकुमभित्र पानीको बरफको उपस्थितिमा बिना कुनै इनर्जी छोडियो यो ग्लाइसिनमा परिवर्तन भयो । हुने निश्चित भएपछि यसले जीवनको उत्पत्तिको बिन्दुबारे नयाँ तत्त्व उजागर गर्न परीक्षण सफल बन्यो । किनकि सिद्धान्तः ग्लाइसिन एक प्रकारको एमिनो एसिड हो जुन मिथाएल एमाइनबाट बन्‍ने गर्छ । ग्लाइसिन निर्माण भएपछि यो एमिनो एसिडको प्रिकर्सर बन्‍ने, अन्य फंगसनल ग्रुपहरू बनाई प्रोटिन बन्‍ने र अन्ततः जीवनको उत्पत्ति सम्भव हुने तथ्यहरू पहिले नै थाहा भएका कुराहरू भए ।

अनुमानअनुसार ग्लाइसिनलगायत सम्भवतः अन्य धेरै एमिनो एसिडहरू नयाँ ताराहरू ग्रहहरूमा परिणत हुनुभन्दा पहिल्यै बाक्लो कालो बादल सँगै अस्तित्वमा थिए । नयाँ अनुसन्धानहरूले एमिनो एसिडहरू सैद्धान्तिक रूपमा तारा र ग्रहहरूको उत्पत्ति हुनुभन्दा पहिलेदेखि नै अस्तित्वमा रहेको तथ्य उजागरसमेत गर्‍यो ।

विज्ञानका अनुसार धूम केतु वा पुच्छ्रे्रताराहरू सौर्य मण्डलमा बन्‍नुभन्दा पनि पहिले अस्तित्वमा थिए । सौर प्रणाली मूलतः बरफका धुलोका कणहरूबाट बनेको देखिन्‍छ । नयाँ ताराहरू बनेको क्षेत्रहरूमा तापक्रम-२६३ डिग्री सेल्सियसको आसपासमा रहने गर्छ । जब उक्त तापक्रममा बरफका धुलोका कणहरू घनाबादल जस्तो आईसी-म्यानटल बनाएर बसेको देखिन्‍छ । चिसो आईसी-म्यानटलमा ग्लाइसिनलगायत सम्भवतः अन्य धेरै एमिनो एसिडहरू लामो समय ठूलो संख्यामा सुरक्षित रहन सक्दथ्यो ।

रसायनशास्त्रमा यदि रियाक्सन हुनका लागि कुनै शक्तिको विकिरणको आवश्यकता पर्दैन वा कुनै शक्तिबिना नै सम्भव बन्‍छ भने त्यसलाई डार्क-केमेस्ट्री भनिन्‍छ । भ्याक्युम अवस्थामै अन्धकारबिना कुनै इनर्जीको खपत गरी सम्भव भएको देखिएको यो रियाक्सनलाई ‘डार्क-केमेस्ट्री’अन्तर्गत राखियो ।

सैद्धान्तिक मोडेलअनुसार ६८५ डार्क-इनर्जी, २७५ डार्क-म्याटर र मात्र ५५ सामान्य पदार्थबाट सारा ब्रह्माण्डको निर्माण भएको वैज्ञानिकहरूको अनुमान छ । यहाँ हामीले देख्न सकिने सबै ताराहरू, ग्रहहरू र आकाशगङ्गाहरूलाई सामान्य पदार्थ भनिएको हो । बाँकी रहस्यमय अन्धकारलाई डार्क-इनर्जी र डार्क-म्याटरमा राखिएको हो ।

अन्धकारबाट प्राप्त शक्ति नै ब्रह्माण्डको सञ्चालनको सबै शक्तिको स्रोत रहेकोतर्फ प्राप्त सबै सूचनाले संकेत गर्छ ।

