पर्यटन

पर्यटन पुनरुत्थान कार्ययोजना

सन् २०२३-२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारको तयारी [भिडिओसहित]

इकागज |
साउन ८, २०७९ आइतबार १३:४३ बजे

काठमाडौँ - सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने जानकारी दिएको हो । पर्यटनमन्त्री जीवनराम श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गरेको ‘रिकोभरी प्लान’ ल्याउने निर्णयअनुसार मन्त्रालयले पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको हो । 

कार्ययोजना प्रस्तुत गर्दै मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक तीन महिनाभित्र घोषणा गरिसक्ने गरी तयारी गरिरहेको बताए । उनले पर्यटन क्षेत्रमा अनवरत योगदान गर्ने व्यक्तिहरूलाई सम्मानस्वरुप परिचय पत्र दिने कार्यजना बनाएको पनि जानकारी दिए । 


सहसचिव लुइँटेलले नेपालमा विदेशी चलचित्र छायाङ्कनको लागि विदेशी चलचित्र निर्माता र कलाकारहरूलाई आकर्षण गर्ने विभिन्न सहुलियतको व्यवस्था गरिने बताए । सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने पनि उनको भनाइ छ । 

सहसचिव लुइँटेलले कार्ययोजना प्रस्तुत गर्दै सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविष्यको जोखिममा सम्बन्धमा अध्ययन गर्न सगरमाथा आधारशिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने बताए । त्यस्तै काठमाडौ उपत्यकालगायत अन्य पर्यटकीय स्थलमा पर्यटनको बसपार्क निर्माणको कामलाई ६ महिनाभित्र अगाडि बढाउने उनको भनाइ छ । 

कार्यक्रममा पर्यटन मन्त्री श्रेष्ठले मन्त्रालयले घोषणा गरेको ७३ बुँदे कार्ययोजनाले कोरोना महामारीले परेको असरलाई पुनरुत्थान गरी पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने काम गर्ने दाबी गरे । मन्त्री श्रेष्ठले सरकारले नेपाललाई विश्वको एक पर्यटन आगमनको केन्द्र बनाउने गरी काम गर्ने तयारी गरेको बताए । 

उनले विगतमा कुनै एक वर्षलाई भ्रमण वर्षको रूपमा मनाएर पर्यटन क्षेत्रको विकास गर्ने गरिएको भए पनि वर्तमान सरकारले एक दशकलाई नै नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरिने बताए । मन्त्री श्रेष्ठले नेपाल भ्रमण वर्ष दशकै रूपमा मनाउँदा पर्यटन प्रवर्द्धन र विकासको अभियान नै भएको बताए । 

मन्त्रालयले कोरोना महामारीबाट सिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानको लागि गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने घोषणा पनि गरेको छ । त्यस्तै मन्त्रालयले हिमाल आरोहणको लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीको आरोहण ६ महिनाभित्र खुला गर्ने तयारी गरेको छ । त्यस्तै, प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषणा समेत मन्त्रालयले गरेको छ । 

काठमाडौं उपत्यकाभित्र रात्रीकालीन पर्यटनको प्रारम्भ र प्रवर्द्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र सञ्चालन गर्ने तयारी रहेको बताएको छ । 
 


Author

थप समाचार
x