विचार

सम्मुनत नेपाल

युक्रेन, नेपाल र स्वतन्त्र अस्तित्व

डा. उपेन्द्र गौतम |
चैत १३, २०७८ ८:२४ बजे

युक्रेनमा आउन सक्ने संकटलाई समाधान गर्नुपर्छ भनेर अघिदेखि नै संयुक्त राज्य अमेरिकाको केही प्राज्ञिक–कूटनीतिज्ञहरू लागि रहेकै हुन् । यी प्राज्ञिक कूटनीतिज्ञहरूको एउटा प्रतिनिधि आवाज डा. हेनरी किसिन्जरले प्रतिध्वनित गरेका छन् । यो प्रतिनिधि आवाज अनुसार युक्रेन बारेमा सबै कुरा ‘जुध्ने’मै केन्दित भएका छन् । डा. किसिन्जर सन् २०१४ मा भन्छन्, ‘मैले मेरो जीवनमा ठूलो उत्साह र सार्वजनिक समर्थन सहित थालिएका चारओटा युद्धहरू देखेको छु । यी सबै युद्धमा यिनलाई कसरी सक्ने भन्नेबारे हामीलाई थाहा भएन । चार युद्धहरूमध्ये तीनमा त हामीहरू एकतर्फ रूपमा फर्कियौं ।’ अफगानिस्तान युद्धबाट पनि सन् २०२१ मा अमेरिका एकतर्फीरूपमै फर्केको थियो । 

धेरैजसो युक्रेनले व्यवहोर्नु परेको समस्यालाई यो देश पूर्वतिर लाग्ने कि पश्चिमतिर भनेर चित्रण गरिन्छ । यसले ‘समस्या’लाई तल को र माथि को पर्ने भने जसरी जुध्ने किसिमले नै प्रस्तुत गर्छ । यही प्रतिनिधि आवाजको अर्को पात्रको रूपमा जर्ज केनन छन् । यिनले सन् १९९७ मा ‘फेटफुल एरर’ शीर्षक राखिएको विश्लेषणात्मक लेखमा सैन्य गठबन्धन नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो–उत्तर आन्ध्र महासागर सन्धि संगठन) लाई पूर्वतिर विस्तार गरिनु भनेको अमेरिकाली नीतिले सम्पूर्ण शीतयुद्ध कालपछि सबभन्दा ठूलो नियतिकारी गल्ती गरेको हुने निचोड झिकेका थिए । यस्ता प्रतिनिधि आवाज गुन्जिँदा पनि युक्रेन युरोपमा रसियासँग युद्धमा सबभन्दा अघि परेको देश देखिन पुगेको छ । यस्तो उदाहरणबाट नेपालले पनि युक्रेन–रसियामा अमेरिका जसरी नै नियतिकारी भइरहने या नेपालका आफ्ना मूल्य, मान्यता, ऐतिहासिक र आजको धरातलीय यथार्थ र राष्ट्रहितका आकांक्षाको आधारमा दूरदर्शितापूर्ण किसिमले नेपालले मेहनत गर्दै अन्वेषणात्मक हुँदै जाने हो भन्ने प्रश्न उठ्छ नै । इतिहास र आजको धरातलीय यथार्थ बीचको अन्तक्रिया देशको भविष्यलाई स्वरूप दिन्छ । भविष्य निरपेक्ष आउँदैन नै । 


के कारणले रसिया र युक्रेन आज यस्तो द्वन्द्वको अवस्थामा पुगे ? विश्व युद्धहरूपछि शीतयुद्ध सकिँदा अमेरिका एक मात्र विश्व महाशक्ति भएको  स्थिति आयो । तर प्रजातन्त्र र मानव अधिकार जस्ता आफ्नो प्रणाली– पक्षीय आदर्श र दर्शनका कुरा चर्को गरे जसरी यथार्थमा युद्ध र द्वन्द्वबाट नतिजा नआउने रहेछन् । यसो भन्दा अमेरिका एकदमै एकलकाँटे छ भनेर एकोहोरो सोच्नु पनि गल्ती हुन्छ । अमेरिकाले कैयौं देशहरूमा तानाशाहीसँग पनि रमेर सह–अस्तित्व गरेकै छ । कलिला देशहरू बढी आदर्शवादी भएकाले अमेरिकाले त्यहाँ पाइने कम विवेकपूर्ण, देखासिकी गर्ने तर बढी स्वप्नशील प्रजातन्त्रलाई विश्वमा आफ्नो केन्द्रीय शक्ति स्वार्थलाई सर्वोपरि राखेर पर्गेल्छ नै । विश्व महाशक्ति अमेरिकाको सर्वोपरि केन्द्रीय स्वार्थ सारमा सामरिकभन्दा बढी प्रजातान्त्रिक हुने कुरा भएन पनि ।    

नेपालले युक्रेन–रसियाको यो सबैभन्दा पछिलो युद्धबाट सर्वकालीनरूपमा नै आफ्नो न्यायोचित अठोट, आफ्नो जनताको विवेकशील मतलाई विकसित गर्दै र स्व–सामथ्र्यमा भर परेर नै हितकारी पाठ सिक्ने हो भने पुर्खाले गौरवपूर्ण र बुद्धि पुर्याएर अर्जेको यस फूलबारीलाई विनाशशील  क्षय र खतिबाट जोगाउन सक्छ । यस निम्ति तलका लक्ष्मण रेखाहरूलाई नेपाल निम्ति, हामी सबै नेपालीहरू निम्ति कोर्न र यिनको सर्वथा अनुलंघनीयतालाई एकताबद्ध भई ईखपूर्वक रक्षा गर्नु नेपाल निम्ति आनिवार्य हुन्छ ।  

लक्ष्मण–रेखा 
नेपालमा बन्ने कुनै पनि सरकार (आवधिक आम चुनाव वा कुनै असाधारण अवस्थामा बन्ने सरकार ) नेपाली  नागरिकको सूचित मत र समर्थनमा मात्र बन्नु पर्छ ।  यस्तो सरकार कुनै एक देश वा विचारधाराको धापमा, पक्षपोषण वा संलग्नतामा बन्नु हुदैन ।  यसो हुनु भनेको नेपालमा सरकार बन्नु वा भत्कनु भन्ने कार्य विदेशीका लागि हुनु हो, नेपाल देश र नेपाली जनताका लागि हैन।  यस्तो हुनु भनेको देश विदेशीका लागि खेल्ने ठाउँ हुनु हो, जसबाट पिडा र विनाशमा पर्ने यो देश र यहाँका जनता मात्र हुन् ।  युक्रेनमा अघिल्लो र यो पछिल्लो सरकार यस्तै यो वा त्यो देश वा विचारधारा को धापमा पक्षपोषण वा संलग्नतामा बनेको छापबाट युक्रेन र रसिया यस्तो नचाहिदो युद्धको चक्रब्यूहमा पर्नुपर्‍यो ।  

२. कुनै एक देशमा कुनै यो वा त्यो देश वा विचारधाराको धापमा पक्षपोषण वा संलग्नतामा सरकार बन्नु भनेको त्यस देशको आन्तरिक गृह सत्तामा, राजनीतिमा विदेशको हस्तक्षेप छिरी सक्नु हो । यस्तो भएपछि यस्ता देशको परराष्ट्र सम्बन्ध र रक्षा नीति क्रमशः खिइदै क्षतिग्रस्तभई यिनले आफ्नो विश्वसनीयता र सम्मान गुमाउदै जान्छन् ।  बढ्ने र हुर्कने विदेशी प्रभावमा देशको आन्तरिक सत्ता राजनीति बस्न पुग्छ ।  यसर्थ गृह, परराष्ट्र , रक्षा , आर्थिक र प्राविधिक क्षेत्रहरूलाई परस्परको शक्ति सन्तुलन र नियन्त्रण, सहयोग, जवाफदेहिता  र कामको विश्वसनीयताको आधारमा उत्तिकै स्वायत्तत्ता , स्वस्थ, सक्षम र अभेद्य राख्ने नेतृत्व र कार्य–प्रणाली आफ्नै अन्तरिक र नियमित सार्वजनिक प्रशासनका  मूल्य– मान्यताका आधारमा सदैब गतिशील हुनु आवश्यक छ ।  

आजको रसिया–युक्रेनविचको स्थिति नेपालमा पनि आउन नसक्ने हैन ।  झन् अजङ्गका छिमेकी देशहरूविच सानो देखिएको नेपाल र विश्वमा  नयाँ शीत  युद्धले एउटा स्वरूप अख्तियार नगरिसकेको अवस्थामा यस्तो जोखिम अड्कल भन्दा बढी वास्तविकता हुन सक्छ । इन्डिया र चीनले नेपालसंग कस्तो व्यवहार गर्दछन त्यसप्रति बढी लख काट्ने भन्दा नेपालले उनीहरूसँग कसरी अठोटपूर्वक संगतिपूर्ण व्यवहार गर्छ त्यसमा केन्द्रित भएर अघि बढ्दानै नेपालको हित बढी साध्य हुने देखिन्छ ।  तर के चाहिँ स्पष्ट छ भने भारतबाट अरुसँगै गणतन्त्र भारत निस्के पछिको नेपालसंग भएका भारतीय व्यवहार मूलत व्रिटिश औपनिवेशिकताबाट ग्रस्त रहे ।  चीनको कुरा गर्दा चीनलाई दक्षिण एशियाको अष्टवक्र राजनीति बुझ्नै धेरै समय लागेको बुझिन्छ ।

पछिसम्म पाकिस्तानको हकमा बाहेक चीनको दक्षिण एशियासँगको अन्तर्राष्ट्रिय सम्बन्ध भारत–केन्द्रित थियो।  यही अभिमुखीकरण अनुसार चीनमा दक्षिण एशिया बारे अध्ययन अनुसन्धान हुन्थ्यो ।  पछि तङ शिआओपिङ्ग कालमा चीनको आधुनिकरण हुँदै गए पछि दक्षिण एशियामा देश– केन्द्रित अध्ययन अनुसन्धान पनि चीनमा हुन थालेका हुन् ।  तर यस्ता अध्ययन अनुसन्धान यी देशहरूमा भई रहेका व्यवहार भन्दा धेरै बढी आफ्ना स्थापित नीति प्रति अभिमुख रहे । युक्रेन र रसिया बीचको युद्धको अवस्थाले चीन र गणतन्त्र भारतलाई समेत नेपाल जस्ता राष्ट्रको सन्दर्भमा चीनले युक्रेनको प्रसङ्गमा संकट समाधान गर्न सारेको  ५ बुंदे विषय अनुकुल हुन सक्छ ।  यसमा संकट समाधानको निम्ति रहेको एउटा बुंदा ‘साझा, बृहद, दिगो सुरक्षा निम्ति सहयोग” रहेको छ । यस्तो सहयोगको ढांचानै भू–राजनीतिक रहेका द्वन्द्व र युद्धलाई रोक्न प्रभावकारी हुन सक्छ । 

क्षेत्रीय सुरक्षा र शान्तिको निम्ति कुनै पनि सहयोगको ढाँचा, नेपाल जस्तो देशको राष्ट्रिय हितको दृष्टिकोणले हेर्दा, बढी मात्रामा नेपालकै औचित्यपूर्ण व्यवहारमा भर पर्ने हुन्छ । नेपालमा गएका धेरै वर्ष देखि चलेको व्यवहार हेर्दा राज्यमा परराष्ट्र सम्बन्ध र नीति दलीय मात्र नभएर गुटगत हुँदै गएका छन् । यसको अर्थ राज्यका परराष्ट्र सम्बन्ध र नीतिलाई छानीछानी दलीय, गुटगत स्वर्थमा उपयोग गर्न थालिएकोले गृह–सत्ता राजनीति तत्तत् समयमा छानिएको परराष्ट्र सम्बन्ध र नीतिको औजार हुन थालेको छ । यसो हुँदा राष्ट्रहित निम्ति परराष्ट्र सम्बन्ध र नीतिहरू प्रवर्द्धक होइन, एउटा छानिएको परराष्ट्र सम्बन्ध र त्यस निम्ति छानिएको नीतिको अधिनमा देशको राष्ट्रिय हित वन्दी हुन सक्ने अवस्थामा पुगेको छ ।  

देशमा आउन सक्ने राजनीतिक परिदृष्यहरू र छरछिमेकमा खुर्किइन लागेको अन्तर्राष्ट्रिय सम्बन्धको बान्कीलाई सघनरूपमा विश्लेषण गरिरहेका राजा वीरेन्द्रले आफ्नो राज्याभिषेकको बेला २०३१ सालमा नेपाललाई 'शान्ति क्षेत्र’ घोषणा गर्न राखेको प्रस्ताव आलंकारिक थिएन । यस प्रस्तावलाई संयुक्त राज्य अमेरिका, जनवादी गणतन्त्र चीन लगायत विश्वमा ११६ राष्ट्रहरूले समर्थन गरे पनि । अहिले युक्रेनको संकटको सन्दर्भमा चीनले राखेको ५ बूँदे विषयगत प्रस्तावमा रहेको ‘साझा, दिगो र वृहद सुरक्षा सहयोग निम्ति’ रहेको बूंदा नेपालले २०३१ सालमै राखेको शान्ति क्षेत्रको प्रस्तावसंग संगतिपूर्ण देखिन्छ ।

दुवै नेपालको शान्ति क्षेत्रको प्रस्ताव र चीनको युक्रेनको संकट समाधान निम्ति आएको ‘साझा, दिगो र वृहत सुरक्षा सहयोग’को सूत्र संयुत्त राष्ट्र संघको विश्वमा शान्ति र सुरक्षा सधै कायम राख्न स्थापीत गरेका मानकहरूलाईनै व्यवहारिकरूपमा प्रवद्र्धन गर्छन् । संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले समर्थन गर्नु र मान्नु पर्ने मानक पनि यिनै हुन जसले राष्ट्रहरू बिचको सार्वभौम समानता र हरेक द्वन्द्वको शान्तिपूर्ण समाधान लाई सर्वोपरी राख्छ ।

नेपाल बहुदलीय व्यवस्थाको पुर्नस्थापना कालमा आफ्नो स्वतन्त्र अस्तित्व र विश्वबारे बढी प्रतिक्रियात्मक रहेको देखिन्छ । यस्तो प्रतिक्रियावादी प्रवृत्तिबाट नेपालले आफ्नो, छरछिमेक र विश्वको हित गर्न सक्दैन । नेपाल आफ्नो शान्तिपूर्ण स्वतन्त्र अस्तित्व निम्ति पद्घतिपूर्ण र सधै स्व–सामर्थमा भर परेर अघि बढी रहनुनै यसले आफ्नो कलिलो स्थितिलाई अभेद्य सुरक्षाकवच प्रदान गर्नु हो ।

प्रतिक्रियाका लागि: [email protected]

*समुन्नत नेपाल गुठी एउटा सार्वजनिक गुठी हो । यस गुठीले क) राष्ट्रिय एकता, सुरक्षा र आत्मनिर्भरता ख) सदाचार स्थापना र भ्रष्टाचार नियन्त्रण ग) साँस्कृतिक तथा प्राकृतिक विविधताको संरक्षण घ) परराष्ट्र सम्बन्ध का क्षेत्रमा अनुसन्धात्मक र विश्लेषण, नीति-निर्माण र कार्यान्वयनमा सहयोग र सल्लाह तथा पैरवी, जागरण र उत्प्रेरणा जस्ता कार्य गर्दछ 

यो पनि 

धनी बन्न चाहनुहुन्छ ? निर्वाचन आयोगमा 'कम्पनी' दर्ता गर्नुस्

नेपालको ‘परराष्ट्र नीति’ले किन राष्ट्रहित गर्दैन ?

संविधानमा रहेका आयोगहरूको उपयोग र औचित्य



Author

थप समाचार
ad
x