विचार

प्यारा-सिटामोल ५०० एमजी वा ६५० एमजी ?

नारायण घिमिरे |
चैत १८, २०७८ ८:१७ बजे

प्यारा–सिटामोललाई एसिटामिनोफेन भन्ने गरिन्छ । विदेशमा टाइलेनोल, मेप्याप वा पानाडोल नामले समेत यसलाई चिनिन्छ । हल्कादेखि मध्यम दुखाइ र ज्वरोका लागि व्यापक प्रयोगमा आएको प्यारा सिटामोल किन्नका लागि डाक्टरको प्रिस्क्रिप्सन नचाहिने ओभर द काउन्टर एनाल्जेसिक (अन्य अनुभूति नरोक्ने गरी दर्दको अनुभूति मात्र रोक्ने) र एन्टिपाइरेटिक (ज्वरो रोक्ने वा घटाउने) औषधि हो । जसलाई कम डोजमा हानिरहित रहेको ठानिन्छ । 

प्रत्यक्ष कलेजोमा हानि गर्ने हेपाटोटोक्सिक दुर्गुण हुने भेटिएकाले कलेजोमा चोटपटक र अन्य समस्या हुने मानिसमा ओभर डोजमा प्यारा–सिटामोल लिँदा कलेजोको विफलताबाट मृत्युसमेत हुन सक्ने जोखिम रहन्छ । हानिरहित भनिएको भए तापनि चिकित्सकले सिफारिस गरेकै डोजमा रहेर अलिकति कै भयो कि एसिटामिनोफेन खाइहाल्नेहरूमा फोक्सोमा हुने रगतको सामान्य प्रवाहमा गतिरोध आई कलेजोमा घाउ हुने र बिग्रने समस्या पैदा गर्ने गरेको भेटिन्छ ।


एसिटामिनोफेनले हाम्रो शरीरमा कसरी ज्वरो रोक्ने वा घटाउने र दर्दनाशक भूमिका निभाउन सकेको होला भनेर हालसम्म वास्तविक वैज्ञानिक कारणहरू यकिनका साथ प्रमाणित रूपमा बाहिर आउन सकेको छैन । आजसम्म हामीले बुझेको के हो भने प्यारा एमिनो फिनोलबाट बन्ने एसिटामिनोफेनले नाइट्रिक अक्साइडको (ल्इ) कार्य गर्ने मार्गलाई अवरोध गरी दुखाइको महसुस हुने थ्रेसहोल्डको हद उच्च पारिदिन्छ । ताकि हामीले उक्त दर्दको महसुस गर्ने नसकौँ ।

जब तपाईं तपाईंको औलाले तपाईंको हातको पाखुरामा थिच्नुहुन्छ, कुनै बिन्दुसम्म तपाईंलाई मात्र छोएको थिचेको अनुभव हुन्छ । चुम्बन, आलिङ्गन र मसाज जस्ता कतिपय त्यस्ता दबाबयुक्त स्पर्श अत्यन्त आनन्ददायक हुने गर्दछन् । तर पनि एकै प्रकृतिको दबाबको हदमा गरिएको अलि छिटो गतिको वा नियमित लामो समयको रगडाइमा होस् वा धेरै दबाब पैदा भएर सृजना हुन पुगेको असहजताको अनुभूति भने दर्द–पूर्ण बनिदिन्छ । 

यसरी एउटा निश्चित बिन्दुमा हरेक बाहिरी वा आन्तरिक दबाब तपाईंको शरीरको स्नायु प्रणालीका लागि दर्द महसुस सुरु गरिदिने विन्दु बनिदिन्छ । त्यो विन्दु जहाँबाट तपाईंलाई दर्दको महसुस हुन सुरु हुन्छ त्यो बिन्दु नै तपाईंले दुखेको अनुभव गर्न थाल्ने कट अफ पइन्ट हो । त्यो बिन्दु काटेपछिको अवस्थामा तपाईंले दर्दको महसुस गर्न थाल्नुहुन्छ । त्यो बिन्दुबाट माथि जति धेरै तीव्र रगडाइ वा घोचाइको अनुभूति हुन्छ हाम्रो स्नायु प्रणालीले त्यति अधिक हदको दर्द हुँदै गरेको सन्देश हाइपोथ्यालेमसमा रिपोर्टिङ गर्ने गर्दछ । जसले गर्दा हामीलाई त्यति धेरै दर्दको महसुस हुन पुग्दछ ।

