विचार

वेद र विज्ञानको दृष्टिमा आँसु

नारायण घिमिरे |
चैत १२, २०७८ ६:४८ बजे

तपस्या भनेको लगन हो । परापूर्व कालमा मानिसहरू कठोर तपस्या गर्दथे र ज्ञान प्राप्त गर्दथे । यसको अर्थ उनीहरू जुन कुराको बारे अनुसन्धानमा लाग्दथे त्यसमा आफूलाई सम्पूर्ण रूपमा समर्पित गर्दथे । आफूले चाहेको नतिजामा पुग्न सम्पूर्ण रूपमा होमिने व्यक्ति लाई भक्त (Devotee) भनिन्थ्यो । 

तन (मन्त्र वा मानसिक शक्ति), मन (यन्त्र वा इच्छा शक्ति/आत्मबल) र धन (तन्त्र वा शारीरिक शक्ति/ उपलब्ध साधन- श्रोत/तथा उपाय) लगाएर गरिएको खोज कार्य सिद्धिमा उनीहरू प्राय: सफल बन्दथे भन्‍न खोजिएको हो ।


आफूले जे कुरामा विश्वास गर्दछ त्यही कुराको खोजी गर्ने योजनाबद्ध रोड म्याप लाई भक्ति मार्ग (Path of Devotion) भनिन्थ्यो । भक्ति मार्गको योजना अन्तर्गतका हरेक गतिविधि प्राकृतिक नियमको सिद्धान्त (ईश्वरको  देव गुणी  नियम) अनुकूल रहेमा भक्ति मार्गलाई देव मार्गको रूपमा पूज्य बन्दथ्यो । 

उद्देश्य प्राप्तिको लागि अहिंसालाई अनिवार्य सर्तको रूपमा अवलम्बन गरिएको देव मार्ग लाई सत्मार्ग भनिन्थ्यो । सत-मार्गमा रहनु हरेक मनुष्यको जीवनको आदर्श मूल्य रहने गर्दथ्यो । सत-मार्गमा रहेका हरेक मानिसलाई मानव र सत-मार्गमा कायम रहन नसक्ने मानव लाई दानवको संज्ञा दिइने गरिन्थ्यो । 

सम्बन्धित विषयको विषय विज्ञ (Sumject Matters Expert) लाई उक्त विषयको ज्ञाता अर्थात भगवान (God) भन्‍ने गरिन्थ्यो । भगवानको अर्थ विषय विज्ञतामा मात्र सीमित नरहेर अलि विस्तृत हुने गर्दथ्यो । प्रकृतिलाई ईश्वर (Divine Power) र प्राकृतिक नियमको सिद्धान्त लाई ईश्वरको वाणी अर्थात ईश्वरको इच्छाको रूपमा चित्रित गरिन्थ्यो ।

तपाईँको अमुक चाहनाको स्वरूप कम भौतिक र अधिक भावनात्मक हुने भएकोले समग्रमा बाहिरी भौतिक आँखाले हैन कि भित्री मनको आँखाले मात्र देखिने हुँदा भगवान अदृश्य रहने गर्दछ भनिएको हो । चाहनाको तृप्ति आफैमा अपरा प्रकृतिको विषय हो । सन्तुष्टिको अनुभूतिको क्षणमा मानिसको अन्तर्मनको दृष्टि खुलेको हुन्छ । जसलाई तेस्रो नेत्र खुल्नु भनिन्छ । उक्त समयमा मानिसको पीनियल ग्रन्थि (Pineal Gland) सक्रिय बनेको हुन्छ । पीनियल ग्रन्थि सक्रिय रहँदा मानिसले धन्यता अर्थात् ब्लिसको अनुभूति गरिरहेको हुन्छ ।      

