विचार

आधुनिक प्रविधि र राय चन्द !

नारायण घिमिरे |
बैशाख २, २०७९ शुक्रबार ६:२६ बजे

हामी आफूले देखेका र जीवनमा उपयोग गरेका धरै कुरा निकै सामान्य रूपमा लिने गर्छौं । आज हामी दैनिक रूपमा जे उपयोग गरिरहेका छौं ती चिजहरू त्यो रूपमा विकसित हुने क्रममा विविध अवस्थाबाट गुज्रेको हुन्छ । हाम्रा पुर्खाले त्यसको सुधारमा दिएको हजारौँ हजार वर्षको लगन र त्यसमा हाम्रा अग्रजले ल्याउन सकेका नियमित सुधारको प्रतिफलका रूपमा ती कुरा आजको हामीले देखिरहेको र भोगिरहेको अवस्थासम्म आइपुगेका हुन् ।

एउटै वस्तुलाई फरक फरक मानिसले फरक फरक रूपमा लिने गर्दछ । प्रविधिमा चासो राख्ने इनोभेसनबारेका जिज्ञासुलाई आफूले चासो लिने हरेक वस्तुको पछाडिको प्रविधि र त्यसको महत्त्व अत्यन्त चाखपूर्ण हुन्छ । अन्य व्यक्तिलाई ती कुराहरू कोनपुच्छे खिचडीका दाल हुन पनि सक्छ । 


कुरो कुनै एक जमानाको हो । नेपालमा बच्चाहरूले फ्रेन्च फ्राइजलाई पार्टीको आलु भनेर मन पराइ पराइ खाइरहँदा एक भद्र देखिने मेडिकल डाक्टर साप यस्तो जाबो आलुका लागि किन बच्चा मरिहत्ते गर्छन् भन्दै गरेको घटनाको साक्षी बस्ने मौका मिल्यो । यस्तो पाजी आलुको टुक्रो त सहजै यो भन्दा हजारौँ गुणा मीठो, पोसिलो र सुरक्षित खाद्यका रूपमा म मेरो घरमै बनाइदिन्छु । त्यति बेलाको पोषणको क्षेत्रमा कलम चलाउने चर्चित योग्यतामा डाक्टरको पगरीसहित उभिएको व्यक्तिसँग कसले बहस गर्ने ? 

त्यहाँ कसैद्वारा नमागिएको र मनोरञ्जनको माहौलमा नखोजिएको सल्लाह एकोहोरो हामी सबैले सुन्‍न पाइएको थियो । फ्रेन्च फ्राइज जस्ता कुरा जङ्क फुड हुन् । यसको स्वादमा आफ्नो बच्चाको एडिक्सन विकास गरेर तपाईंले आफ्नो बच्चाको स्वास्थ्य बिगारिरहनु भएको । उनको कुरा कतिले सुने । कतिले ताली पनि पट्काए । व्यावहारिकतामा भने वास्तवमै अत्यन्त स्वादिष्ट स्वादको नेपालमा पहिलो पटक पुगेको कुरुम कुरुम हुने फ्रेन्च फ्राइज बेचिएको नभएर प्रयोजनमा बाँडिएको हुँदा जति भेटियो भेटेको मात्रामा सबैले खाए । 

नयाँ जर्मनी प्रविधिको फ्रेन्च फ्लेभरको तत्कालीन समय सम्म विकसित प्रविधिमध्ये सबैभन्दा स्वस्थ उत्पादनका रूपमा अमेरिकी पाक सङ्घले तारिफ गरेको तरिकाको उत्पादन त्यो थियो । नेपालमा त्यसको शाखा खोलेमा यसको स्वाद नेपालीको फुड हेविट मैत्री होला नहोला भन्‍ने परीक्षणका लागि उक्त फ्रेन्च फ्राइज क्याटरिङ सामान्य परिवेशमा प्रयोजन गरिएको थियो । प्रविधि जर्मनीको, फ्रेन्च फ्लेभरको, क्यानेडियन फार्मुलेसनको तत्कालीन समयसम्म विकसित प्रविधिमध्ये सबैभन्दा स्वस्थ उत्पादनका रूपमा अमेरिकी पाक सङ्घले तारिफ गरेको तरिकाको उत्पादन नेपालमा पुगेको थियो । 