हाम्रो मस्तिष्कको हाइपोथ्यालेमस भनिने भागले हाम्रो भित्री शरीरको आन्तरिक तापक्रमको नियन्त्रण गर्ने ठेक्का लिने गर्छ । हाम्रो आफ्नै जेनेटिक कोडले निर्धारण गर्ने ठेक्काको मापदण्ड अनुरुप हाम्रो शरीरको नियमित तापक्रम ३७ डिग्री सेल्सियस वा त्यसको थोरै तल माथि हुने गर्दछ । शरीरले आफूले आफ्नै लागि निर्धारण गरेको सामान्य तापक्रमको विन्दु भन्दा शरीरको तापक्रम धेरै कम हुन जाँदा हाइपोथ्यालेमसले शरीरमा तातो उत्पन्न गर्ने र पुनः सामान्य तापक्रमको विन्दुमा शरीरलाई पुर्‍याउने गर्दछ । 

शरीरको तापक्रम धेरै उच्च हुन जाँदा हाइपोथ्यालेमसले तातोपनको उत्पादन नगर्ने, पसिना उत्पादन गरी शरीरको तातोपनसहित बाहिर फालेर छालालाई चिसो पार्ने र शरीरको तापक्रम नियन्त्रण गर्ने कार्य सञ्चालन गर्न भूमिका खेल्छ । पिट्यूटरी ग्रन्थि नजिकै मस्तिष्कको आधारमा रहने हाइपोथालेमस मस्तिष्कको एक सानो क्षेत्र हो । वैदिक र वैज्ञानिक मान्यतामा हाइपोथालेमसको तापक्रम नै मानिसको वास्तविक शरीरको तापक्रम मानिन्छ । आकारमा धेरै सानो भए पनि हाइपोथालेमसले हर्मोनको उत्सर्जन गर्ने, शारीरिक दैनिक चक्र (ब्युँझने, नित्य कर्मको, भोक लाग्ने, निन्द्रा लाग्‍ने जस्ता) कायम गर्ने, यौन व्यवहारको व्यवस्थापन गर्ने, भावनात्मक आवेग र उद्वेग, क्रिया प्रतिक्रिया आदि व्यवस्थापन गर्ने, शरीरको तापमान नियन्त्रण गर्ने जस्ता धेरै महत्त्वपूर्ण कार्यहरूमा भूमिका खेल्ने गर्दछ ।

जब तपाईंको हाइपोथालेमसले तपाईंको शरीरको तापक्रम सामान्य भन्दा बढी राख्न निर्देशन दिन्छ तब तपाईंलाई ज्वरो आउँछ । भाइरस वा ब्याक्टेरिया जस्ता कीटाणुहरू संक्रमणको विरुद्धको प्रतिक्रियाका रूपमा हाइपोथालेमसले तपाईंको शरीरको तापक्रम बढाउन निर्देशन गरेको हुन सक्छ । 

हाम्रो शरीरमा विशेष कोशिकाहरूको समूहले बनेको प्रमुख इन्डोक्राइन ग्रन्थिहरू जस्तै पिट्यूटरी, पिनियल, थाइमस, थाइरोइड, एड्रेनल ग्रन्थि र प्यान्क्रियाज तथा पुरुषमा अण्डकोष र नारीमा अण्डाशयमा हाम्रो शरीरलाई जरुरत हुने हर्मोन उत्पादन हुन्छन् । इन्डोक्राइन ग्रन्थिमा उत्पादन भएका हर्मोनहरू जहाँ जहाँ जरुरत हुन्छ त्यहाँ इन्डोक्राइन ग्रन्थिहरूबाट प्रायः रक्त सञ्चारमार्फत रगतले पुर्‍याउने गर्दछ । 

हाम्रो शरीरको हरेक कोशिकामा चोट लागेमा वा रोगको संक्रमण भएमा त्योसँग तुरुन्तै प्रतिकारमा उत्रेर आफूले आफ्नो उपचार गर्ने नियतले लिपिड भनिने चिल्लो पदार्थहरूले बन्ने संरचनाहरूको समूह मिलाएर प्रोस्टाग्ल्यान्डिन्स निर्माण गर्ने र परिचालन गर्ने संरचना हुन्छ । कुनै कारणवश शरीरमा चोटपटक लागेमा वा कुनै केमिकल क्षति भएमा वा रोगाणुको संक्रमणमा परेमा जुन भागमा शरीरले क्षति वा संक्रमण भोग्ने गर्दछ त्यही भागका कोशिकाहरूले प्रोस्टाग्ल्यान्डिन्स निर्माण गरी आफ्नो प्रतिरक्षा गर्दछ ।

