पर्यटन

सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने

इकागज |
जेठ ६, २०८१ आइतबार २१:३४ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्ति गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवर्द्धक नियुक्त गर्न लागेको हो ।

मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाले आज सूचना प्रकाशित गर्दै अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यविधि, २०७९ बमोजिम नियुक्ति भएका देश/प्रान्त/सहरमा बाहेक अन्य स्थानमा पर्यटन प्रवर्द्धन नियुक्ति गर्ने कार्यक्रम तय भएकाले मापदण्ड पुगेका इच्छुक सगरमाथा आरोहीलाई सात दिनभित्र पर्यटन प्रबर्द्धन शाखामा निवेदन पेस गर्न आग्रह गरेको छ ।


पर्यटन प्रवर्द्धन शाखाका उपसचिव अनिल किरातीका अनुसार सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने आरोहीलाई पर्यटन प्रवर्द्धकमा नियुक्त गरिनेछ । यसअघि नियुक्त भएका देश र सहरका २९ जना प्रवर्द्धकबाहेकका मुलुकमा सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक नियुक्त गरिने उपसचिव किरातीले बताए । पर्यटन मन्त्रालय (२०८० फागुन १३ गतेको मन्त्रिस्तरीय निर्णय) ले विश्वमा नेपालको पर्यटन प्रवर्द्धन गर्न २९ जनालाई पर्यटक प्रवर्द्धक नियुक्त गरेको थियो ।

पर्यटन प्रवर्द्धकका लागि २१ वर्ष उमेर पूरा भएको नेपाली वा गैरआवासीय नेपाली एवं विदेशी नागरिक हुनुपर्नेछ । पर्यटनसम्बन्धी व्यापार, पेसामा कम्तीमा ७ वर्षदेखि संलग्न रही ख्याति प्राप्त गरेको वा नेपालप्रति सद्भाव र रुचि भई नेपालको पर्यटन प्रवर्द्धन गर्न सक्ने राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त गरेको हुनुपर्ने मापदण्ड राखिएको छ ।

विश्व पर्यटन बजारमा नेपाललाई आकर्षक, रमणीय र सुरक्षित पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित गराउँदै स्वयंसेवी भावनाका साथ नेपालको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं जैविक सम्पदा एवं खेलकुद, मनोरञ्जनको सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा फैलाउन सहयोग पु¥याउने सगरमाथा आरोहीलाई पर्यटन प्रवर्द्धक  नियुक्त गरिने सूचनामा भनिएको छ ।


Author

थप समाचार
x