कुनै अमुक व्यक्ति वा वस्तु वा विषयमा जानकारी राख्ने गहिरो इच्छा पैदा हुनुलाई त्यो व्यक्ति वा वस्तु वा विषयमा प्रगाढ प्रेम (Intense Love) उत्पन्‍न भएको मानिन्थ्यो । प्राकृतिक नियमको सिद्धान्त अनुसार भगवान प्रति प्रगाढ प्रेम पैदा हुन सबै भन्दा पहिले भगवान अस्तित्वमा रहेको बारे जनाकारी र विश्वास हुनु अनिवार्य हुन्छ । अस्तित्वमा भएको जानकारी पछि त्यो विषय वस्तुसँग तपाईँ गहिरो सँग परिचित बन्‍नु अनिवार्य हुने गर्दछ ।

जब तपाई कुनै अमुक व्यक्ति वा विषय वस्तु वा अवस्था सँग परिचित बन्‍नु हुन्छ, तब उक्त व्यक्ति वा विषय वस्तु वा अवस्थाले तपाईँको मन छोएमा त्यसको प्राप्तिको भूत तपाईँमा सवार हुन सक्दछ । कतिपय अवस्थामा अनायास नै उक्त चिज हासिल गर्न तपाईँमा गहिरो चाहतको चेतना (Intense Attractions) विकास भएको महसुस हुन सक्दछ । त्यस लाई तपाईँको भित्री मनले ठानेको आफ्नो गोप्य भगवान प्रतिको आकर्षण वा प्रेम भन्‍ने गरिन्छ । 

समय, परिस्थिति, बौद्धिकता आदि अनुरूप तपाईँको प्रेमी अर्थात गोप्य भगवान फरक फरक हुन सक्दछ । केटाकेटी हुँदा खेलौना हुन सक्ने तपाईँको भगवान वयस्क हुँदा विपरीत लिङ्गी (Boy friend or girlfriend or spouse) साथी समेत हुन सक्दछ । कुनै विषय वस्तु वा कुनै काल्पनिक शक्ति वा कुनै विशेष रुचि हुन सक्छ । एक वा एक भन्दा धेरै फरक फरक चिजहरू समेत तपाईँको प्रेमीको रूपमा तपाईँको मनमा गाँठो परेर बसिदिन सक्दछ ।

आज बजारमा भनिने र सुनिने जस्तो कुनै कथाले सिर्जना गरेको काल्पनिक शक्ति प्रतिको मोहलाई भगवान मोह ठानिनु लाई  वेदले अर्ध ज्ञानको उपज मान्दछ । तर पनि हाम्रो समाजमा अन्ध-विश्वासमा रहेर काल्पनिक शक्ति मोहमा लिन हुनेको लागि काल्पनिक शक्ति पनि भगवान (God) को रुप सरह नै स्थापित हुन पुगेको छ । 

वेदले काल्पनिक शक्ति प्रतिको मोहलाई कहिलै भगवान (God) भनेर सम्बोधन गरेको छैन । भगवान कुनै काल्पनिक विषय वस्तु हैन बरु प्रकृति प्रदत्त विभिन्‍न पारा तथा अपरा ऊर्जाको श्रोत हो भनि वेदले प्रष्ट सङ्केत गरेको देखिन्छ । 

कुनै अमुक धर्मको नाममा पूजा गर्दैमा कुनै व्यक्ति वा प्रतिमा भगवानको (God) रुपमा पूज्य हुन सक्दैन, त्यसको लागि ती व्यक्ति वा वस्तुले कुनै निश्चित मापदण्डहरू पुरा गरेको हुनु पर्दछ भन्‍ने वैदिक मान्यता रहदै आएको छ ।

हरेक व्यक्तिको आफ्नो मनको विशेष चाहत वा मान्यता हुने गर्दछ । तपाईँको पनि अवश्य छ । तपाईँको मनको चाहत प्रतिको तपाईँको तीव्र आकर्षण लाई भगवान प्रति  तपाईँको भाव भनि बुझ्ने गरिन्छ ।  भाव (Bhav) भनेको कुनै अमुक विषय वस्तु प्रतिको तपाईँको सकारात्मक बिचार धारले विकास गराएको तपाईँको आकर्षण (attractions) मात्र हो । भाव बिना उक्त विषय बस्तु प्रति तपाईँको भक्तिको (Devotion) विकास हुन सम्भव रहँदैन । 

