विचार

शिवजीको रूपको भावार्थ

नारायण घिमिरे |
चैत १, २०७७ आइतवार १०:११ बजे

परा र अपराको संयोगबाट संसार बनेको छ । परा भनेको जैविक चेतना हो । जुन प्राणी र वनस्पति दुवैमा हुन्छ । अपरामा पन्च तत्त्व पृथ्वी, जल, आकाश, अग्नि र वायु तथा तीन सूक्ष्म तत्त्व मन, बुद्धि र अहङ्कार पर्दछ । भौतिक शरीर अपरा प्रकृतिको पृथ्वी, जल, आकाश, अग्नि र वायुबाट बनेको छ । तीन सूक्ष्म तत्त्व मन, बुद्धि र अहङ्कार लाई चेतनाले भौतिक शरीर सँग संयोजन गरे पश्चात् जीवित मानवको अस्तित्व सम्भव बन्दछ ।

परा र अपराको संयोजनमा को लागि मुलत परा वा जैविक चेतनाकै भूमिका रहने गर्दछ । तसर्थ चेतनालाई ईश्‍वरीय तत्त्व वा शिव तत्त्वको नामकरण दिइएको छ । शिव तत्त्व बारे समाजलाई जानकारी दिन ऋषिहरूले हाम्रा लागि सङ्केतको रूपमा शिवको वृषत्रित चित्र कोरेका भेटिन्छ । उक्त चित्रमा रहेका विभिन्न सङ्केतहरू मध्ये केही बारे यहाँ उल्लेख गर्ने प्रयास गरिएको छ ।
 
तेस्रो आँखा
शिवको निधारको तेस्रो आँखालाई भित्री आँखाको रूपमा दिमागको आँखा समेत भन्ने गरिन्छ । बाहिरी संसार हेर्नको लागि मानिस सँग आँखा हुँदै गर्दा आफूले देखेको, बुझेको, महसुस गरेको आधारमा कुनै पनि विषय बस्तु बारे निश्‍चयमा पुग्‍न हामीलाई विवेक वा अदृश्य आँखा उपलब्ध छ । शिवको निदारको तेस्रो आँखालाई त्यसैको प्रतीकको रूपमा लिने गरिन्छ ।


मस्तिष्कको बिचमा पछाडि पट्टि पिट्युटरी ग्रन्थि भन्दा माथि अत्यधिक चार्जयुक्त सेरेब्रोस्पाइनल फ्लुइड (दिमागको तरल पदार्थ) डुबेर बसेको एउटा अङ्ग जहाँ अन्य अङ्गको तुलनामा प्रति घन भोल्युममा अधिक रक्त-रस प्रवाहित हुने गर्दछ, त्यसलाई पिनियल ग्रन्थि भनिन्छ । उक्त पिनियल ग्रन्थिलाई नै शिवको तेस्रो अदृश्य आँखाको प्रतीक मानिएकोले तेस्रो आँखालाई शिवको निधारको बिचमा राखिएको हो । 

जब हामी आफ्नो विचार, भावना र कार्यहरू एकसाथ उच्चतम सहकार्यको बिन्दुमा पंक्तिबद्ध गर्न सक्छौ तब हामी आफूलाई उत्सुकता, उद्देश्य प्राप्ति र जीवनको अर्थयुक्तले भरिपूर्ण गर्न सक्दछौ । उक्त कार्यमा हामीलाई सफल पार्न सहयोग गर्ने पिनियल ग्रन्थिलाई आत्माको केन्द्र वा सिट आफ सोल मानिन्छ । पिनियल ग्रन्थिका पिनेलोसाइट सेलहरूले सेरोटोनिनको उत्पादन गर्दछ ।

साथै पाइनल ग्रन्थिले सेरोटोनिन लाई मेलाटोनिनमा परिणत गर्ने काम समेत गर्दछ । अँध्यारो हुँदै गर्दा तथा मानिस निद्रामा रहदा पिनियल ग्रन्थिले अधिक मात्रामा मेलाटोनिनको उत्पादन गर्दछ । तपाई आत्मीय सम्बन्धमा लिन हुँदा, धन्य महसुस गर्नु हुँदा, मेडिटेसन वा ध्यानमा रहदा मेलाटोनिन सेरोटोनिनमा परिवर्तन हुन्छ ।  

मेलाटोनिनले निन्द्रा लगाउँदछ भने सेरोटोनिनले तपाईंलाई खुसी, खुसी र धन्य बनाउँदछ । जुन ब्लीस्फुल अवस्था हो । वेदले बताएको र आधुनिक विज्ञानको क्‍वान्टम सिद्धान्तले प्रमाणित गरे अनुरूप सबै जीवहरूको संरचनाको सबै भन्दा सूक्ष्म रूप नियमित गतिशीलतामा रहेको इलेक्ट्रोम्याग्‍नेटिक तरङ्ग हो । उक्त सबै भन्दा सूक्ष्म इलेक्ट्रोम्‍याग्‍नेटिक तरङ्ग युक्त पदार्थलाई टुक्र्याउँदा केही पनि भेटिँदैन वा मात्र आकाश रहन्छ । अर्थात् शून्य हाता लाग्दछ । यसरी हाम्रो जीवन शून्य वाट उत्पन्‍न भएर शून्यमा नै टुङ्गिने यथार्थको गहिरो ज्ञान दिने उद्देश्यले शिवको निधारमा सङ्केत स्वरुप तेस्रो आँखा राखिएको छ । 

