पर्यटन

मुहार फेरिएको न:पुखु, जहाँ पानीमाथि कुद्छ साइकल (भिडियोसहित)

वातावरण संरक्षणमा टेवा, पर्यटनमा नयाँ सम्भावना

शुरज थपलिया |
माघ १०, २०८० बुधबार १६:० बजे

भक्तपुर - नःपुखु कुनै बेला फोहोरले भरिएको हुन्थ्यो । पानी र रक्सीका बोतल, प्लाष्टिकलगायत फोहोरका सामग्रीले ढाकिएको हुन्थ्यो । पोखरीमा पानी भन्दा धेरै फोहोरहरू हुन्थे । नःपुखु वरिपरी पनि त्यस्तै फोहोर थिए । त्यसैले स्थानीयले यो पोखरीलाई 'गुह्या' पोखरी पनि भन्थे । परापूर्व कालमा खेतमा काम गरेपछि हात खुट्टा धुन यो पोखरीको पानी प्रयोग गरिन्थ्यो ।  म्ये गाः (राँगा पाल्ने ठाउँ) र पशुहरूलाई नुहाइदिनको लागि पनि यो पोखरीको प्रयोग हुन्थ्यो ।

यो पोखरीको अर्को विशेषता पनि रहेको स्थानीय बुढापाका बताउँछन् । यहाँको पानी प्रयोग गर्दा शरीरमा आएको घाउ, डन्डीफोर, आँखा पाकेको जस्ता रोग निको हुने । तर समयसँगै पोखरीमा बढेको फोहोरले मानिसहरू यहाँको पानी प्रयोग गर्दैनथे ।


पोखरी नै पोखरीले भरिएको भक्तपुरमा नःपुखुको खाशै अस्तित्व थिएन । न यसको मर्मत तथा स्याहारसुसारमा कसैको ध्यान नै थियो ।

भनिन्छ नि समय सँगै सबै कुराहरू परिवर्तन हुन्छ । अन्तत: नःपुखु पनि परिवर्तन भयो । अहिले नःपुखुको मुहार र पानी दुवै फेरिएका छन् । गुह्या पोखरी अहिले सफा भएको छ । सफा पोखरीमाथि साइकल पौडन्छन् । साइकलमा बसेर मानिसहरू दौडन्छन् । हो अहिले नःपुखु वाटर साइकलको 'हव' भएको छ । पानीमाथि साइकल कुदाउने नयाँ प्रविधिको एड्भेन्चर्सले यहाँको रौनक फेरिएको छ । पर्यटन व्यवसायमा नयाँ ढोका खुलेको छ ।

‘पानीमाथि साइक्लिङ’ यो आफैंमा अनौठो छ । झट्ट सुन्दा त जो कोहीलाई अचम्म नै लाग्छ । नयाँ आविष्कारहरूबारे थाहा हुँदा सधैं चीनमा यस्तो भयो भन्ने मात्रै सुनेका हामीलाई नेपालमै पानी माथि साइकल कुद्छ भन्ने सुन्दा जो कोही दंग पर्छन ।

दक्षिणतर्फ ललितपुर र पूर्वतर्फ काभ्रेपलाञ्चोकको मध्य भागमा रहेको भक्तपुरलाई नेवारी भाषामा 'ख्वप' नामले चिनिन्छ । सबैभन्दा सानो जिल्लाको रुपमा चिनिने  यो जिल्ला ६.८८ वर्ग किमीको मात्रै छ । सानो छ तर, सांस्कृतिक, धार्मिक र पर्यटकीय ठाउँहरू प्रशस्तै छन् । सन् १९७९ मा विश्व सम्पदा सूचीमा युनेस्कोले भक्तपुर दरबारलाई सूचीकृत गरेको थियो । दरबार क्षेत्रको मुख्य प्रवेश गेटको बायाँ तर्फ पर्छ नःपुखु । भक्तपुर दरबार घुम्न जाने जो कोहीले यहाँ गएर वाटर साइक्लिङको मज्जा लिइरहेका हुन्छन् । 

डुंगा र साइकल मिलाएर बनाइएको वाटर साइकल पानी माथि तैरिन्छ । अहिले नःपुखुमा टिएन एड्भेन्चर्स प्रालिले २०८० भदौ ९ गतेदेखि  ‘वाटर साइक्लिङ’ सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार यो नेपालमै पहिलोपटक भित्रिएको हो । भक्तपुर नगरपालिकासँगको सहकार्य र सम्झौतामा परीक्षणको रुपमा वाटर साइक्लिङ सुरु गरिएको सञ्चालकको भनाइ छ । टिएन एड्भेन्चर्स प्रालिले भक्तपुर बाहेक सर्लाहीको भरत तालमा पनि  ‘वाटर साइक्लिङ’ सुरू गरेको छ ।

नःपुखु पोखरीसंगै रहेको सिद्ध पोखरीमा भक्तपुर नगरपालिकाले बोटिङ सुरु गरेको थियो । यो खासै लोकप्रिय भएन । तर, नयाँ जोस र सोचसहित टिएन एड्भेन्चर्सले संचालन गरेको ‘वाटर साइक्लिङ’ भने छोटो समयमा लोकप्रिय बनेको छ । यहाँ दैनिक पानीमाथि साइकल कुदाउन आउनेहरूको भिड लाग्ने गर्छ । 

कम्पनीका अध्यक्ष सुर्यप्रसाद न्यौपानेका अनुसार भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजाप्रतिको सहकार्यमा नः पुखु पोखरीमा ‘वाटर साइक्लिङ’ संचालन गरिएको हो ।   

यो पोखरी ६ फिट गहिरो छ । चारै तर्फबाट पुरानो शैलीलाई अनुसरण गरेर ढुंगा छापेर संरक्षण र सफा गरिएको छ । वाटर साइकल संचालनमा आएपश्चात आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धनमा पोखरीले सहयोग पुर्‍याएको छ । स्वदेशमै विदेशसरह मनोरञ्जन र एड्भेन्चर्सको अनुभूति दिने प्रयास गरिएको देखिन्छ । ५० भन्दा बढी पोखरी रहेको भक्तपुरमा इताछें टोलमा रहेको नःपुखु अहिले निकै चर्चित छ ।​

नःपुखु पोखरीमा एक, दुई र तीन सिटर गरी ६ वटा वाटर साइकल छन् । सात जनाले रोजगारी पाएका छन् । साइकल चढ्न नेपालीलाई दुई सय र विदेशीलाई पाँच सय शुल्क तोकिएको छ । संचालकले स्थानीयले अझ बढी वाटर साइकलको मज्जा लिउन भनेर हप्ताको दुई दिन ५० प्रतिशत छुट दिएका छन् । दुई दिन स्थानीयले एक सय रुपैयाँमै पानी माथि साइकल कुदाउन पाउँछन् । बिदाको दिनमा एक सय जना र अरू दिन ५० जनाले वाटर साइकलको मज्जा लिने संचालकले बताए  । 

उनका अनुसार टिकट लिएर साइकलमा चढेपछि १५ मिनेटसम्म साइकल चलाउन सकिन्छ । १५ मिनेटमा पोखरीलाई दुई फन्का लगाउन सकिन्छ । अझ बढी समय साइकल पानीमा कुदाउन मन लागे थप रकम तिरेर समय थप्न सकिने उनको भनाइ छ ।

वाटर साइक्लिङ हप्ताको सातै दिन चल्छ । बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुने अध्यक्ष न्यौपानेले बताए । डुंगा र साइकल मिलाएर बनाइएको यो सजिलै पानीमा तैरिन्छ । यसको अर्को छुट्टै विशेषता पनि छ । साइकल चलाउन नआउनेले पनि यो सजिलै चलाउन सक्छन् । यो डुब्दैन । निकै सुरक्षित रहेको संचालकको दाबी छ । यसमा सवार हरेकको कम्पनीले बीमा गरेको छ ।

एक जना बाराबर सात लाखसम्मको बीमा गरेको अध्यक्ष न्यौपानेले बताए । वाटर साइक्लिङ गर्दा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै उद्धार टोली तयारी अवस्थामा राखिएको छ ।

टिएन एड्भेन्चर्स प्रालिले चीनबाट आयात गरेर भक्तपुरमा वाटर साइक्लिङ सुरु गरेको हो । साइकलहरू मर्मत गर्न भने समस्या छ । बिग्रिएमा सहज रुपमा मर्मतका लागि सामानहरू पाउन कठिन रहेको सञ्चालकले बताए । नयाँ सुरुवात भएकाले पनि चाहिएका सामग्री सहजै पाउन सकिन्न । केही सामग्री बाहिरबाट मगाउन पर्ने हुँदा मर्मतका लागि भने महँगो भएको उनीहरूको गुनासो छ ।

‘वाटर साइक्लिङ’ ले वातावरण जोगाउन पनि मद्दत गरेको छ । नयाँ-नयाँ उपकरण र साधनको विकासले वातावरण प्रदूषण गरिरहेको हुन्छ । तर, ‘वाटर साइक्लिङ’ ले कुनै प्रदूषण गर्दैन । राइडर आफैले खुट्टाले चलाउने हुँदा धुलो धुवाँ निस्कँदैन ।

प्रदूषण र उच्च तापक्रम वृद्धिले विश्वनै मारमा परिरहेको बेला ‘वाटर साइक्लिङ’ जस्ता एडभेन्चर्सले वातावरणको संरक्षणमा थप टेवा पुर्याएको छ । यस्ता नयाँ वातावरणमैत्री एड्भेन्चर्सको विकास गरी शहर, देश र विश्वलाई नै सफा र सुन्दर बनाउन पहल गर्न जरुरी छ ।

वाटर साइक्लिङको व्यवसाय पाँच युवाहरू मिलेर गरेका हुन् । अध्यक्ष न्यौपानेले स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले यो व्यवसाय सुरु गरेको बताए । 'देशलाई नै कसरी समृद्ध बनाउन सकिन्छ भनेर हामीले धेरै व्यवसायकाबारे सोच्यौं', उनले भने, 'नयाँ एड्भेन्चर्स गर्ने सोच आयो अनि वाटर साइक्लिङमा लगानी गर्यौं ।' देश छाडेर दैनिक हजारौं युवाहरू विदेश गइरहेको अवस्थामा स्वदेशमा नै केही गर्नुपर्छ भनेर व्यवसाय गर्ने युवाहरूलाई सरकारले प्रेरणा र सहजीकरण गर्नुपर्छ ।

देशको समग्र आर्थिक विकास र वातावरणीय सन्तुलनका लागि नेपाल सरकारले 'वाटर साइक्लिङ' जस्तै विभिन्न योजनाहरूलाई तीव्र रुपमा विस्तार गर्न जरुरी छ । पछिल्लो समय वाटर साइक्लिङका कारण नःपुखु पोखरी सफा भएको छ । स्थानीयले रोजगारी पाएका छन् । पर्यटकहरू बढेको छन् । पोखरी वरिपरीका स्थानीय व्यवसायीहरूको आय आर्जनसमेत बढेको स्थानीय बताउँछन् ।

नेपालमा पहिलो पटक भित्रिएको पानीमा गुड्ने तर नडुब्ने साइकल कसरी चल्छ ? हेर्नुहोस् भिडियो 


Author

थप समाचार
x