रीतिरिवाज

विवाहमा ‘कन्यादान’ र ‘गोडाधुने’ परम्परा : अर्थ कि व्यर्थ ?

सृजना खड्का | मंसिर ८, २०७८

बा !
जीवनको यो बीसौं वसन्तमा उभिएकी
म कुन्ता कुमारी
कुमारी रहनै सकिनँ
कन्या त झन् हुँदै होइन

भन्नुस् बा !
अब कसरी गर्नुहुन्छ
मेरो कन्यादान ?

कवि केवल विनाबीको कविता ‘कन्यादान’ले गरेको प्रश्न हो, यो । यो प्रश्न कवि विनाबीको कविताको मात्र होइन, बिहेमा गरिने कन्यादानको विरोध/विरुद्धमा उभिएका थुप्रै युवापुस्ताको आवाज हो ।  

जसमध्येकी एक हुन्, सन्तोषी खनाल । जसलाई बिहेमा गरिने ‘कन्यादान’ र ‘गोडाधुने’ परम्परा पटक्कै मन पर्दैन । गत वैशाखमा उनको बिहे भयो । तर, केही वर्ष पहिले नै उनले आफ्नो बिहेमा यी विधि नपछ्याउने निर्णय गरिसकेकी थिइन् ।

जुन दिन सो निर्णय गरिन् त्यो दिन उनले एउटा विवाह समारोह नजिकबाट नियालेकी थिइन् । एकजना आफन्त दिदीको बिहे थियो । दुलहीको भेषमा सजिएकी दिदी डाक्टर थिइन् । जतिजति बिहेका क्रियाकलाप अघि बढ्दै गयो सन्तोषीलाई उतिउति उकुसमुकुस हुन थाल्यो । विशेष गरी कन्यादानको उपक्रममा । 

बेहुलाको हातमाथि बेहुली र उनको परिवारले हात राख्दै करुवाबाट पानीको धारा लगाउन थालियो । पुरोहितले विभिन्न मन्त्र पढ्न थाले । पुरोहितले दुलहीको परिवारलाई भन्न लगाए– ददाति, ददाति, ददाति... । 

‘ददाति’को अर्थ त्यो बेला सन्तोषीले बुझेकी थिइनन् । पछि थाहा भयो । त्यसको अर्थ, मेरी छोरी तपाईंलाई दिएँ, दिएँ, दिएँ भनेको रहेछ । कन्यादानपछि बेहुलीका बुवाआमा भन्न थाले—  हामीले हाम्री छोरी आजबाट हजुरको परिवारलाई दान गर्यौँ । मारे पाप, पाले पुण्य । यसलाई आजसम्म हामीले पाल्यौँ–पोस्यौँ, अब हजुरहरूको जिम्मा ।

आर्थिक रूपले आफैँमा सक्षम दिदीलाई वस्तुसरह दान गरेको देखेर सन्तोषीको मन खिन्न भयो । बिहेको त्यो दृश्यमा उनले महिला हिंसाको दृश्य देखिन् । सन्तोषीलाई अचम्म लाग्यो । जसलाई उनीहरूले पाल्नुहोस् भनेर सुम्पेका थिए, बिहेअघि परिवार पाल्ने जिम्मेवारी उनैको थियो । सन्तोषीको मनमा कैयौँ प्रश्न उठे । के डाक्टर दिदीले आफ्नो पेट पाल्न सक्दिनन् ? के उनले आफ्नो सुरक्षा आफैँ गर्न सक्दिनन् ? के बिहेपछि उनी जतिको आत्मनिर्भर मान्छे पनि अर्काको सहारामा बाँच्नुपर्छ र ? के उनी अरूलाई दान गर्ने वस्तु हुन् र ?

कुनै पनि प्रश्नको उनले चित्तबुझ्दो जवाफ भेटिनन् । यी परम्परापछाडिको कुनै तार्किक कारण भेटिनन् । यी सबै उनलाई पितृसत्तात्मक सोचले बनाएको नियमबाहेक अरु केही लागेन । बिहेमा पुरुष पक्षलाई उच्च सम्मान र महिला पक्षलाई निच देखाउने यस्तो चलनप्रति उनको त्यही दिनदेखि असन्तुष्टि थियो । आज पनि सन्तोषीलाई बिहेमा गरिने कुनै कर्मकाण्ड वैज्ञानिक लाग्दैन । ‘मलाई अहिले पनि बिहेमा गरिने अधिकांश कर्मकाण्ड अर्थहीन लाग्छ,’ उनी भन्छिन्, ‘यो कन्यादान र गोडा धुने चलनको पछाडि त झन् कुनै विज्ञान छ जस्तो पटक्कै लाग्दैन ।’ 
०००

प्रतीक न्यौपानेले आफ्नो बिहेमा गोडाधुने चलनको विरोध गरेका थिए । अरूको बिहेमा जाँदा दुलाहादुलहीले सम्मान गर्नुपर्ने व्यक्तिले नै गोडा धोएर पानी खाएको दृश्य उनलाई अप्रासंगिक र अप्ठ्यारो लाग्थ्यो । त्यसैले पनि उनले आफ्नो बिहेमा उक्त विधि नमान्ने निर्णय गरेका थिए ।

अघिल्लो वर्ष उनको बिहेमा खुट्टा धुने तरखर भयो । तर, प्रतीकले आफ्ना जुत्ता खोल्नै मानेनन् । काका–काकी, मामा–माइजू, फुपू–फुपाजु सबैबाट प्रेसर आउन थाल्यो । तैपनि, उनले मानेनन् । केही सीप नलागेपछि खुट्टाको सट्टा हात भए पनि धुने कुरा भयो । मन राख्नका लागि उनले त्यसलाई स्वीकारे । तर, केही क्षणमै अफवाह फैलिन थाल्यो । ‘फलोनोको ज्वाइँको त खुट्टाको औँला नै छैन कि क्या हो !’, ‘कस्तो असंस्कारी केटो !’ आदि इत्यादि ।

प्रतीकसँगै उनकी श्रीमती सुजाताले पनि गोडा धुने चलन मानिनन् । ‘बिहेमा गोडा धुने चलन त परको कुरा मैले आफू बुझ्ने भएदेखि आफ्नो खुट्टा अरुलाई ढोग्न पनि दिएको छैन,’ सुजाता भन्छिन्, ‘लात्ती लाग्यो भने ममी र हजुरममी खुट्टा ढोग्न खोज्नुहुन्थ्यो म कहिल्यै दिँदैनथेँ ।’

प्रतीक र सुजाताले आफूलाई बिहेमा मन नपरेका थुप्रै विधिहरू कटौती गरेका थिए । उनीहरूको यो कदममा थोरैको मात्र साथ पाए । आफन्त र समाजलाई बुझाउन निकै हम्मेहम्मे पर्‍यो। ‘कन्यादान नगरी अर्को परिवारमा दुलहीको विधिवत प्रवेश हुँदैन भनेर धेरैले सुनाए,’ सुजाता भन्छिन्, ‘कन्यादान नगरेको मान्छेले गरेको कुनै पनि पूजा, व्रत, ध्यान पूरा हुँदैन पनि भने । तर, हामीले कसैको कुरा सुनेनौँ ।’

०००
रोजा लामिछाने यही मंसिरमा धार्मिक बिहे गर्दैछिन् । बिहेको मिति तय भएपछि हालसालै उनले विवाह गराइदिने पुरोहितलाई भेटिन् । भेट्न जाँदा उनले बिहेमा यो–यो गर्छु, यो–यो गर्दिनँ भनेर लिस्ट बोकर गएकी थिइन् । ‘म कुनै सम्पत्ति वा जनावर होइन दान गर्न त्यसैले, म कन्यादान गर्दिनँ भनेको छु,’ उनी भन्छिन्, ‘त्यस्तै, अरु पनि थुप्रै कुरामा मैले उहाँलाई कारणसहित यो गर्छु, यो गर्दिनँ भनेको छु । उहाँले हुन्छ भन्नुभएको छ ।’