रुने कार्यले तनावको समयमा रगतमा जम्मा हुन पुग्ने विषाक्त पदार्थलाई समेत निकाली मानिसलाई स्वस्थ बनाउने जानकारी विज्ञानसँग भए तापनि भावनात्मक आँसु पैदा गर्न के कुराले मुख्य भूमिका खेलेको हुन्छ भन्‍ने यकिन जानकारी हालसम्म विज्ञानले प्राप्त गर्न सकेको छैन ।

तपाईँले देख्नु भएको, सुन्‍नु भएको, पटक-पटक सोच्नु भएको, अनुभव गर्नु भएको,  अनुभूति गर्नु भएको र त्यसैको कल्पनामा हराउनु भएको घटना परिघटनाहरूले उक्त विषय वा बस्तु प्रति तपाईँको मनमा गहिरो प्रभाव स्थापित गरिदिन्छ । फलतः ती गतिविधिहरूले तपाईँको अवचेतन मनमा गहिरो सँग निश्चित मान्यताहरू गढिदिन्छन । 

निश्चित विषय वस्तु प्रति रहेको तपाईँको लगावका विभिन्‍न मान्यताहरू तपाईँको अवचेतन मनमा विलय हुन गई त्यसले उत्पन्‍न गर्ने एकाग्रताको अवस्थालाई वैदिक अवधारणामा भाव भन्‍ने गरिन्छ । वैदिक भाषामा भावलाई चित्त (Chitta) अर्थात् अवचेतन मन (Subconcious mind) भन्‍ने नाम दिइएको छ । 

तपाईँको मनमा एकाग्र भएर गडेका भावहरूले तपाईँको मनमा साना-ठुला चाहना र आवेगका लहरहरू पैदा गरी निश्चित झुकाउ, क्रियाशीलता, चित्तवृत्ति तथा मानसिक स्थिति पैदा गरिदिन्छ । जुन तपाईँको आनीबानी र स्वभाव समेत बन्‍ने गर्दछ । त्यसलाई तपाईँको मनोवृत्ति भनिन्छ । तपाईँमा उत्पन्‍न भएका भावहरूले विकास गरेको तपाईँको मनोवृत्ति (भौतिक र मानसिक) लाई तपाईँको भावना (Bhavana) भन्‍ने गरिन्छ ।

वैदिक मान्यतामा आँखाको आँसुलाई भाव र भावना  दुवैको सूचकको रूपमा लिने गरिन्छ । जब तपाईँ तपाईँको भगवान सँगको बिछोडमा पर्नु हुन्छ वा अप्रिय सान्‍निध्यमा पुग्दै गरेको महसुस गर्नु हुन्छ तब तपाईँमा उत्पन्‍न हुने  शोकका कारण आउने आँसुलाई भावनाको सूचकको रूपमा लिने गरिन्छ । 

तपाई आफ्नो शरीरको भौतिक सुखको प्राप्ति  पनि तपाईँको चाहतको विषय हुने हुँदा शरीरमा हुने चोट पटकमा आउने आँसु समेतलाई भावनाको सूचक नै ठानिन्छ । जब तपाईँ तपाईँको देवता लाई सम्झनु हुन्छ वा भेट्नुहुन्छ वा प्राप्ति गर्नु हुन्छ वा प्राप्ति हुँदै गरेको अनुभूतिमा डुब्नुहुन्छ त्यो बेलामा आउने आँसुलाई भने भावको प्रतीक मानिन्छ ।  

तपाईँले प्राप्त गरेको सफलता वा खराब दिन पार गरी सहज दिनहरूमा प्रवेश गरेको अनुभूति गर्दै गर्दा, बेसहारा वाट सहारा मिलेको अनुभव गर्दै जाँदा वा अन्य कुनै अकस्मातको खुसीको क्षणहरूमा टप्किदिने तपाईँका आँसु समेत लाई तपाईँको भावको रूपमा लिने गरिन्छ । 