विकसित फ्रेन्च फ्राइजको स्वाद उपभोक्ताका लागि नेपालीको फुड हेविटमैत्री होला नहोला भन्‍ने परीक्षणको लागि सामान्य परिवेशमा फ्रेन्च फ्राइज क्याटरिङ प्रयोजन गरिएको थियो । फ्रेन्च फ्राइज चाखेका सहभागीहरूको बडी ल्याङ्गुइज र प्रतिक्रिया निकै गहिरो रूपमा अध्ययन गरिरहेका सेन्सरी मूल्याङ्कन क्षेत्रमा कार्यरत प्रविधिज्ञहरूको फ्रेन्च फ्राइज क्याटरिङपश्चात्को सामूहिक अनुभूतिअनुसार फ्रेन्च फ्राइज सबैको प्रिय भेटियो । कतिले अनुरोध नै गरी मागी मागी खाएकाले निकै छिटै सकियो । बच्चाहरू पेटभर खान नपाएकामा बेखुसी देखिए । 

संयोगले केही समयको अन्तरालमा यस्तो पाजी आलुको टुक्रो त म मेरै घरमा बनाइदिन्छु भन्‍ने डाक्टर सापले आफ्नै घरमा बनाएको क्याटरिङको भन्दा हेल्दी र मिठो दाबी गरी आफ्ना पाहुना लाई आफैले आयोजना गरेको डिनरमा खान दिइएको फ्रेन्च फ्राईज झन्डै ५० ग्राम जति त्यो डिनरमा उपस्थित एक पाहुना मार्फत हामीलाई प्राप्त भयो । हामीलाई त्यसको सेनसरि र ल्याब परीक्षण गरी हेर्ने अवसर मिल्यो । हेल्दी भनिएको फ्रेन्च फ्राइज आलुको बोक्रा सहित काटेर सूर्यमुखीको तेलमा एकै पटकमा पाक्ने गरी तारेको सहजै बुझ्न सकिन्थ्यो । बोक्रा सहित फ्रेन्च फ्राइज बनाउने चलन नेपालमा पनि दसकौँ देखि भएकाले त्यो कुनै नयाँ कुरो थिएन।

हेल्दी भनिएको फ्रेन्च फ्राइजको आलुको भुटाइ अधिक रहेको, तेलले फ्युमिंग पाइन्ट अर्थात् धुवा आउने बिन्दु पार गरेको त्यसले दिने मेटालिक गन्धले प्रस्ट बताउने गर्दथ्यो । हरेक तेलको आफ्नै सुरक्षित तार्ने बिन्दु हुन्छ । प्राप्त फ्रेन्च फ्राइजको नाम दिइएको डाक्टर सापको तेलमा उसिनेको आलुका चिल्लो विखण्डन भएर आउने ट्राई–ग्लिसिराइड मानिसको स्वस्थमा जोखिम पार्ने बिन्दु नाघेको देखिन्थ्यो । उक्त आलु किन निकै स्वस्थ छ भनी पाहुनालाई गरेको ब्रिफिङबाट डाक्टर महाशयलाई सूर्यमुखीको तेलमा मुटुको रोग निम्त्याउने कोलेस्ट्रोल अन्तर्गतको ट्रान्स फ्याट कम हुने सैद्धान्तिक ज्ञानले निकै प्रभाव पारेको सहजै बुझ्न सकिन्थ्यो । 

डाक्टर सापको भान्सामा प्रयोग भएको सनफ्लावर तेल घरमा आफैँले पेलेर बनाएको होइन रहेछ । सोल्भेंट एक्सट्रयाकटेड रहेछ । सामान्य फ्रेन्च फ्राइजमा तेलको मात्रा औसत ८ देखि १४ प्रतिशत हुनेमा डाक्टर सापको फ्रेन्च फ्राइज भनिएको तेलमा उसिनेको आलुमा लगभग १९ प्रतिशत सनफ्लावर तेल भेटियो । त्यहाँ न्युरोटोक्सिक प्रभाव दिने र क्यान्सर जस्ता शारीरिक प्रतिकूलता दिने हेक्जेन नामक तत्त्व ८७ पीपीएम थियो । 

बजारको तोकेको मापदण्डभन्दा धेरै (हुनुपर्ने जिरो र बढीमा ५ पीपीएम) कम गुणस्तरको हेक्जेन एक्सट्रयाकटेड सनफ्लावर तेल रहेछ । पकाउने विधिमा तेल जरुरत भन्दा अधिक तातो हुने गरी पकान गरिएको रहेछ । 