अन्धकारको चरित्र कस्तो हुन्‍छ र केबाट बनेको छ त्यो हालसम्म हामीलाई थाहा हुन सकेको छैन । वैज्ञानिकहरू अन्धकार हुनु भनेको त्यहाँ केही पनि नभएको अथवा पूर्ण रित्तो रहेको अवस्था पक्कै होइन भन्‍ने ठान्‍छन् । विज्ञानले हरेक पदार्थको आफ्नै आकर्षण-विकर्षण र गुरुत्वाकर्षण रहनुसँग अन्धकार डार्क इनर्जीको केही न केही लेनादेना हुनुपर्छ भन्‍ने अनुमान गर्छ । भर्खरै हुँदै गरेका अनुसन्धानहरूबाट वैज्ञानिकहरूमा डार्क-इनर्जी र डार्क-म्याटर एकै सिक्काका दुई भाग रहेको महसुस गराएको भेटिन्‍छ ।

ऋग्वेदको नसडिया सूत्रले उल्लेख गरेअनुसार ब्रह्माण्डको सृष्टिअघि कुनै आकार, पिण्ड, चिज, बीज र प्रकाश जस्ता चीज अस्तित्वमा थिएन । हटाउन नसकिने, अज्ञात, स्थिर र निष्क्रिय तरल पदार्थ युक्त अँध्यारोले भरिएको थियो । सांख्य दर्शनअनुरूप केवल जीवन र निष्क्रिय अँध्यारो तरल वस्तु सृष्टि अघि अस्तित्वमा थियो ।

मनुस्मृतिले यस निष्क्रिय अन्धकार पदार्थ वास्तवमै जड, हाम्रा इन्द्रियहरूले महसुस गर्न नसकिने, अनौठो रहेको उल्लेख गर्छ । ऋगबेदका अनुसार त्यही अन्धकारबाट निकै तीव्र गतिमा प्रकृतिको गर्भमा असंख्य आकाश गङ्गाहरूसहित ब्रह्माण्डभित्र अस्तित्वमा आए । जसमा अदृश्य तरल पदार्थ अथवा अँध्यारोले अन्तरिक्षमा भरियो । गतिशील ब्रह्माण्डको निर्माण भयो ।

पुरुष सूक्तको दोस्रो पदले बताए अनुरूप सुरुवातको अविनाशी तरल पदार्थ युक्त अँध्यारो ब्रह्माण्डको मूल तत्त्व ऊर्जाको रूपमा प्रवाहित भईरहेछ । त्यसको अत्यन्त सानो अंशमात्र ब्रह्माण्ड भित्र रहेका विभिन्‍न पदार्थहरूको निर्माणमा सक्रिय रहँदै आएको छ । सूक्तको तेस्रो पदका अनुसार ब्रह्माण्डमा मूल ऊर्जाको रूपमा प्रवाहित ऊर्जा मध्येको अत्यन्त थोरै ऊर्जा मात्र ब्रह्माण्डको ऊर्जाको रूपमा रहेर सम्पूर्ण ब्रह्माण्डको निर्माण, परिमार्जन र रूपान्तरणमा उपयोगमा आइरहेको छ । जसको ठूलो अंशको सृष्टि चक्रभित्र निष्क्रिय रूपमै राखी कुनै उपयोग गरिएको छैन ।

पुरुष सूक्तको छैटौँ पदअनुसार विशाल, अनन्त र अविनाशकारी अस्तित्वको अत्यन्तै सानो हिस्सा मात्र सृष्टिको सम्पूर्ण चक्रलाई नियन्त्रणमा राख्न पर्याप्त देखिएको छ । बाँकी रहेको विशाल हिस्सा निष्क्रिय अँध्यारो ऊर्जाका रूपमा अस्तित्वमा रहेको देखिन्‍छ । हाम्रो परम्परागत मान्यतामा उक्त अन्धकारलाई शक्तिका रूपमा मान्दै हामीले औँसीको नाम दिएका छौँ । जुन हाम्रो आफ्नो अस्तित्वसँग गहिरो साइनो राख्छ । भाद्र कृष्ण औँसीको दिनलाई कुशे औँसी र बुबाको मुख हेर्ने दिन भनिन्‍छ । मातातीर्थ औँसीलाई भने आमाको मुख हेर्ने दिनका रूपमा मनाइन्‍छ । 

शास्त्रले मातापछि पितालाई वन्दनीय वा पूजनीयको दर्जा दिने गर्छ । माता एवं पिताले आफ्नो सन्तानको पालन-पोषण निःस्वार्थले गर्ने गर्दछन् । यसैले माताको साथ पितालाई देवता पनि भनिएको छ । कुश वैदिक सनातन संस्कारको देव कर्म र पितृ कर्म दुवैमा अनिवार्य प्रयोग गरिने हानिकारक जीवाणुनाशक, सूर्यको विकिरण रोक्ने औषधीय झार हो ।

बुबाको र आमाको मुख हेर्ने औँसीको दिनमा बिहानै उठी नुहाई धुवाई गरी आमा बुबाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी उपहार दिई मिष्टान्‍न खुवाई मुख हेर्ने र आशीर्वाद थाप्ने चलन छ । जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भनिन्‍छ । वर्षभरिमा प्रायः एकचोटि या दुइचोटिसम्म सोमबारे औँसी पर्ने गर्दछ । सोमबारे औँसीको दिन मौन रहेर स्नान र ध्यान गर्ने तिथिको रूपमा मनाइन्‍छ ।

विज्ञान र वेद दुवैको निचोडमा मानिसको सृष्टि हुने मुख्य बीज तत्त्व डार्क-केमेस्ट्रीको देन हो । मानिसको अन्तः पनि ब्रह्माण्डमै अन्धकारमा पुगेर समाप्त हुन्‍छ । एकातर्फ अन्धकार वा अल्ट्रा हाइ-भ्याकुमभित्र पानीको बरफको उपस्थितिमा बिनाकुनै महसुस वा मापन गर्न सकिने शक्तिको उपयोगबाट जीवनको अस्तित्व पैदा गर्ने तत्त्वको उत्पत्ति हुने गरेको भेटिन्‍छ । अर्कोतर्फ अन्धकारबाट प्राप्त शक्ति नै ब्रमाण्डको सञ्चालनको सबै शक्तिको स्रोत रहेकोतर्फ प्राप्त सबै सूचनाहरूले सङ्केत गर्छ ।

एक अद्भुत अन्धकार जसले हाम्रो जीवनका लागि सम्पूर्ण उपायहरूको जोहो गर्‍यो त्यो सबै हामीले आफ्नो आमा-बुबाहरूमार्फत नै प्राप्त गर्छौ । तिनै आमा-बुबाहरूले नै हाम्रो लालनपोषण र सुरक्षा गर्ने गर्छन । त्यो अर्थमा बुबा होस् वा आमाप्रति आफ्नो धन्यता र कृतज्ञता प्रकट गर्न औँसीकै दिन छानिएको हो । अद्भुत शक्तिशाली अन्धकारको पर्यायका रूपमा ।

ध्यान अथवा मेडिटेसन गर्नु आफ्नो अन्तरआत्माको पहिचान गरी अन्तरमनको यात्रामा निक्लनु हो । हरेक अन्तरमनको यात्रामा समेत त्यही स्थिर, निष्क्रिय तर तरल अँध्यारोको अनुभूतिपश्चात् आफूलाई चिन्‍न सहयोग गर्ने हुँदा सोमबारे औँसीको दिन नै छानिएको हो । यो अर्थमा तिनै प्रकृतिको औँसी मनाउनुको औचित्यको वैज्ञानिक तथा वैदिक दुवै पक्षबाट स्थापित भएको मान्‍नुपर्छ ।


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x