विचार

कर्म गर्नुस्, फलको आशा नगर्नुस् !

नारायण घिमिरे |
चैत ११, २०७७ १९:१८ बजे

भगवद्-गीताको अध्याय-२, पद ४८ मा  श्रीकृष्णको एउटा महत्त्वपूर्ण वाणी भेटिन्छ । कर्म गर, तर फलको आशा नगर । अर्थात्, कर्म तिम्रो अधीनमा छ भने फल तिम्रो वशमा छैन ।

आफैँलाई तत्काल कुनै निश्‍चित फाइदा प्राप्त हुने अपेक्षा त्यागेर तपार्ईं आफ्नो तत्कालीन कर्तव्यहरू पूरा गर्दै अघि बढ्नुहोस् भन्‍ने नै यसको मूल भावार्थ हो । पूरै होस-हवासमा आफ्नो दिमागको पूर्णरूपमा सन्तुलित उपयोग गर्दै आफ्नो कर्तव्यमा नियमित रूपमा लीन हुनुलाई  गीतामा त्यागको भावनाको चिनारीका रूपमा प्रस्तुत गरिएको भेटिन्छ ।


‘कर्म’ शब्द सुन्‍नेबित्तिकै मानिसले सामान्य रूपमा लिने अर्थ सबैमा अवगत नै छ । यसको आध्यात्मिक अवधारणाबारे अलिकति गहिरिएर हेर्दा तपार्ईं फरक निचोडमा पुग्न सक्ने अवस्थामा पुग्नु हुनेछ । जीवनमा आइपर्ने केही महत्त्वपूर्ण विषयमा निर्णय लिनुपर्दा उक्त वैज्ञानिक रूपमा समेत प्रमाणित बनेका केही आध्यात्मिक अवधारणा तपार्ईंका लागि मूल्यवान् बन्‍न सक्छ ।

पहिलो कुरा कर्म भनेको कुनै पनि वस्तु वा सेवा वा पैसा जस्तो अन्य वस्तु वा सेवासँग आदानप्रदान गरिने विषय होइन । तपार्ईंका असल कार्यले तपार्ईंको जीवनको गुणस्तरमा कसरी असर पारिरहेको हुन्छ र यसमा तपार्ईंको भाग्यले कसरी काम गरिरहेको हुन्छ भन्‍ने यथार्थ अत्यन्त सूक्ष्म, धेरै जटिल र अधिक धेरै अर्थपूर्ण रहेको छ । यो अवधारणा केवल मानिसमा मात्र हैन, हाम्रो वातावरण वरिपरि रहेको सम्पूर्ण जीवजन्तुमा समेत लागू हुन्छ । 

हाम्रा वरिपरि रहेका बोट–बिरुवाहरू, जनावरहरू, पानी, हावा, आगो र अन्य तत्त्वहरू हरेकका आफ्नै कर्म हुने गर्छन् । सबै तत्त्वहरू मिलेर संयोजित रूपमा गर्ने समग्र कर्मको सहकार्यले हाम्रो वातावरणको निर्माण भइरहेको हुन्छ । जस्तै : सहकार्यमा सम्पादन भएका कर्मका फलका रूपमा फूलहरू फुल्न पाउँछन् । चराहरूलाई गाउने वातावरण बन्छ । 

तपार्ईं आफ्नो नजिकको आफ्नैलाई मेरी प्रिय वा प्यारे भनी पूर्ण सुरक्षित वातावरणको सदुपयोग गर्दै मायालु नजरले सम्मोहित भएर हेर्न, भावना साटासाट गर्न र लाडिन पाउनु हुन्छ । तपार्ईंको जीवनका हरेक पाइला सामान्य लाग्ने गरी असामान्य र रोमाञ्कतापूर्ण बनिदिन्छ । जीवन जिउनुको सार अनुभूति गर्ने अवसर मिल्छ । सजिलोका लागि कर्मलाई तीन प्रकारमा विभाजन गरेर व्याख्या गर्न सकिन्छ :

पहिलो 

तत्कालको क्षणिक फल दिने कर्म । कर्म शब्दको मुख्य अर्थका रूपमा हामीले प्रायः बुझ्‍ने कर्म तत्कालको कर्म हो । तपार्ईंका आफ्नै निश्‍चित उद्देश्य वा लक्ष्य पूर्ति गर्ने आशयले प्रेरित रहेका नियोजित कार्य जसको फलस्वरूप तपार्ईं निश्‍चित परिणामहरूको आशा गरिरहनु भएको हुन्छ । यो जरुरी छैन कि ती अभिलाषाहरू पूरा हुन्छन् । तर उक्त कार्यबापत कार्य गरिरहेकै समय आसपास तपार्ईंले प्रतिक्रियाहरूको महसुस गरिरहनु भएको हुन्छ । सम्भवतः परिणामको समेत तत्काल वा छोटो समयभित्रै महसुस गर्न पाउने सम्भावना देख्नु हुन्छ । 

तत्कालको कर्मअन्तर्गत तुलनात्मक रूपमा नियोजित कर्म गर्ने नगर्ने वा कसरी गर्ने आदि सम्बन्धका तपार्ईंसँग केही विकल्प रहने गर्छ । विकल्पहरूमा तपार्ईंको आंशिक वा पूर्ण नियन्त्रण रहने स्थिति रहन्छ । जस्तै : तपार्ईं आफ्नो बलेँसीको सुर्कामा तुलसीको बिउ छर्दै हुनुहुन्छ । केही महिनामा तुलसीको बोट उम्रिएको र त्यही तुलसीको बोट आँगनको मठमा सार्ने क्रममा सारिएको तुलसीसहितको मठलाई साक्षी राखी आफ्नो प्रेमी रिडी-रुद्रवेणीकि भक्तिनी भनेर चर्चित कार्किनी आमाकी कान्छी छोरी रुसबिनासँगै विवाहको प्रस्ताव राख्दा रुसबिनाले प्रस्ताव स्वीकारेको कल्पना गर्नुहुन्छ ।  

यहाँ तपाईंको कर्म तुलसी छर्ने हो । तपार्ईंको नियत ईश्‍वरमाथि धेरै भरोसा गर्ने तपार्ईंको प्रेमी रुसबिनालाई गरिने प्रेम प्रस्तावको साथी आफ्नै दैलामा रहेको तुलसीलाई बनाउनु रहेको छ । प्रस्ताव रुसबिनाले औपचारिक मात्र नभएर मनैदेखिको इमानदार प्रस्ताव सम्झिएर स्वीकारुन् भन्ने तपार्ईंको उद्देश्य छ । भित्री चुरो आशय तुलसीलाई ईश्‍वरको रूप मान्‍ने रुसबिना तुलसीको बोटको उपस्थितिमा हुने प्रस्तावलाई ईश्‍वरकै इच्छा मानी स्वीकार्ने छिन् । ईश्‍वरको अघि गरिएको वाचा पछि परिवर्तन हुनेछैन भन्‍ने रहेको छ ।

तपार्ईं तुलसीको मठछेउको बलेँसीको सुर्कामा तुलसीको गेडा छर्नुहुन्छ भने पक्कै तुलसी नै उम्रने आशा गर्न सकिन्छ । सम्भवतः महिना दिनमा तुलसी उम्रिएको पनि देख्‍न पाइनेछ । त्यहाँ कण्टकारी रोप्‍नुभयो भने कण्टकारी नै उम्रिनेछ । जहाँसम्म तुलसी रोप्‍ने सुर्कामा रोपेको तुलसी उम्रने कुरा छ, त्यो तटस्थ छ । हरेक साल तुलसी रोपिने सुर्कामा अन्य सालजस्तै यो साल पनि पक्कै उम्रनेछ भनी भरोसा राख्‍न सकिन्छ । 

तपार्र्ईं के रोप्‍नुहुन्छ, कसरी त्यसको स्याहारसुसार गर्नुहुन्छ त्यो तपार्र्ईंमाथि निर्भर गर्छ । तपार्ईंको गतिविधिले तुलसीमा पार्ने सकारात्मक वा नकारात्मक असरमा तपार्ईंको आंशिक नियन्त्रण छ । रोपेको बिउ उम्रन्छ वा उम्रँदैन जस्ता पक्ष तपाईंको नियन्त्रणबाहिर छ । तर मकै भुटे जस्तो तुलसीको बिउ पहिला भुट्नुहुन्छ र रोप्‍नुहुन्छ भने पक्कै त्यो भुटेको तुलसीको गेडा भने उम्रनेछैन ।

यहाँ तपाईंले गरेको तत्कालको कर्म तुलसी छर्ने रहेको छ । तत्काल आशा गरिएको प्रतिफलहरूमा छरेको तुलसी उम्रन पर्‍यो । हलक्क बढेपछिको शुभ–मुहूर्तमा रुसबिना तपाईंको दैला अगाडि आई–पुग्नु पर्‍यो । उनी खुसी अवस्थामा रहेको हुनुपर्‍यो । प्रस्ताव गर्ने मौका मिल्नुपर्‍यो । उनले स्वीकार्नु पर्‍यो । स्वीकारेपछि उनको घर, आफन्त र तपाईंको पक्षको पनि सहमति चाहिने होला । सो नभए पनि कम्तीमा दुवै एक हुने निश्‍चयमा पुग्‍नुपर्‍यो । सोचिएको फलको वास्तविक प्राप्तिका लागि भने यस्ता धेरै कुरा मिल्नुपर्ने होला । थोरै पक्ष तपाईंको नियन्त्रणमा रहला । धेरै पक्ष भने निश्चय नै तपाईंको नियन्त्रणभित्रको पक्कै रहनेछैन । 

दोस्रो 

कर्मको दोस्रो प्रकारमा सञ्चित कर्मलाई लिने गरिन्छ । यो पहिले नै बीजका रूपमा रहने कर्मको रूपमा रहन्छ । यसको फल अहिलेसम्म तपाईंले फलाउन वा महसुस गर्न सक्नुभएको छैन । मतलब त्यहाँ उपस्थित छ । त्यो तपाईंको चाहना वा इच्छा अनुकूल वा प्रतिकूल जेसुकै पनि हुन सक्छ । तर तपार्ईंले यसलाई हालसम्म अनुभव गर्न पाउनुभएको छैन । सञ्‍चित कर्मको सबै फल जीवनकालमा एकैचोटि  आउने वा महसुस गर्ने प्रकृतिको रहँदैन । 

निर्जला एकादशी भनिने ज्येष्ठ शुक्ल एकादशीमा तपाईंले छर्दै गर्नुभएको तुलसीको बीउको बिरुवा परम्परागत मान्यताअनुरूप देवशयनी एकादशी भनिने हरिशयनी एकादशीका दिन तुलसीको मोठमा रोप्‍ने तपाईंको औपचारिक योजना छ । तुलसी रोप्‍ने दिनदेखि चार महिना चतुर्मास अवधि आरम्भ हुन्छ । धार्मिक एवं ज्योतिषी मान्यताका आधारमा चतुर्मासभर विवाह, व्रतबन्ध,  अनुष्ठानजस्ता माङ्गलिक कार्य गर्नु हुँदैन । यो अवधिभर तुलसीको पूजा गर्ने, भागवत आदि विष्णु महात्म्यका ग्रन्थ पाठ गर्ने परम्परा छ । यद्यपि सूर्य दक्षिणायन रहँदा सामान्यतया माङ्गलिक कार्य गरिँदैन तर आँगनको मठमा रोपिएको तुलसीलाई भगवान् विष्णुको प्रियाको रूपमा पूजा गर्ने परम्परा छ ।

आफ्नो दैनिक कर्मले सफलता प्राप्त होस् वा नहोस् तपार्ईंको धर्म आफ्नो युद्धकलालाई आफ्नो पूर्ण क्षमतामा सदुपयोग गर्दै अघि बढ्नु हो । 

रुसबिना तपार्ईंकी भाउजू निर्जलाको फुपूकी मामाकी नातिनी हुन् । हरिशयनी एकादशीमा जन्मिएकाले ईश्‍वरले निर्जला एकादशीमा बिउ राखेकी अप्सरा ठानी तपाईंको भाउजूकी हजुरआमाले तपाईंको भाउजूको नाम निर्जला राखिदिइन्  । रुसबिनाको आमालाई दुःख पर्दा निर्जलाको हजुरबुबाले लगाएको गुणका कारण तपार्ईंको भाउजूको जन्मदिन  हरिशयनी एकादशीमा हरेक वर्ष रुसबिना तपाईंको भाउजूलाई भेट्न आउँछिन् । आफ्नो ममीले तपार्ईंको भाउजूलाई पठाएको कुरौनी छोडेर जाने गर्छिन् । 

