पर्यटन

एकै पटक दुई सय बढी बंगलादेशी पर्यटक नेपालमा

पञ्चे बाजासहित विमानस्थलमा स्वागत

इकागज |
भदौ १, २०८० शुक्रबार १५:१ बजे

काठमाडौँ- एकै पटक दुई सय बढी बंगलादेशी पर्यटकहरू चार्टर्ड जहाजबाट नेपाल भ्रमणका लागि आएका छन् । शुक्रबार मध्यान्ह दुई सय बढी बंगलादेशी नागरिकको टोली नेपाल भ्रमणका लागि आएको हो ।

बंगलादेशी पर्यटकको स्वागतका लागि नेपाल पर्यटन बोर्डका सदस्यहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरूले पर्यटकको स्वागतमा नेपाली पञ्चे बाजागाजासहित स्थानीय पहिचान झल्कने नाचगान प्रस्तुत गरेका थिए । बंगलादेशबाट एक साथ यति धेरै पर्यटक नेपाल आएका हुन् ।


आज र भोलि गरेर बंगलादेशबाट करिब सात सय पर्यटकहरू नेपाल आउने बताइएको छ । पर्यटकहरूको स्वागतका लागि विमानस्थल पुगेका नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थापाले बंगलादेशबाट होलिडे मनाउनका लागि नेपाल आएको बताए । उनले पछिल्लो तीन वर्ष यता बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या निरन्तर बढिरहेको उल्लेख गरे ।

उनले भने, ‘आज र भोलि गरेर बंगलादेशको ठूलो टिम नेपाल आउँदैछ । करिब ७ सय जति पर्यटकहरू आउँदै हुनुहुन्छ । उहाँहरू होलिडे मनाउनका लागि यहाँ आउनुभएको हो । यसमा पर्यटन बोर्डले स्वागत गरेको हो । पछिल्लो दुई तीन वर्ष यता बंगलादेशका पर्यटकहरू बढी रहनुभएको छ ।’

त्यस्तै बंगलादेशी पर्यटक शेख अजरफ उद्दिनले नेपाल घुम्नका लागि सही र राम्रो गन्तव्य भएको बताए । उनले नेपालमा स्वागत राम्रो पाएको र नेपाल घुम्न आतुर रहेको बताए । उनले भने, ‘हामीलाई नेपालमा धेरै राम्रो स्वागत गर्नुभयो । नेपाल घुम्नका लागि हामी एक्साइटेड छौँ । बंगलादेशले नेपाललाई घुम्नको लागि प्राथमिकतामा राखेको छ । नेपाल राम्रो देश पनि घुम्नका लागि । हिमाल, स्थानीय खाना, स्थानीय संस्कृति राम्रो छ ।’

पर्यटकको आवागमनले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।


Author

थप समाचार
x