पुरोहितलाई उनले यो पनि भनेकी छिन्– मेरो बिहेमा दाइभाइले गर्नुपर्ने भनिएको सबै कर्म मेरी दिदीले गर्नुहुन्छ । यसका लागि रोजालाई परिवारको साथ छ । उनकी दिदीले पनि बिहे गर्दा त्यस्ता थुप्रै विधिहरू गर्न मानेकी थिइनन् । उनीहरूका आमाबुवा पनि सधैँ भन्ने गर्थे– हाम्रा छोरी दान गर्ने वस्तु होइनन्, हामी उनीहरूको बिहेमा कन्यादान गर्दैनौँ । 

तर, रोजालाई आफूजस्ता युवापुस्ताले सहजै यस्ता क्रियाकलाप स्वीकारेको देखेर अचम्म लाग्थ्यो । ‘हामीले बुझेका कुरामा बुझेर मात्र हुँदैन, परिवर्तनका लागि व्यवहारमा लागू गर्नुपर्छ,’ उनी भन्छिन्, ‘बिस्तारै परिवर्तन हुन्छ भनेर बस्न थालियो भने कहिल्यै परिवर्तन हुँदैन ।’ तैपनि, रोजालाई परिवर्तन सोचेको जस्तो सजिलो भने लागेको छैन । 

आफूलाई गलत लाग्ने र चित्त नबुझ्ने कुरामा बोल्नुपर्छ भन्छिन् उनी । ‘जे पनि संस्कार हो, परम्परा हो भन्दै मान्नुपर्छ भन्ने छैन,’ उनी भन्छिन् ‘त्यसपछाडिको कारण बुझेर स्ट्यान्ड लिन सक्नुपर्छ । सम्बन्धमा ‘सम’ भनेको समान हो । तर, बिहेमा त्यो समानता खै ? महिलापक्षले चाहिँ जहिल्यै झुक्नुपर्ने, ढोग्नुपर्ने !’

कन्यादान : यौन स्वतन्त्रतामाथिको बन्देज !
हिन्दु धर्मशास्त्रअनुसार दान तीन प्रकारले दिइन्छ । त्यो हो, कायिक, वाचिक र मानसिक । सुन–चाँदी आदि दान दिनुलाई कायिक दान भनिन्छ । आफ्नो रक्षाका लागि जौ अभय दान दिनुलाई वाचिक दान भनिन्छ । त्यस्तै, जप, ध्यान गरेर दिइने दानलाई मानसिक दान भन्ने गरिन्छ । 

यसर्थ, दान निर्जीव वस्तुको गरिन्छ, व्यक्तिको गरिँदैन । त्यस्तै, दानको परिभाषाअनुसार दान गरेको वस्तुमाथि दान गर्ने व्यक्तिको अधिकार हुँदैन । यस हिसाबले पनि कन्यादानको अर्थ कन्यादानपछि आमाबुवाको छोरीमाथि कुनै अधिकार रहँदैन भन्ने अर्थ लाग्छ । 

समाजशास्त्री सम्झना वाग्ले भट्टराईलाई ‘कन्यादान’ भन्ने शब्द नै मन पर्दैन । ‘यो शब्दले महिलालाई वस्तुसँग जोडेको छ,’ उनी भन्छिन्, ‘महिलालाई मानवभन्दा पनि वस्तुसँग जोड्नु आफैँमा नराम्रो कुरा हो । महिलालाई वस्तुसँग तुलना गर्नु भनेको उसको अस्तित्व स्वीकार नगर्नु हो ।’

