पर्यटन

गरे के हुन्‍न

यस्तो धाम बन्यो 'त्यो मसानघाट'

सरिता दाहाल |
असार ३०, २०७९ बिहीबार ८:५७ बजे

मकवानपुर - भन्छन् नि 'जहाँ इच्छा त्यहाँ उपाय' । मनोकांक्षा भयो भने स्वरूप फेरिन सकस हुन्न । हेटौंडाको एउटा घाटको अवस्थाले माथिको भनाइ ठ्याक्कै चरितार्थ गर्छ । 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १०, ११ र पदमपोखरी गाविस (हाल हेटौंडा १३) को सिमानामा पर्ने ३ नदीको संगम त्रिवेणी । जहाँ मृत मानिसको अन्त्यपछि स्थानीयको जमघट हुन्थ्यो । अर्थात् दाह संस्कारको कर्ममा सहभागी हुन्थे स्थानीयहरू ।


गाई बस्तु चराउन जाँदा डराउँथे र हम्मेसि छेउ पर्दैनथे । तर अहिले यही ठाउँ घण्टौँ लगाएर, दिन तथा साता बिताएर धाउँदै हेर्न आउने स्थान बनेको छ । 'हेर्दा हेर्दै त्यो घाट यस्तो धाम बन्यो' हेटौंडा ९ का शम्भु न्यौपानेले भने । 

वि.स २०५२ साल अघि यो स्थान दाहसंस्कार गर्ने घाट थियो । जहाँ महादेवको सानो जीर्ण मन्दिर थियो । सबैले मसान घाट भन्ने गर्थे । गोठालाहरू बस्तुभाउ चराउन जाँदा मसान लाग्ने भन्दै परपर हुन्थे । 

स्थानीय ६७ वर्षीय ईवरी न्यौपानेको अनरवत लगावको परिणाम आज पवित्र तीर्थ स्थल बनेको छ । घाटलाई धाम बनाउने न्यौपानेको सपनामा होस्टेमा हैंसे थपिदिए दानवीरुहरूसँगै स्थानीय तथा संघीय सरकारले । 

हाल दिनहुँ सयौंको सङ्ख्यामा धार्मिक पर्यटक तथा ज्येष्ठ नागरिक तीर्थयात्राका क्रममा आउने गरेका छन् । भ्रमणका लागि विभिन्न स्थानमा हिँडेका तीर्थयात्री पनि पूर्वपश्चिम राजमार्गबाट नजिक पर्ने हुनाले त्रिवेणीधाममा दर्शन गरेर मात्र जाने गरेका छन् ।

धामको नजिकै निवास भएका ६७ वर्षीय ईश्वरी न्यौपाने उज्यालो हुनु पूर्व नै यहाँ आइपुग्छन् र उज्यालो घर्कदाँसम्म यहि हुन्छन् । न्यौपानेले भन्छन्, 'कहाँ-कहाँ के-के बनाउने भन्ने योजना दिउँसो यहाँ काम गर्दा सोचेको हुन्छु, बेलुकी सुत्नुअघि त्यसलाई लिपिबद्ध गर्छु, जसले गर्दा योजनाबद्ध रुपमा काम गर्न सहज छ,' उनी भन्छन् । 
 
पूर्वजनप्रतिनिधि न्यौपाने अहिले राजनीतिबाट पूर्णरूपमा अलग्गिएका छन् । २०४६ मा हेटौंडा ९ का वडाध्यक्ष विजयी न्यौपानेले आफू जनप्रतिनिधि हुँदा यसबारे चिन्तन गर्न भ्याएनन् । बहालवाल वडा अध्यक्ष हुँदा नै यो ठाउँको ऐतिहासिक महत्व बोकेको जानकारी खोजकर्ता पण्डित देवीप्रसाद कोइरालाबाट पाए । त्यसपछि नै हो न्यौपानेले यो मसान घाटलाई धाम बनाउने योजना बुन्न थालेका ।

