पर्यटन

फाप्लु विमानस्थलको मुख्य प्रवेशद्वार अन्यत्र सारिने

पुष्प श्रेष्ठ |
माघ ११, २०७९ बुधवार १२:५६ बजे

सोलुखुम्बु – फाप्लु विमानस्थलको मुख्य प्रवेशद्वार अन्यत्र सारिने भएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले २०७७ सालमा ८ करोड ७८ लाख रुपैयाँको खर्चेर निर्माण सम्पन्न गरेको उक्त मुख्यद्वार तीन वर्षमा पनि सञ्चालनमा ल्याउन सकिएको थिएन ।


प्रवेशद्वार विमानस्थल टावरदेखि टाढा रहेका भन्दै नजिकै राख्न केन्द्रीय कार्यालयमा प्रस्ताव गरेको प्राधिकरण फाप्लुका प्रमुख भानुभक्त आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार प्रबेशद्वारबाट प्रवेश गरेपछि ग्याभिङ जाली नहुँदा दुर्घटना हुने सम्भावना भएकाले हालसम्म प्रवेशद्वार सञ्चालनमा नल्याइएको हो ।

यता फाप्लु वातावरण मैत्री टोल सुधार समितिले राज्यको करोडौं लगानीमा निर्माण गरिएको प्रवेशद्वार चाँडो प्रयोगमा ल्याउन माग गरेको छ । समितिले निर्माण भइसकेको प्रवेशद्वारलाई विभिन्न बहानामा भत्काउने र सार्ने काम नगर्न नगराउन फाप्लु प्राधिकरणलाई  ध्यानार्कषण पत्र समेत बुझाएको छ ।

मागको वेवास्ता गरेको खण्डमा नागरिक उड्ययन प्राधिकरणको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिइएको छ । सोलुदूधकुण्ड नगरपालिका ४ का वडाध्यक्ष युवास तामाङसहितको उपस्थितिमा मंगलबार बसेको टोल सुधार समितिको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्ष दोर्जी तामाङले जानकारी दिए ।
नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लुले प्रवेशद्वार वर्षौदेखि उपयोगविहीन बनाइदिदाँ हवाईयात्रु साँघुरो मार्ग प्रयोग गर्न बाध्य छन् ।


Author

थप समाचार
x