तेलमा तोकिएको मापदण्डभन्दा धेरै हेक्जेन हुँदा छोटो–अवधिमा यसले मानिसको श्वासप्रश्वासमा पु¥याउने असरले केन्द्रीय स्नायु प्रणालीमा हल्का रूपमा दिने प्रभावले चक्कर लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने समस्या दिन्छ भने दीर्घकालीन सेवनले पोलीन्यूरोपैथीसँग सम्बन्धित विकार हातखुट्टा काम्ने, मांसपेशी कमजोर हुने, दृष्टि धमिलो हुने, न्युरोटोक्सिक प्रभावले दिने टाउको दुखाइ र थकानको समस्या जन्माउने गर्दछ । 

सनफ्लावर तेलको अनुमानित डडने वा धुवाँको बिन्दु भनिने स्मोक पइन्ट २३२ डिग्री सेल्सियस हुन्छ । डढने बिन्दु भन्दा पछाडिको तापक्रम पुग्ने गरी पकाएको खाना स्वस्थको लागि अत्यन्त हानिकारक र विषाक्त हुन्छ । किनकि जब कुनै तेललाई यसको धुवाँ बिन्दु सम्म वा त्यो भन्दा धेरै तताइन्छ यसले पैदा गर्ने विषाक्त धुवाँ र फ्री रेडिकलहरू शरीरको नियमित क्यान्सर प्रतिरोधी शक्ति नष्ट गर्ने र रगत धेरै अम्लीय पारेर विभिन्‍न प्रकारको दीर्घ रोगहरू जन्माउने कारक बनिदिन्छ । 

फ्रेन्च फ्राइज खैरो हुने हुने गरी पाकेको भए तापनि त्यसको भित्री भागमा देखिने खोक्रो पनले त्यो सुरक्षित तापक्रमभन्दा धेरै तापक्रममा डिपफ्राई गरी छिटोछिटो त्यसको चिस्यान हटाएकोतर्फ सङ्केत गर्छ । त्यसमा हुने अक्सिडाइज मेटालिक र डढे–डढेको स्वादले पकानमा पकानको बल मिचाई लादिएको र खाना स्वास्थ्यको प्रतिकूल हुने गरी पत्रु खानामा परिवर्तन भएकोतिर सङ्केत गर्दछ । त्यसमा गरिएको फ्री रेडिकलका लागि आलुभित्रको तेलको ग्रीजीपनको अप्रत्यक्ष परीक्षणले उक्त व्यहोरा सही रहेको पुष्टि गर्दथ्यो । डाक्टर सापको पकान उल्लिखित सबै दुर्गुणले भरिएको थियो । 

आजको जमानामा घरघरमा आफैँले खाना बनाएर खाने गरिए तापनि उत्पादन, भण्डारण, प्रशोधन र पकान सबै आफैँले गरेर खाना बनाउन र दैनिक खान सम्भव रहन्‍न । उत्पादन, भण्डारण, प्रशोधन र पकानको कुनै पनि पक्षमा गुणस्तरमा सम्झौता भयो भने त्यो खाना खाना नरहेर बिखको घर बन्दछ । डाक्टर सापको विचारमा उहाँ आफैँ डाक्टरको सर्टिफिकेट धारी मात्र नभएर स्वास्थ्यको सामाजिक अधिवक्ताका रूपमा समाजमा चर्चित रहेकाले उहाँले बनाएको कुरो संसारले स्वस्थ भनी कुनै प्रश्न र परीक्षणबिना स्वीकार्न गर्नुपर्ने बहुलठ्ठीपन मिसिएको सहजै अनुभूति गर्न सकिन्थ्यो ।

कुनै पनि खाना कत्तिको स्वस्थवर्धक छ भनी यकिन गर्ने संस्था वा निकायले सम्बन्धित विषयवस्तुको स्कोपसँग सम्बन्धित सबै क्षेत्रको मूल्याङ्कन गर्न सक्ने व्यावहारिक अनुभव र सैद्धान्तिक ज्ञान रहेको दक्ष विज्ञहरू संलग्न रहेको टोलीको सिफारिसको आधारमा निर्णय गर्दछ । यस्ता कुराहरू कुनै अमुक एक क्षेत्रमा मात्र सैद्धान्तिक ज्ञान भएको सर्टिफिकेट बोकेको भरमा अनुमानको भरमा बोल्नु वा लेख्नु विकसित मुलुकमा अपराधका रूपमा लिने गरिन्छ । त्यस्तो कृति वा भनाइलाई मिस्लिड अर्थात् कुनै निहित स्वार्थउन्मुख सफेद झुट र प्रोपोकान्डा फैल्याउने प्रयासका रूपमा लिएर कारबाहीसमेत हुने गर्दछ । 

हुन पनि सम्बन्धित क्षेत्रको खाद्य सुरक्षा र मानव सुरक्षाको गहिरो ज्ञान नभएको, प्रशोधन हुने क्रममा खाद्यवस्तुको केमेस्ट्री र शरीरले त्यसलाई गर्ने प्रतिक्रियाबारेको अध्ययन र परीक्षणमा पहुँच नराख्ने तथा उत्पादनदेखि प्रशोधनसम्मको प्रविधिसँग जानकार नरहेको व्यक्तिले बताएको कुरा यथार्थ भन्दा अनुमानमूलक प्रकृतिको बनिदिन्छ । 

आजको दुनियाँको वास्तविकता के हो भने मात्र मेडिकल डाक्टर वा कुनै अमुक एक दुई क्षेत्रको विज्ञ वा विशेषज्ञ हुँदैमा उल्लिखित प्रकृतिको अत्यन्त जटिल विषयको कोही माइका–लाल एक्लै त्यसबारे यकिनका साथ मूल्याङ्कन गर्ने हैसियतको विज्ञ हुन सक्दैन । कृषि विज्ञ, प्रशोधन विज्ञ, खाद्य प्रविधिज्ञ, इन्जिनियर, पोषणविज्ञ, सेफ, प्रोसेस र प्रविधिविज्ञ, केमिस्ट तथा डाक्टरलगायत सम्बन्धित विषयले माग गर्ने सबै क्षेत्रको विषयवस्तुबारे ज्ञान राख्ने दक्ष प्राविधिक समूहको सामूहिक मूल्याङ्कनबाट मात्र यथार्थ नजिक पुग्न सकिन्छ । 

आज तपाईंले बजारमा गएर खाने फ्रेन्चफ्राइज जस्ता वस्तुहरू तपाईँले परिकल्पना गरे जस्तो आलु काट्यो अनि तेलमा झ्वाइँ पारेर मात्र तैयार भएका वस्तु हैनन् । हेर्दा तपाईंले सोचे जस्तै तर यथार्थमा निकै लामो समयको खाद्य तथा जीवन विज्ञानको मर्मलाई केन्द्रमा राखी पाकशास्त्र अन्तर्गत गुणस्तरलाई उत्पादन विधिबाट सुनिश्चित गर्ने इञ्जिनियरिङ्गको नियमित सुधारको उपज हो । फ्रेन्चफ्राइज बनाउने प्रक्रिया आफैमा रोस्ट आलुमा कसरी ठिक्क मात्रको क्रुम–क्रुम हुने सतह वा क्रन्ची क्रस्ट प्राप्त गर्ने भन्‍ने कुराले उक्त पार्टीको आलुको पाक उत्कृष्टताको निर्धारण गर्दछ।

त्यसको लागि काटेको आलुलाई तीन पटक पकाउने गरिन्छ । चर्चित हेस्टन ब्लुमेन्थलद्वारा विकास गरिएको यो विधि हालसम्मको सबैभन्दा अग्रगामी र लोकप्रिय मानिन्छ । किनकि यसमा वैज्ञानिक सिद्धान्तहरूको मात्र उपयोग भएको छैन त्यसले पाक शास्त्रमा समेत नयाँ आयाम थपेको छ । आलु लाई तीन–चरण पकाउने प्रक्रियामा पहिले काटिएको आलुलाई पानीमा सानो सानो चिरा देखिनेसम्म उमाल्ने गरिन्छ । त्यसलाई पनिबाट निकालेर पानी तैरिन दिई फ्रिज वा डेसीकेटरमा रहन दिएर सम्भव भए सम्म पानी निकालिन्छ । जब आलु पकाएर आलु भित्रको पानी उम्लने बिन्दुमा पुग्छ तब त्यसलाई बाहिर निकालेर चिसो गरिन्छ । भित्रको तातेको पानी वाष्पीकरण मार्फत काटिएको आलु केही सुख्खा गर्न सहयोग पुग्दछ । 