धाम बनाउने सपनाको सुरुवातमा ज्योतिषी पण्डित केशवप्रसाद धितालको अध्यक्षता एकमहिने पाठपारायण लगाइयो । त्यसलगतै कुष्माण्ड सरोवार त्रिवेणीधाम विकास समितिको अध्यक्ष बनेका न्यौपानेले निकै लोकप्रिय कामको थालनी गरे । हाल त्रिवेणीधामको चर्चा र पहिचान देशभरि नै बनिसकेको छ । साढे ७ बिघा क्षेत्रफलमा फैलिएको उक्त धार्मिक स्थल निर्माण गर्न तत्कालीन जिल्ला विकास समितिको पर्यटन विकास समितिले ३ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

जिल्ला विकास समितिले पर्यटन विकास समितिले ३ लाख सहयोग गरेको थियो । यो नै सरोवर निर्माणको जग हो । 'सुरुमा कम्पाउण्ड वाल र शिलान्यासको लागि हामीले ७२ टीम ढुड्डा उठाएका थियौ ।' कुष्माण्ड सरोवरलाई हालको स्थानमा ल्याउन आफूमाथि भौतिक आक्रमण समेत भएको उनी स्मरण गर्छन् ।

कुष्माण्ड सरोबर त्रिवेणी धाममा एक महिने मकर मेला लाग्ने गरेको छ । रत्नावती, कर्णावती र कौशबाहीनीको संगमस्थलमा कुष्माण्ड सरोबर त्रिवेणीधाम स्थापना भएको हो । धाममा विशेष गरी उत्तरबाहिनी नदीको मूलबाट १०८ गौमुखी धारामा स्नान गर्ने भक्तजनको भिड लाग्ने गरेको छ । १०८ धारा निर्माण प्रारम्भ भएको यो स्थलको परिवर्तन अत्यन्त लोभलाग्दो छ ।

द्वापरयुगको अन्त्यतिर पाण्डवहरू गुप्तबास बस्ने क्रममा रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी) को संगमस्थलमा स्नान गरेको स्कन्दपुराणमा व्याख्या गरिए अनुसार मकरमेला लाग्ने गरेको हो । यसै स्थानमा पाण्डवहरूले स्नान, सन्ध्या, तर्पण, दान आदि गरी देवीदेवताको आराधना गरेको विश्वास छ ।      

माता कुष्माण्ड भगवतीले तपस्या गरी सिद्धि प्राप्त भएको सिद्धिक्षेत्र, पाँच पाण्डवहरूले श्राद्ध तर्पण गरेको, अम्वरिष राजाले भगवान विष्णुको आज्ञाले १०८ धारामा स्नान गरी सन्तान लाभ भएको लगायत बिभिन्न रोगहरू निदान भएको धर्म शास्त्रमा उल्लेख भएअनुसार यस क्षेत्रको महत्व रहेको अध्यक्ष न्यौपानेले बताए । तीनवटा नदीको संगमस्थलका साथै उत्तरबाहिनी नदीका कारण पनि यस क्षेत्रमा आएर गरिने स्नान विशेष महत्व रहेको उनले बताए । 

त्रिवेणीधाममा पर्यटक आकर्षणका विभिन्न माध्यम भएका कारण पनि आवतजावत गर्नेको संख्या दिनहुँ बढिरहेको त्रिवेणीधाम विकास समितिका अध्यक्ष न्यौपानेले बताए । पण्डित देवीप्रसाद कोइरालाको अगुवाइमा यस स्थानको नाम कुष्माण्ड सरोबर त्रिवेणीधाम नामाकरण गरी २०६६ देखि मकरमेला लगाइ निर्माणको प्रक्रिया सुरु गरीएको थियो ।

कुष्माण्ड सरोबर त्रिवेणी धामको विकासका लागि विभिन्न समयमा लगाइएका धार्मिक कार्यक्रम तथा मेला महोत्सवमा उठेका रकमबाहेक नेपाल सरकार, बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिकालगायतले पनि यसको निर्माणका लागि बजेट उपलब्ध गराइरहेको छ ।