यसरी हुने प्रतिरक्षाअन्तर्गत प्रभावित भाग सुन्निने, रगतको प्रवाहमा हेरफेर गर्ने, रगत जमाउने, संक्रमित भागको तन्तुहरूको गति नियन्त्रणमा लिने, रोगाणुहरू मार्ने, विषादी र बिखालु केमिकल निर्मलीकरण गर्ने र उत्पन्न फोहोर त्यहाँबाट अन्यत्र पुर्‍याउने आदि जस्ता कार्यहरू सञ्चालन हुने गर्दछ । शरीरले बनाइएका प्रोस्टाग्ल्यान्डिनहरूको क्रिया तथा प्रतिक्रियामा समेत शरीरको तापक्रम उच्च हुने र मानिसमा ज्वरो आउने गर्दछ ।

एसिटामिनोफेनले हाम्रो कोशिकामा प्रोस्टाग्ल्यान्डिन रसायनहरू उत्पादनमा सघाउने इन्जाइमलाई कार्य गर्नबाट रोकिदिएर हाम्रो दुखाइ कम गराउन सहयोग गर्दछ भन्ने वैज्ञानिक अनुमान छ । यदि यो सिद्धान्त सही छ भने, एसिटामिनोफेनले एस्पिरिन, एडभिलको जस्तै तरिकाले काम गरी हामीलाई दर्द कम गर्न सहयोग गर्ने गर्दछ । भन्ने यकिन हुन्छ । तर यो कुरा त्यति सजिलै पुष्टि हुन् सक्ने खालको छैन ।

प्यारा सिटामोलले एकातर्फ मस्तिष्क र मेरुदण्डका कोशिकाहरूलाई प्रोस्टाग्ल्यान्डिनको उत्पादन घटाउन सघाएर दुखाइ कम गर्ने र अर्कोतर्फ मस्तिष्कको शरीरको तापक्रम नियन्त्रण केन्द्रका रूपमा स्थापित हाइपोथालेमिकमा असर गरी प्रभावित भाग र सम्पूर्ण शरीर कै ताप घटाउन प्रेरित गर्ने औषधि विज्ञहरूको वैज्ञानिक अवधारणा र विश्वास रहेको देखिन्छ ।

हाल भएका पहिलेका भन्दा ज्यादा विश्वसनीय अनुसन्धानहरूले एसिटामिनोफेनले इन्डोकानाबिनोइड प्रणालीमा काम गरी शरीरमा दुखाइको अनुभूति घटाउन नेतृत्व दाइ भूमिका खेल्ने गरेको देखाएको छ । जसरी गाँजाको लाग्ने मुख्य तत्त्व टिएचसीले हाम्रो इन्डोकानाबिनोइड प्रणालीलाई प्रभावमा लिएर दुखाइ कम गरिदिने औषधिको काम गर्दछ, प्यारा–सिटामोलले पनि त्यही तरिकाबाट शरीरको पीडाबाट राहत दिने गरेको निचोड निकालेको छ ।

एसिटामिनोफेनले पनि गाँजा सेवनमा जस्तै हाम्रो स्नायु प्रणालीको न्यूरोट्रांसमिटरमा मुडमा स्थिरता ल्याइदिने, राम्रो निन्द्रा लगाइदिने, राम्रो मुडको निर्माण गरिदिने र उत्साह बधाई दिने केमिकल सेरोटोनिनको मात्रा बढाउने गर्दछ । जसले गर्दा माइग्रेन, टाउको दुखाइजस्ता दर्दसमेत निको हुने देखाएको छ।

माथि उल्लिखित दुवै वैज्ञानिक हाइपोथेसिस कालान्तरमा भेलिडेसन प्रक्रिया पार गरी प्रमाणित होला नहोला त्यो आफ्नै ठाउँमा छ । दुवै हाइपोथेसिस (Hypothesis) यकिनका साथ हालसम्म प्रमाणित नभएको भए तापनि व्यावहारिक रूपमा प्यारा सिटामोलले ज्वरो घटाउने, एसप्रिन (एसप्रो) र आइबुब्रुफिनकै हदमा सामान्य दर्द घटाउने र निको गर्ने गरेको सबैले अनुभव गरेकै कुरा हो । त्यति हुँदाहुँदै पनि प्यारा सिटामोलले एसप्रिन (एसप्रो) र आइबुब्रुफिनको हदमा संक्रमित भागको असामान्य रातो, तातो भएर अक्सर पीडादायी बन्ने सुन्निएको इन्फ्लामेसनको (Inflamations) भने सहजै निको गरेको देखिँदैन । 

