पर्यटन

ग्राउण्ड ह्यान्डलिङ सम्बन्धी नेपाल नागरिक उड्‍डयन प्राधिकरणको ऐनमा के छ ?

अतिन आचार्य |
पुस ६, २०८० शुक्रबार १७:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- केही साताअघि नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्यान्डलिङ (भूमिस्थ प्रबन्ध) सेवाको विषयमा छलफल गर्‍यो ।

ह्यान्डलिङको विषयले सामाजिक सञ्जाल देखि विभिन्न राजनीतिक दल वृत्तमा ठाउँ पायो । रास्वपाले ग्राउण्ड ह्यान्डलिङको विषयमा प्रधानमन्त्री पुष्पकमललाई समेत ध्यानाकर्षण पत्र बुझाएको थियो ।


केही दिनअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमले गरिरहेको ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे कुनैपनि निर्णय नभएको स्पष्ट पारेको छ ।

आइतबार मन्त्रालयले नेपाल एयरलाइन्समा क्रियाशील ट्रेड युनियनलाई पत्र पठाउँदै उक्त सेवा निगमसँग खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ । 

सरकारले निर्णय नगरेसम्म निगमको भूमिस्थ सेवा सोही कम्पनीमै रहने समेत मन्त्रालयले विज्ञप्‍तिमा उल्लेख छ । मन्त्रालय, राजनीतिक दल र सामाजिक सञ्जालमा ग्राउण्ड ह्यान्डलिङले किन यति धेरै स्थान पायो ?

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम र एयर इन्डियाले मात्र ग्राउण्ड ह्यान्डलिङको जिम्मा पाएका छन् । नेपाल वायुसेवा निगमले कमर्सियलय ह्यान्डलिङको जिम्मा पाएको छ ।

निगमले २९ वटा विमानको ह्यान्डलिङको काम गरिरहेको छ । एयर इन्डियाले आफ्नो विमानको सेल्फ ह्यान्डलिङ मात्र गरिरहेको छ ।

विमानस्थलमा आएका विभिन्न कम्पनीका विमानहरूलाई नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ग्राउन्ड ह्यान्डलिङ सेवा दिइरहेको छ । प्राधिकरणका अनुसार यो सेवा प्रदान गरिरहेका कम्पनीले प्रत्येक आर्थिक वर्षमा नवीकरण गर्नुपर्छ । वायुसेवा निगम र प्राधिकरणबीच पाँच-पाँच वर्षसम्मका लागि सम्झौता हुने गरेको छ ।

तर वायुसेवा निगमले सन् २०२५ सम्मका लागि नवीकरण गरिसकेको छ । सन् २०२५ देखि निगमले यो जिम्मेवारी पाउनका लागि प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । अब भने प्राधिकरणले आफ्नो ऐन बमोजिम ग्राउण्ड ह्यान्डलिङको काम गर्ने तयारी गरिरहेको छ । प्राधिकरणका अनुसार टेण्डरद्वारा पाएका कम्पनीले मात्र ग्राउण्ड ह्यान्डलिङको काम गर्न पाउनेछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा (५) मा भएको प्राधिकरणको काम, कर्तव्य र अधिकार अन्तर्गत उपदफा (ठ) मा प्राधिकरणले विमानस्थलमा भूमिस्थल प्रबन्ध सेवा सञ्‍चालन गर्ने र गराउने प्रावधान उल्लेख छ ।

प्राधिकरण ऐन, २०५३ को दफा (१०) मा भएको आर्थिक स्रोत जुटाउन सक्ने प्रावधान अन्तर्गत उपदफा (ङ) मा प्राधिकरणले आफ्नो स्वामित्त्वमा रहेका विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा सञ्चालन गरेमा तोकिए बमोजिमको शुल्क असुल गर्ने कानुनी व्यवस्था छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को परिच्छेद २ को नियम (५)  को भूमिस्थ प्रबन्ध सेवा शुल्क सम्बन्धी प्राधिकरणले सेवा शुल्क लगाउने प्रयोजनको लागि भूमिस्थ प्रबन्ध सेवा सञ्चालन गर्ने विमानस्थलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबीच प्रतिस्पर्धा गराई छनौट गर्ने व्यवस्था छ । प्राधिकरणको सञ्चालक समितिबाट निर्धारण भए बमोजिम हुने व्यवस्था उल्लेख छ ।

प्राधिकरणका सूचना अधिकारी तथा उपमहाप्रबन्धक ज्ञानेन्द्र भूलले ग्राउण्ड ह्यान्डलिङको बारेमा अध्ययन गर्न एउटा कमिटी बनाएको जानकारी दिए ।

‘कमिटी कस्तो रहने र यसले कस्तो काम गर्छ यस विषयमा छलफल चलिरहेको छ,’ उनले भने,’ कमिटीले कस्तो काम गर्छ र कहिलेबाट टेण्डरमा जाने निर्णय भइसकेको छैन ।‘

ग्राउण्ड ह्यान्डलिङको बारेमा सञ्चालक समितिले निर्णय गर्नुपर्ने भूलले बताए । समितिले निर्णय गरेर र अन्य स्टेक होल्डरसँग छलफल गरिसकेपछि मात्र टेण्डर प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ ।

प्राधिकरणको ऐनअनुसार ग्राउण्ड ह्यान्डलिङको काम अगाडि बढाउन छलफल मात्र भएको उनले प्रस्ट पारे । खुल्ला प्रतिस्पर्धाद्वारा मात्र ग्राउण्ड ह्यान्डलिङको काम गराउने र छनौट भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई प्राधिकरणले स्वीकार्ने उनले स्पष्ट पारे ।

प्रतिष्पर्धामा छनौट नभएमा नेपाल सरकारको पचास प्रतिशत लगानी भएका संस्थालाई छलफल गरेर वितरण गरिने उनले जानकारी दिए । ऐन अनुसार काम नगरेकाले महालेखा परीक्षणको कार्यालय र अन्य निकायले समय-समयमा जरिवाना गर्ने गरेको उनले बताए ।

‘प्रक्रियागत ढंगले काम गराउन अगाडि बढेका हौ,’ उनले अगाडि थपे,’ नेपाल वायुसेवा निगम पनि आउन सक्छ । अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी पनि आउन सक्छ ।‘

ग्राउण्ड ह्यान्डलिङको रेट प्राधिकरणबाट पास भएपछि मात्र मूल्य तोक्न पाइने उनले जानकारी दिए ।

ग्राउण्ड ह्यान्डलिङ भनेको के हो ?

जहाज अवतरण भएपछि नउडेपछि ग्राउण्डमा गर्नुपर्ने सम्पूर्ण कामलाई ह्यान्डलिङ भनिन्छ । जहाज अवतरण भएपछि मार्सलिङ गर्ने काम, जहाजलाई पार्किङ बेससम्म ल्याउने, जहाजबाट यात्रुलाई टर्मिनलसम्म ल्याउने, टर्मिनलमा चेक गरी जहाजसम्म पुर्‍याउने, कार्गो ट्रान्सपोर्ट गर्ने, जहाजको सरसफाइ गर्ने, क्याटरिङको व्यवस्था गर्ने, प्राविधिक समस्या आएमा समाधान खोज्न सहयोग गर्ने र जहाजमा इन्धन भर्न व्यवस्था गरिदिने सम्पूर्ण ग्राउण्ड ह्यान्डलिङ अन्तर्गत पर्छन् ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x