विचार

चिसो सूर्यको देश !

#मूल्यहीन प्रश्‍नहरू !

शुभाषचन्द्र पोख्रेल |
माघ २९, २०७७ बिहीबार १७:१ बजे

भनिन्छ, ‘यदि तपाईं सही प्रश्‍न गर्ने सामथ्र्य राख्नुहुन्छ भने आधा जवाफ त्यहीँ हुन्छ ।’तर यो भनाइ सधैँ सही नहुँदो रहेछ । अझ नेपालको राजनीति र सामाजिक धरातलमा सबैभन्दा ज्यादा ‘लावारिस’ त प्रश्‍नहरू नै भएका छन् । अनि सबैभन्दा ‘छाडा’ छन् भने ती हुन् ‘उत्तर’हरू । 

प्रश्‍नलाई लावारिस बनाउँदै ‘छाडा’ उत्तर दिने राजनीतिक नेतृत्वको अहंकारलाई सघाउन एक तप्का ‘कार्यकर्ता’ हरदम तयार छन् । अहिले नेकपा नामको एक ‘रोगग्रस्त’ पार्टीको कुरा नगरी भा छैन । यद्यपि अन्य ‘कालोपाटी’ या ‘सेतोपाटी’ हालत सबै पार्टीको उस्तै नै हो । जनता हजार सवालको उकुसमुकुसमा पिल्सिएका छन् तर नेता प्रत्येक जायज प्रश्‍नमाथि ठट्टा गर्दै छन् । गोडा जेलेर ‘सँगै खास्टो ओडेका’ सहयात्रीहरू आज न्वारनदेखिको बल लगाएर एक अर्कामा गाली र आरोप प्रत्यारोपको बौछार गर्दैछन्  ।


अहिलेको यस्तो बेथिति आउनुमा तिम्रो भूमिका कति छ ? तिमी कहाँ-कहाँ चुक्यौ ? तिम्रो विवेक तिम्रै अधीनमा छ या आगामी नेतृत्व हत्याउनका लागि वर्तमान नेतृत्वसँग आफ्नो विवेक बन्धकी राखेका छौ ? यदि म जनता हुँ भने मेरो मनमा उब्जिएका यस्ता प्रश्‍न अरू लाखौँ जनताको मनमा पनि पक्कै उठेका छन् । अनि प्रत्येक नेताबाट यस्ता प्रश्‍नको उत्तर वाञ्छनीय हुनुपर्ने हो । तर नेताहरू आफ्नोबारे उठेका हरेक जायज प्रश्‍नमा अमूर्त जवाफ दिन्छन् र अरूलाई प्रश्‍न गर्दा वा आरोप लगाउनुपर्दा सुनिनसक्नु ‘छाडा’ हुँदैछन् ।

आफूले उठाएका हरेक जायज प्रश्‍न आफैँले कुल्चिनु र अरूले उठाएका हरेक जायज प्रश्‍नहरूबाट सधैँ भागिरहनु हाम्रो राजनीतिक नेतृत्वको विडम्बनापूर्ण विरोधाभास हो । चाहे जुनसुकै दल होस्, या जुनसुकै तहको नेता किन नहोस् !‘संसद् विघटनपछिको राजनीतिक ध्रुवीकरणकै सेरोफेरोमा तपाईं र तपाईंजस्तै ‘युवा’ नेतृत्वले राष्ट्रिय राजनीति र सैद्धान्तिक सवालमा सार्वजनिक गरेका कतिपय अभिव्यक्तिले विरोधाभास सिर्जना गरेको छ र ती कतिपय अभिव्यक्ति अहिले तपाईंविरुद्ध ‘ट्रोल’ र ‘मिम’ बनेका छन् । 

के यस्ता कुराले तपाईंको वैचारिक अडानलार्ई केही फरक पार्छ ? पक्षधरताभन्दा पनि पार्टी एकढिक्का हुनुपर्छ भन्‍ने ‘मध्यमार्गी’ कार्यकर्ता यतिबेला केपी ओली र माधव-प्रचण्ड दुवै खेमाबीचको ‘गालीकारिता’बाट हदैसम्म बेखुसी छन् । तपाईंको हस्तक्षेप कस्तो हुन्छ ?’ केही दिनअघि नेकपाका नेता योगेश भट्टराईसँगको कुराकानीमा यी र यस्तै केही जिज्ञासा राखेको थिएँ । भट्टराईको जवाफ भने बडो सीधा थियो ।