कन्यादानलाई केलाएर हेर्दा उनी त्यसभित्र महिलाको स्वतन्त्रतामाथि बन्देज लगाएको देख्छिन् । उनको नजरमा कन्यादान यौन स्वतन्त्रतामाथिको बन्देज हो । ‘छोरीको अफेयर नहोस्, अफेयर भए पनि कसैसँग शारीरिक सम्पर्क नराखोस् भन्ने हुन्छ,’ उनी भन्छिन्, ‘कन्यादानलाई गहिरो अर्थमा बुझ्ने हो भने यसले महिलाको यौन स्वतन्त्रताको अधिकारलाई अंकुश लगाउने काम गरेको छ ।’

छोरीलाई सानैबाट जुन तरिकाले हुर्काइन्छ, त्यसप्रति पनि समाजशास्त्री सम्झनाको आपत्ति छ । सानो हुँदा बुवा, ठूलो भएपछि दाजुभाइ र बिहेपछि श्रीमान् र ससुराको संरक्षणमा कन्यादान गरेर पठाउने परिपाटीप्रति पनि उनको असन्तुष्टि छ । ‘महिलाहरूलाई सानैदेखि तिमी स्वतन्त्र छौ, तिम्रो पनि आफ्नो अस्तित्व छ, आफ्नो जीवनको निर्णय तिमी आफैँ लिन सक्छौ भनेर कहिल्यै सिकाइँदैन,’ उनी भन्छिन्, ‘समाजको संरचना, हाम्रा संस्कार र संस्कृतिले महिलालाई मानवको रूपमा लिँदैन । यसले पुरुष मालिक, महिलालाई दासका रूपमा लिन्छ ।’

यस्ता कुरामा परिवर्तन आउन महिला आर्थिक रूपमा सक्षम हुनुपर्ने उनको तर्क छ । आर्थिक रूपले महिला सक्षम भयो भने यस्ता कुरा हट्दै जाने उनी बताउँछिन् । ‘समाज कहिल्यै एकै ठाउँमा रहँदैन, परिवर्तनशील हुन्छ,’ उनी भन्छिन्, ‘तर, जुन स्तरले परिवर्तन हुनुपथ्र्यो अझै भइसकेको छैन । हाम्रा सामाजिक मूल्यमान्यता निकै जरा गाडेर बसेका छन् । तर, केही कुसंस्कारलाई युवा पुस्ताले बेवास्ता गर्नु पनि परिवर्तनको सुरुवात हो ।’

समाजशास्त्री भट्टराई संस्कारको नाममा गलत परम्परालाई प्रश्रय दिनुलाई कुसंस्कार ठान्छिन् । उनको नजरमा बिहेमा गरिने कन्यादान र गोडा धुने चलन त्यसका उदाहरण हुन् । उनका अनुसार कन्यादानले हिजोसम्म छोरीको भार मैले बोकेको थिएँ, अब तपाईंलाई सुम्पिएको छु, भोगचलन गर्नुहोस् भनेको हो । जसले महिलाको अस्तित्वमाथि प्रश्न उठाउँछ । एकअर्कालाई समभाव राखेर अगाडि बढ्ने वातावरणको निर्माण गर्दैन । त्यस्तै, महिला पक्षबाट बेहुला बेहुलीको खुट्टा धुने चलनलाई उनी आफ्नै तरिकाले व्याख्या गर्छिन् । ‘मेरो जिम्मेवारी लिइदिनुभएकामा तपाईं महान् हुनुहुन्छ भनेर सम्मानस्वरूप खुट्टा धोइदिएको हो,’ उनी भन्छिन्, ‘सचेत वर्ग यस्ता कुराबाट बाहिर निस्किनुपर्छ । यसविरुद्ध आवाज उठाउनुपर्छ ।’

