सम्झनामा चैत्र ३
घरमा चार महिनाकी छोरी छोडेर आन्दोलनमा आएकी थिएँ
तीस वर्षसम्म टिकेको निर्दलीय पञ्चायती व्यवस्था निरंकुश व्यवस्था थियो । यो व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रताको कुनै गुञ्जायस थिएन । दलहरू प्रतिबन्धित थिए । नागरिक आवाज दमित थियो । त्यसको विरोधमा २०४६ चैत्र ३ गते केही लेखक–कलाकारहरूले मुखमा कालो पट्टि बाँधेर धर्ना बसे । त्यो विरोधले आन्दोलनमा सहभागी नभएको, हुन नसकेको तप्कालाई पनि झक्झक्याएको थियो । राजधानीमा भएको आन्दोलनको प्रभाव देशैभर रह्यो । आन्दोलनमा लेखकहरू पारिजात, युद्धप्रसाद मिश्र, आनन्ददेव भट्ट, खगेन्द्र संग्रौला, हरि अधिकारी, अरुणा उप्रेती आहुति, विमल निभा, स्नेह साय्मिलगातयका लेखक होमिएका थिए । आन्दोलनकारी सचेत जमातको सूची लामै छ, सूची बनाउने उद्देश्यले भन्दा पनि त्यो आन्दोलनको स्मरण–सम्मानका खातिर हामीले तीन जना स्रष्टासँग संवाद गरेका छौँ । आज ३२ वर्षपछि पनि आफ्नो स्मृतिमा मात्र होइन, भौतिकीमा समेत उस्तै आन्दोलनको मुडमा आहुति, हरि अधिकारी र अरुणा उप्रेतीले इकागजका उपेन्द्र अर्यालसँग आफ्नो ‘चैत्र ३’ सम्झना साटेका छन् :
चैत्र ३ मा सबै भेला भएर विरोध गर्ने कुरा भयो । त्यसबेला अहिलेको जस्तो खबर गर्ने माध्यम मोबाइल थिएन । मुखले एकले अर्कोलाई भनेर सबैकहाँ खबर पुर्याउने गरिन्थ्यो । सबैले त्रि–चन्द्र कलेजमा भेट्ने कुरा भएको थियो । आन्दोलनको मुख्य खम्बा पारिजात हुनुुहुन्थ्यो । उहाँसँगै खगेन्द्र संग्रौला, विमल निभा, आनन्ददेव भट्ट लगायत धेरै साहित्यकार र कलाकर्मीहरूको सहभागिता थियो । साहित्यकारबाहेक अन्य साथीहरू पनि सहभागी हुनुहुन्थ्यो । हामी सबै भेला भइसकेपछि कालोपट्टि बाँधेर बसेका थियौँ । प्रहरीले हामीलाई लैजानका लागि भ्यान ल्याएर ठीक्क पारेको थियो । केही बेरमा सबैलाई भ्यानमा हालेर लग्यो ।
हामीलाई बग्गीखानामा लगेर राखेको थियो । म घरमा चार महिनाकी छोरी छोडेर आन्दोलनमा आएकी थिएँ । घरको मानिसलाई पनि थाहा थिएन, म कहाँ थिएँ भनेर । त्यसबेला प्रहरी अच्युत खरेल त्यहाँ हुनुहुन्थ्यो । उहाँले ‘के हो यस्तो ? डाक्टरहरूलाई डर लाग्दैन कि के हो ? भन्नुभएको थियो । त्यसमा अर्कोले थपेको थियो, ‘यिनलाई के डर लाग्नु सरकारको जागिर खुस्किए प्राइभेट क्लिनिक खोलेर खाइहाल्छन् नि ।’