‘घटनाक्रमले हिजो कोही व्यक्ति वा प्रवृत्तिसँग नजिक वा टाढाको सम्बन्ध थियो होला तर आज त्यो अवस्था छैन । तत्कालका लागि माधव-प्रचण्ड नेतृत्वको आलोचना वा विरोध न मैले गर्न सक्छु, न त ओली पक्षधरले ओलीको आलोचना गर्न सक्छन् । केही समय कम्युनिस्ट आन्दोलन यस्तै अफ्ठ्यारोबाट नै अघि बढ्छ ।’

अनौपचारिक कुराकानीका यी संक्षिप्त जवाफले के इंगित गर्छ भने ‘युवा र जुझारु’ भनिएका पात्रको मनोगत प्रवृत्ति अझै पनि उपरि नेतृत्वलाई तार्किक र वैचारिक ‘खबरदारी’ गर्न सक्ने गरी परिपक्‍व भएकै छैन रैछ । त्यसैले त हिजो ओलीलाई ‘बुबाको अवतार’ ठान्‍नु र प्रचण्डलाई ‘नर्क यात्री’ ठान्‍नु फगत एक राजनीतिक ‘स्टन्ट’ थियो । अनि हामी बारम्बार खोजिहिँड्छौँ ( ‘प्रश्‍न, तर्क र विचार’को मूल्य ।

अंग्रेजीमा एउटा भनाइ छ । ‘लाइक माइन्डेड आर अल्वेज टुगेदर’ । अर्थात् ‘उस्तै सोच (दिमाग) हुनेहरू सधैँ सँगै हुन्छन् ।’ प्रायः नकारात्मक चरित्रचित्रणका लागि उद्धरण गरिने उक्त भनाइ नेपाली राजनीतिमा अनवरत मेल खाइरहेको छ । थाहा छैन अझै कति समय यस्तो चरित्र रहिरहने हो ?

#अब केही विम्बका कुरा
विम्ब एक :
एक दिन कारिन्दाले मालिक्नीसँग अनौठो प्रस्ताव राख्यो । ‘साहुनी म अब तपाईंको घरमा काम गर्न भनेर मात्र आउँदिनँ, बरु तपाईंको छोरी पनि जवान भइसकिन्, मेरो पनि जवान छोरो छ, यी दुवैको जोडी बनाएर विवाह गरिदिऊँ न है, कतिन्जेल तपाईंकोमा कामदारका रूपमा मात्र बसिरहूँ !

सधैँ अह्राएको काम गर्ने र तोकेको ज्यालामा चित्त बुझाउने कारिन्दाबाट एकाएक यस्तो प्रस्ताव ? हिजोसम्म ‘तपाईंहरू नै हाम्रो अन्‍नदाता हो हजुर’ भनेर काम खोज्दै आउने कारिन्दाबाट बराबर हैसियतमा नाता जोड्ने यस्तो प्रस्ताव सुन्दा सज्जन परिवारिकी ती मालिक्नीलाई बडो आश्‍चर्य लाग्यो । यो कुराले मालिक्नीको निद्रा नै खलबलियो, अबेर रातिसम्म जहान बेचैन देखेपछि मालिकले सोधे, ‘तिमीलाई के कुराको चिन्ता पर्यो प्रिय भन । 

उनले सबै बेलिविस्तार लगाइन् । मालिकले पुनः सोधे, ‘कहाँ, के गर्दा यस्तो प्रस्ताव राख्यो उसले’, मालिक्नीले भनिन् ढिकारीमा धान कुट्दै गर्दा । तब मालिक लामो सास फेर्दै मुसुक्क हाँसे । मालिक्नी झन् अचम्म परिन्, यस्तो कुरामा पनि फसाद नगरी बूढा हाँस्छन् त । अलि शान्त हुँदै मालिकले सम्झाए । हाम्रो परिवारसँग नाता जोड्ने कुराको प्रस्ताव हिजो कामदार बोलेको होइन, त्यो त ‘धन र सत्ता’ बोलेको हो । 

राजनीतिक खेलाडीहरूले नयाँ प्रणालीबारे हिजो यसरी चर्चा गरे कि मानौँ भोलि आफूले भनेबमोजिमको प्रणाली बनेको खण्डमा समृद्धिका लागि कागजमा लेखिदिनुबाहेक अरू केही गर्नै पर्दैन ।