नारीवादी लेखक अन्जिता पराजुली पनि विवाहमा गरिने हरेक कर्मकाण्डका पछाडि आफ्नै खालको अर्थ हुने बताउँछिन् । देख्दा रमाइलो लाग्ने विवाहका कर्मकाण्डभित्र गहिरो अर्थ लुकेको हुने उनको ठहर छ । ‘बिहेमा गरिने प्रायः कर्मकाण्ड पुरुषप्रधान संरचनालाई बलियो बनाउने, बढावा दिने खालको छ,’ उनी भन्छिन्, ‘कन्यादान महिलाको यौनिक शुद्धता र महिलामाथि पुरुषको अधिकार कायम राख्ने उद्देश्यसँग सम्बन्धित छ । यसले महिलामाथिको स्वामित्व पिताबाट पतिमा हस्तान्तरण गरेको देखाउँछ ।’

धेरैले पछ्याएपनि केहीले यो परम्परा नमान्नुलाई उनले सांकेतिक विरोधका रूपमा लिएकी छिन् । यस्तो विषयमा एउटा व्यक्तिमा मात्रै परिवर्तन आएर नहुने उनी बताउँछिन् । ‘व्यक्ति–व्यक्तिमा मात्र परिवर्तन आउँदा ढिला हुन्छ,’ उनी भन्छिन्, ‘यस्तो खालको चेतनालाई अहिलेका युवापुस्ताले लार्जर स्केलमा लैजानुपर्छ ।’

त्यस्तै, बिहेमा दुलहीलाई दुलाहाको खुट्टा ढोग्न लगाउनु, खुट्टाको पानी खानु, दुलहीले मागेजति रकम नदिएसम्म जुठो नखानु जस्ता चलनभित्रको आफ्नै अर्थ भएको उनी बताउँछिन् । ‘यसले महिला आर्थिक रूपले कमजोर हुन्छन् भनेर देखाउन खोजिएको हो,’ उनी भन्छिन्, ‘त्यस्ता कर्मकाण्डले श्रीमान्बाट आर्थिक सुरक्षा पाएबापत श्रीमतीले दासत्व स्वीकार गर्नुपर्छ भनेर देखाउन खोजिएको हुन्छ । तर, हामी यस्ता क्रियाकलापलाई बिहेमा रमाइरमाइ हेरिरहेका हुन्छौँ ।’

युवा पुस्ता किन कटौती गर्दैछन् ‘कन्यादान’

अमेरिकी सांस्कृतिक मानवशास्त्री गेल रुबीनका अनुसार विवाह सामाजिक करार हो जसमा महिलालाई विवाहमा दिइन्छ, युद्धमा लिइन्छ, अनुग्रहमा सट्टापट्टा गरिन्छ, उपहारको रूपमा दिइन्छ, व्यापार हुन्छ, खरिद हुन्छ, बिक्री हुन्छ । 

समाजशास्त्री डा.मीना उप्रेतीलाई पनि त्यस्तै लाग्छ । त्यसैले त उनी बिहेमा गरिने कन्यादानलाई सामान्य रूपमा लिन सक्दिनन् । उनको समाजशास्त्रीय दृष्टिकोणले यसलाई महिलामाथिको अत्याचार मान्छ । अहिलेको पुस्ताले कन्यादान र बिहेलाई छुट्याउन खोजेमा भने उनी खुसी छिन् । ‘कन्यादान र विवाह भनेको फरक कुरा हो,’ उनी भन्छिन्, ‘कन्यादान कथित पाप र धर्मसँग जोडिएको छ । विवाह जीवन बिताउने साथीसँग । अहिलेका युवतीहरू श्रीमान्लाई पतिदेवका रूपमा होइन, साथीका रूपमा हेर्न थालेका छन् ।’