त्यसपछि आलुलाई पहिला १३०–१४० डिग्री सेल्सियस (२६६–२८४ डिग्री फारेन हाइट) को कम तापक्रममा गहिरो गरी त्यसमा पातलो क्रस्ट विकास नहुन्जेल सम्म फ्राई गरिन्छ । दोस्रो पटकको पातलो क्रस्ट नबन्दा सम्म तेलमा गरिने भुटाइले उमाल्दा कमजोर बनेको आलुलाई केही बलियो बनाउँछ । जब आलुभित्र बाँकी पानी पुन तताइन्छ त्यसले आलुबाट टप पानी बाहिर फाल्छ । तर त्यो क्रममा बाहिरी भागको पानी धेरै बाहिरिने र भित्री कम बाहिरिने हुन्छ । आलु भुट्ने क्रममा भित्रसम्मको पानी एकैचोटि फाल्न सम्भव हुन्‍न । 

अमुक नेपाली उद्यमीको उद्यममा बिनाकारण क्षति पुग्ने गरी खाद्य र पोषण सम्बन्धमा यसरी हचुवाको भरमा पटक पटक तथ्यलाई नै बङ्गाएर आउने गरेका यस्ता रायलाई उपभोक्ता आफैँले गहिरो अध्ययन गरेर मात्र सही रहेको नरहेको यकिन गर्नुपर्ने नयाँ परिस्थितिको सृजना भएको छ ।

त्यसैले दोस्रो पटक भुटेको आलुलाई निकालेर केही समय त्यतिकै रहन दिइन्छ । ताकि आधा भुटेको आलुको केन्द्र भाग र बाहिरी भागमा पानी एकैनासले पुनः वितरित होस् । त्यसपछि उक्त आलुलाई १८० डिग्री सेल्सियसको (३५६ डिग्री फारेन हाइट) उच्च तापक्रममा गहिरोसँग फ्राई हुन दिइन्छ । तेस्रो पटकको फ्राइङले तसर्थ आलुबाट निकै धेरै मात्रामा निकाल्न सहयोग पु¥याउँछ । आलु जति सुख्खा हुने गरी तातो गर्न सकिन्छ त्यसको क्रस्ट त्यति धेरै कुरकुर हुन्छ । आलु वास्तवमै मिलार्ड रियाक्सनबाट निकै स्वादिष्ट बन्छ । कुनै खाना स्वादिष्ट हुँदैमा हानिकारक हुँदैन । प्राकृतिक नियम वा विज्ञानको नियम लाई उल्लङ्घन गरिएको छैन भने झन् पौष्टिक बन्छ।

फ्रेन्चफ्राइज बनाउने प्रक्रियामा तीन तहको आलु भुट्ने तरिका लिनुको पछाडि केही गहिरा वैज्ञानिक कारणहरू छन् । पहिलो मुख्य कारण यसले मात्र १८० डिग्री सेल्सियसको तापक्रममा आलुलाई मिठो आलु बनाउने हुँदा खाना तार्ने तेलको स्मोक पइन्ट (२३२ डिग्री सेल्सियस) भन्दा निकै तल उक्त काम सम्पन्‍न गर्ने हुँदा विषाक्त धुवाँ र फ्री रेडिकलहरू पैदा हुने अवस्थाबाट मुक्त राख्ने र आलुको पौष्टिक तत्त्व नष्ट हुनबाट समेत जोगाउने गर्दछ । जसले आलु लाई भरपुर पौष्टिकता र स्वादमा रहन सम्भव रहन्छ । तेलमा हुने केमिकलले दिने समस्याको समाधानको लागि स्थानीय तेल पिस्ने मिल वा कोलको तेल प्रयोग गर्ने र केमिकल प्रयोग गरी निकालिएको तेल उपयोग नगर्ने नीति लिन सकिन्छ । 

टराइन (त्बगचष्लभ) एक सल्फर युक्त एमिनो सल्फोनिक एसिड नामक हाम्रो शरीर लाई नभई नहुने तत्त्व हो । जसले हामीलाई ऊर्जाको जरुरतको वेला हाम्रो शरीरको बोसो टुक्राएर शक्ति पैदा गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । हाम्रो शरीरले शरीरको लागि आवश्यक पर्ने टराइन आफैले बनाउँछ । खानामार्फत प्राप्त हुने मेथियोनिन, सिस्टीन, भिटामिन बी–६ जस्ता अत्यावश्यक पोषण पदार्थ लिएर शरीरले शरीर भित्र टराइनको संश्लेषण गर्ने गर्दछ । टराइन बनाउने उक्त कच्चा पदार्थहरू शरीरले आलु, सखरखण्ड, लसुन, प्याज, शिटाके च्याउ, इष्ट, पालुङ्गो, केराउ, हरियो भटमास र केरा आदिबाट प्राप्त गर्न सक्दछ ।