धामका आकर्षण यी केन्द्रहरू
यो क्षेत्रको विशेष आकर्षणका केन्द्रहरू धेरै छन् । १०८ गौमुखी धारा, बोटिङ गर्ने ढुड्ड, सिस महल पार्क आदी । कुष्माण्ड सरोवर, हेटौंडाको इतिहास झल्काउने हेडम्बा नगरीको आकृति निर्माण गरिएको छ । पर्यटकलाई आकर्षण गर्ने डुङ्गामा गर्मीको राहत मिल्न सक्छ । 

त्रिवेणीधामका देशकै नमूना धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको अध्यक्ष न्यौपानेले बताए । पार्कको भित्रिभागमा अवस्थित सिस महल अर्को आकर्षणको केन्द्र हो । सिस महल भित्रै पाँच पाडवले भगवतीलाई परिक्रमा गरिरहेको आकृति छ । यसै परिसरमा नेपालको नक्सालाई बोकेको महिलाको आकृति जो कोहीलाई पनि लोभ्याउने छ । देशभर र भारतीय तीर्थयात्रीहरू आउन थालेका छन् । 

यसै परिसरमा रहेको नेपाल धर्तीमाताले नेपालको नक्सालाई बोकेर बसेको फोटो झनै आकर्षक छ । हेटौंडाको नामाकरणबारे इतिहास बुझ्नको लागि समेत सहज होस् भनेर यहाँ पाँच पाण्डवहरू र हिडम्बालाई भिमसेनले आक्रमण गरिरहेको आकृति निर्माण गरिएको छ । 

मेला अर्को आकर्षक पाटो
यहाँ लाग्ने विभिन्न मेलाहरू पनि विशेष आकर्षणका केन्द्र हुन् । जसले धार्मिक पर्यटकहरूलाई लोभ्याउने गरेको छ । हरेक वर्ष माघ महिनामा लाग्ने एक महिने मकर मेलामा पुराणवाचन, बटुकाहरूको सामूहिक व्रतबन्ध, प्रत्येक दिन पाठपारायण, नित्य पूजाआजा हुने गरेको छ । 

द्वापरयुगको अन्त्यतिर पाण्डवहरू गुप्तबास बस्ने क्रममा रत्नावती (राप्ती), कर्णावती (कर्रा) र कौषबाहिनी (कुख्रेनी) को संगमस्थलमा स्नान गरेको स्कन्दपुराणमा व्याख्या गरिए अनुसार मकरमेला लाग्ने गरेको हो । यसै स्थानमा पाण्डवहरूले स्नान, सन्ध्या, तर्पण, दान आदि गरी देवीदेवताको आराधना गरेको विश्वास छ । 

यसैगरी यो स्थानमा कुष्माण्ड नवमीको दिनमा कुभिन्डोमा सुनको प्रतिमा राखेर दान गरेमा पृथ्वी दान गरेबराबरको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । मेलामा भक्तजनले कुभिण्डो र त्यसमाथि सुवर्ण (सुन) दान गर्नेहरूको भीड लाग्ने गरेको छ । 

भक्तजनहरूलाई पापहरूबाट मुक्त गराउने माताका रुपमा कुष्माण्ड परिचित छिन् । उनै कुष्माण्डको नामबाट स्थापित कुष्माण्ड सरोवर त्रिवेणीधामले वर्षेनी मेला गर्ने गर्दछ । तीन नदीको संगममा रहेको यस ठाउँमा कुष्माण्ड नवमीका दिन कुष्माण्ड भगवतीले तपस्या गरेर सिद्धि प्राप्त गरेको दिनको रुपमा विश्वास गरिन्छ ।

त्यहाँ कुष्माण्ड भगवतीको मन्दिर, गणेश मन्दिर, ब्रह्मकुण्ड, विष्णुपादुका, एक सय आठ गौमुखी धारा, कुष्माण्ड भगवती सरोवर, शिवालय, राधाकृष्ण मन्दिर, हवन कुण्डलगायत सुन्दर बगैंचा निर्माण गरिएको छ ।