यो वर्षको देवशयनी एकादशीको दिन तपार्ईं भगवान् विष्णुको प्रिया तुलसी र तपाईंको प्रिया रुसबिनाको एकैसाथ पूजा गर्ने विचारमा हुनुहुन्छ । प्रेमप्रस्ताव माङ्गलिक कार्यमा समावेश हुने औपचारिक आमन्त्रण रहेकाले यो तिथि रुसबिनाले प्रेम प्रस्ताव गर्ने उत्तम तिथि मान्नेछिन् भन्ने तपाईंको यकिन छ । भाउजू निर्जलाले तपाईंको छिमेकी काकी मञ्जुसँग रुसबिनाको बुबाले रुसबिनाको आमालाई आषाढ शुक्ल एकादशी वा देवशयनी एकादशीमा अर्जुन डाँडामा प्रेम प्रस्ताव गरेको रे भनेको तपाईंले सुन्‍नुभएको थियो ।

करिब २ हजार मिटर उचाइमा रहेको गुल्मीको एक डाँडामा बसेर पाँच पाण्डवमध्येका अर्जुनले शिवजीले ध्यान गरेर गीताको तत्त्व ज्ञान लिएकाले गुल्मीको लेकमा रहेको डाँडाको नाम अर्जुनडाँडा राखिएको रे । अर्जुन डाँडामा स्वच्छ हृदयले मागेको वरदान पुग्ने जनविश्वास भएकाले रुसबिनाको आमा अर्जुन डाँडामा पूजा गर्न गएको मौका छोपी रुसबिनाको बुबाले हात समातेर मलाई स्वीकार भन्दा अनायास रुसबिनाको आमाले रुसबिनाको बुबालाई अँगालो हाल्न पुगेपछि दुवैबीच विवाह हुने तय भएको रे भनेर भाउजूले भनेको घुइरो-घोइरो रूपमा तपाईंले सुन्‍नुभएको थियो । 

फलफूलको राजा ठानिने आँप प्राकृतिक रूपमा असार-साउनमा पाक्ने गर्छ । पाल्पा जिल्लाको गोठादी-५ को तपाईंको हात्ती ल्हुङ्ग (हात्ती ढुङ्गा) नामक मगर गाउँमा डल्ले, सिन्दुरे, चिउरी, सबुजा, मालदह, दशहरी, बम्बै र सरिह जातका आँप फल्छन् । तपाईंको करेसाको विशाल कलकतिया आँप तपाईंको हजुरबुबाले आफू ३२ वर्षको हुँदा कलकत्ताबाट ल्याएर रोप्‍नुभएको रे । पूरा पाल्पा जिल्लामै फलेको कलकतिया आँप भएको घर तपाईंको घर मात्र हो रे । तपाईंको हजुरबुबा बितेको आठ वर्षपछि मात्र कलकतिया आँप फल्न सुरु गरेको थियो रे । तपाईंको बुबा आँप फलेकै साल फलेको आँप समेत चाख्‍न नपाई बित्‍नु भएछ । अहिले आँपको बोटमा भर्खर चिचिला लागेको छ । 

हरेक साल भाउजू निर्जलाको जन्म दिन हरिशयनी एकादशी रहेको हप्ताबाट तपाईंको घरको आँप पाक्न सुरु गर्छ । भाउजूको जन्म दिनबाट मात्र पाकेको आँप टिप्‍न सुरु गरिन्छ । यो तपाईंको घरको आफ्नै मौलिक चलन हो । बजारमा व्यापारीले आँप किन्‍न मागे पनि तपार्ईंको घरमा आँप बेच्ने चलन छैन । मात्र एक बोट आँप सबै गाउँलेलाई चाख्‍न पुग्छ । 

तपाईंले अत्यन्त मन पराउने रुसबिना तपाईंको घरमा फल्ने कलकतिया आँपको स्वाद भनेपछि हुरुक्क हुन्छिन् । हरेक साल तपाईंको भाउजूलाई कुरौनी लिएर आउने रुसबिनालाई पेटभर दूधमा मुछेको आँप खुवाएर झोलाभरी आँप भरेर आमालाई दिनू भनी रुसबिनासँगै पठाउने गर्दछिन् तपाईंकी भाउजू । 

यो साल तपार्ईं त्यही दिनको प्रतीक्षामा व्यग्र भएर बसिरहनु भएको छ । पहिले तपाईंले न त कहिल्यै तुलसी छर्नुभयो । न तपार्ईंलाई धर्म कर्मका यस्ता कुरामा कुनै विश्वास र चाख नै थियो । गत साल मात्रै गाउँ आएका एक साधुलाई तेरो ईश्‍वर देखा, झुटो बोल्ने, ठगी खाने भनी दुर्व्यवहार गर्नुभएको थियो । पल्ला घरे रातेले नछेकेको भए साधुले तपाईंको हातको रामधुलाइ भेट्ने थिए । 

आज तपाईंको घर भन्दा तिन गरा तल रहेको सार्वजनिक पिउने पानीको धारा बनाइदिने संस्थाका प्रमुख चन्दादाता थिए ती साधु । तिनको नाम चक्रवर्ती श्री अमोद रहेको, उनी सर्वाधिक धनीमध्येका  एक चर्चित वैज्ञानिक, युनिभर्सिटी अफ ब्रिक्ले क्यालिफोर्निया, अमेरिकाका रिटायर्ड प्रोफेसर, वेद र अध्यात्मका गुरुसमेत रहेको तपाईंले हालसम्म मेसो पाउन सक्नुभएको छैन । यो साल तपाईंको प्यारी रुसबिनालाई प्रेम प्रस्ताव गर्ने क्रममा त्यही धाराबाट अम्खोरामा शुद्ध जल ल्याएर तुलसी र रुसबिनालाई छर्कने कर्म गरिने र आफ्नो उद्देश्य प्राप्ति गर्ने तपाईंको योजनाअन्तर्गतको गतिविधिमा परेको छ ।

तपार्ईंको कर्मले ब्रह्माण्डमा विभिन्न किसिमका बीउ रोप्ने गर्छ । त्यसको प्रतिफल कुनै तत्काल प्राप्त हुन्छ । कुनै वर्षौँपछि, कुनै दसौँ वर्षपछि फसल लाग्ने हुन सक्छ । कुनै-कुनै पाँच सय वर्ष पछाडि नतिजा दिने वा फसल उपलब्ध गराउने हुन पनि सक्छ । तपाईंको हजुरबुबाको राम्रो कर्मको डोरीले जोडिएको चिनजान र सम्बन्धले एकातर्फ तपार्ईंलाई आफ्नो प्रेयसीसँग भेट गर्ने बहाना दिएको छ । अर्कोतर्फ उनलाई खुसी पार्ने फलका रूपमा तपार्ईंलाई आँप उपलब्ध भएको छ । 

त्यो आँप जुन न त रोप्ने तपाईंको हजुरबुबा, न स्याहारसुसार गर्ने तपाईंको पिताजीले चाख्न पाउनुभयो । तपाईंको भाउजूको कर्मले तपाईंले तपाईंको प्रियका केके अवधारणा छ, पारिवारिक पृष्ठभूमि के छ र केके पूर्वाधार पूरा गर्दा तपाईंको आफ्नो उद्देश्य प्राप्ति सहज बन्ने दिशामा अघि बढ्ने धेरै सम्भावना छ भन्‍ने ज्ञान तपाईंलाई सित्तैमा प्राप्त भइरहेको छ । 

विगतमा तपार्ईं नास्तिक रहेको मात्र नभई आस्तिकहरूको मान्यता आफ्नो मान्यतासँग नमिल्दा दुष्कर्ममा उत्रेको मार्मिक इतिहास रहँदारहँदै समाजको शुभ-कर्मको फलका रूपमा एक सन्न्यासीले बनाइदिएको धाराको पानी तपाईंको महत्त्वपूर्ण काममा प्रयोजनमा आउन सम्भव भएको छ । 

तपाईंको विगत जेसुकै होस् तर अन्तिम समयमा आफ्नो मुटुमै बसेकी प्रियतमको प्रिय वस्तुलाई आफ्नोसमेत प्रिय बनाउने तपाईंको चाहनाको कर्मको प्रभावमा तपाईंले आफूमा ल्याउन सक्नुभएको परिवर्तन हेर्दा तपार्ईं कम्तीमा आफ्नो पक्षबाट आफूले चाहेको सुन्दर र आत्मीय भविष्यतर्फ उन्मुख बनिरहनुको आभास दिन्छ ।

भलै यसको पछाडि विविध पारिवारिक, सामाजिक र वातावरणीय पक्षका कर्म रहेका छन् । थिए र हुनेछन् । तर तपाईंका कर्म र तपाईंको आसपासको विषयवस्तुको कर्मको संयुक्त फल कुनै दिन पक्कै देखिनेछ । मात्र समयको कुरा हो । फलको प्रकृति कस्तो हुने छ, त्यो फरक कुरा हो । जुन वास्तवमा तटस्थ रहने गर्छ । 