मानिस दुःखी भएको वेला मात्र हैन चरम आनन्दको वेला, ठुलो राहत प्राप्तिको वेला, रिसले चुर भएको वेला वा छक्क पर्दा समेत भावनात्मक आँसु बग्‍ने गर्दछ । भावनात्मक आँसु बहनुको पछाडि निश्चित जैविक, मनोवैज्ञानिक र सामाजिक कारकहरू हुने गर्दछन् । विज्ञानले आँखालाई चिसो राख्ने अर्थात् लुब्रिकेट गर्ने र धुलोबाट सफा राख्न मद्दत गर्ने प्रयोजनमा आउने आँसु लाई बेसल टियर (अर्थात् सामान्य आँसु) भन्‍ने गरेको छ । 

दूषित कण, किरा र केमिकल पदार्थहरूको कारण वाट आँखा पोल्ने, पिरो हुने हुँदा त्यसलाई सफा गर्न निस्कने आँसुलाई रिफ्लक्स टियर (आँखा सफा र निर्मलीकरण गर्ने आँसु) भन्दछ । त्यस्तै भावनात्मक तनाव, आनन्द, क्रोध, पीडा, शोक वा शारीरिक पीडामा आउने आवेगात्मक आँसु लाई विज्ञानले मनोवैज्ञानिक अर्थात साइकिक आँसुको नामकरण दिने गरेको छ ।

जब हामी प्याज काट्दछौँ वा आँखा कुनै किरा, धुलो वा धुवा आदि वाट सङ्क्रमित हुन्छ वा चोट पटक लाग्दछ त्यो वेला समेत आँखामा आँसु बग्ने गर्दछ । सामान्य तथा आँखाको असुरक्षामा बग्ने आँसुको उद्देश्य आँखा सफा गर्ने तथा आँखाको सुरक्षा कायम गर्ने रहेकाले आवेगात्मक रूपमा बहने आँसु भन्दा कम बाक्लो र कम च्याप-च्याप लाग्ने वा टाँसिने प्रकृतिको हुने गर्दछ । 

आँखामा आँसुको तिन तह हुने गर्दछ । चिल्लो पदार्थ, पानी र म्युकस वा र्‍यालमा आधारित भएर आँखाको तिन तहहरू निर्मित भएको भेटिन्छ । आँसु अर्थात् टियर फ्लुइड केमेस्ट्री अनुरूप पानी, म्युसिन, लिपिड, लाइसोजाइम, ल्याक्टोफेरिन, लाइपोकालिन, ल्याक्रिटिन, इम्युनोग्लोबुलिन, ग्लुकोज, यूरिया, सोडियम र पोटासियम आदि जस्ता केमिकलहरू मिलेर बनेको हुन्छ । 

पानी, लवण, यान्टिबडीहरू र लाइसोजाइमहरू (एन्टिब्याक्टेरियल इन्जाइमहरू) मिलेर आँखाको सुरक्षाको खातिर वनेको बनेको आँसुको रासायनिक संरचना भावनात्मक आँसुको भन्दा फरक हुने गर्दछ । भावनात्मक आँसुमा अधिक मात्रामा प्रोल्याक्टिन सहित प्रोटिनमा आधारित हर्मोन  र ल्यूसिन एन्केफेलिन नामक न्यूरोट्रान्समिटर आदि हुने गर्दछ । ल्यूसिन एन्केफेलिन न्यूरोट्रान्समिटर तनावको समयमा दुखाइ कम गर्ने एक एनाल्जेसिक हो । 

भावनात्मक आँसुमा एड्रेनोकोर्टिकोट्रोपिक नामक तनाव हर्मोन समेत उच्च मात्रामा भेटिने गर्दछ । जब मानिस रुन्छ त्यति बेला तनाव हर्मोनहरु फालिनाको कारणले मानिसमा जैविक सन्तुलन आउने र सँगालिएर बस्न सहयोगी हुने मान्यता छ । 