धामको एक छेउमा पहिलेदेखि चल्दै आएको दाहसंस्कारलाई व्यवस्थित गरेर निरन्तरता दिइएको छ । जहाँ दाहसंस्कारको लागि स्थान बनाइएको छ भने क्रियापुत्री भवन समेत सञ्चालनमा ल्याइएको छ ।

मेला माथिको मान्यता
कार्तिक शुक्ल नवमी कुष्माण्ड नवमी सत्य युगादी शुरूवात भएको दिन र कुष्माण्डा भगवतीले तपस्या गरी सिद्धी प्राप्त गरेको दिन मानिन्छ । यसै दिनमा यस तीर्थमा देवीदेवता आउने विश्वासको साथ १०८ धारामा स्नान गरी कुभिण्डोमा सुनको प्रतिमा राखी पहेंलो कपडाले छोपी दान गर्नाले आयु, आरोग्य, सुख शान्ति र मोक्ष प्राप्त हुने उल्लेख पाइन्छ । मकरसंक्रान्ति एवं माघमेला महिना भरी लाग्ने हुँदा महा पर्व मानिन्छ । सूर्य धनुराशीबाट मकर राशिमा सरेर उक्त राशिमा रहेसम्म माघ १ गतेदेखि मसान्तसम्मको समयलाई मकर मास भनिन्छ ।

माघ १ गतेबाट उत्तरायण प्रारम्भ हुन्छ । दक्षिणायनमा भन्दा उत्तरायणमा गरिने शुभ कर्मबाट फल प्राप्त हुने कुरा धार्मिक मान्यता रहेको छ । सत्य युगमा तप गरेको फल मकर सक्रान्ति तथा मकर माहनामा स्नान, दान गर्दा पाउन सकिन्छ भन्ने शास्त्रको भनाइ छ । धाममा १८ पुराण तथा उपपुराण मध्ये एक माघ एक महिनाभर पाठ परायण कथा प्रवचन, हवन, तपेण आदि गरिन्छ, माघमा गरिने कार्यलाई विशेष महत्व शास्त्रले दिएको छ ।

१०८ गौमुखी धारा र एक माता कुष्माण्डा भगवतीका पाउबाट प्रवाहित जलबाट स्नान गर्न मिल्ने ढुड्डे धारा समेत गरी १०९ धाराको व्यवस्था गरिएको छ ।  परिसरमा रहेको गणेश मन्दिर, कुष्माण्डा भगवती मन्दिर, विष्णु पादुका, बम्हकुण्ड, राधाकृष्ण मन्दिर, शिव मन्दिर, हवन भवन, व्यासासन भवन, नाग स्थान,  तपस्यारत भगवती सहित सरोवर, बालउद्यान, हेटौडाको चिनारी सहित हिडिम्बा तथा शिशमहल विशेष आकर्षणको केन्द्र हुन् । 

यसैगरी क्रिया पुत्री भवनले स्थानीयको आवश्यकतालाई सम्बोधन गरेको छ । सरोवर परसरमै रहेको विश्राम स्थलहरू, फूल बगैचा, हिंड्ने स्थानमा गरिएको सजावट पनि आकर्षक छन् । समितिले परिसर भित्र गौतम बुद्वको मुर्ति बनाइने योजना पनि रहेको छ । पार्क भित्र अतिथि गृह, स्नान गर्दा कपडा फेर्ने लकर सहित भवन, खानेपानी तथा सिंचाई लगायतको व्यवस्था रहेको छ ।