तपाईंले टाउको फुटाए पनि नतिजा निष्पक्ष हुनेछ । फल तपाईंको चाहना अनुकूल हुन सक्छ । वा प्रतिकूल पनि हुन सक्छ । अनुकूलता वा प्रतिकूलता तपाईंको पूर्ण नियन्त्रणमा छैन । फल प्राप्तिको अनुभूति मिल्ने अवसर कहिले निश्चय हुने भन्नेसमेत टुंगो छैन । हुन पनि सक्दैन ।

तेस्रो 

कर्मको तेस्रो कर्मका रूपमा तपार्ईंको भाग्यलाई लिइन्छ । जब कुनै पनि तत्कालको कर्म वा सञ्‍चित कर्मको फल प्राप्तिको समयमा त्यसको उपभोग गर्न पाउने पात्र तपाईं बन्‍न पाउनुहुन्छ, त्यसलाई तपाईंको भाग्यको प्रतीकका रूपमा लिइन्छ । त्यो समयमा तपार्ईं आफ्नो गन्तव्यमा पुग्‍नुभएको महसुससमेत गर्न सक्नुहुन्छ । तपार्ईं कर्मको फल प्राप्त गर्ने भाग्यमानी बनिरहँदा तत्कालको कर्मको फल, सञ्‍चित कर्मको फल र भाग्य तीनै एक साथ संयोजित रहन जरुरी हुन्छ ।
 
एकातर्फ तपार्ईंका विचार, भावना, अनुभव, हृदयको बुद्धिमत्ता आदि तपाईंको कर्म गर्न चाहने इच्छा पैदा गर्न, त्यसमा नियमित र अडिग रहन जिम्मेवार रहन्छन् । अर्कोतर्फ एक निश्‍चित व्यक्ति र प्रवृत्तिको रूपमा तपार्ईं आफैँ र तत्कालीन समयको समग्रताको प्रतिफलको रूपमा तपाईं वरपरको हाल र विगतका गतिविधिहरू वा वातावरण तपाईंले प्राप्त गरिरहेको फलको उपलब्धिको मुख्य कारक बनिरहेका हुन्छन् । 

कर्मको सामान्य अर्थ हो, कार्य । हरेक कार्यको परिणाम हुन्छ । विभिन्न कार्यहरूले विभिन्न परिणाम दिने गर्छन् । विभिन्न परिणामहरूको समग्र प्रभावका रूपमा प्रतिफलको अनुभूति गर्न सकिन्छ । नियमित र सुचारु रूपमा भएका कार्यहरूले दिने विविध प्रतिफलहरूको समग्र रूपलाई मुख्य फल प्राप्ति ठानिन्छ । जुन आफैँ एक नियमित सुचारु प्रक्रियाको एक पक्ष हो । जुन आफैँमा दिगो प्रकृतिको रहन सक्दैन ।

संस्कृतको आधारभूत परिभाषाअनुसार कर्मको सार-अर्थ ‘क्रिया’ हुन्छ । हाम्रो हरेक क्रिया ऊर्जाको एउटा रूप हो । जब तपार्ईं कुनै क्रिया गर्नुहुन्छ तपार्ईंमा रहेको शक्ति कुनै न कुनै रूपमा अर्को व्यक्ति वा वस्तुमा सर्छ । त्यसको प्रतिक्रियाबापत केही तपार्ईंतर्फ आउला, केही जता सहज हुन्छ, उतै तह लाग्छ । अंग्रेजीमा एउटा सामान्य वाक्यांश छ । ह्वाट गोज अराउन्ड कमस अराउन्ड । अर्थात् तपाईंले जस्तो व्यवहार गर्नुहुन्छ, तपार्ईंलाई त्यस्तै प्रतिफल आइलाग्छ । 

न्युटनको तेस्रो सिद्धान्तले पनि हरेक कार्यका लागि त्यहाँ एक समान तर विपरीत प्रतिक्रिया हुन्छ भनी गीतको सारलाई स्वीकारेको छ । विज्ञानले स्वीकारेअनुरूपको वेदको अवधारणा जब तपार्ईं शारीरिक बलको प्रयोग गर्नुहुन्छ, तब त्यहाँ प्रतिक्रिया उत्पन्न हुन्छ । पैदा भएको शक्ति वा ऊर्जा कही पनि गायब हुन सक्दैन । मात्र एक रूपबाट अर्को रूपमा परिवर्तन भएको हुन्छ । यो कुरामा अब कुनै बहस हुने गर्दैन । सर्व-स्वीकार्य बनिसक्यो । किनकि यसलाई विज्ञानले आफ्नो सिद्धान्त भनेर स्वामित्व लिइसकेको छ । 