डमरु
ब्रह्माण्ड सुस्त गतिमा विस्तार हुने र खुम्चिँदै जाने नियमित प्रक्रिया वाट अस्तित्वमा रहने गर्दछ । नियमित विस्तार हुने प्रक्रियावाट ब्रह्माण्डको अन्त हुन्छ । फेरी संश्लेषण र विस्तार प्रक्रियावाट ब्रह्माण्डको पुन: निर्माण प्रक्रिया सुचारु हुन्छ । प्रकृतिको नियमित सिर्जना प्रक्रिया चलिरहन्छ । हाम्रो शरीरको मुटुको धड्कन एक सीधा रेखामा सीमित नरही कुनै निश्‍चित ताल वा रिदममा कहिले तल र कहिले माथि गर्दै शरीरको नियमित सञ्‍चालन हुने गर्दछ । संसारका हरेक जीवित र निर्जीव पदार्थहरूको निश्‍चित परिणाम र संरचनामा बाँधिएको ऊर्जाको उतार-चढाव वाट निर्माण, बिगठन र पुनर्निर्माण सम्भव बनेको हुन्छ । 

द्वन्द्वात्मक चरित्रको मतलब पोजिटिब र नेगेटिभ चार्जयुक्त सबैभन्दा सूक्ष्म संरचनाको उतार-चढावबाट निर्माण र पुन: निर्माणको लागि हुने विगठनको निर्माण प्रक्रियाको प्रतीकको रूपमा डमरुलाइ लिइएको हो । डमरुको आकार नियालेर हेर्दा एक छेउमा फुकेको हुन्छ, बिचमा पुन खुम्चिएको हुन्छ र फेरी अर्को छेउमा पुन: फुकेको हुन्छ । निर्माण, विगठन र पुनः निर्माणको नियमित क्रमको सङ्केत गर्ने डमरुले यथार्थमा ब्रह्माण्डको संरचना निर्माणको प्रतीकको संकेत दिन्छ । 

डमरुलाई ध्वनिको प्रतीकको रूपमा समेत लिइन्छ । ध्वनिको संरचना निश्चित तरङ्ग निर्मित ऊर्जा वाट हुने गर्दछ । संरचनागत रूपमा सम्पूर्ण ब्रह्माण्ड विभिन्‍न तरङ्गहरूको संयुक्त सहकार्य वाट अस्तित्वमा रहेको हुन्छ । क्‍वान्टम भौतिक विज्ञानले समेत स्वीकारेको यो तथ्यले सम्पूर्ण ब्रह्माण्ड संरचनागत रूपमा अन्ततः एकै प्रकारको अद्वैत तरङ्गको रूपमा पुगेर सकिन्छ । डमरुलाई ब्रह्माण्डको अद्वैत विचारधाराको प्रतीकको रूपमा समेत लिइन्छ । 

घाँटीमा बेरिएको सर्प
निधन वा समाधिको अवस्थामा हामी सँग आफ्नै भन्‍ने केही रहँदैन । विभिन्‍न निर्माणको चरणमा ब्रह्माण्ड वाट प्राप्त गरेको कच्चा पदार्थहरू लिएर जम्मा भएको पदार्थहरू थुपारिएर निर्मित हाम्रो भौतिक शरीर समाधिको बिन्दु पार गरे पछि औपचारिक बिखन्डन उन्मुख हुने गर्दछ । उक्त क्रममा शरीरमा थुपारिएर रहेका ब्रह्माण्ड वाट प्राप्त सबै पदार्थ ब्रह्माण्डमै फिर्ता पठाउने प्रक्रियाको सुरुवात हुन्छ । चेतनाको भित्री आकाश भने समाधिको बिन्दु पश्‍चात् पनि हामी सँगै रहन्छ ।

वास्तवमा समाधिको बिन्दु पछि हामी चेतनाको भित्री आकाशमा मात्र सीमित हुन पुग्दछौ । जसलाई हामी कन्ससनेस वा चेतन शक्ति भन्दछौ । उक्त चेतन शक्तिको रूपलाई हामी शिवको असली रूप को रूपमा बुझ्‍ने गर्दछौ । कुनै पनि भौतिक कार्य, क्रिया वा प्रतिक्रिया नरहने पूर्ण चेतनशीलताको अवस्थामा हामीमा आफ्नो सम्पूर्ण क्षमताको सतर्कताको उपस्थिति रहन्छ । शिवको घाँटी वरिपरि सतर्क रहेर बेरिएको सर्प त्यही पूर्ण चेतन अवस्थाको सतर्कताको सम्झना गराउन राखिएको प्रतीक वा चिन्‍न हो । 

