पर्यटन

लुम्बिनी घुम्‍ने पर्यटक वृद्धि

इकागज |
चैत ६, २०७९ सोमबार १०:११ बजे

काठमाडौँ - लुम्बिनी घुम्न जाने विदेशी तथा आन्तरिक पर्यटकमा वृद्धि भएको छ । कोभिड–१९ महामारीको कारण लुम्बिनी भ्रमण गर्न जाने वाह्य तथा आन्तरिक पर्यटकमा कमी भए पनि २०२२ पछि पर्यटकमा वृद्धि भएको लुम्बिनी विकास कोषले बताएको हो ।

सन् २०१९ सम्म करिब १७ लाख वाह्य र आन्तरिक पर्यटक आउने गरेकोमा कारोना महामारीको कारण घटेर २०२० मा २ लाख ९२ हजार  पर्यटक मात्रै आएको कोषले जनाएको छ । लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले सन् २०२३ को पछिल्लो तीन महिना सम्ममा २५ हजार बढी विदशी पर्यटक आगमन भएको बताए ।


उनले २०२१ मा ११९७ जना विदेशी,४३ हजार ७३२ भारतीय र आन्तरिक ४ लाख ६३ हजार ९६३ पर्यटक आएको बताए । उनले २०२२ मा विदेशी पर्यटक २३ हजार ९४२,भारतीय २ लाख ३० हजार ८६३ र आन्तरिक ६ लाख ४९ हजार ७८ पर्यटक लुम्बिनी घुम्न आएको बताए ।

२०२२ पछि लुम्बिनी घुम्नको लागि आउने आन्तरिक वाह्य तथा भारतीय पर्यटकमा वृद्धि हुँदै गएकाले आगामी दिन बढ्दै जाने आशा  जगाएको उनको भनाइ छ । उनले तिलौराकोट संरक्षित स्मारक क्षेत्र सन् २०२५ सम्म विश्व सम्पदा सूचीमा सूचीकरण गर्नेगरी काम अगाडि बढाएको बताए ।

उनले १९९६ मा विश्व सम्पदामा राख्ने सूचीमा राखेर पनि अहिले सरकारले बजेट छुट्याएर नै प्राथमिकतामा राखेको बताए। तिलौराकोटको २०१४ देखि जापनिज फन्ड ईन ट्रस्टको सहयोगमा र युनेस्कोको संयोजनामा बेलायतको दुर्हम विश्व विद्यालय र पुरातत्व विभागको पुरातत्वविद्हरूको टोलीले उत्खनन र अनुसन्धान गरेको बताए ।

उनले तिलौराकोट क्षेत्रका जग्गा अधिकरण गरेर अहिले पनि वैज्ञानिक तरिकाले उत्खनन, अन्वेषण,, भूभौतिक सर्वे, ड्रोन फोटोग्राफी फिल्ड बाकिङ सोसोईकनोमिक सर्वे भिजिटर सर्वे गरी अध्यययन अनुसन्धान गरिएको बताए ।

 

 


Author

थप समाचार
x