पर्यटन

नागरिक उड्डयन दिवस :

नेपालमा कसले ल्यायो पहिलो विमान ? कसरी राखियो त्रिभुवन विमानस्थलको नाम ?

अतिन आचार्य |
मंसिर २१, २०८० बिहीबार ७:४५ बजे

तस्बिर स्रोत : एनडीटीभी

काठमाडौँ- आज अर्थात बिहीबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस हो । हरेक वर्ष डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको रुपमा मनाउने गरिन्छ ।

हरेक देशमा नागरिक उड्डयन प्राधिकरणको आफ्नै भूमिका हुन्छ । त्यसका लागि उडान क्षेत्रमा विकास गर्न र व्यवस्थित र नियमन गर्न पूर्वाधारहरूको स्थापनाले अत्यन्तै महत्त्वपूर्ण भूमिका रहेको छ ।


सेवा सुविधाको पहुँच बढाएर तथा पर्यटन क्षेत्रको प्रचारप्रसार विकास गर्न पनि उड्डयन क्षेत्रले विशेष सहयोग गरेको हुन्छ । यसले गर्दा पर्यटकीय क्षेत्रको प्रचारप्रसार भएर आर्थिक आम्दानीसमेत गर्न सकिन्छ । अझ सहज रुपमा भन्नुपर्दा स्थलमार्गबाट गन्तव्यमा पुग्न २-३ दिन लाग्ने ठाउँमा हवाई उडानबाट १-२ घण्टामा पुग्न सकिन्छ । यात्रामा घ‌ण्टौमा लाग्‍ने ठाउँमा क्षणभरमा पुर्‍याउन हवाई सेवाले सहज बनाएको छ ।

हवाई सेवाबाटै दुर्गम क्षेत्रका सिकिस्त बिरामीको समयमै सहजै उपचार गर्न सकिन्छ । यसले गर्दा पनि दिनप्रतिदिन हवाई उडानको महत्त्व बढ्दै गएको छ । नागरिकका लागि आवश्यक सामग्री ढुवानी गर्न र छिटोछरितो यात्रा गर्न पनि यसको अहम भूमिका रहने गरेको छ ।

नेपालमा हवाई उडानको इतिहास भने अन्य मुलुकभन्दा फरक छैन । जसरी पहिलो उडान अन्य मुलुकबाटै हुन्थे नेपालमा पनि त्यस्तै भएको छ । सन् १९४९ मा पहिलोपटक नेपालका लागि भारतीय राजदूत सरजित सिंह आफ्नो निजी विमानमा नेपालमा आएका थिए ।

सानो गौचरणमा एक इन्जिनको चार सिटे बीच क्रयाफ्ट बोनान्जामा अवतरण गरेका थिए । जुन बेला अहिलेको जस्तो विमानस्थलमा सुविधा सम्पन्न रनवेको व्यवस्था थिएन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालका लागि भारतीय राजदूत सरजित सिंहको उडान भएको विमानलाई पहिलो उडान मान्ने गरेको छ ।

त्यसैगरी, सन् १९५० मा भारतीय हिमालयन एभिएसनको डकोटा डीसी ३ ले नेपालमा पहिलो उडान अनुमति पाएको थियो । जसबाट काठमाडौँ कलकत्ता चार्टड उडान सुचारु भएको थियो ।

नेपाली राजनीतिक दल, राणा र राजा त्रिभुवनको दिल्लीमा सम्झौता भएको थियो । सोही सम्झौता पश्चात सन् १९५१ राजा त्रिभुवन सानो गौचरनमा फिर्ता भएका थिए । सोही समयमा उनले त्यहाँको वस्तुगत अवस्था अवलोकन गरेका थिए ।

राजनीतिक दल र राजाबीच सम्झौता भएपछि नेपाल र भारतको राजनीतिक तथा आर्थिक सम्बन्ध विस्तार भयो । सन् १९५१ भारतले नेपाललाई एउटा हिमालयन डकोटा विमान उपहार दियो । उपहारमा पाएको विमानले सिमरा, भैरहवा, पोखरा र विराटनगरमा व्यवसायिक उडान सुचारु गरेको थियो ।

सन् १९५४ मा हिमालयन एभियसनको विकल्पमा भारतीय एयरलाइन्स एसोसिएटको विमान सुचारू भएको थियो । यो उडान पछि नेपालको उड्डयन क्षेत्रमा फरक पहिचान बनाउन थालेको मान्न सकिन्छ ।

भारतको दिल्लीमा राजा, राजनीतिक दल र राणाको राजनीतिक सम्झौतापश्चात नेपालको सानो गौचरणमा विमानबाट राजा त्रिभुवन अवतरण गरेका थिए । सोही अवतरण गरेको स्थानलाई सन् १९५५ मा जुलाई १५ मा त्रिभुवन विमानस्थल नामाकरण गरिएको हो । आइकाओको सदस्य बनेपछि र उडानको संख्या बढ्दै गएपछि सन् १९६४ त्रिभुवन विमानस्थलको नाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राखिएको हो ।

गौचरणबाट बिस्तारै उडानको संख्या बढ्न थालेपछि धावन मार्गको विकास भयो । सन् १९५७ को जुलाईमा भारतकै सहयोगमा घाँसे मैदानलाई ३ हजार ७५० फिटको धावनमार्ग निर्माण भएको थियो । सोही विमानस्थलमा धावनमार्ग विस्तार गरी १० हजार फिटमा  अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।    

त्यसैगरी हाल नेपाल सरकारको मातहतमा रहेको नेपाल वायुसेवा निगमको सन् १९५८ अर्थात २०१५ असार १७ गते स्थापना भएको हो । यसलाई सन् १९८९ मा पूर्ण रुपमा सरकारको स्वामित्त्वमा ल्याइएको थियो । केही समयपछि यसले बिस्तारै आन्तरिक उडान प्रारम्भ गरेको थियो । पोखरा र सिमरामा सन् १९५८ जुलाई ४ मा नेपाल वायुसेवा निगमले उडान सुचारु गरेको थियो ।

नेपालले उडानको गतिविधिमा सक्रियता बढाउन थाल्दै गयो । जसले गर्दा आइकाओमा समेत नेपाल पुग्न सफल भएको थियो । सन् १९६० जुलाई २९ मा आइकाओको सदस्य बनेको थियो । नेपाल आइकाओको सदस्य बनेपछि नेपाली आकाशमा हवाई उडानको संख्या बढ्दै गएको हो ।

धावनमार्ग निर्माण भएपछि पहिलो लुफाथान्साको विमान अवतरण भएको थियो । सन् १९६७ मा  ६ हजार ६०० फिटको धावनमार्ग निर्माण भएको हो ।

नेपाल पर्यटकीय सम्भावना बोकेकाले हवाई उडान सुरु भएपछि यहाँको हिमाल र पर्यटकीय क्षेत्रको प्रचार हुन थालिसकेको थियो । हिमालय क्षेत्रको अवलोकन गराउन माउन्टेन उडान सन् १९६८ मा भएको थियो ।

पर्यटकीय क्षेत्रको प्रचारप्रसार भएपछि नेपाली आकाशमा बिस्तारै विदेशी वायुयानको प्रवेश हुन थाल्यो । सन् १९६८ मा थाइ एयरवेजको बोइङ जहाज नेपाली आकाशमा प्रवेश भएको थियो ।

यता नेपाल वायुसेवा निगमले तराईको क्षेत्रमा नियमित उडान गरिरहेको थियो । निगमले पहाडी क्षेत्रमा पनि उडान सेवा विस्तार गर्न थाल्यो । सन् १९७० देखि ट्वीनअटर र पिलाटस पोटर जहाजबाट निगमको जहाजले पहाडी क्षेत्रमा उडान सुरु गरेको थियो ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x