पर्यटन

चिसोमा ट्रेकिङ जाँदा कसरी अपनाउने सावधानी ?

इकागज |
मंसिर १९, २०८० मंगलबार १३:४ बजे

काठमाडौँ- विगत दुई दिनदेखि नै मुगु, जुम्ला, हुम्ला, मनाङ, मुस्ताङका उच्च क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण त्यस क्षेत्रको जनजीवनमा असर परेको छ भने कतिपय ठाउँमा यातायातका साधनसमेत अवरुद्ध हुन पुग्ने भएकाले ट्रेकिङमा जानेले विशेष सावधानी अपनाउनुपर्ने यस क्षेत्रका जानकारले बताएका छन् । 

यसपाली गत वर्षको भन्दा चाँडो चिसो बढेकाले जाडो बढी नै हुने अनुमान गरिएको छ । तराईमा बाक्लो हुस्सु लागेर चिसो बढ्ने क्रम बढेको छ । देशभरिकै मौसम चिसो हुँदा प्रत्यक्ष असर ट्रेकिङ क्षेत्रमा पनि पर्छ ।


ट्रेकिङको याम करिब–करिब सकिए  पनि साहसिक पर्यटक नियमितजसो नै जाने गर्छन् । अहिले पनि सयौँ पर्यटकले ट्रेकिङ गरिरहेका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अनुसार यो याममा दृश्यहरु मनमोहक देखिन्छ तर हिमपात सुरु भएकाले चुनौती पनि उत्तिकै छ । सावधानी अपनाउँदा भने ट्रेकिङ गर्न कुनै समस्या नहुने टानका महासचिव विनोद सापकोटा बताउँछन् । 

उनका अनुसार अब ट्रेकिङको याम सकिने क्रममा छ । सेप्टेम्बर, अक्टोबर नोभेम्बर, मार्च, अप्रिल र मे मुख्य याम भए पनि अहिले नजाने भन्ने होइन । विदेशी अहिले कम जान्छन् भने आन्तरिक पर्यटकहरु बढी गइरहेका छन् । केही दिनदेखि हिमपात भएको र चिसो बढी हुन थालेकाले यो बेलामा जाँदा विशेष सावधानी अपनाउनुपर्ने महासचिव सापकोटाको भनाइ छ ।

अक्टोबर, नोभेम्बर, डिसेम्बर, जनवरी, फेब्रुअरी भने दृश्य मनोमोहक देखिने भएकाले साहसिक पर्यटकका लागि आकर्षक हुन्छ । सगरमाथा बेस क्याम्प, अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा क्षेत्र ट्रेकिङको राम्रो गन्तव्य हो ।

उनका अनुसार हिमपात भएसँगै ठूला हिमालमा हिउँ थपिने तथा दिउँसो घाम लागेर हिमपहिरो आउने, हिमपात हुने हुन्छ । यस्तो समयमा बढी जोखिम हुन्छ । त्यसैले त्यस्तो जोखिम क्षेत्र पहिचान गरेर हिँड्नुपर्छ । अनुभवी व्यक्ति बिना ट्रेकिङ जानु हुँदैन । हिमाली क्षेत्र बाहेक अन्य क्षेत्रमा जाँदा पनि चिसोबाट जोगिने उपायसहित जाँदा राम्रो हुन्छ । 

'यसरी जाँदा कपडा पनि क्षेत्र अनुसार सुहाउँदो लगाउनुपर्छ, हिउँ पर्नाले बाटो पुरिएको हुनसक्छ, बाटो चिनेको मान्छेसँग हिँड्नुपर्छ । पर्यटक एक्लै पनि हिँड्ने गर्छन्, त्यसरी हिँड्नु थप जोखिम हुन्छ । ' महासचिव सापकोटा भन्छन्, 'यतिबेला माथिल्लो लेयरमा हिउँ पर्दिन्छ । एउटा लेयर जमेर बसेको हुन्छ ।  त्यसमाथि नयाँ हिउँ गएर थपिन्छ, जब घाम लाग्छ, अनि पानी छिरेर लेयर छुट्याइदिन्छ र माथिल्लो भाग झर्नसक्छ त्यसकारण हिउँ खस्ने सम्भावित क्षेत्र हो भनेर पहिचान भएका व्यक्ति लिएर जानुपर्छ र त्यही अनुसार हिउँमा हिँड्न मिल्ने जुत्ता, हिउँबाट जोगिने कपडा लगाउनुर्छ नभए अम्ला खाइदिने हुन्छ ।' 

नेपालमा अनुमानित दुई लाखभन्दा बढीले ट्रेकिङ गर्ने गरेका बताइए पनि  यकिन तथ्याङ्क भने छैन । नेपाल ट्रेकिङको उत्कृष्ट गन्तव्य हो । त्यसैले अहिले पर्यटक बढ्न थालेकाले व्यवसायी हर्षित पनि छन् । नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य एवं कोरियन आल्पाइन फेडेरेशनका नेपाल प्रतिनिधि ङावा ङिमा शेर्पा मनोरम दृष्य हेर्ने पर्यटकका लागि अहिले उपयुक्त मौसम भए पनि जोखिम भने बढी हुने बताउँछन् । 