चोरी डकैतीको डरका कारणले गर्दा मैले सबै द्रव्य, सुन, चाँदी, हाम्रो सम्पत्तिको लिखत र परिवार सञ्चालनको शासन विधि मैले गाडधनका रूपमा ढिकीको तल पुरेको थिएँ, त्यही धन र सत्तामाथि उभिएर ढिकी कुट्दाकुट्दै उसलाई पैतालामुनिको धनले पोल्यो, अनि ठूलो कुरा बोल्यो । चिन्ता नगर । अब धन र सत्ताको चाबी अन्तै गाडौँला !
नीतिकथाको यो सन्दर्भ हाम्रा राजनीतिक दल र नेताहरूमा ठ्याक्कै मेल खान्छ । सत्ता र धनको विमुख हुँदा असाध्यै जनताको साख्यै हुने अनि जब सत्ताको तातोले छुन्छ, उम्लिहाल्ने । यस्तो चरित्र हिजो पनि थियो र आज पनि छ !

विम्ब—२
ब्वाँसो (साङ्ले पनि भनिँदो रहेछ) नामको जंगली जीवले आफ्नो सिकारलाई झम्टेर बसमा पार्दैन । उसले आफ्नो सिकारलाई फकाइफुल्याइ गर्छ, पछाडिबाट कन्याइदिएझैँ गर्छ, सिकार हुँदै गरेको जनावरले आफू जालमा परेको हेक्का त्यति बेलासम्म पाउँदैन जबसम्म साङ्लेले मलद्वारबाट हात घुसाएर उसको आन्द्राभुँडी निकाली भुँइमा लडाइसकेको नहोस् । साङ्लेको सुम्सुम्याईभित्र जसरी एउटा साङ्ले चरित्रको उदाहरणका लागि के–के कुरा मात्र वर्णन गरौँ ? एकनाथ ढकाल नामका व्यक्तिले एक्लै नेपाल भित्र्याएको धार्मिक मिसिनरी संस्था ‘युनिफिकेसन चर्चको’ नंग्रा कति भित्रसम्म पुगेको रहेछ, हामी सबैले विगतका वर्षमा थाहा पाएकै हौँ । 

हिजो गिरिजाप्रसाद कोइराला, रामवरण यादवदेखि प्रचण्ड, माधवकुमार नेपाल र केपी ओलीसम्मलार्ई ‘कन्याउन’ भ्याइसकेछन् । एकनाथको पैसामा जहाज नचढेका अलि ठूला नेता विरलै छन् रे । पैसा, पद र स्वार्थ सिद्धिका लागि ‘सस्तैमा’ साङ्ले बन्‍न तयार पात्र जत्ति चाहिँदो छन् त यहाँ, अनि भारत, चीन, युरोपियन युनियन वा अमेरिका किन पछि परून् ‘साङ्ले’मार्फत नेपालमा ‘सिकार’ खेल्न’ !

#कुवामा डुबेको सूर्य
 हिजो राणाकालीन समयमा आम जनताको चेतना स्तर ‘निम्छरो’ थियो, राजनीतिक कारणले पनि आम जनताले आफूलाई लागेको सही-गलत कुरा खुलेर राख्‍न सक्दैनथे । त्यो समयमा मुठ्ठीभर शासक वर्गले जनतालाई ‘साङ्लेको’ सिकार बनाए । आफ्नो ऐयासी जीवनशैली कायम राख्दा समग्र राष्ट्रोन्‍नतिको सवाल ओझेलमा परिरहयो । बाहिरी दुनियाँसँगको सम्बन्ध र सम्पर्क त्यति सहज नभएका कारण त्यसबेलाको समाजले आफूलाई तुलनात्मक रूपमा दाँज्‍नै पाएन । 

अहिले समय बदलिएको छ । विकासका कारणले सारा विश्व एउटा गाउँमा परिणत हुँदै छ । विश्‍व रंगमञ्‍चमा भइरहेका हरेक विकासक्रमका बाछिटाले हामी नेपालीलाई बिटुलो बनाउँदै छ । तर विश्‍व समुदायसँग काँधमा काँध मिलाएर हिँड्नका लागि चाहिने विकासको लय देशले अझै समाउन सकेको छैन ।