सामान्यको तुलनामा भावनात्मक आँसुहरू अलि बाक्लो र टाँसिने प्रकृतिको रहेकोले व्यक्तिको अनुहारमा लामो समयसम्म रहने र मानिसहरूले त्यसलाई देखिहाल्ने किसिमको हुने गर्दछ । पुरुषहरूमा प्रशस्त भेटिने टेस्टोस्टेरोनले हतपत रुनलाई रोक्ने तर नारीमा प्रसस्त भेटिने प्रोल्याक्टिनले रुने कार्यलाई उक्साउने हुँदा छोरो मान्छेको तुलनामा छोरी मान्छे धेरै रुने गरेको अनुमान गरिन्छ ।

भावनात्मक आँसुको प्रकार बारे आयुर्वेदको आफ्नै तर नितान्त व्यावहारिक वर्गीकरण छ । जसमा एक हो वात (Vata) आँसु । मानिसमा निराशा बढ्दा, शोकले वा उदासीन हुँदा, असुरक्षा महसुस हुँदा, आँखाको मध्य भागबाट आँसु  टप्किने गर्दछ । त्यो आँसु तीतो-टर्रो र तीक्ष्ण हुने गर्दछ । यस्तो आँसु प्राय लामो समय धेरै मात्रामा बहन्छ । 

दोस्रो हो पित्त (Pitta) आँसु । तुलनात्मक रूपमा तातो र नुनिलो हुने यस प्रकारको आँसु आँखाको केन्द्र भागबाट आउने र मध्यम समय सम्म मध्यम मात्रामा बहने गर्दछ । जब मानिस क्रोधित हुन्छ त्यस्तो बेलामा, साथै दुष्मनी, ईर्ष्या र प्रतिस्पर्धा समेतले आँखामा यस्तो आँसु आउने गर्छ । 

तेस्रो प्रकारको आँसु कफ (Kapha) आँसु हो । आफ्नो नजिकको आफन्तको सम्झना हुँदा आउने आँसु, आफ्नो प्यारो परिवार, देश, स्थान, परिवेश, साथीभाइ आदिको मायाले उब्जाउने आँसु प्राय: सबै प्रेम, आनन्द र करुणा भावले पैदा गर्ने गर्दछ । आँखाको छेउछेउको भागबाट गह भरिने गरी उम्रने उक्त आँसु मीठो, शान्त, अलि थोरै मात्रामा हुने र छोटो अवधि बहने गर्दछ ।

वेद र विज्ञान दुवैको निचोड अनुसार हाम्रो शरीर सूक्ष्म रूपमा बिहानको झिसमिसेमा देखिने कुहिरोको बाफ जस्तै एक बादल रुपी संरचना हो । विज्ञानका अनुसार क्वान्टम पार्टिकल र वैदिक भाषामा आकाश, हावा, अग्नि, पानी र पृथ्वी गरी पञ्च तत्त्व निर्मित कुइरोको वाफको रूपमा रहने शरीरका सूक्ष्मतम कणहरू नियमित निश्चित गतिमा चलायमान रहेर कम्पनको रूपमा रहने भएता पनि कुनै निश्चित बिन्दुतर्फ आकर्षित रहेर आफ्नो निश्चित आकारको स्थिर संरचना बनाउने गर्दछ ।  

कुहिरोको बाफको बादल रुपी हरेक संरचनाको सूक्ष्म कणहरू अभौतिक रूपमा कुनै निश्चित बिन्दुमा जोडिएर रहनु लाई विज्ञानले कणहरू बिचको आकर्षण र विकर्षणको सन्तुलित बिन्दु मान्‍ने गर्दछ । उक्त बिन्दु लाई आध्यात्मिक रूपमा जीवन्त शक्तिको मुख्य आधार बिन्दु ठानिन्छ । जसलाई वैदिक अवधारणाले मानिसको आत्मा अर्थात ईश्वरीय तत्त्वको भूमिका रहेको अपरा शक्तिको बिन्दु ठान्दछ ।

वैज्ञानिक अनुसन्धानले भावनात्मक आँसु बहँदा दर्द दिने प्रोल्याक्टिन र एड्रेनोकोर्टिकोट्रोपिक जस्ता हर्मोन वाहिर फालिने हुँदा मन शान्त हुने कुरो पत्ता लगाएको छ । त्यस्तै दुखाइ कम गर्ने ल्यूसिन एन्केफेलिन न्यूरोट्रान्समिटर उत्पादन हुने हुँदा सन्चो महसुस हुने पनि मेसो पाई सकेको छ ।  