उनका अनुसार यस्तो बेलामा हिमपहिरो आउने सम्भावना हुने हुँदा बिहानै घाम लाग्नुभन्दा पहिला नै गन्तव्यमा पुग्नुपर्ने हुन्छ । 'बेलुका चिसोले हिउँ सेट भएको हुन्छ । बिहान १० देखि ४ बजेसम्म हिउँ पग्लिने हुँदा जोखिमपूर्ण हुन्छ । त्यही भएर गाइडले ख्याल गर्नुपर्‍यो । अनुभवी गाइडको निर्देशनमा हिँड्नुपर्छ', ट्रेकिङ क्षेत्रका अनुभवी शेर्पा भन्छन्, 'अर्काे जोखिम भनेको हिउँ परिहाल्यो भने बाटो भुलिन सक्छ, खाल्डोमा पर्न सकिन्छ । अनि हिउँ परिरह्यो भने चिसो बढेर बिरामी बनाउन सक्छ । कपडा न्यानो लगाउनुपर्छ  खाना त्यहीअनुसार तातो खानुपर्छ र बासस्थानको पनि सोही अनुसार व्यवस्थापन गर्नुपर्छ ।'

यो याममा होटलसमेत बन्द गरिने भएकाले राम्रो अध्ययन गरेर होटल छन्, छैनन् सबै यकिन गरेर मात्रै ट्रेकिङमा जानुपर्नेमा उहाँ जोड दिनुहुन्छ । संसारको सबैभन्दा बढी र राम्रो ट्रेकिङ गन्तव्य नै नेपाल भएको जिकिर गर्दै शेर्पा दुई सय ५० जति पोटेन्सियल ट्रेकिङ क्षेत्र रहेकामा त्यसमध्ये नौ–दस वटाबाट मात्रै फाइदा लिन सकिएको बताउनुहुन्छ । अन्नपूर्ण, सगरमाथा, लाङटाङ, मुस्ताङ अनि डोल्पा आकर्षक गन्तव्यका रुपमा रहेको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले चिसो बढेकाले विशेष गरी ट्रेकिङमा जानेहरुले सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ । तराई क्षेत्रमा हुस्सु बढ्न थालेको छ । शीत लहरसमेत सुरु हुने भएकाले अब हिमाली क्षेत्रको हिमपात, तराई क्षेत्रको शीतलहर र पहाडी क्षेत्रको उच्च चिसोबाट जोगिन सबैमा अनुरोध गर्दै प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काले जाडो छल्न आगो ताप्ने क्रममा आगलागी हुने भएकाले त्यसतर्फ पनि ख्याल गर्न अनुरोध गर्नुभएको छ । 

यस्तो छ मौसम 
हाल नेपालमा पश्चिमी वायुको साथै भारतीय  उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ । देशको पूर्वी भू–भागमा बङ्गालको खाडीको मध्य–पश्चिम क्षेत्र आसपास विकसित मिचुङ नामक शक्तिशाली समुद्रिक आँधीको समेत आंशिक प्रभाव परेको छ । हाल कोशी र लुम्बिनी प्रदेशका साथै देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली छ ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

राप्ती कोशी, मधेश, बागमती र गण्डकी  प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी र गण्डकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद् सन्दिप अधिकारीले आग्रह गरेका छन् । 

तापक्रमको अवस्था 
मौसमविद् अधिकारीका अनुसार काठमाडौँमा  हिजो न्यूनतम तापक्रम सात दशमलव चारसम्म झरिसकेको छ । जोमसोममा सबैभन्दा कम देखिएको छ । हिजो माइनस पाँच दशमलव पाँच डिग्री तापक्रम रहेको थियो । यसपालीको यो सबैभन्दा कम तापक्रम हो । हिजो दोलखाको जिरीमा एक डिग्री, जुम्लामा माइनस तीन दशमलव आड डिग्रीसम्म झरेको छ । मनाङमा दैनिक तपक्रम हेर्ने स्टेसन नभएकाले चिसो कति पुग्यो भनेर यकिन भन्न सकिने अवस्था नभएको विभागले जनाएको छ ।

मौसमविद् अधिकारी आज पूर्वी तराईमा बादल लागेको बताउँछन् । त्यस  क्षेत्रमा हवाई उड्डयनमा असर पर्ने देखिएको छ । पश्चिबाट मौसमको असर सुरु भए पनि आजदेखि विस्तारै खुलेको र धनगढी तथा डडेलधुरामा मोसम सुधारात्मक रहेको जनाइएको छ । काठमाडौँमा पनि मौसम सुधारिए पनि विस्तारै चिसो बढ्दै जाने बताइएको छ । रासस


Author

थप समाचार
x