राष्ट्रोन्‍नति प्राथमिकतामा पर्ने हो भने राजनीतिक प्रणाली आफैँमा प्रधान विषय होइन भन्‍ने कुरा विश्‍व इतिहासले प्रस्ट पारिसकेको छ । अमेरिका, बेलाइत, जापान, चीन, स्वीडेन, अस्ट्रेलिया, न्युजील्यान्ड वा भनौँ मध्यपूर्वका अरब मुलुकहरू । आजका दिनमा ती कुनै पनि मुलुकहरू विकासका हिसाबले उच्चतम बिन्दुमा पुगिसके । राजनीतिक स्वतन्त्रताको कुरा गर्ने हो भने मुलुकपिच्छे केही असमानता जरुर होलान् तर यो राजनीतिक स्वतन्त्रताको कुरा पनि निरपेक्ष कुरा रहेनछ । 

यदि राज्यले दिने सेवा–सुविधा पर्याप्त छन् भने ‘स्वतन्त्रताका’ कागजी कुरा जनताका लागि गौण बन्दोरहेछ । अझ राजनीतिक आस्थाका आधारमा अघि सारिने ‘आग्रह’ त झन् परको कुरा ।

सन् १९५०-६० को दशकताका अनेकन् राजनीतिक मुद्दामा अल्झिएको जापानमा आजको दिनमा ती कुनै पनि राजनीतिक मुद्दा विवादको विषय बनेका छैनन् । यसको अर्थ पचास वर्ष अघिका ती मुद्दा सम्बोधन भएर होइन कि ती तमाम मुद्दालाई ओझेलमा पार्ने गरी जापानले आर्थिक, सामाजिक फड्को मार्‍यो । परिणामतः विभिन्‍न ‘आइडोलोजी’का आधारमा उठाइएका मुद्दा स्वतः विलय भए । 

यस्तो उदाहरण दिन मिल्ने देश जापानका अलावा अरू धेरै छन् । तर नेपालमा आर्थिक, सामाजिक विकासको मूल मुद्दालाई दोस्रो प्राथमिकतामा राखेर राजनीतिक प्रणालीकै नाममा समय र सम्पत्ति दुवै स्वाहा पारियो । अनि प्रणालीकै नाममा विदेशी शक्ति राष्ट्रका लागि देश प्रयोगशाला जस्तै बन्यो । वस्तु उत्पादनका हिसाबले त देश धेरै हदसम्म परनिर्भर थियो नै चारित्रिक हिसाबले पनि हाम्रो देशको राजनीति परनिर्भरतामुखी बन्यो । राजनीतिमा देखिएको यस्तो चरित्र देशका लागि झन् डरलाग्दो ‘साङ्ले’ रूप हो ।

विविधतायुक्त संस्कृति, एक सय पच्चीस भन्दा धेरै जात–जाति, भाषा-भाषी । हिमाल, पहाड, तराईमा फैलिएको बहुआयामिक समाज । नेपालका लागि यी साँच्चै गर्व गर्नलायक पाटा हुन् । तर नेताको आवरणमा ‘दलाली’ चरित्र अँगालेका पात्र पनि हामीले नै पाल्नुपरेको छ । जसका कारण आफ्नो अभीष्ट अनुरूपको राजनीतिक मुद्दा बोकाउन बाटो कुरेर बसेका विदेशी ‘विकासे वर्गका’ लागि जत्ति पनि राजनीतिक खेताला नेपालमै उपलब्ध छन् ।

धर्म निरपेक्षता, संघीयता, जातीय पहिचान, समानुपातिकता जस्ता मुद्दा आफैँमा विकास विरोधी होइनन् । तर नेपालमा यस्ता मुद्दाहरूको उठान र अवतरण कसरी भयो त्यो कुरा बुझिनसक्नुको छ । यी सबै मुद्दाहरूको उठान जनस्तर र मौलिक तवरबाटभन्दा आयातित तवरबाट भयो । त्यसको परिणाम हामी अब भोग्दै छौं । राजनीतिक प्रणालीका नाममा भइरहेका अनेकन् प्रयोगका कारण नेपालको विद्यमान गठिलो सामाजिक सद्‍भाव बिस्तारै खल्बलिँदै छ । 