प्यारा–सिटामोल आवश्यक पर्दा मात्र खाइने ओखती हो । एन्टीबायोटिकको जस्तो निश्चित मात्रामा खुराकको तालिकामा खाने ओखती होइन । प्यारा सिटामोलले आफैँमा इफेक्टिव डोज (Effective dose), सब–थेरापुटिक डोज (Sub–therapeutic dose), टक्सिक डोज (Toxic Dose) र लेथल डोज (Lethal Dose) आदि हेरी थेरापुटिक उइन्डो (Therapeutic Window) तोकेर खाने हिसाबको भन्दा पनि यो भन्दा धेरै मात्रामा नखानु भन्ने सल्लाहको आधारमा बिरामी आफैँले किनेर खाने प्रकृतिको ओखती भएकाले आवश्यक पर्दा कति मात्रामा खाँदा ओखती प्रभावकारी होला भन्नेतर्फ ध्यान दिनु जरुरी हुन्छ ।

औषधि विज्ञानको दृष्टिमा ओखतीले प्रभावकारिता देखाउन सुरु गर्ने मात्रा (Efficacy) र ओखतीको मात्रा जसले विषाक्तताको भूमिका खेल्न सुरु गर्दछ (Toxicity) लाई ओखतीको सुरक्षित मात्रा (Safety Window) वा ओखतीको कार्य दक्षताको आँखी झ्याल (Therapeutic Window) भन्ने गरिन्छ । 

आँखी झ्याल औषधिको त्यो मात्रा हो जसले एकातर्फ औषधि जुन कामका लागि उपयोग गरिएको त्यो काम निश्चित रूपमा पूरा गर्ने निश्चय दिन्छ । अर्कोतर्फ ओखती धेरै प्रयोग हुन जाँदा त्यसले दिने विषाक्तताको जोखिमबाट पनि बच्न सकियोस् भनी हरेक ओखतीको मात्रा ओखतीको निर्माणको तौलबाट र त्यसमा लेखिने लेबलको सन्देशबाट नियन्त्रण गरिन्छ ।

बिरामीको हातमा परेको ओखतीले चिकित्सकीय लाभ प्राप्त गर्ने निश्चित गर्न हरेक औषधि उत्पादकले आफ्नो उत्पादनको इन्जिनियरिङबाटै ओखतीको अधिकतम र न्यूनतम सेवनको मात्रा (त्यसको डोज) सकेसम्म सन्तुलित गर्ने गर्दछ । त्यसलाई मुख्य केन्द्रमा राखेर औषधि उत्पादकले औषधिको एक्सपाएरी डेट अर्थात् प्रभावकारी मिति अनिवार्य रूपमा तोकेर बजार पठाएको हुन्छ । त्यस अनुसार कुन ओखतीमा कति मात्राको एक्टिब पदार्थ (ओखतीको वास्तविक सार तत्त्व) हाली बजार पठाउने भन्ने कुराको निर्धारण हुने गर्दछ । त्यसलाई सामान्य भाषामा कति एमजी वाला ट्याब्लेट वा क्याप्लेट वा क्याप्सुल आदि बनाउने ताकि त्यो उपभोक्तामैत्री हुन्छ भन्ने प्राविधिक पक्षहरूको यकिन गरिन्छ ।

वास्तवमा प्यारा सिटामोलले हाम्रो शरीरमा कसरी काम गर्दछ भन्ने जानकारीको हाल सम्म पनि वैज्ञानिकहरूलाई यकिन भइसकेको छैन । प्यारा सिटामोलले दर्द र ज्वरोको प्रभावकारी नियन्त्रण गर्दछ भन्ने ज्ञान हामीलाई धेरै आयुर्वेदिक ओखतीहरूको सन्दर्भमा हुने जस्तै यसको वास्तविक प्रयोगको अनुभवबाट भएको हो । तसर्थ यसको प्रयोगको वास्तविक सुरक्षित मात्रा समेत सैद्धान्तिकभन्दा वास्तविक उपयोगको अनुभवको आधारमा तय गरिएको हो ।