जीवात्माको बल, चेतनाको बल, सोच वा विचारको बल,  अहङ्कारको बल, प्रेमको बल, घृणाको बल आदि व्यवस्थापनको नियमबारे विज्ञान अझै अत्यन्त ठूलो निराशाजनक चरणमै छ । न फेद, न पुच्छर केही पनि पहिल्याउन नसकेर अलमलिइरहेको छ । जेहोस्, विज्ञानले आजसम्म आफैँले पत्ता लगाएको नाममा स्वीकार्न बाध्य भएको माथि उल्लिखित दुई वैज्ञानिक सिद्धान्तको प्रतिपादनपश्चात् वैदिक नियमको अवधारणामा विश्‍वव्यापी सहमति जुटेको मान्‍न सकिन्छ ।

सामान्य भाषामा बताउँदा हाम्रो जीवन एउटा निरन्तर संघर्षको गाथा हो । जसरी विगतमा एक राज्यले अर्को राज्य जित्‍ने उद्देश्यमा ठूला-साना धेरै लडाइँ हुने गथ्र्या, ब्याटल भनिने विभिन्‍न रणनीतिक आक्रमणहरूमा कहिले सफलता हात लाग्थ्यो, त कहिले असफलता । जसले चातुर्यपूर्वक शक्तिआर्जन गर्दै अर्को राज्यसँग भएका असफल स-साना ब्याटलहरूबाट उठ्दै अघि बढ्न सफल बन्थ्यो, मुख्य मुख्य सामरिक महत्त्वका युद्ध आफ्नो पक्षमा पार्न सक्थ्यो, विजयको माला पहिराउने अवसर उसैलाई मिल्थ्यो । यथार्थमा युद्ध वा वार उसैले जितेको हुन्थ्यो । जितेको राज्य उसैले कब्जा गर्थ्यो । 

तपाईंको जीवनको मूल उद्देश्यसमेत कुनै निश्‍चित ब्याटल जित्‍ने प्रकृतिको रहँदैन । अत्यन्त मूल्यवान ब्याटलका नतिजाहरू आफ्नो पक्षमा पार्दै सफलताको सिँढी उक्लनु तपाईंका तत्कालीन कर्तव्य हुन आउँछन् । तपाईंको दैनिक जीवन, व्यवहार, कारोबार र जीवनका सम्बन्धहरूको हरेक पक्षमा यी कुरा लागू हुन्छन् । 

आफ्नो दैनिकीको ब्याटल तपाईंको पक्षमा रहनु–नरहनुमा तपाईंको समग्र सफलता प्राप्तिमा महत्त्वपूर्ण भूमिका रहन्छ । तर निर्णायक भूमिका रहन्छ भनी सोच्‍नु वैदिक अवधारणा विपरीत ठानिन्छ । तपाईंले गर्ने दैनिक कर्ममा सफलता हात लागोस्-नलागोस्, समग्रमा वार जित्ने तपाईंको जीवनको उद्देश्य सुचारु रहन जरुरी रहन्छ ।

किनकि असफलताबाट सिक्दै र सफलताबाट अनुभव सँगाल्दै तपाईं आफूलाई जीवनको उद्देश्य प्राप्तिको मार्गतर्फ उन्मुख गराउन सक्नुहुन्छ । आफ्नो दैनिक कर्मले सफलता प्राप्त होस् वा नहोस् तपार्ईंको धर्म आफ्नो युद्धकलालाई आफ्नो पूर्ण क्षमतामा सदुपयोग गर्दै अघि बढ्नु हो । कर्म गर, तर फलको आशा नगर भन्‍ने गीताको भनाइले तपाईंलाई आफ्नो जीवनलाई यही मार्गमा समर्पित गराउन प्रेरणा दिन्छ । जसलाई सफल व्यक्तिमा अनिवार्य रहने चरित्रका रूपमा समेत चित्रित गरिने गरिन्छ ।     

(खाद्य तथा औषधिविज्ञ, क्यानडा)
 


Author

नारायण घिमिरे

घिमिरे क्यानडामा खाद्य तथा औषधि विज्ञका रुपमा कार्यरत छन् ।


थप समाचार
ad
x