उत्पत्ति
कुष्माण्ड सरोवर त्रिवेणी धाम धार्मिक मान्यताका आधारमा कुशको जराबाट उत्पत्ति भएको भन्ने विश्वास छ । न्यौपानेका अनुसार हेटौंडा उपमहानगरपालिका १०, ११, १३ नं. वार्डको सिमानामा अवस्थित यो स्थान सनातन धार्मिक ग्रन्थहरू स्कन्द पुराणको हिमवत खण्ड, महाभारतको आदि पर्व, वनपर्व, वराह, वायुपुराण आदिमा यस त्रिवेणी धामको महिमा वर्णन भएको पाइन्छ । 

तीन नदीको संगम यो धामले नदी क्षेत्रको जग्गालाई संरक्षण गरेको छ । धामको पूर्वमा कर्रा नदी, पश्चिम तर्फ कौशवाही उत्तर वाहिनी नदी, उत्तर तर्फ रत्नवती, दक्षिण तर्फ व्यक्तिगत भोग चलनमा रहेको ऐलानी जमिन छ । यहाँ १०८ गौमुखी धारा लगायत मन्दिर सरोवर आदि स्थापित छन् । गुरूयोजना अनुसार थप निर्माण गर्न बाँकी रहेको समेत ७ विगाह ५ कठ्का जमिन रहेको छ ।

स्थापना वि.सं. २०५२ सालमा त्रिपुरेश्वर शिवालय स्थापना भई अस्त व्यस्त अवस्था रहेको यो क्षेत्रमा २०६६ सालमा विधिवत् कुष्माण्ड सरोवर त्रिवेणी धाम दर्ता र ०६७ जेष्ठ ५ मा १०८ धाराको शिलान्यास गरी ०६७ कार्तिक शुक्ल नवमी कुष्माण्ड नवमी कार्तिक २९ गतेदेखि १०८ धारामा पानी ल्याइएको थियो । सुरुमा पोलिथियन पाईपको धाराबाट पानी सञ्चालन गरी स्नान गर्ने व्यवस्था गरिएको थियो । अनरवत लगाव र मेहनतपछि ०६७ माघ १ गते गौमुखी धाराबाट पानी प्रवाहित गरी स्नान गर्ने कार्यको थालनी गरिएको थियो । २०६७ आश्विन २२ गते शुक्रबार घटस्थापनाका दिन कुश्माण्ड भगवतीको स्थापना र 
नवरात्री पूजा 

तथा जमरा राखेर सुरूवात गर्दै २०७० मा भगवती मन्दिर पूर्ण र क्रमशः निर्माण गर्दै अघि बढ्दै गईरहेको छ । पुरानो बगरलाई पन्छाउँदै पन्छाउँदै व्यवस्थित गरिएको छ । नदिको आसपासमा हजार मिटरभन्दा बढी तटबन्धन भइसकेको छ । जसले आपसपासको खेतीको समेत सुरुक्षा गरेको छ ।

३० वर्ष राजनीतिक भूमिकामा रहेका न्यौपाने, अहिले सबैदललाई समान मान्दछन् । 'मेरो लागि कुनै पनि दल ठुलो र सानो छैन, सबैको लागि यो धाम साझा बनाउन सकियोस्, यहाँ राजनीतिक रड्ड दिन चाहन्न' उनले भने 'सबै दल र व्यक्तिको साथ छ पनि मैले पाएको छु।'

यी काम बाँकी छन्
धामको मुख्य आकर्षणको रुपमा रहेको सिस महलमा पंखाले धान्ने अवस्था छैन, चिसो बनाउन एसीको आवश्यकता छ । अतिथिहरू आउँदा भित्र पस्नै नसक्ने गर्मी छ । 

हेटौंडाको उत्पात्ति, महत्व, पाँच पाण्डवहरूको सन्दर्भको इतिहास समेटेर वृत्त चित्र बनाउने योजनामा छ, जहाँ वृत्तचित्र हेर्दै व्यत्तिले जानकारीहरू टीपोट गर्न सकोस्, टेलीभिजबाट सबै जानकारी दिन सकियोस् भन्ने योजना छ, बजेटको अभावले काम अधुरा छन् । 