जसअनुसार यदि गैर–औषधीय उपायका विधिहरू जस्तै सकारात्मक आत्मा बलका साथ केही समय दर्द सहने, आराम गर्ने, पानी पट्टि, बरफ वा तातो प्याकहरू बाट सेक्ने, घरेलु खानपानको उपाय जस्ता उपायले राहत नदिएमा सामान्य भन्दा तीव्र वा लामो दुखाइ कम गर्नका लागि औषधीय थेरापीको प्राथमिक उपचारका रूपमा १२ वर्ष भन्दा बढीको केटा केटीले ५०० देखि १००० मिली ग्राम हरेक ४ देखि ६ घण्टाको फरकमा खाँदा सुरक्षित र प्रभावकारी बनेको हामीलाई अनुभव छ ।

एक महिनादेखि ६ वर्षसम्मका बालबालिकाको हकमा प्यारा सिटामोलको ट्याब्लेट भन्दा सिरप फरक डोजमा दिन सिफारिस गरिएको भेटिन्छ । धेरैमा चार डोजभन्दा बढी नहुने गरी (जति धेरै तौलको भए पनि २४ घण्टाको अवधिमा अधिकतम निश्चित मात्र नबढ्ने गरी) मुख वाट खुवाइने हिसाब निकालिने गरिन्छ । २४ घण्टामा ६ देखि ८ वर्षका लागि २५० एमजी अधिकतम ४ पटक, ८ देखि १० वर्षका लागि ३७५ एमजी ४ पटक, १० देखि १२ वर्षको लागि ५०० एमजी ४ पटक, १२ देखि १६ वर्षका लागि ७५० एमजी ४ पटक अधिकतम दिने जस्ता हिसाबहरू मुलुकको यथार्थको आधारमा निकालिन्छ । 

आजको दिनमा पुग्दै गर्दा पाको उमेरको मानिसले ६६५ देखि १३३० मिलिग्राम परिमार्जित–रिलिज प्यारा सिटामोल हरेक ६ देखि ८ घण्टाको फरकमा लिने गर्दा प्रभावकारी बनेको भेटिएको छ । वयस्कले २४ घण्टाको अवधिमा अधिकतम ४ ग्राम (४००० मिलिग्राम) भन्दा धेरै सेवन गर्दा फोक्सोको स्वस्थ अधिक जोखिम पूर्ण वनेको अनुभवले सिद्ध गरेकाले अत्यन्त जरुरतको बेलामा मात्र अधिकतम दैनिक ४ ग्रामको मात्रामा सेवन गर्न र कुनै हालतमा ४ ग्रामभन्दा अधिक नखान अनुभवकै आधारमा सिफारिस गरिएको हो ।  

हालको बजारमा देखिने पारा सिटामोल ५०० मिलिग्राम ट्याब्लेट, इन्जेक्सन, १५० मिलीग्राम प्रतिएमएल, ओरल लिक्विड (झोल ओखती) १२५ मिली ग्राम प्रति ५ एमएलको उपलब्धता बजारको उपभोक्ताको जरुरत अनुरूप पर्याप्त छैन । निकै लामो समयदेखि उत्पादनको सहजताको हिसाबमा संसारभर प्यारा–सिटामोल प्रायः ५०० मिली ग्राम स्ट्रेन्थको बनाइने गरिएको छ । 

तर औषधि विज्ञानको नयाँ अनुभव, प्राप्त नयाँ वैज्ञानिक तथ्यको आधारमा यसलाई उपभोक्ताको स्वास्थ मैत्री बनाउन र उपभोक्ताको स्तरमा अधिक ओखती खेर जानबाट बचाउन भने ६५० मिलिग्रामको प्यारा–सिटामोलको समेत बजारमा जरुरत देखिन्छ । आठ घण्टाको फरकमा दैनिक लगभग चार ट्याब्लेट खाने सल्लाह दिएर ६५० मिलिग्रामको प्यारा–सिटामोल बजारमा पठाउने निर्णय जनस्वास्थ्यका दृष्टिले अत्यधिक वैज्ञानिक, आर्थिक रूपमा समेतमैत्री र जोखिमको हद ननाघ्ने गरी सेवन गर्ने दृष्टिमा समेत उत्कृष्ट रहेको देखिन्छ । 

बिरामीले अधिकतम दैनिक ४ घण्टाको फरकमा सेवन गर्नुपर्दा समेतको अवस्थामा समेत २४ घण्टामा ६ पटक ६५० मिली ग्रामको पारा सिटामोल ट्याब्लेटको खुराक ३९०० मिलिग्राम हुन जाने हुँदा त्यसले पारा सिटामोलको सेवन टक्सिक डोजमा (४००० मिलिग्राम) पुग्ने सम्भावनाको जोखिमको समेत सहजै अन्तः गरिदिन्छ । 


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x