भावनात्मक आँसु पैदा हुँदा अक्सिटोसिन र एन्डोर्फिन जस्ता रसायनहरू समेत पैदा हुने  र तिनीहरुले शारीरिक र भावनात्मक पीडा दुवैलाई कम गर्न, मानिस लाई राहत महसुस गराउन, कल्याणको भावना बढाउन मद्दत गर्ने यथार्थ समेत प्रमाणित गर्न सकेको छ ।

आँखाको वरिपरि हुने अश्रु ग्रन्थि आँसुको उत्पत्तिको बिन्दु हो । विज्ञान र वेद दुवै सामाजिक बन्धन र मानव सम्बन्ध भावनात्मक आँसु पैदा गर्न उत्प्रेरित गर्ने विषय रहेकोमा सहमत देखिन्छ । रुने कार्यले तनावको समयमा रगतमा जम्मा हुन पुग्ने विषाक्त पदार्थलाई समेत निकाली मानिसलाई स्वस्थ बनाउने जानकारी विज्ञानसँग भए तापनि भावनात्मक आँसु पैदा गर्न के कुराले मुख्य भूमिका खेलेको हुन्छ भन्‍ने यकिन जानकारी हालसम्म विज्ञानले प्राप्त गर्न सकेको छैन ।

व्यक्तिको आत्माले उसको बुद्धि वा चेतनालाई जनाउने गर्दछ । जसलाई हामी चैतन्य भन्‍ने गर्दछौ । चैतन्य मानिसको इन्द्रिय, मन, प्राण, प्रभाव, इच्छा र प्रवृत्ति निर्मित चिज हो । चैतन्यमा कैद हुने तृष्णा, कामना, अहङ्कार, घमन्ड, लोभ, कामवासना, प्रेम र घृणा आदिले व्यक्तिको आत्मा अपवित्र गरिदिन्छ । 

आत्मा अर्थात् जीवन्त शक्ति वा प्राण खाना पचाउने, रगत प्रवाह गर्ने, दिसा-पिसाब निकाल्ने, विभिन्‍न गति निर्माण गर्ने, श्वासप्रश्वास गराउने आदिको केन्द्रीय भूमिकामा समेत रहने गर्दछ । प्राणको कारणले नै हामीले देख्ने, सुन्‍ने, अनुभव गर्ने, स्वाद लिने र सोच्ने, अनुभूति लिने कुरा सम्भव भएको हुन्छ । पञ्च तत्त्व निर्मित हाम्रो शरीरको गहिरो संसर्गमा रहेर आत्मा बसेको हुन्छ ।

वैदिक मान्यतामा जब हामीले सामान्य भन्दा फरक प्रकृतिको भावनात्मक आवेगको महसुस गर्न पुग्दछौ तब आवेगको हद अनुसार हाम्रो आत्माको कम्पन बढ्न जान्छ । कम्पनका कारण आत्माको पञ्च-तत्त्वसँगको संसर्गमा रहने अभौतिक संसर्ग सामान्य भन्दा फरक रूपमा तरङ्गित हुन पुग्दछ । 

असामान्य तरङ्गको कारण आँखामा भावनात्मक आँसु पैदा हुने गर्दछ । जसले गर्दा स्थिति समेत सामान्य हुन पुग्दछ । पैदा भएको भावनात्मक आँसुले गर्दा मानिस रुन पुग्दछ । मानिसको मन समेत ढक्क हुन पुग्दछ । मृत्यु मानिसको आत्मा र पञ्च-तत्त्वबीचको बिछोडको अवस्था रहेकोले मृत्युको समयमा समेत र परिचितको मृत्युको खबरले समेत मानिस प्राय: आँसुमा डुब्‍ने गर्दछ ।   
(लेखक घिमिरे खाद्य तथा औषधि विज्ञ हुन् ।)


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x