वृत्त चित्रको लागि लेखन सामग्री आफैंले तयार गरेको तर, बजेट माग गर्ने बेलामा बिरामी परे योजना उसै थन्केको न्यौपानले बताए । अर्को योजना बुद्धको मुर्ति निर्माण बाँकी छ । पार्क भित्र कम्तिमा १० फिट अग्लो बुद्धको मुर्ति बनाउने योजना छ । 

सुरक्षा भवन बनाउन बाँकी छ । क्रिया पुत्रीको लागि बनेको भवनलाई व्यवस्थित गर्न बाँकी छ । कृयापुत्री भवन अहिले पनि छ तर हामीले राम्रो व्यवस्थापन गर्न बाँकी छ । दाहासंस्कारको क्षेत्रमा पनि काम बाँकी छ । १०८ धारामा स्नान गर्नेलाई पोशाक फेर्ने कोठाको व्यवस्था गर्न बाँकी छ । 

लकरसहितको कोठाको व्यवस्था गर्ने योजना भए पनि काममा बजेट अभाव छ । स्नान गर्न आउनेलाई आफ्ना मोबाइल पर्स, पोषाकहरू लकरमा राखेर चाबि लिएर ढुक्कले स्नान गर्न वातावरण बनाउन सकिएको छैन । मुख्य बजारबाट धामसम्म पुग्ने बाटोको केही भाग स्याब गर्न बाँकी छ ।

न्यौपानेका अनुसार यो धामको लागि हालसम्म ७ करोड रुपैयाँ लगानी भएको छ । धामको विकास भएसँगै प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी ५० जनाले रोजगारी पाएका छन् । 

नेतृत्वमा रहेको दलका नेताहरूले कार्यकर्ताको आवश्यकतालाई हेरे बजेट छर्ने परिपाटीको कारण समयमा सही विकास हुन नसकेको अध्यक्ष न्यौपानेले गुनासो गरे । 'नेतृत्वले सानो एउटा मन्दीर बनाए अलपत्र पार्ने हैन, केही व्यक्तिलाई रोजगार दिन सकियो भन्ने तर्फ ध्यान जानु आवश्यक छ' उनले भने, 'सदुपयाग हुने ठाँउमा लगानी गर्न सरकारले ध्यान दिओस् ।'

यद्यपि धामको धार्मिक तथा पर्यटकीय विकास हुनुपर्ने आवश्यकतालाई मनन् गर्दै भक्तजनहरूले स्वतस्फुर्त रुपमा मन्दिर, प्रतिक्षालय, ब्रम्हकुण्ड, बस्ने कुर्सिहरूमा लगानी गरेका छन् । देश संघीयतामा आएसँगै स्थानीय सरकार (हेटौंडा उपमहानगरपालिका) बागमती प्रदेश सरकार र संघीय सरकारले सिमित सहयोग गरेको छ ।

'ठूला र चौडा सडक, आठ/दश तले घर मात्रै विकासको सूचक हैन । प्रदेशको राजधानीमा आकर्षण गर्ने स्थान पनि चाहिन्छ । प्रदेशको राजधानी मकवानपुर प्रवेश गरेपछि आफ्नो काम सकेर घुमफीर र केही ज्ञान लिन सकियोस भन्ने हेतुले लगानी गरिनु पर्छ' अध्यक्ष न्यौपाने भन्छन् । 

मकवानपुरको हेटौंडाबाट पूर्वमा रहेको मकवानपुरगढी दरबार तथा दक्षण पूर्वमा रहेको मुर्तिपार्क, पश्चिममा रहेको शहिद स्मारक, उत्तरमा रहेको पर्यटकीय नगरी थाहा नगरपालिका तथा पूवि उत्तरमा रहेको चिसापानी गढी र दक्षिणमा रहेको चुरियामाइ मन्दीर तथा सुरुङ मार्गलाई स्थानीय सरकारले पर्यटन रुटको रुपमा विकास गर्नुपर्ने उनले औल्याए ।


 


Author

थप समाचार
x