विचार

विचार

जतिखेरै गालीगलौज गर्ने ‘अभिभावक’ भएको घर कस्तो होला ?

सुशीला कार्की |
माघ २७, २०७७ ७:१३ बजे

यो एक्काइसौँ शताब्दी पूर्णतः सूचना प्रविधि र सामाजिक सञ्जाल प्रयोगको युग हो । नेट इन्टरनेटको माध्यमबाट मानिसका विवाह पनि हुन थालेको छ । त्यो पनि एक मुलुक र अर्को छिमेकी मुलुकको युवती र युवकबीच मात्र होइन, महादेशकै अन्तरमा पनि हुनसक्छ । सामाजिक सञ्जालको प्रयोगले हजारौँ माइल फरकमा बस्‍ने युवक र युवतीबीच प्रेम सम्बन्ध झाँगिएका छन् ।

यो आधुनिक सञ्चारका माध्यमका कारण संसार एउटै देखिन थालेको छ । पहिले हाम्रो भोजपुर जिल्लामा कोही आफन्तको निधन हुँदा चार पाँच दिनको पैदल यात्रा गरी मृत्युको सूचना बोकी मानिस विराटगरसम्म खबर गर्न आउँथे । हुलाकले सेतो डोरो बेरेको खाम आफन्तको मृत्युको सूचना स्वरूप बोकेर भरसक मर्नेको कामकिरिया सकिएपछि मात्र ल्याउँथ्यो । अब त, नेपालमा कोही आफन्त मरेमा सामाजिक सञ्जालमा चनाखो हुने नेपाली नातेदार अमेरिकामा रहेछ भने बरु उसले जानकारी पाएपछि तत्काल नेपालभित्रै टाढा-टाढा बस्‍ने नातागोतालाई खबर गर्न भ्याइसकेको हुन्‍छ ।


सामाजिक सञ्जालहरू फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब जस्ता माध्यम उपयुक्त कामका खातिर प्रयोग गरेमा त्यो शिक्षाप्रद हुन्‍छ । खानेकुराका परिकार बनाउन महिला, पुरुष सबलाई युट्युबले राम्रो तालिम दिएको छ । ठूला ठूला हस्तीहरूले पनि युट्यब हेरेर परिकार पकाएर खाएँ भन्‍न थालेका छन् ।

नेपालमा भने तिनै सञ्चार प्रविधिका माध्यम र सामाजिक सञ्जालहरू गएको पुस ५ पछि प्रायःजसो हेरिनसक्नु र पढी नसक्नु भएका छन् । अब त सुन्‍नसम्म पनि लाजमर्दो भइसकेको छ । आज भोलि कि त नेताहरूको भाषणको खेपैपिच्छे गालीको वर्षा हुन्‍छ र सभामा सुन्‍ने कार्यकर्ताहरूले पनि नेताहरूको भाषणको खेपैपिच्छे ताली पड्काएको सुन्‍न पाइन्‍छ ।

कुनै नेताले आरोप लगाउँछन्, ‘अर्को विरोधी नेतालाई, उसले उच्च सम्माननीय पदमा रहँदा आफ्नो छोरी बुहारी नाता गोतालाई ठूला ठूला पदमा नियुक्ति दिलायो । अरु आममानिसलाई नियुक्तिका लागि योग्य देख्दै देखेन भन्दैै । निर्वाचनमा बत्ती निभाएर वा मतपत्र च्यातेर भए पनि छोरी-बुहारी जिताउने त्यो अपराधी हो । पदमा रहँदा बस्दा व्यापक भ्रष्टाचार गरेकाले अब अख्तियाले पक्राउ गरी छिट्टै नै छानबिन गरी खोरमा जाक्नेछ ।'

