ऐतिहासिक ‘निसान पदमार्ग’ मा तीनदिने पदयात्रा सुरु
काठमाडौँ- इलाममा पर्यटन प्रवर्द्धन गर्ने हेतुले सुरु भएको ‘निसान पदमार्ग’ तिनदिने कार्यक्रमको उद्घाटन सहित हिजाेबाट शुभारम्भ भएको छ। तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको हो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आयोजना गरिएको इलामस्थित नेपाली सेना, रणशार्दूल गणले जनाएको छ ।
नेपाल–भारत सिमाना जोडिएको मेची नदीको मुहानबाट इलाम सदरमुकामस्थित निसान स्थापना गरिएको माईस्थान मन्दिरसम्मको ४१ किलोमिटर पदमार्गमा आजबाट सुरु भई पुष २६ गते पदयात्रा समापन हुनेछ । तत्कालीन श्रीनाथ पल्टनले पूर्वको भूभाग विजय गरेर गाडेका निसान सुगौली सन्धिपछि फर्काएर राखिएका स्थानलाई जोडेर पदयात्रा तयारी गरिएको हो ।
हिजाे बिहान मेची बजारबाट पदयात्राको औपचारिक थालनी भएको थियो। नेपाली सेना, स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी र सरोकारवालाको टोलीले पदयात्रामा सहभागी भएका थिए ।
यही पुस २६ गतेसम्म जारी हुने पदयात्राका लागि स्थानीयले ठाउँठाउँमा स्वागत गर्ने तयारी गरेका छन्। पदमार्गअन्तर्गत पर्ने सूर्योदय, इलाम नगरपालिका र माईजोगमाई गाउँपालिकाका विभिन्न स्थानमा पदयात्रीको स्वागतका लागि स्थानीय जातजातिको झाँकीसहित स्वागत गर्ने जनाएको छ ।
रणशार्दूल गणको पहलमा गत वर्षदेखि निसान पदमार्ग पहिचान गर्न थालिएको थियो । यसका लागि ती पालिकाले सेनालाई सहयोग गरेको थियो । मेची बजारबाट सुरु हुने पदयात्रा सूर्योदय नगरपालिकाको पूर्णेडाँडामा पुस २५ गते शुभारम्भ गरी माईजोगमाईको नामसालिङस्थित हात्तीटारमा बास बस्ने कार्यक्रम छ ।
पुस २६ गते बिहान नामसालिङबाट पुनः सुरु भएको पदयात्रा माईबेनी हुँदै अहिले निसान र तोप राखिएको इलाम –७ स्थित माईस्थान मन्दिरमा पदयात्राको समापन गरिने कार्यक्रम तय भएको कुरा सूर्योदय ८ स्थित आदर्श निमाबिका शिक्षक सागर ढुङ्गानाले बताए । सो गणको अगुवाइमा तीन पालिकाले संयुक्त रूपमा आयोजना गरेको पदयात्रामा करिब एक सयको हाराहारीमा सहभागी हुने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया