पर्यटन

कर्णाली चिनाउन हिँडेका भास्कर

जितेन्द्र थापा |
भदौ ७, २०७८ सोमबार १४:६ बजे

सुर्खेत – कर्णाली खोज्दैछ, भास्कर जस्तै कर्णालीका इमान्दार छोरा । जो नेपाल लगायत विश्वका पाहुनालाई डोर्‍याउदै कर्णालीको आँगनसम्म पुर्‍याउँछन् । 
भास्कर अर्थात् रामचन्द्र कर्णालीको आँगनमा लडीबुडी खेल्दै हुर्केका कर्णालीकै छोरा हुन् । जो कर्णालीको सम्भावना मात्र खोज्दैनन् । उनी कर्णालीको सिङ्गै दृश्य विश्वकै आँखासामु राख्ने र पर्यटकीय पाहुना आँगनसम्म भित्र्याउने सोच राख्दै अघि बढेका जोशिला युवा हुन् । 

उनको लक्ष्य कर्णालीको सक्कली तस्बीर सबै सामु पुर्‍याउने हो । उनी कर्णालीको आवश्यकता तस्बिरबाट औल्याइदिन्छन् । भनिन्छ तस्बिर आफैँ बोल्छ । डोल्पाको जगदुल्ला गाउँपालिकामा–६ छाछुमा जन्मेका भास्करले क्यामेराको लेन्समा आफ्नो भविष्य र कर्णालीको भविष्य देखेका छन् ।



 
भास्करले आफ्नो क्यामेराको लेन्समा उतारेका तस्बिर मनमोहक हुन्‍छन् । क्यामेराकै लेन्सबाट कर्णालीको सुन्दर चित्रलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने अभियानमा लागेका छन् । २४ वर्षको कलिलै उमेरमा उनले कर्णाली प्रदेश हुँदै कर्णालीका आठ वटा जिल्लामा साइकल–यात्रा समेत गरिसकेका छन् । 

त्यसो त के छैन कर्णालीसँग ? लामो इतिहास बाकेको सुर्खेतको काक्रेबिहार, देउती बज्यै, मनोरम बुलबुले ताल, दैलेखको महाभारतकालीन इतिहास बोकेको पाँच पाण्डवद्धारा निर्मित पञ्चदेवल प्राकृतिक रुपमा निरन्तर बलिरहने दैलेखको अग्नि ज्वाला । 

कालिकोटको अग्लो छाागाँबाट कल–कल बग्ने पचाल झरना हुम्लाको प्राचीनकालीन परम्परा अनि भेषभुषा मुगुस्थित स्वर्गकी अप्सरा रारा । डोल्पाको कन्चन फेक्सुण्डो, जुम्लाको पाइला–पाइलामा स्पर्श गर्न मिल्ने खस भाषको उदगमस्थल, खस सभ्यता, रुकुमको स्यार्पु ताल सल्यानको कुपिण्डे दह अनि जाजरकोटको स्वर्णिम गाउँले जप्वन सायदै वर्णन गर्न सकिन्छ, कर्णालीको  । 

तर पनि प्रचार–प्रसार र संरक्षणको अभावमा आफ्ना पाहुनालाई स्वागत गर्न पर्खाइमै बसेका छन्, यहाँका धार्मिक तथा पर्यटकीय स्थलहरू । फेरि भास्करकै कुरा, डोल्पाको ताप्रिजा माध्यामिक विद्यालयबाट २०७१ सालमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि काठमाडौँ छिरेका थिए । तर उनलाई काठमाडौँमा अल्छिन मन लागेन । उनले कर्णालीलाई गर्ने माया र कर्णालीमै केन्द्रित लक्ष्य लिए । काठमाडौँबाट टिम बद्ध भइ साइकलबाटै कर्णालीका हरेक जिल्लाका कुना काप्चा कन्धराका सुन्दर उज्याला र लोभ लाग्दा मुहार ल्याउँदै कहिले आहा भन्दै त कहिले ओहो भन्दै सबैलाई लोभ्याउँछन् । 

भास्कर आफू र आफ्नो ठाउँ चिनाउने हुटहुटीबीच उनी राजधानीमा अल्झिएनन् । बरु उतैबाट थुप्रै पाहुना ल्याएर कर्णालीको सुन्दर मुहार उनीहरूलाई आफ्ना घर परिवारलाई देखाउन आग्रह गर्दै कर्णाली चिनाउने अभियानमा लागिरहे । कर्णाली बाहिरका जति पनि पाहुना आउँछन्, उनीहरूलाई यहाँका तस्बिर घरपरिवार स साथीभाइलाई देखाउन आग्रह गर्ने गरेको उनी सुनाउँछन् । 

कर्णाली प्रदेश साइकल पर्यटनका लागि नेपालकै एक उउत्कृष्ट गन्तव्य भएको र यसका लागि सरकारी पक्षबाट केही पहलकदमी हुनुपर्ने उनी सुनाउँछन् ।
धेरैलाई कर्णाली दुर्गम लाग्छ, तर उनलाई त्यस्तो लाग्दैन किनकि उनले कर्णालीलाई नजिकबाट धित मरुन्जेल क्यामेराको लेन्सबाट निहालेका र क्यामेराको लेन्समा उतारेका छन् । कर्णालीलाई माथि उठाउन सकिन्छ भन्नेमा विश्वस्त छन् । 

कर्णालीका आठ जिल्लामा साइकल यात्रा 
२४ वर्षको कलिलै उमेरका भास्करले कर्णालीका आठ जिल्लामा साइकलमा चढेर नियालेका छन् । साइकल पर्यटनका लागि उत्कृष्ट गन्तव्य कर्णाली भएकाले सरकारी निकायको ध्यान पुग्नु जरुरी रहेको उनी बताउँछन् ।

२०७५ मा काठमाडौँबाट १७ जना साइक्लिस्टसहित ‘अल्टिमेटम राइड टु’ नामक साइकल यात्राको नेतृत्व गर्दै फोकसण्डो तालमा पुगे । कर्णालीको निकै बिटकका रुपमा चिनिने डोल्पामा रहेको ३ हजार ६ सय ३५ अग्लो उचाइमा रहेको फोक्सुण्डो तालमा साइकलसहित पुग्न सफल भएको उनले बताए । साइकलमा डोल्पा पुग्न त्यति सहज छैन । 

कर्णाली प्रदेशका निकै दुर्गम ठाउँका रुपमा हेरिएको डोल्पाको त्यो उचाईमा पुग्दा संसार जितेको अनुभूति भएको उनी सुनाउँछन् । डोल्पा पदमार्गका लागि अत्यन्त राम्रो गन्तब्य भएकाले सरकारले विशेष चासो दिन उनी आग्रह गर्छन । 

उनको यो अभियान कर्णाली र अझै उनको जन्म जिल्ला डोल्पा चिनाउने थियो । अझै चलचित्र ‘क्याराभान’ जो नेपालबाट ओस्कार अवार्डका लागि मनोनयनमा परेको थियो ।

प्रदेश सरकारले केन्द्र सरकारसँग डोल्पाको फोक्सुण्डोसम्म पुग्ने पदमार्ग थिन्लेको नामबाट नामांकरण होस् भन्ने उनको भनाइ छ । २४ वर्षको युवा अवस्थामा आफ्नो गाउँ र देश चिनाउने यति गहकिलो अभियानमा लागेका भास्कर एउटै उद्देश्य साइक्लिङ र फोटो प्रर्दशनीका माध्यमबाट चिनाउने बताउँछन् । उनी भन्छन्, ‘कर्णालीसँगै सम्रग देशको पर्यापर्यटनमा टेवा पुर्‍याउने अभियानमा सधैँ यसरी नै लागिरहने छु ।’ कर्णालीका कुना कन्धरामा लुकेर रहेका अथाह अमुल्य प्राकृतिक स्रोतको खोजी गर्दै कर्णाली गरिब होइन भन्ने कुरालाई लेन्समा उतार्दै विश्वसामु चिनाने अभियानमा छन् ।

कर्णालीका कुना कन्धरामा साइकलमा पुग्दै लोभलाग्दो तस्बिर खिच्छन् । कर्णालीको लोभ लाग्दो तस्बिर भन्दा कमैले पत्याउँछन् । उनी भन्छन्, ‘कोही कोही साथी तस्बिर देखाउँदा यो त विदेशतिर होला ? कहाँ कर्णाली होला ? कर्णाली भन्दा हिस्स दाँत देखाउँछन् ।’ 

पर्यटकीय स्थल खोजी गर्दै कसैले नदेखेका चिजबस्तुसँग उनको गहिरो प्रेम छ । ‘कर्णालीका कहिले हिमाल त कहिले पाखा पखेरा भञ्ज्याङ्ग चौतारी पुग्दै कसैले नदेखेका भर्जिन चिज बाहिर ल्याउछु’ उनी भन्छन्, ‘अनि जहिले बाहिर निस्किदा क्यामेरा छुट्दैन ।’

उनी सुनेकै भरमा कर्णाली विकट, अनि गरिबी छ भन्नेलाई एकपटक कर्णालीको वास्तविकत तस्बिर नियाल्नुस् त्यसपछि कर्णालीबारे बोल्नुस् भन्छन् । कर्णालीमा गरिबी, रोग, भोक मात्र छैन यहाँ सम्भावनाको मूल भएको उनी बताउँछन् । ‘यसअघि रोग, भोक गरिबी र विकट फोटो प्रर्दशनी भयो, अब कर्णालीको भर्जिन सौन्दर्य र सम्भावना प्रर्दशन हुनेछन्’ उनी भन्छन्, ‘कर्णाली भौगोलिक दृष्टिकोणका आधारमा टाढा भएपनि कर्णालीका कुना कन्धराबीचका रमणीय ठाउँमा पुगेपछि कर्णाली बाहिर जान मन लाग्दैन ।’

के कर्णालीलाई राम्रो भन्ने आधार छैन ? के कर्णाली सुन्दर छैन ? के कर्णालीमा गरिबी, रोग, भोक मात्र छ त ? यिनै प्रश्नले बारम्बार उनलाई पिरोल्छ । 
उनी यिनै प्रश्नको जवाफ खोज्न कहिले साइकलमै चढेर काठमाडौँदेखि डोल्पा पुगे त कहिले कर्णालीका जुम्ला, मुगु सल्यान पुगे । भास्करको उत्तरमा विगतदेखि बुझाइएको कर्णाली र वास्तविकताको कर्णाली आकाश–जमीनको फरक भएको उनको बुझाई छ । 

उनी भन्छन्, 'कर्णालीको सक्कली मुहार फोटोबाटै विश्वमा देखाउने इच्छा छ,’‘आगामी दिनमा पनि कर्णालीको भर्जिन दृश्यलाई उजागर गर्दै बाहिर ल्याउने कुरामा कत्ति पनि विचल्लित हुने छैन ।’

कर्णालीमा अथाह पर्यटकीय सम्भावना हुँदा हुँदै पनि बहुसंख्यक पर्यटकीय तथा धार्मिक स्थलहरु गुमनाम अवस्थामा छन् । प्रशस्त पर्यटन विकासको बोकेर पनि सरकारले उचित प्रचार प्रसार र संरक्षण गर्न सकेको छैन । प्रचार प्रसार र संरक्षणकै अभावमा कर्णालीका विभिन्न तस्बिरहरू केही ओझेलमा त केही नासिँदै गएका छन् ।


Author

थप समाचार
x