गालीगलौजपिच्छे ताली पिट्ने कार्यकर्ता देखेर दया, माया र दिक्क लाग्छ ।

यी कुरा नेताहरूले बोलिरहँदा एकहोरो ताली बज्छ दर्श-दीर्घाका कार्यकर्ता र स्रोताहरूबाट । तर ताली पिट्नेहरूले ताली पिट्नुपूर्व यो कुरा मस्तिष्कमा किन नखेलाएको होला, कि गत आमनिर्वाचनमा भाषण गर्ने नेताज्यूकै दलले निजले भाषणमा अपराधी भनी आरोपित व्यक्तिसँग मिलेर निर्वाचन किन लडेको हो ? ती व्यक्ति अपराधी थिए र प्रमाणहरू एथेष्ट थिए भने त्यस्ता व्यक्तिविरुध्द अख्तियारले नै कारबाही चलाउने काम किन गरेन ? किन मतपत्र च्यातेको वा बत्ती निभाएको वारदातबारे निर्वाचन आयोग मौकैमा निर्वाचन बदर गर्न चनाखो भएन ? किन अदालतले मुद्दामा केही थियो कि भनी प्रमाणहरू केलाएन ?

आजभोलि नेताका भाषण, भाषण जस्तो नभएर सन्तोष पन्तको हिजोआजका कुरा, मदनकृष्ण र हरिवंशको मदनबहादुर-हरिबहादुर, मनोज गजुरेललको देउसी भैलोका प्रहसन जस्तो लाग्न थालेको छ । हुँदा हुँदै अब त एक पक्षले अर्को पक्षलाई आगो लगाउने, जेलमा कोच्‍ने कुरासम्म पनि गर्न थाले । लौ, त्योसम्म त ठीकै छ । किनभने नेताको बास कहाँ हुन्‍छ ? कि त जेल कि सत्तामा । वर्षौं वर्ष राजनीति गर्ने बिहारका नेता लालुप्रसाद यादव यतिखेर चारा घोटाला मामलामा अदालतबाटै दोषी ठहर भएर जेलमा छन् ।

बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जिया भ्रष्टाचारको आरोपमा जेलमा छिन् । तर हालै एकजना पूर्वमाओवादी नेताकै कुरा जो हालका सत्ताधारी छन् । तिनै नेताले आफ्ना पूर्वमाओवादी मित्रहरू, जोसँग, ज्यू-ज्यान माया मारेर सँगै लडेका हुन् र तिनीहरू सहयोद्धा हुन्, एकले अर्कालाई चिडियाखाना राख्‍ने र अर्कोले अर्कोलाई काठमाडौँको गल्लीमा घिसार्ने धम्की दिए ।

एक डेढ महिनादेखि नेपालको राजनीतिक वृत्तमा यस्ता गालीगलौज, श्राप र धम्की यथावत निरन्तर जारी छन् । पहिले मिलेका र तत्काल फुटेकाहरूबीच जुहारी निरन्तर कायम छ । नयाँ नयाँ आरोप र गाली अनि प्रशस्तिहरू आमजनताले एकपछि अर्को सुन्‍ने मौका पाएका छन् । मिल्दाको बेला आत्मीयता मात्र होइन कि फूल दिवसमा फूल साटेको तस्बिर सामाजिक सञ्जालमा छाएकै हुन् ।

त्यस बखत भएभरका जानकारीमा आएका गोप्य आन्तरिक कुराहरू अब सडेको फर्सी फुटेर छ्याल्लब्याल्ल भए जस्तो गरी सडक गल्लीमा छरप्रस्ट भएका छन् । एकले अर्कालाई धम्की दिन्‍छन् आमसभामा । त्यसको मैले जाने जति बुझेकोसम्मका कुरा अहिले नै भनिदिऊँ जस्तै गरी ।

हुँदाहुँदै ‘तँ फलानी-फलानाको घरमा बस्न योग्य छस्’ भन्‍नेसम्मका आरोप पनि सुन्‍नमा आयो । सुन्दैमा पनि आङ नै सिरिङ्ग हुने किसिमका त्यो बोली जहाँ पदीय मर्यादा कायम राखेको कतै देखिँदैन । जसलाई जे मनमा आयो र जसले जति हदसम्म पार गरेर गाली गर्दा तिखो चोटको प्रहार अर्को पक्षलाई पार्न सक्छ त्यो सोची सम्झी भाषणमा मुख छाडेको र कार्यकर्ताहरूलाई ताली पिट््न लगाएर स्वयं रमाएको देखिन्‍छ । यो फूट र टूटको आपसी कलहले विरोधी दलहरूलाई क्षणभर रमाउने अवसर त प्रदान त गर्ला, तर यही संस्कृति पिँजडाको सुगाले नटिप्ला भन्‍न र मान्‍न सकिन्‍न । ताली पिट्ने र गालीको फोहोरा छाड्नेहरूले यो पनि सम्झिन सक्नुपर्ने हो कि हिजो जब दलीय संगठन गर्ने जुन सुरुवातका दिनहरूमा भोकभोकै वा एक कप चिया पनि आधा बाँडेर पिए । दलीय संगठन गर्दा एक कप चिया बाँडेर खाएको वा भोकभोकै सँगसँगै हिँडेको, त्यो आत्मीयता र त्यो प्रेम आज कहाँ गयो ?

हिजो प्रतिबन्धित कालमा धेरै साथी गुमाएर कष्टसाथ दलीय संगठन बनाए । जुन बेला पञ्चायती शासनमा संगठन गर्न जाँदा नै पनि मारिने सम्भावना थियो । आज सबैको प्रयासबाट दल बन्यो । बिस्तारै निर्वाचनमा दल शक्तिमा आयो, त्यसमा सबै नेताहरू र कार्यकर्ताहरूको सहयोग छ । अर्थात् आज दलीय हिसाब वा नेतृत्वमा रहेर प्रधानमन्त्रीको पदमा बस्‍न अवसर मिलेको त ती ज्ञात-अज्ञात सहिद र दलीय मित्रहरूको संयुक्त प्रयासबाट नै हो ।

पदमा भएपछि सबैलाई बिर्सने पनि हुँदो रहेछ । तल्लो स्तरका गालीमा उत्रिने अवस्था पनि आउँदो रहेछ । अनि हिजोको त्यो अटुट प्रेम र आत्मीय सबै सबै माटोमा मिल्दो रहेछ । राजनीतिमा द्वन्द्व हुन्‍छ । झन् नेपालको हकमा एउटै दलभित्र दश गुट पनि देखिएका छन् । दलीय द्वन्द्वको व्यवस्थापन गर्ने काम अग्रणी नेताहरूको जिम्मा हुन्‍छ । त्यसलाई मिलाएर लान सक्ने खुबी नेतृत्व गर्ने नेतामा अनिवार्य हुनुपर्छ । तर द्वन्द्व र विवाद भयो भन्दैमा एकले अर्काको आङको जुम्रा केलाउनकै लागि तल्लोस्तरका बोली बोल्नुपर्छ भन्‍ने छैन ।

नराम्रा कुराहरूलाई पनि राम्रो शैलीमा अभिव्यक्त गर्न सकिन्‍छ । नेताहरूले जे बोलेका छन्, भोलिका कार्यकर्ताले पनि त्यही त सिक्ने होला । तिनले आफ्नो जीवनमा अरु केही देखेका छैन । आफूभन्दा माथिका हुन् वा तलका हुन् तिनको अपमान गर्नु, तिस्कार गर्नु र मानमर्दन गर्नु आदि कुरा नै तिनका निम्ति शिक्षा हुनेछ ।

नेताहरूले जे बोलेका छन्, भोलिका कार्यकर्ताले पनि त्यही त सिक्ने होला ।

दलीय व्यवस्थामा नेता वा कार्यकर्ताहरू जोसुकैमा होस् इमान, जमान, शिष्टचार, नैतिकता हुनैपर्छ । त्यसको अतिरिक्त तिनमा दलीय सिद्धान्तको प्रचूर मात्रामा ज्ञान अनिवार्य त हुनैपर्छ । पहिले-पहिले प्रतिबन्धित कालमा हरेक दलका नेताहरूले प्रशिक्षण लिने र कार्यकर्ताहरूलाई पनि त्यसरी प्रशिक्षित गर्थे । त्यसका निम्ति स्वयं प्रशस्त पढ्थे र दीक्षित हुन्थे ।

कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइराला बिहान ४ बजेदेखि ८ बजे बिहानसम्म पढ्नु हुन्थ्यो । अरु पनि पढ्थे, नेपाल र भारतका भेटेसम्म पत्रपत्रिका पढ्थे । साम्यवादीमध्येका मदन भण्डारीको कुरा गर्दा उनमा पनि व्यापक अध्ययन गर्ने बानी थियो । हामीले सुनेअनुसार उनी कार्यकर्तामाझ दलीय सिद्धान्तबारे भएका आफ्ना ज्ञान दिनुपरे त्यस्ता तालिममा घण्टौँसम्म निर्बाध रूपमा धाराप्रवाह बोल्थे । सबै साम्यवादी नेताहरू प्रतिबन्धित कालमा अध्ययन गर्थे । प्रशिक्षण लिन्थे र दिन्थे । माक्र्सवाद, लेनिनवाद, हेगेलहरूका सिद्धान्तहरू बोक्दै नगरदेखि दूरदराज गाउँसम्म पुग्थे । त्यो कालखण्डमा खुला रूपमा त्यसरी प्रशिक्षण गर्न सकिने अवस्थासमेत थिएन । भूमिगत रूपमा पञ्चायती शासकको दमनको डर बोक्दै दलीय कर्यकर्ताहरू प्रशिक्षित गर्थे ।

बहुदल प्राप्तिको केही समयसम्म पनि यस्ता प्रकृतिका प्रशिक्षण चलेको थियो । आज भोलि यस्ता प्रशिक्षण भएका सुनिएको छैन । दलहरूको आजभोलिको संस्कृतिमा दलीय कार्यकर्ताहरूको बुद्धिको विकासभन्दा पनि मसल भएकाहरू खोजी गर्न थालेको देखिन्‍छ । ताकि तिनले बुद्धि भजाउनुभन्दा पनि बढी चाहेको समयमा प्रतिद्वन्द्वीहरूको मानमर्दन गर्न र तह लगाउने काम गर्न सकून् । त्यस्ता कार्यकर्ताहरूलाई सिद्धान्तहरू नै पनि किन पढाउनुपर्‍यो ?

दृश्य फेरिँदै गर्दा भोलिको नेपालमा राजनीतिक रूप-स्वरूप कस्तो होला ? आजभोलि हरेक दलहरूमा देखिएको र हुर्किएको प्रवृत्ति हेर्दाले कुन बाटो लेला ? नयाँ पुस्ता जसले भोलिका दिनमा मुलुक हाँक्नुपर्नेछ, तिनमा बौद्धिक अभ्यसमा ह्रास आउनेछ । साथै तिनमा नयाँ सोच-नयाँ चिन्तन ल्याउने प्रवृत्तिको विकास नहुँदा पछ्यौटेपन कायम हुनेछ ।

नेपालमा राजनीतिक वृत्तमा यही प्रवृत्तिको विकास भएका कारण योग्य, इमानदार, तीक्ष्ण बुद्धि भएकाहरू र चिन्तन गर्ने स्वभाव भएका युवाहरूले मुलुकमा स्थान नपाउँदा पलायन भएर गएका छन् । राजनीतिमा जुन किसिमको वातावरण छ र जुन माहौल हाबी छ, पक्कै पनि विलक्षण प्रतिभा भएकाहरूले रुचाउँदैनन् ।

तसर्थ, मुलुक छाड्न उनीहरू बाध्य भएका हुन् । परिणामतः राजनीति अब एउटा चाटुकारहरूको समूहको बीचमा छ भन्‍नमा कुनै अत्युक्ति नहोला । जसले युवाहरूलाई बेरोजगार बनाई राजनीतिमा ‘मसल-म्यान’को भूमिकामा राख्न बाध्य पारेका छन् । ती युवाहरूको अरु पेसा पनि छैन, तिनले राजनीति गर्नु भनेको अनियमिता र भ्रष्टाचार गर्नुलाई सम्झेका छन् । जबकि अरु मुलुकमा राजनीतिज्ञको पनि जीविकाका निम्ति एउटा पेसा हुन्‍छ । तर नेपालमा पूर्णतः राजनीतिमा आश्रित कुनै अरु पेसा नभएका नेता कार्यकर्ता हुन्‍छन् । तिनले अरु कुरा केही जानेको पनि हुँदैन, तसर्थ पदमा बस्दा आय हुन्‍छ, पदमा नरहँदा केही हुन्‍न । अनि भ्रष्टाचार नगरी के उपाय त ?

दलीय तागत देखायो, नेताले बोलेको प्रहसनपूर्ण भाषणमा पटकैपिच्छे ताली पिट्यो ।

आज भोलि जीवन निर्वाहका निम्ति पनि एउटा बलियो दल समात्यो वा शक्तिको प्राप्तिका निम्ति दल बदल्ने प्रवृत्ति बढ्दो देखिन्‍छ । अनि त्यसै दलको दसोदास वा हनुमान बन्यो र नेताहरूको दौडाहा वा भाषण भएको ठाउँमा भत्ता दिएर जहाँ बोलाउँछन्, त्यहीँ गयो । दलीय तागत देखायो, नेताले बोलेको प्रहसनपूर्ण भाषणमा पटकैपिच्छे ताली पिट्यो । यीबाहेक केही यस्ता मानिस पनि छन्, जो भरसक जुनै दलले बोलाउँदा पनि भत्ता पाए गइदिन्‍छन् तिनको तागतको प्रदर्शनको निम्ति । यसबाट मुलुकको विकासको सम्भावना हुँदैन ।

सभामा उपस्थित भई ताली पिट्ने स्रोता वा दलीय कार्यकर्ता जो कोही हुन् तिनले दलीय नेताका नियत बुझ्नुपर्छ । किनभने यही मुलुकका नेताको भनाइ हो, ‘राजनीतिमा न त शत्रु हुन्‍छ, न त मित्र ।’ हेर्नुहोला, यतिखेर तल्लोस्तरमा उत्रेर आपसमा गाली गर्नेहरू भोलि निर्वाचनमा अर्कै रूप देखाउन सक्छन् । एक-अर्काको मानमर्दन गर्नेहरूबीच चुनावी तालमेल र गठबन्धन हुन सक्नेछ । अनि फेरि सत्तामा फर्कनेछन्, लाभ लिनेछन् । पदको भागबण्डा लगाउनेछन् । हिजो पार्टी फुट्न ताली पिट्न र गाली गर्न लगाएका थिए, फेरि तिनीहरू जुट्नेछन् । अनि भाषणबाटै जुटेकामा पनि ताली पिट्न लगाउनेछन् । यसबाट आमनागरिकलाई के फाइदा छ र ? गालीगलौज गर्दै विरोध र चाकडी गर्दै समर्थनमा उत्रेका कार्यकर्ता देखेर दया, माया र दिक्क लाग्छ ?

सुशीला कार्कीका यसअघिका लेख


Author

सुशीला कार्की

कार्की पूर्वप्रधान न्यायाधीश तथा ‘न्याय’ एवं ‘कारा’ पुस्तककी लेखक हुन् ।


थप समाचार
ad
x