हामीलाई कोचाकोच गरेर लगे पनि प्रहरीले दुव्र्यवहार भने गरेनन् । छोड्ने बेलामा अपराधीझैँ सबैको फोटो खिच्यो । नाम, थर, ठेगाना लेख्यो र सही छाप गराएर छाडिदियो । घरमा चार महिनाको छोरी छोडेर आएको भएकाले त्यसको केही चिन्ता लागिरहेको थियो । नत्र प्रहरीले के गर्ला भनेर डर भने थिएन । त्यसबेला फोन पनि नभएकाले घरमा खबर गर्न पाएको थिइनँ । पछि घरको मान्छेलाई खबर गरिदिएछ कसैले । प्रहरीले छोडेपछि बेलुका मलाई एकजना साथीले बाइकमा राखेर घर पुर्याइदिनुभएको थियो ।
धेरै पत्रकारहरू पनि थिए । कलाकारहरू, साहित्यप्रेमी सबै थिए । पत्रपत्रिकाले समाचारमा ठाउँ दिएको हुनाले त्यो घटनाले एक किसिमको तरंग उत्पन्न गरेको थियो । म साहित्यकार त थिइनँ, तर कहिले कहिले विभिन्न विषयमा पत्रपत्रिकामा लेखिरहने हुनाले म आन्दोलनमा जोडिएको थिएँ ।
२०४६ सालमा सबै किसिमका मानिस आन्दोलनमा सहभागी भइरहेका थिए । डाक्टरहरूले पनि आन्दोलन सुरु गरिसकेका थिए । कालोपट्टी लगाएर काम गरिरहेका थिए । लेखक कलाकारले पनि आफ्नो तरिकाले लेखेर बोलेर विरोध गरिरहेका थिए ।
साहित्यकारहरूको गिरफ्तारीले आन्दोलनमा एउटा झिल्को दियो । त्यहाँ कवि–कलाकार, बौद्धिक तप्का सबै जम्मा भएकाले आम मानिसलाई आन्दोलनमा जोड्यो । सरकारी सञ्चारमाध्यममा भने ‘उच्छ्रृङ्खल अराष्ट्रिय तत्वहहरूले विरोध गरेको’ भन्ने समाचार प्रकाशित भएको थियो । अन्य पत्रपत्रिकाहरूले भने यसलाई प्राथमिकता दिएर समाचार छापेका थिए ।
त्यो साहित्यकारहरूको विरोधले २०४६ सालको आन्दोलनलाई उत्कर्षमा पुर्याउन ठूलो भूमिका खेल्यो । आन्दोलनपश्चात् अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समेत हाम्रो समाचारलाई महत्व दिएर छापेका थिए । म त्यसबेला वीर अस्पतालमा कार्यरत थिएँ । एउटा सरकारी कर्मचारी भएको हिसाबले म नडराइकन आन्दोलनको पक्षमा लागेकी थिएँ । विरोधमा पुरुषको तुलनामा महिला साहित्यकारहरूको संख्या कमै थियो । त्यो घटनाले आन्दोलन सफल हुन मुख्य भूमिका खेलेको थियो । यहाँ काठमाडौँमा बस्ने मानिसहरूको ज्यानको खतरा थिएन । तर, बाहिरबाट आउनेका लागि भने खतरा थियो ।
टेलिफोन गर्नलाई १/२ रूपैयाँ तिनुपथ्र्यो । हरेक आन्दोलनले केही नयाँ परिवर्तन ल्याउँछ । त्यसबेला पनि ल्याएको थियो । महिलाको हक अधिकारका सन्दर्भमा आवाज उठाउन सक्ने भएका थियौँ । त्यही आन्दोलन पछि नै गर्भपतनको सुविधा कानुनी रूपमा हुनुपर्छ भनेर आवाज उठायौँ । दलित समुदायको अधिकारका लागि आवाज उठायौँ । तर त्यसबेला हामीले देखेका सबै सपना पूरा भएनन् । ती सपना पछिल्लो आन्दोलनहरूले पूरा गरे । (उपेन्द्र अर्यालसितको कुराकानी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया