विचार

गिरिजा स्मृति दिवस

उहाँले देश हाँक्नुभयो, मैले उहाँको गाडी हाँकेँ

उहाँले ‘म त अब, प्राइभेट भएँ’ भनेको अझै कानमा गुञ्‍जिन्छ

विष्णुप्रसाद लामिछाने |
चैत ७, २०७७ शनिबार १४:५२ बजे

चिनियाँ प्रधानमन्त्री झु रोङ्जीको भ्रमण तय भइसकेको थियो । तर उहाँलाई कुन गाडीमा ल्याउने भन्‍ने छलफल लामै हुन थाल्यो । त्यो प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले थाहा पाउनु भएछ । अनि उहाँले भन्नुभयो, ‘झुलाई मैले चढेको गाडी दिनू, मलाई अर्को सामान्य गाडीको व्यवस्था गर्नू ।’

उहाँले मलाई भन्नुभयो, ‘ल विष्णु, यही गाडीमा झुलाई ल्याउनू । पाहुनालाई राम्रो गाडी दिनुपर्छ, अरु बेलामा म चढेकै छु ।’ अनि अर्को गाडी ठूलो खर्चमा किन खरिद गर्ने र ? यसरी मिलाएर मुलुक चलाउनुपर्छ, उहाँ भन्नुहुन्थ्यो । उहाँले २०५८ वैशाखको अन्त्यतिर सुनाउनुभएको कुरा अझै गुन्जिरहन्छ ।


उहाँले त्यो समयमा मात्र होइन, पटक-पटक यसरी आफ्ना समकक्षी र माथिल्लो स्तरका पाहुनालाई आफ्नो गाडी उपयोग गर्न लगाएर आफू उस्तै देखिने तर साधारण गाडीमा सहभागी हुने गर्नुहुन्थ्यो । यो त उहाँको एउटा मात्र उदाहरण हो । यस्ता धेरै कुरा छन् ।

उच्चस्तरीय भ्रमण हुँदा गाडीको व्यवस्थापन चानचुने हुँदैन । विगतमा ‘बुलेटप्रुफ’ गाडीको अभाव पनि थियो । एउटा दरबारमा थियो, एउटा सभामुख र अर्को प्रधानमन्त्रीले मात्र उपयोग गर्थे । अन्य गाडी हेर्दा ‘बुलेटप्रुफ’ जस्ता देखिए पनि वास्तविक रुपमा ‘बुलेटप्रुफ’ थिएनन् ।

गिरिजाबाबु दोस्रो पटक २०५६ चैतमा प्रधानमन्त्री भएपछि मैले उहाँको गाडी चलाउने अवसर पाएको हुँ । त्यसपछि लगातार उहाँ प्रधनमन्त्री हुँदा मैले उहाँको गाडी हाँकेँ । उहाँले आफ्नो निजी प्रयोजनमा मलाई कहिल्यै उपयोग गर्नुभएन । उहाँ प्रधानमन्त्रीबाट बिदा भएकै दिन मलाई भन्नुभयो, ‘ल विष्णु अब तिमी परराष्ट्रमै जाऊँ । म अब सरकारी व्यक्ति होइन । अघिसम्म म जनताको र सरकारको दुवै जिम्मेवारीमा थिएँ । अब म जनताको मात्र ।’

उहाँले एक पटक मैले दुई दिन बढी सवारी चलाएपछि सम्झाउँदै त्यसो भन्नु भएको स्मरण गर्छु । उहाँ २०५८ साउन ४ मा प्रधानमन्त्रीबाट विदा हुनुभएको थियो ।गिरिजाबाबुको निमन्त्रणामा नेपाल भ्रमणमा आउनुभएका झु रोङजीलाई राजा वीरेन्द्रसँग भेट गराउन दरबारमा लगेको थिएँ । त्यसपछि प्रधानमन्त्री कोइरालालाई पनि राजासँग भेट्न अर्को दिन दरबार लगेको थिएँ । सायद भ्रमणको ब्रिफिङ होला ।

भेटघाटको १९ दिनपछि दरबारमा अत्यासलाग्दो घटना भयो । जसलाई हामीले जेठ १९ को दरबार हत्याकाण्ड भनेर चिन्छौँ । सायद राजा वीरेन्द्रसँग गिरिजाबाबुको पछिल्लो लामो भेट त्यही थियो । त्यति बेलैदेखि गिरिजाबाबु हल्का बिरामी हुन थाल्नुभएको थियो । दरबार हत्याकाण्डको केही समयपछि अर्थात् साउन ४ मा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो ।

त्यतिबेला बहालवाला प्रधानमन्त्रीले हुनेवाला प्रधानमन्त्रीलाई चिनाउने प्रचलन थियो । अनि गरिजाबाबु भन्नुहुन्थ्यो, ‘बेलायतमा प्रधानमन्त्री हुँदा भव्य स्वागत हुन्छ, अनि फर्कदा पछाडिको ढोकाबाट निस्कने चलन छ । हामीकहाँ त लगेर चिनाउने प्रचलन छ, राम्रो हो नि ।’

त्यतिबेला ज्ञानेन्द्र राजा भइसक्नु भएको थियो । उहाँलाई चिनाउन दरबार पुनः प्रवेश भएको थियो । राजाको स्थानमा अर्को राजा त थिए, तर भित्र पुग्दा कस्तो कस्तो लाग्दै थियो । अनि म दरबार हत्याकाण्ड हुनुअघि पुगेको दरबार र पछि गएको दरबार सम्झन्थेँ । बेलुका घरमा आएर त्यसै घोत्लिएर बस्थेँ । गिरिजाबाबु पनि देउवालाई चिनाएर सत्ता हस्तान्तरण गरेपछि बोल्दै नबोली घर पुग्नुभएको सायद त्यही दिन थियो होला । अन्य समय बोल्नुहुन्थ्यो ।

०००
गिरिजाबाबुले अमेरिका भ्रमणमा जानुअघि एक सातादेखि लगातार १५/१६ पटक उहाँले मलाई सोध्नुभयो, ‘विष्णु तिमीलाई अमेरिकाबाट के ल्याइदिऊँ ?’ तर मैले उत्तर नदिएपछि उहाँ अलि झर्के झैँ गरी विदेश जाने दिन भन्नुभयो, ‘म लगातार सोध्दैछु, तिमी किन पर्दैन–पर्दैन मात्र भन्छौ ?’ मैले अनायासै भनेछु, ‘हजुर, त्यो जुमवाला क्यामेरा ।’

उहाँले खुसी हुँदै भन्नुभयो, ‘बल्ल विष्णुले आफूलाई चाहिने कुरा माग्यो । ल, म राम्रो ल्याइदिन्छु ।’ उहाँले ल्याइदिनुभएको त्यो क्यामेराले उहाँसँगै उभिएको तस्बिर पनि खिचेको छु । जुन तस्बिर मेरो घरको भित्तामा छ । उहाँले २०६३ सालमा प्रधानमन्त्री भएपछि उपचारका लागि सिंगापुर जाँदा मलाई सोध्दै नसोधी घडी ल्याइदिनु भएको थियो । 

उहाँ आफन्त, साथी-भाइ, घरमा काम गर्ने र हामी सरकारी जागिरे सबैको उत्तिकै ख्याल गर्नुहुन्थ्यो । खाए/नखाएको याद गर्ने र नखाएको थाहा पाउँदा आफ्नै अघिल्तिर राखेर खाना खुवाउनु हुन्थ्यो ।

०००
माओवादीसँग गिरिजाबाबुको शान्ति–वार्ता
माओवादी शान्ति वार्तामा आए । त्यो सामान्य मेहनत थिएन, उहाँको । उहाँबाहेक अन्यले त्यो तहको जोखिम लिएर काम गर्न सक्दैन थिए । तर, मुलुकले उहाँलाई बिर्सदै गएको र त्यो उहाँको योगदानलाई कदर नगरेको हो कि झैँ पो लाग्दै छ ।

उहाँको जोडबलमा धेरै कुरा भए । ०६२/६३ को आन्दोलनदेखि संसद् पुनःस्थापनासम्म गिरिजाबाबुकै योगदान छ । खोलामा धेरै पानी बगे । संसद् पुनःस्थापना भयो । र, गिरिजाबाबु प्रधानमन्त्री भएर आउनुभयो । म फेरि पनि उहाँको चालक ।

मैले उहाँबाहेक अन्य प्रधानमन्त्रीहरूको पनि गाडी चलाए । उहाँहरूसँग पनि कैँयन् स्मरण छन् । तर गिरिजाबाबु र सूर्यबहादुर थापासँगको स्मरण मलाई अझैँ विशेष लाग्छ । अनि माधवकुमार नेपाल र झलनाथ खनालहरुसँग पनि मेरो अनुभव छ । शेरबहादुर देउवाको छोटो समय, डा. बाबुराम भट्टराईलाई एक ट्रिप मात्र चलाएको पनि छु । लोकेन्द्रबहादुर चन्दको पनि चालक रहेँ ।

सबैको फरक-फरक विशेषता हुन्छ । तर, गिरिजाबाबुको विशेषता निकै फरक थियो । कतै जाँदा खाना नखाएको थाहा पाउनुभयो भने केहीबेर कसैसँग गफ अलमलिएर भए पनि खाना खानु भन्नुहुन्थ्यो । व्यक्तिगत रुपमा कसलाई के मन पर्छ समेत जानकारी राख्‍ने र त्यो अनुरुपको खाना आफैँ भन्दिने समेत गर्नुहुन्थ्यो । ‘कार्गेट’ हिडिसकेपछि पानी पर्‍यो भने गाडी रोक्न भन्नुहुन्थ्यो । अघिल्तिर मोटरसाइकलमा हिँड्ने ट्राफिक प्रहरीलाई ओत लाग्‍न भन्‍नु भन्दै आफू यसै जाने भनी कर गर्नुहुन्थ्यो ।

००० 
रिसाएझैँ लाग्दा पनि दंग
गाली खाँदा पनि आनन्द आउँथ्यो । एक दिन मैले उहाँको निजी चालक रामलाई जिम्मा लगाएर आफू बाहिर गएको थिए । अनि फर्केपछि मलाई सोध्दै भन्नुभयो, ‘तिमीलाई सञ्चो भएन हो ?’ होइन, म केही दिन सानो काममा गएको थिएँ । अनि उहाँ हल्का रिसाएझैँ लाग्यो । तर उहाँले राखेको जिज्ञासाले म खुसी पनि भएँ । किनकि म नहुँदा उहाँले खोज्नु हुँदो रहेछ भन्ने ठानेँ ।

एक पटक उहाँ प्रधानमन्त्रीबाट बिदा भएपछि रामले कोठा खोज्न गएपछि म दुई दिनसम्म उहाँको गाडी हाँक्न भनी त्यहीँ बसे । यद्यपि उहाँ त्यो दुई दिन कतै जानु भएन । तर, मलाई देखेर गिरिजाबाबुले बोलाएर भन्नुभयो, ‘म अब प्रधानमन्त्री होइन । तिमी अझै यतै पो छौ । मैले सरकारी गाडी छोडिसकेँ । तिमी सरकारी गाडी चलाउन जाऊ, केही परेमा म व्यवस्था गरौंला । राम पनि आउला नि । सरकारको मानिसले निजी गाडी चलाउन हुँदैन ।’ उहाँले म त अब, प्राइभेट भएँ भनेको अझै कानमा गुञ्‍जिन्छ ।

उहाँले त्यतिमात्र होइन कहिलेकाहीँ बाटोमा जाँदाजाँदै के मन लाग्छ भनी सोध्दै सामग्री किनिदिएको याद छ । अनि कतै बच्चाहरु बाटोमा खेलेको वा असहजतामा परेको देखेमा सहयोग गरिहाल्ने । त्यसका लागि उहाँले गोकर्ण पौडेल, महेन्द्र मरासिनी लगायतलाई सिधा सहयोग गर्नु भन्नुहुन्थ्यो ।

उहाँलाई कतिपयले नपढ्ने नेताको चित्रण गरेको सुन्दा अचम्मित हुन्छु । उहाँ सधैँ रेडियोमा समाचार सुन्ने र पत्रपत्रिका निकै पढ्ने गर्नुहुन्थ्यो । बिहान सबैरै उठ्ने बानी थियो । अनि नपढेको झैँ गरेर अरुको धारणा पनि लिनुहुन्थ्यो । गाडीमा बस्दा पनि पढ्ने नै हो । कुनै निर्णय लिनुअघि धेरै जनाको कुरा सुन्नुहुन्थ्यो । 

कतिपय असहजता आउँदा केही खास–खास व्यक्तिकहाँ जाने र ज्ञान लिने वा त्यसमा छलफल गर्ने बानी असाध्यै राम्रो थियो । कुनै विशेष घोषणा गर्न परे विष्णु म त विराटनगर जान लागेको छु पनि भन्नुहुन्थ्यो । अनि हामी अनुमान लगाइहाल्थ्यौँ, ‘जब उहाँ अचानक विराटनगर जान लाग्नुभयो भनेपछि केही हुन लाग्यो, केही भन्न लाग्नुभयो झैँ लाग्थ्यो ।’ हामी अन्य सहयोगीहरू एक अर्कामा गफिन्थ्यौँ ।

००० 
खुसीको क्षण
युरोपेली प्रधानमन्त्री नेपाल भ्रमणमा आउनुभएको थियो । राति म उहाँलाई लिन गिरिजाप्रसाद कोइरालाकै गाडी लिएर पुगेको थिएँ । द्वारिका होटलमा उहाँ बस्ने तय थियो । त्यसका लागि मैले उहाँलाई लिएर आएँ । उहाँसँगै त्यो मुलुकको राजदूत पनि बस्नुभएको थियो । द्वारिका अगाडि राममन्दिर जानेतिर फोहोरको डंगुर थियो ।

अनि त्यो फोहोर यहाँको फोहोरी राजनीतिले नउठेको सुनाउँदै थिए । म परराष्ट्रमा चालक रहेर पनि अंग्रेजी राम्रोसँग बोल्न त सक्दिनँ, तर अधिक कुरा बुझ्छु । मैले त्यो बुझिहालेँ । बिहान बाटोमा त्यो फोहोर देखियो भने बर्बाद हुन्छ भन्ने लाग्यो ।

मुलुकको इज्जत बचाउन त्यो हिँडाउने रुटमा रहेका फोहोरका डंगुर अन्यत्र सार्न वा फाल्नुपर्छ भन्दै गोकर्ण पौडेल सरलाई भनेँ, राति साढे दश बजेतिर । त्यो सुनेपछि उहाँलाई पनि लागेछ र अनि रातारात सबै फोहोर हटाएर त्यहाँ चुन छर्केको आफू बिहान होटल पुग्दा देखे। यसरी आफूले भनेको कुरा सुनुवाइ भएर मुलुकको इज्जत छोप्‍नुपरेको थियो ।

हामी ड्युटी सकिएपछि गाडी लगेर परराष्ट्र मन्त्रालयमा राख्छौँ या पाहुना बस्ने स्थानमा राख्छौँ । त्यसपछि आफ्नो साधन भए आफ्नै नभए सार्वजनिक यातायातमा घर जाने हो । बिहानै हाजिर हुने हो । 

मैले २०४३ भदौ २२ देखि परराष्ट्रमा गाडी हाँक्न थालेको हुँ । त्यतिबेला प्रधानमन्त्री मरीचमानसिंह प्रधानमन्त्री हुनुहुन्थ्यो भने शैलेन्द्रकुमार उपाध्याय परराष्ट्रमन्त्री । 
मलाई बेनिबहादुर कार्की र कृष्णप्रसाद भट्टराईलाई एउटै गाडीमा लिएर हिँड्दाको रमाइला अनुभूति पनि स्मरणीय छ । यसरी सबैजसो ठूला व्यक्तिहरुलाई गाडीमा राखेर चलाएँ । कतिपय कुरा मरेर जाँदा आफैँसँग लैजानुपर्ने हुन्छ । 

मुलुकले गिरिजाबाबु जस्तै राजनेताको खोजी गरेको छ । गिरिजाबाबु कहिलेकाहीँ अलमलमा पर्नुभयो होला, तर उहाँ जस्तो दूरदर्शी नेता कमै हुन्छन् । उहाँ मुलुकको कार्यवाहक राष्ट्रप्रमुख त हुनुभयो तर उहाँ मुलुकको राष्ट्रपति हुनुपर्ने व्यक्तित्व हो । उहाँलाई त्यो स्थानमा पुर्‍याएको भए मुलुकको यो अवस्था पक्कै आउने थिएन । म यति भन्‍न सक्छु, जसलाई जे भन्‍न नि छूट छ त्यसैले कतिपयले गाली गरे होलान्, तर उहाँ नेपालको राजनेता हो । उहाँलाई श्रद्धाञ्जली दिऔँ र त्यस्तै नेतृत्वको कामना गरौँ ।

(गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहँदा लामो समय गाडी हाँकेका सरकारी चालक लामिछानेसँग इकागजका चन्द्रशेखर अधिकारीले गरेको कुराकानीमा आधारित) 

यो पनि

३१ तस्बिरमा गिरिजा

गिरिजाप्रसादको गाथा कहँदा...

लाउडा काण्ड छानबिनको नेपथ्य

राजनीति गर्दागर्दै जिल्लैमा पनि आइतबारदेखि शुक्रबार हराइदिने उहाँ

गिरिजाबाबुका अनौठा आनीबानी

 


Author

थप समाचार
x