साँचो कुरा गर्ने हो भने मेचीदेखि महाकालीसम्म र मुस्ताङदेखि मर्चवारसम्मका आम जनतालाई चाहिएको शान्ति र समृद्धि थियो । तर राजनीतिक खेलाडीहरूले नयाँ प्रणालीबारे हिजो यसरी चर्चा गरे कि मानौँ भोलि आफूले भनेबमोजिमको प्रणाली बनेको खण्डमा समृद्धिका लागि कागजमा लेखिदिनुबाहेक अरू केही गर्नै पर्दैन । देश आर्थिक रूपमा आत्मनिर्भर हुन नसक्दा विदेशी सहयोग चाहियो । 

यस्तो सहयोगमध्येको आधाभन्दा धेरै त स्वार्थ मिसिएर आएको हुन्छ । अनि हामी दाताको सल्लाहबमोजिम गरे देश सबल हुने दिवासपनामा रमाउन बाध्य छौं । दाताहरू स्वार्थी भएको दुखेसो गर्नुभन्दा ठूलो पीडा त यहाँ हाम्रै ‘पोलिसी मेकर’नै दाताहरूको ‘पिछलग्गु’ भएकामा हुन्छ ।

उद्योगी, व्यापारी, निर्माण व्यवसायी, ठेकेदार, म्यानपावर व्यवसायी, स्कुल–कलेज सञ्चालक, मेडिकल व्यापारी । यस्तो कुनै क्षेत्र छैन जहाँबाट सभासद् नबनेको होस् । निष्ठा र निरन्तरता रोज्‍नेका लागि भन्दा पैसा हुनेहरूका लागि राजनीति सुगम बन्दै छ । त्यसैले त निजी क्षेत्रलाई नियमन र व्यवस्थित बनाउने कुनै पनि खालको नीति बनाउन खोज्दा विरोधको स्वर सबैभन्दा पहिले राजनीतिक पार्टीभित्रका ‘व्यापारी’बाट उठ्न थाल्छ । देश सिध्याउने ‘साङ्ले’ त राजनीतिक नेतृत्वले नै पाल्दा रहेछन् ।

जुनसुकै सफल मुलुक पनि इतिहासको कुनै कालखण्डमा कठोर संक्रमणबाट गुज्रिएरै आएका हुन् । तर हाम्रो देशमा ? विकासको भन्दा विचारको खेती नै ज्यादा भयो कि ! कागजी कुरा र भाषणबाजीले मात्र पुग्‍ने भए आज नेपाल अति विकसित मुलुकको हाराहारीमा पुगिसक्थ्यो । गरिबीबाट छुटकारा पाउन रात-दिन रगत पसिना बगाउने बहुसंख्यक तप्का सुरुमै उल्लेख गरिएका दुई विम्बको कोपभाजनमा परिरहेका छन् । 

हामी विधि फेरबदलमा सधैँ हौसियौँ, राजनीतिक दल निर्माणमा उदार भयौँ, नेता उत्पादनमा आत्मनिर्भर भयौँ । सुविधाजन्य मतसहित कुनै दल विशेषलार्ई सत्ताको उकालो चढायौँ । तर जनताको त्यो ‘सूर्य’ जस्तो तातो अभिमतलाई चिसो कुवामा डुबाइदिए । ‘जुन दल सरकारमा गए पनि, जोसुकै प्रधानमन्त्री भए पनि यो देशमा हुनेवाला केही छैन,’ भन्ने खालको भाष्य स्थापित हुँदै छ ।  प्रधानमन्त्री केपी ओलीले केही समय पहिले भनेका थिए, ‘निराश जनता खतरनाक हुन्छन् ।’ अहिले जनता खुसी छ वा निराश ? नाप्नका लागि कुनै ‘ब्यारोमिटर’ चाहिन्छ र ?

जनता भन्‍नु ‘सूर्य’झैँ अटल विम्ब हो ! तर दल, नेताहरू र ‘विचार शून्य’ कार्यकर्ता कहिले पनि जनताका लागि आफ्नै हुन सकेनन् । बरु प्रत्येक दलले आफ्नो निजी कुवा खने, पानी भरे अनि ती प्रत्येक कुवाको पानीमा ‘सूर्य’को छायाँ देखाउँदै भने ‘सूर्य’रूपी जनताको असली मालिक हामी हौँ । मालिकहरूले जानी-जानी सूर्यलाई चिसो बनाए । आज ‘चिसो सूर्य’का कारण देश कठ्यांग्रिएको छ । 
 


Author

शुभाषचन्द्र पोख्रेल

पोख्रेल स्वतन्त्र पत्रकार हुन् ।


थप समाचार
x