ध्यानको अवस्थामा मानिसले आँखा बन्द गरेको हुन्छ । ध्यान गरिरहेको मानिसलाई हेर्दा यस्तो भान पर्दछ कि व्यक्ति सुतिरहेको छ । तर ऊ निद्रामा हैन उच्च सचेत अवस्थामै रहेको हुन्छ । मानिसमा ध्यानको समयमा अन्य समयमा भन्दा चेतनाको हद निकै उच्च रहने यथार्थ अभिव्यक्त गर्न समेत शिवको घाँटी वरिपरि बेरिएको चनाखो सर्पको उपस्थिति देखाइने गरिएको हो । 

त्रिशूल
जीवित अवस्थामा मानवको चेतनाको तिन अवस्था रहने गर्दछ । जाग्रत, सपना र निद्रा (सुषुप्ति) । सत्त्व, रज र तम गुणको प्रतिनिधित्व गर्ने यो तिनै अवस्था भन्दा ईश्‍वरत्व उच्च स्थानमा रहन्छ । ईश्‍वरत्व लाई शिवको रूपमा बुझिने अवस्थामा शिवले त्रिशूल समातेको चित्र वाट ईश्‍वरत्व जाग्रत, सपना र सुषुप्तिको तीन गुण भन्दा फरक र उच्च चेतन अवस्थामा रहने सङ्केत दिन खोजिएको हो । 

त्रिशूलमा त्रि शब्दको अर्थ तिनै अवस्थाको भन्‍ने लाग्दछ । शूल शब्दले समस्या वा दुःख भन्‍ने अर्थ दिन्छ । समग्रमा त्रिशूल शब्दको अर्थ सबै किसिमका कष्टहरूलाई नष्ट गर्ने तागत राख्‍ने अर्थमा सुझाइन्छ । मानव जीवन सँग मूलतः तीन प्रकारका पीडाहरू ठोकिन आइपुग्‍ने गर्दछ । स्थूल शरीरको आधि-भौतिक (फिजिकल) पिडा, आध्यात्मिक (स्प्रीचुयल) तथा दैव, प्रकृति (भाग्य), भूत-प्रेत (मनो-बैज्ञानिक) आदि प्रकृतिको आधि-दैविक (ईथरियल) पिडा । शिवको हातमा रहेको त्रिशूलले ईश्‍वरत्व तिनै प्रकारको सम्पूर्ण दुख वाट मुक्ति दिने हैसियत राख्‍ने क्षमताको प्रतीकको रूपमा लिइन्छ । 

चन्द्रमा
शिवजी ईश्‍वरको शिरमा अर्धचन्द्राकारको चन्द्रमा देखिन्छ । शिव तत्त्वमा मस्तिष्क रहँदैन । जब कुनै तत्त्वमा मस्तिष्क रहँदैन तब त्यहाँ कुनै "मानसिकता" को अस्तित्व पनि रहन सक्दैन । कुनै पनि विषय बारे जानकारी राख्‍न, बुझ्‍न, र त्यो सम्बन्धमा आफ्नो अनुभव प्राप्त गर्न मस्तिष्क अनिवार्यताको जरुरत हुने ठानिन्छ । असीमित चेतना / कन्ससनेसको ग्रहण गर्न मस्तिष्क मतलब दिमाग वा गिदीको जरुरत रहँदैन । संसारमा आफूलाई प्रस्तुत गर्न जरुरी हुने मानसिकता प्रकट गर्न थोरै दिमाग बिना व्यवहारिक असहजता पैदा हुन्छ ।

यो संदर्वमा अभिव्यक्त गर्न नसकिने स्तरको यथार्थता व्यक्त गर्न शिवको टाउकोमा नगण्य मात्रामा दिमाग रहने झझल्को दिने गरी अर्ध-चन्द्रमाको सङ्केत राखिन्छ । बुद्धिमत्ता दिमाग वा मस्तिष्कको पहुँच भन्दा बाहिरको कुरा हो । जसलाई मन सँग जोडेर व्यक्त गर्न सम्भव बन्दछ । शिवको टाउकोमा रहेको अर्धचन्द्राकार चन्द्र त्यही अव्यक्तता युक्त असीमित चेतनाको प्रतीक मानिन्छ । 

नदी
शिर अथवा टाउको लाई ज्ञानको भण्डारको प्रतीक मानिन्छ । हृदय वा मुटुलाई प्रेमको प्रतीक । नदीलाई प्रेमको प्रतीकको रूपमा इंगित गर्न मुटुबाट आएको देखाउने गरिन्छ । शिवको आकृतिको सन्दर्भको नदी लाई शिवको टाउको बाट बाहिर आउँदै गरेको देखाएर ज्ञानको प्रतीकको रूपमा प्रस्तुत गरिएको छ । नदीको प्रवाहलाई ज्ञान प्राप्तिको नियमित चरणको रूपमा ग्रहण गरिन्छ । नदी लाई समेत ज्ञानको प्रतीक ठानिन्छ । ज्ञानले मानिसको आत्मालाई शुद्ध पार्दछ । 

सूर्यको तापको कारण समुन्द्रबाट बाफ उठेर बादल बनी पृथ्वीको उच्च भागमा बर्सिन पुगेको पानी आफ्नो मूल वासस्थान समुन्द्रमा मिसिने अभिप्रायले माथिबाट तल तल बहने गर्दछ । भीमकाय ब्रह्माण्डको स्वरुपलाइ सानो-सानो गर्दै सबैभन्दा सूक्ष्म रुप सम्म पुगेर बुझ्‍न सक्दा मानिसले ब्रह्माण्डको निर्माण भएको सूक्ष्म पदार्थ बारे अनुभूति लिन सक्दछ । ब्रह्माण्डको सम्पूर्ण पदार्थ एकै सूक्ष्म पदार्थ द्वारा निर्मित रहेकाले त्यसको जानकारीले मानिसलाई आफ्नो गन्तव्य र जीवनको उद्देश्य पत्ता लगाउने बाटो पहिचान गर्न सहज हुन्छ ।

आफ्नो उद्देश्य प्राप्तिमा अविरल बहने नदी जस्तै ज्ञान प्राप्तिको अविरल यात्रा वाट मानिसले आफ्नो अन्तर आत्माको समेत ज्ञान प्राप्त गर्न सक्छ । निकै गहिरोमा पुगेर जीवनको यथार्थता महसुस गर्न सक्छ । शिवको टाउको बाट बाहिर आउँदै गरेको नदी लाई त्यही ज्ञान प्राप्तिको उपायको प्रतीकको रूपमा राखिएको छ । मानव जीवनमा ज्ञान प्राप्तिको सिलसिला गतिशील र नियमित रहन्छ । ज्ञानको प्राप्तिले मात्र मानिसले स्वतन्त्र शुद्धतायुक्त जीवन प्राप्त गर्न सम्भव हुन्छ ।  शिवको शिर लाई ज्ञान वा ईश्‍वरत्व युक्त ठानिएकोले ज्ञानको प्रतीकको रूपमा नदीलाई राखिएको छ । 

निलो शरीर
निलो भनेको सफा आकाशको रङ्ग हो । आकाश लाई केही पनि नरहेको शून्यताको अवस्थामा लिइन्छ । शिवको असली रूप आकाश र रङ्ग निलो दर्साउने अभिप्रायले शिवजीको शरीर निलो रङ्गले पोतने गरिन्छ । आकाशले व्यापकता र अनन्तताको सङ्केत गर्दछ । किनकि आकाशको कुनै सीमा रहँदैन । सम्पूर्ण पदार्थ भित्र र बाहिर पनि खालि भाग वा आकाश रहने गर्दछ । यसको कुनै आकार समेत रहँदैन । वास्तविक रूपमा शिवको कुनै शरीर हुँदैन । न शिव कहिल्यै कुनै व्यक्तिको रूपमा सीमित रहेर अस्तित्वमा रहे ।

शिव एक अथाह, असीम देवत्वको प्रतीकको रूपमा रहेको दिव्यता हो भन्‍ने मानिसहरू लाई बुझ्‍न सजिलो होस भन्ने उद्देश्यले ऋषिहरूले एक कुशल चित्रकारले आफ्नो चित्रबाट भावना प्रकट गरे जस्तै शिवको रूप बनाएको देखिन्छ । गहिरिएर हेर्दा ज्ञानको समेत न त कुनै आकार हुने गर्दछ न सीमितता । यसले ब्रह्माण्डको प्रत्येक र सबै कण भित्र खालि पन हुन्छ । उक्त खाली पन लाई सङ्केत गर्दै सारा संसार शिवले भरिएको छ, सम्पूर्ण ब्रह्माण्डमा शिवको उपस्थिति छ भनिन्छ । 

शिव लिङ्ग 
लिङ्ग शब्दको अर्थ पहिचान हो । एक प्रतीक जसको माध्यमबाट सत्य, तथ्य र वास्तविकताको पहिचान गर्न सकिन्छ । कुनै पनि बस्तुको छोपिएको वा नदेखिएको यथार्थ मुल्यवान गुण बुझ्‍न र पहिचान गर्न सहयोग गर्ने चिन्ह लाई लिङ्ग भनिन्छ । जस्तै जब बच्चा जन्मन्छ तब त्यो आफ्नो सन्तति पृथ्वीमा नियमित राख्‍ने गुणको संदर्वमा वीर्यदान गर्ने क्षमतायुक्तको हो वा वीर्यको पालन पोषण गरी मानव रूपमा विकसित गर्ने खुबी युक्त डिम्ब दान गर्ने खुबीको हो भन्‍ने पहिचान उसको शरीरको मात्र एउटा गुप्त अंश मार्फत पत्ता लाग्दछ । जन्मने बित्तिकै पुलिङ्ग वा स्त्रीलिङ्ग पहिचान गरी बच्चा केटा हो वा केटी भनी यकिन लिइन्छ । त्यही कारणले जननेन्द्रियलाई लिङ्ग भनिन्छ । कपडा लगाएर छोपेर समेत राखिन्छ । 