टराइन मुटु र मस्तिष्क स्वस्थ राख्न महत्त्वपूर्ण हुन्छ । मानव स्नायुको वृद्धिमा टराइन अत्यन्त सहयोगी हुन्छ । टराइनको कमीले आँखामा क्षति, कलेजोको दीर्घ रोग, मांसपेशी कमजोर हुने र मधुमेह हुने जस्ता जोखिम बढ्ने गर्दछ । टराइन माछा, समुद्री खाना, मासु, कुखुरा, दुग्धजन्य उत्पादनहरू जस्ता पशु स्रोतका खानाहरूमा मात्र पाइन्छ । पाउरोटी, रोटी, नान र बियर आदि बनाउन प्रयोग गरिने ईष्ट वा मोर्चा टराइनको राम्रो स्रोत हो । भेगन र भेजिटेरियनहरूमा शरीरको लागि जरुरी हुने टराइन सी–ऊइड, तोफु र ईष्टबाट पूर्ति गर्नु अत्यन्त उत्कृष्ट उपाय हो । 

उल्लिखित फ्रेन्चफ्राइज बनाउने प्रक्रिया विकास गर्ने क्रममा एकातर्फ आलुमार्फत शरीरलाई आफूले आफँैलाई टराइन बनाउन सहयोग पुग्ने तत्त्वको पूर्ति गरिएको हुन्छ । अर्कोतर्फ यसको स्वाद बेजोड पार्न हालिने प्रोप्राइटरी सिजनिङमा ईष्ट, लसुन, प्याज आदिको उपयोग गरिएको छ । जसले साकाहारी र भेगनमा देखिने टराइनको पूर्तिमा समेत उल्लेखनीय योगदान दिन सकियोस् ।

वेद र विज्ञानको सहारामा आज संसारले हामीले कल्पना गरेको, देखेको, पढेको र भोगेको भन्दा दुई कदम अगाडि बढेर मानव जीवन सहज गर्ने निकै गहिरा विषयवस्तुको मनन गरेर नयाँ नयाँ खाद्य तथा प्रविधि हाम्रो सामु ल्याएको छ । आज जमाना यति धेरै अघि बढिसकेको छ कि तपाईं संसारकै उत्तममध्यको उत्तम विकल्पमा मात्र तपाईंको उपभोक्तालाई सन्तुष्ट गर्न सक्नुहुन्छ । इनोभेसन र उद्यमीकरणमार्फत मात्र जायज आय आर्जन गर्न सक्ने समयमा तपाईं पुगी सक्नुभएको छ । 

संसारको यो मर्मलाई सामान्य रूपमा समेत मनन गर्न नसकेका कतिपय हाम्रा डाक्टर र पोषण विज्ञहरू उत्कृष्टताको टाकुरो छुने गरी विकसित गरिएको फ्रेन्चफ्राइजलाई समेत बालकको स्वास्थ्य बिगार्ने पत्रु खाना घोषणा गर्दै हिँडेको तपार्ईं हामीले दैनिकजसो सुन्‍ने गरेका छौँ । यहाँ फ्रेन्चफ्राइज एउटा उदाहरणका रूपमा मात्र चर्चा गरिएको हो । बजारमा अन्य खाद्यहरूबारे समेत प्रशस्त रूपमा यस प्रकारका सस्ता भ्रमहरू छरिएका छन् । लाग्छ, धरै नियतवश र थोरै लहडमा त्यस्ता विषयहरू उठ्ने गरेका छन् । 

हाम्रा समाजमा सक्रिय देखिने त्यो हदको कतिपय सामाजिक राय चन्दहरू वेद र विज्ञानको आधारमा विकसित भएका नयाँ ज्ञान र प्रविधि र त्यसको मर्मसँग पूर्ण परिचित नबन्दासम्म त्यो क्रम रोकिने लक्षण देखिँदैन । अमुक नेपाली उद्यमीको उद्यममा बिनाकारण क्षति पुग्ने गरी खाद्य र पोषण सम्बन्धमा यसरी हचुवाको भरमा पटक पटक तथ्यलाई नै बङ्गाएर आउने गरेका यस्ता रायलाई उपभोक्ता आफैँले गहिरो अध्ययन गरेर मात्र सही रहेको नरहेको यकिन गर्नुपर्ने नयाँ परिस्थितिको सृजना भएको छ ।


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
x