सृष्टिको संरचनाको मुख्य पदार्थ शिवलाई चिन्न पनि कुनै लिङ्गको सहायता लिन सक्दा सजिलो पर्छ । शिवको आफ्नै न त कुनै रूप हुने गर्दछ न आकार । एउटा चिन्ह जसले दुवै पुरुष र महिलाको मिश्रणको अनुभूति वा पहिचान दिन्छ त्यो नै शिवको लिङ्ग हुनुपर्ने यथार्थ आफ्नो ठाउँमा छ । यो अर्थमा ऋषिहरूले महिला र पुरुषको दुवै अङ्ग संयोजन गरेर शिव लिङ्गको परिकल्पना गरे । शूक्ष्म जीवको स्तरमा माइटोसीस, मियो-सीस जस्ता प्रक्रिया पार गरी फरक फरक आनुवंशिक गुणको संयोजन गरी र विकसित जीवहरुमा सम्भोग पश्‍चात् जीवन सुरु हुने यथार्थ लाई मनन गरी योनि माथि ठडिएको लिङ्ग प्रतीकको रूपमा शिव लिङ्ग तैयार भएको बुझिन्छ । 

शिव लिङ्गको सङ्केतमा पुरुष-जननेन्द्रियको आसनको रूपमा स्त्री-जननेन्द्रियको व्यवस्था गरिदिएर संसारमा आफ्नो सन्तति नियमित कायम गर्नु जीव मात्रको अन्य कर्तव्य जस्तै एक अनिवार्य कर्तव्य रहेको समेत सूचना दिन खोजिएको छ ।  ब्रह्माण्डको मौन, प्रकट नहुने निराकार, गतिशील तर सृष्टिका लागि जरुरी हुने दुवै स्त्री र पुरुष गुणको संयोजन रहेको संयुक्त शिव-शक्तिको रूपको अभिव्यक्ति दिने प्रयोजनले शिव लिङ्गको आकृति बनाइएको छ ।

ब्रह्माण्डको सृष्टिकर्ताको मूल सुश्म स्वोरुप मात्र एउटा रहेको सङ्केत गर्दै स्त्री-पुरुष दुवै गुणहरू मिसिएर एकै भएको शिवलिङ्ग निर्मित गरिएको हो । यो अर्थमा शिव कुनै अमुक बस्तु वा पदार्थ होइनन बरु पूर्ण सर्वोच्च चेतनाको समापनको प्रतीक हुन् भन्‍ने सूचना व्यक्त गर्न खोजिएको छ । 

साढे
शिवको अगाडी रहेको साढे एक अनन्त प्रतीक्षाको प्रतीक हो । हरेक मानिसको जीवनमा अनन्त: प्रतीक्षा गर्न सक्ने क्षमता लाई सबैभन्दा ठुलो सद्गुण मानिन्छ । मन्दिरमा प्रतीक्षामा बसेको साढे प्राकृतिक ध्यान वा मेडिटेसनको कुनै आसनमा बस्‍न र कुर्नु मात्र जान्‍ने तर प्रतीक्षा वा कर्मको फल भोलि नै आउँछ भन्‍ने हतारोमा रहेको देखिँदैन । उसको शरीरको हाउ-भाउले उसमा कुनै प्रतिफलको आसा वा अपेक्षा समेत रहेको आभास आउँदैन । ऊ मात्र कुर्दै छ ।

लाग्दछ सम्पूर्ण जीवनभर पर्खी रहनको लागि तैयार छ । अनन्त: काल सम्मको लागि पर्खिन सक्ने साढेको गुण लाई ग्रहणशीलताको सारको रूपमा लिइन्छ । हरेक मन्दिरमा जाने शिव भक्तमा मन्दिर जानु भन्दा पहिले साढेको जस्तो ग्रहणशीलताको सार-गुण हुनु पर्दछ । अटल प्रतीक्षा गर्ने सामर्थ्य अनिवार्य छ । कर्म गर्ने तर फलको आश नगर्ने ग्रहणशीलता अनिवार्य रूपमा हुनु पर्दछ । 

पूजा र ध्यान बिचमा आधारभूत रूपमै निकै गहिरो फरक रहन्छ । प्रार्थना अथवा पूजा गर्दै गर्दा तपाई परमेश्‍वर सँग आफ्ना मनका कुराहरू गर्न वा व्यक्त गर्न कोसिस गर्ने गर्नु हुन्छ । ध्यान अथवा मेडिटेसन भने तपाई ईश्‍वर वा शिव वा प्रकृतिलाई सुन्‍न इच्छुक बन्‍न भएको अवस्था हो । ध्यान गर्दै गर्दा तपाईँ मात्र तपाइको अस्तित्वको कारण, उपस्थितिको प्रयोजन र उद्देश्य बारेका कुराहरू सुन्‍न तयार हुनुहुन्छ ।

सृष्टिको उत्पत्तिको कारण, प्रकृति र उद्देश्य लाई सुन्‍न चाहनु हुन्छ । त्यहाँ तपाईँको आफ्नो भन्‍न वा सुनाउन पर्ने केही हुँदैन, तपाईँ मात्र सुन्‍न चाहनु हुन्छ । त्यसको लागि अटल प्रतीक्षा गर्ने ग्रहणशीलताको सार-गुण बोकेको साढे जस्तो मात्र सतर्कता सहित ध्यानमा बसिरहने गुण तपाइले विकास गर्नु जरुरी छ । चित्रमा साढे सचेत छ, निन्द्रामा छैन, निष्क्रिय तरिकामा बसिरहेको देखिन्छ । लाग्छ मात्र बसिरहेको छ । शिवको सामुन्ने ढुकेर रहेको साढेको चित्र वाट ऋषिहरूले शिव भक्तहरूमा शिवको ध्यान कसरी बस्नु अनिवार्य छ भन्‍ने ज्ञान दिन खोजेको देखिन्छ । 

हिमालय पर्वत
शिवजीको प्रिय वासस्थानको रूपमा हिमालयको मानसरोवरको शिखर लाई लिइन्छ । शिवजीको वास्तविक घर तथा समाधि स्थान समेत कैलाश पर्वतलाई नै मानिन्छ ।  कैलाशको भावार्थमा त्यो स्थान जहाँ मात्र उत्सवहरू हुने गर्दछ लाई बुझ्‍ने गरिन्छ । स्मशान वा समाधि स्थलको भावार्थमा रिक्तता वा शून्यता महसुस गराउने एकान्तको शान्त स्थानलाई ग्रहण गरिन्छ । देवत्व वा दिव्यता दुबै शून्यता र उत्सवको अवसरमा हामीसंगै रहन्छ । हरेक व्यक्ति आफैमा सदैव शून्यता वा रिक्तता र उत्सव वा भरिपूर्णताको दुवै पक्ष युक्त रहने गर्दछ । 

चित्रमा शिवजी सँगै कैलाश पर्वतलाई देखाएर शिव तत्त्वलाई ब्रह्माण्डको सम्पूर्ण उच्चताको केन्द्र वा अन्तिम गन्तव्य रहेको सूचना दिने प्रयास गरिएको हो । अत्यन्त विवेकी, चतुर र निष्पक्ष शिव तत्त्व सर्वाधिक शक्तिवान अथवा अग्‍निमय रहने ठानिन्छ । हिमालको चिसो, शान्त वातावरणले दिने एकाग्रता, हिमालबाट बग्‍ने काली, मर्स्याङ्दी जस्ता नदिहरुको कारण पैदा हुने कोमल भाव, सर्वोच्च उचाइमा महसुस गर्न सकिने आरामदायी चिसोपन बिचको ग्रहणशीलता आदि ब्रह्माण्डको संरचनाको सर्वोच्च स्वामीबारे महसुस गर्न चाहिने आधारभूत मनोवैज्ञानिक गुणहरू हुन भन्‍ने यथार्थ कैलाश पर्वतको चिन्ह मार्फत सम्प्रेषण गर्न खोजिएको छ । 

ओम नमः शिवाय
ओम नमः शिवाय भनि उच्चारण गरिने मन्त्रलाई संसारमै रहेका मन्त्रहरू मद्धे एक अत्यन्त शक्तिशाली मन्त्र ठानिन्छ । यो मन्त्रले शरीरमा आन्तरिक ऊर्जा बनाउन र खाली स्थान वा आकाश तत्त्व बढाउन मद्दत गर्ने ठानिन्छ । ओम नमः शिवाय लगायतका तमाम मन्त्रहरूको तीव्र आवाज अर्थात् तरङ्गहरूले मानिसमा चेतनाको अभिवृद्धिमा प्रभावकारी मद्दत पुर्‍याउँदछ । ओम नमः शिवायमा रहेको ‘ओम’ ब्रह्माण्डको आवाज हो । ओमको अर्थ शान्ति र प्रेम हो । अन्य शब्दहरूका अक्षर ‘न’, ‘म’, ‘शि’, ‘वा’, ‘य’ ले क्रमशः पृथ्वी, पानी, आगो, हावा र आकाश गरी पाँच वटा तत्त्व वा पन्च-तत्त्व लाई सङ्केत गर्दछ । ब्रह्माण्डको सम्पूर्ण तत्त्वहरू पन्च-तत्त्व निर्मित रहन्छन । 

जब तपाईँ एकाग्र भएर ओम: जप गर्न थाल्नु हुन्छ तपाईँले सबै कुराको अस्तित्व हराएको महसुस गर्न पाउनु हुन्छ । न सोच, न सपना, न कुनै अनुमानहरू, न कुनै धारणा, न कुनै अपेक्षाहरू तपाइको मनमा उब्जन पाउँछ । एकान्तको कल-कल पानी बगी रहेको खोला किनारको सङ्गीतको भित्री रूपमा आफै हराए जस्तै अन्य कसैले सुन्‍न नसक्ने तर आफैले भने सद्‍भाव, आनन्द र धन्यताले भरिएको अनुभूति प्राप्त गर्न पाउनु हुन्छ । 

जब तपाईं ओम नमः शिवायको हरेक पदहरूलाई फरक फरक रूपमा उच्चारण गर्नु हुन्छ, हरेक शब्दको सह-अस्तित्वको रहस्यमा प्रवेश गर्नु हुन्छ, त्यसमा अन्तर्निहित बिचका मौनताका खाली ठाउँहरूको अनुभव लिनु हुन्छ तब तपाइमा फरक शक्तिको सञ्‍चारको अनुभूति हुन्छ । ध्वनिहरू बिच लयबद्ध रूपमा दोहरिने खाली ठाउँ मिश्रित ध्वनिहरूको समग्र संयोजनले तपाइलाई साँचो अर्थको भित्री सङ्गीतको महसुस गर्ने अवसर प्राप्त गराउँदछ । तपाइले अनुभवकर्ताको रूपमा आफ्नो भित्री स्वयंलाई अनुभूति गर्न सक्नु हुन्छ । 

छ वटा अक्षरको अंश मिलेर बनेको यो मन्त्रले जुन प्रकारको कम्पनहरू उत्पन्‍न गर्दछ त्यसले शरीरको कोशिकाको स्तर सम्म कम्पन पैदा गर्ने गर्दछ । शरीरका हरेक तन्तुहरू समग्र रूपमा एक आपसमा जोडिएर एकै लयको धुनमा कम्पन भई रहेको अनुभूति गराउँदछ । जब मन्त्रले पुरा वाक्य दोहर्‍याएर पटक पटक जप गरिन्छ त्यो बेला जप गर्ने व्यक्तिले यसलाई सङ्गीत भन्दा चर्को रूपमा सुन्‍न सक्दछ । किनकि दोहर्‍याई-तेहर्‍याइ जप गर्दै गर्दा दिमागले जपको वाक्यको कम्पन र फ्रिक्वोंईन्सि सँगै आफूलाई पुर्णरुपमा सिङ्गक्रोनाइज गरिसकेको हुन्छ । 

पृथ्वीको कम्पन ७.८३ हर्ज हुने गर्दछ । उक्त कम्पन संगै हाम्रो जैविक प्रणालीको कम्पन समेत प्राकृतिक रुपमै ट्युन भएको हुन्छ । ओम: लाइ ब्रह्माण्डको आधारभूत आवाज मानिन्छ ।  ओम: जप गर्दा हाम्रो शरीर वाट निस्कने ध्वनिको फ्रिक्वोंईन्सि ११०.७६, १७०.६६ र २८९.१३ हर्ज हुने गर्दछ । ११०.७६ हर्ज गामा-किरणको फ्रिक्वोंईन्सिको भाग रहेकाले यसले दिमागमा पुगेको गामा-ब्रेन-वेब पैदा गर्दछ ।

गामा-ब्रेन-वेब अन्य भन्दा तेज गतिको फ्रिक्वोंईन्सि युक्त २५ देखि १०० हर्जमा अस्सिलेट हुने गर्दछ । फलत: यसले दिमागको मानसिक गतिविधिमा सुधार ल्याउने, संज्ञानात्मक (कगनिटिब) वृद्धि गर्ने, मानसिक विकृतिबाट मुक्ति दिलाउने, विषय बस्तुमा केन्द्रित हुने शक्ति बढाउने, सिक्ने क्षमता र सूचनाको प्रशोधन गर्ने क्षमता बढाउने गर्दछ । साथै छोटो अवधिको स्मरण शक्तिको क्षमता अभिवृद्धि गर्ने र टाउको दुख्‍ने आदि रोगको रोकथाममा समेत सहयोग पुर्‍याउँदछ । 

१७०.६६ हर्ज फ्रिक्वोंईन्सि १७४ हर्ज फ्रिक्वोंईन्सिको ज्यादै नजिक देखिन्छ । जुन प्राकृतिक एनेस्थेटिकको रूपमा काम गर्ने हुदा शारीरिक र उर्जगत रुपमा शक्तिको कायाकल्प गराउने र दुखाई कम गर्न सहयोगी बन्‍ने बलियो आधार भेटिन्छ । १७४ हर्ज फ्रिक्वोंईन्सि शरीरको अङ्गहरूलाई सुरक्षाको अनुभूति दिलाउने गुणको लागि समेत परिचित रहेकाले यसले चेतनाको हद वृद्धि गर्न आधारको विकास गर्ने परिस्थितिको पनि सिर्जना गर्दछ ।

२८९ हर्ज फ्रिक्वोंईन्सि २५५ हर्ज फ्रिक्वोंईन्सिको नजिक देखिन्छ । २५५ हर्ज फ्रिक्वोंईन्सि बहु-आयामिक क्षेत्रहरूमा जागरूकताको तहलाई सन्तुलित गराई चेतनाको विस्तारमा सहयोग पुर्‍याउने गर्दछ । शरीरको ऊर्जाको वृद्धि गरी शरीरमा ऊर्जाको पुनः उपलब्धता मार्फत कायाकल्प गराउन सहयोग पुर्‍याउँदछ । 

ओम नमः शिवाय मन्त्र एकै साथ जप्ने क्रममा हाम्रो जैविक प्रणाली कम्पन पृथ्वीको कम्पन ७.८३ हर्ज सँगै पुर्णरुपमा सिङ्गक्रोनाईज हुने गर्दछ । उक्त समयमा पृथ्वी र ब्रह्माण्डका सम्पूर्ण पदार्थ सँग सिधा सम्पर्क कायम हुनेगरी हाम्रो जैविक कम्पन संयोजित हुन सक्दछ । जसले गर्दा ब्रह्माण्डका कम्पन मार्फत हामी ब्रह्माण्ड सँगै सिधै जोडिन सम्भव हुन्छ ।

केही समय सम्मको लयबद्ध ओम नमः शिवायको मन्त्र उच्चारणले हाम्रो शरीरको कम्पन र ब्रह्माण्डको कम्पन बिच हुने अन्तर घुलनका कारण हाम्रो स्नायु प्रणालीमा सकारात्मक ऊर्जा सञ्चार गरिदिन्छ । जसले गर्दा रक्तचाप कम गर्न, मुटुको स्वास्थ्यमा सुधार ल्याउन देखि मनोवैज्ञानिक उपचार सम्म सम्भव बनिरहेको भेटिन्छ । यो अर्थमा शिवको आकृतिमा अङ्कित ॐ चिन्‍नले मानव जीवनमा मन्त्रो-चारण र ध्यानको महत्त्वको विशेषता सम्झाउने प्रयत्न स्वोरुप राखिएको बुझ्‍न सकिन्छ । 

नटराज वा नाचिरहेको शिव
पार्टिकल फिजिक्सले प्रमाणित गरे अनुरूप शरीरका सेलहरू एटम निर्मित छन् । एटमहरु आफू भन्दा एक लाख गुना सानो प्रोटोन र निउट्रोंन रहेको न्युक्लिअस बोरिपरी समय र स्थानको आधारमा गतिशील रहने इलेकट्रोन निर्मित छन् । प्रोटोन, निउट्रोंन ग्लुवोंन बाट बनेका छन् । जहाँ ग्लुवोंन आफै लगभग तिन वटा क़्वार्क निर्मित छ । गतिशील क़्वार्क लाई टुक्राउने हो भने तपाई केही पनि भेट्नु हुन्‍न वा शून्य हाता लाग्‍ने गर्दछ । पदार्थको संरचनाको सबै भन्दा सुश्म अस्तित्वमा मात्र निश्‍चित वेब नाचिरहेको देख्नु हुन्छ । त्यही तरङ्गहरूको विविधताको खेल वाट संरचना बन्दै भीमकाय संरचना बन्‍ने र नष्ट हुने प्रक्रिया हाल सम्म गतिशील रहेको छ । 

वास्तवमा नथिङ्ग वा शून्य वाट प्रारम्भ भएर एवरीथिङ्ग वा सम्पूर्णताको निर्माण हुने क्रम बिच हाम्रो जीवनको समेत निर्माण भएको छ । उक्त एवरीथिङ्ग वा सम्पूर्णता जस्तै हाम्रो जीवन समेत नथिङ्ग वा शून्यमै पुगेर अन्ततः सकिने निश्‍चित रहेको भेटिएको छ । शून्य वाट गतिशीलताको रूपमा पैदा भएको हाम्रो जीवन अन्ततः शून्यमै सकिन्छ । जब सम्म अस्तित्वमा रहन्छ त नियमित गतिशीलताको अनिवार्यता रहन्छ । शिवको नटराज वा नाचिरहेको स्वरुप यही यथार्थ बोध होस् भन्‍नको लागि सङ्केतको रूपमा प्रस्तुत भएको छ । जुन यथार्थ आजको आधुनिक क्वान्टम विज्ञानले समेत एक पछि अर्को परीक्षणहरू वाट यथार्थता युक्त रहेको स्थापित गर्दै गएको छ ।  

गतिशील तरङ्गहरू अस्तित्वमा रहन दुई विपरीत गुणका चार्जहरूको सह-अस्तित्वको अनिवार्यता रहन्छ । जसलाई पुरुष तथा स्त्री लिङ्ग संयोजित शिव-तत्त्वको रूपमा बुझ्‍ने गरिन्छ । आपसी द्वन्द्वात्मक सम्बन्ध प्राकृतिक सम्बन्ध हो । प्राकृतिक द्वन्द्वात्मक सम्बन्ध बिचको आपसी प्राकृतिक मिलन मार्फत अत्यन्त सूक्ष्मदेखि भीमकाय र शक्तिशाली संरचनाको सम्पूर्ण निर्माण सम्भव रहन्छ भन्‍ने प्रमाण सहित मर्म स्पर्शी सूचना शिव-तत्वले संसारलाई दिएको छ । 

संसारका हरेक बस्तु निर्मित सबैभन्दा सानो कण ऊर्जायुक्त नृत्यको प्रदर्शनहरुको गठ-जोड हो । जसलाई वेदले सारांशमा सम्पूर्ण ब्रह्माण्डमा समावेश रहेका पदार्थको निर्माण र विनाशको आधार नृत्यको प्रदर्शनको गठ जोडको प्राकृतिक सुचारु पनमा आधारित रहेको भनी स्पष्ट पारेको छ । 
(खाद्य तथा औषधि विज्ञ, क्यानडा


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
x