उनको अर्थमा ‘कन्यादान’ गर्दिनँ भन्नु ‘म गाईबस्तु जस्तो होइन, मानव हुँ’ भन्न सिक्नु हो । 
‘शास्त्रीय मान्यताअनुसार बिहेमा कन्यादान उसैसँग गरिन्छ जोसँग जात, धर्म र शास्त्रीय मान्यता मिल्छ,’ समाजशास्त्री डा. उप्रेती भन्छिन्, ‘अन्तरजातीय बिहेमा कन्यादान गरिँदैन । अहिलेका पुस्ताले जात हेरेर लभ गर्दैनन् । यसको अर्थ समाज बिस्तारै धर्म, संस्कृति, परम्पराभन्दा बाहिर बसेर सोच्न थालेको छ । अबको समाजमा कन्यादानको कुनै औचित्य छैन ।’

उनी धार्मिक मान्यता बिस्तारै कमजोर बनेको र संकटमा गएको बताउँछिन् । बिहेमा गरिने कर्मकाण्डबाट अहिलेका युवापुस्ता पर भाग्न खोज्नु भनेको बोझिलो धार्मिक मान्यताबाट पर भाग्न खोज्नुभएको उनको तर्क छ । ‘धार्मिक मान्यताअनुसार कन्यादानपछि महिलाले आफ्नो थर लेख्ने अधिकारसमेत गुमाउनुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘जन्मदर्ता, सर्टिफिकेट, नागरिकता जताततै रहँदै आएको कुरा अहिलेका जेनेरेसनले परिवर्तन गर्न चाहँदैन । आफ्नो अस्तित्व बचाउनेका लागि धेरैले यस्ता निर्णय मान्दैनन् । जुन सराहनीय छ ।’

विवाहका सबै कर्मकाण्ड गहिरिएर हेर्दा त्यहीँबाट महिलालाई दोस्रो दर्जामा राख्न खोजिएको उनी बताउँछिन् । भन्छिन्, ‘कन्यादान गर्ने, खुट्टा धुने, जुठो खुवाउनेबाटै महिलालाई दोस्रो दर्जाको बनाउन सुरु गरिन्छ ।’

समाज परिवर्तन भएसँगै यस्ता कुरामा पनि परिवर्तन हुनु स्वाभाविक लाग्छ उनलाई । ‘अहिलेको बिहे कन्यादान र गोडा धुनेभन्दा साथ, सहयोग, सम्मान र स्वतन्त्रतासँग जोडिएको छ,’ उनी भन्छिन्, ‘हिजो बिहे परिवार र समाजका लागि गरिन्थ्यो । अहिले आफ्नो लागि गर्न थालिएको छ । समय सापेक्ष नभएका मूल्य–मान्यतालाई यसरी नै परिवर्तन गर्दै लैजानुपर्छ ।’

‘धार्मिक बिहेसँग भावना जोडिएको हुन्छ’
संस्कृतिविद् प्राध्यापक आमोद आचार्य भने यी सबै कुराको विपक्षमा छन् । ‘मेरा पुर्खाजति सबै गलत, उनीहरूले गरेको सबै अन्धविश्वास, म आधुनिक सर्वज्ञान सम्पन्न भनेर बुझक्कडपन देखाउनेहरू सबै महामूर्ख हुन्,’ उनी भन्छन् । 

उनका अनुसार धार्मिक पद्धतिले जग्गे बनाएर, अग्नि साक्षी राखेर, ब्राह्मण पुरोहित पढाएर गरिने बिहेको आफ्नै महत्व हुन्छ । धार्मिक हिसाबले जोडिएको विवाह तोडेर तोडिँदैन । ‘त्यो विवाह एकपटक भएपछि आजीवन भयो,’ उनी भन्छन्, ‘त्यो बन्धन एकपटक गाँसिएपछि सात जन्मसम्मका लागि गाँसिएको मानिन्छ ।’
उनी धार्मिक बिहे भावना, पवित्रता, अटुट बन्धनसँग जोडिएको बताउँछन् । ‘हातमा जल र कुस लिएर संकल्प गरिन्छ,’ उनी भन्छन्, ‘कन्यादानमा मैले पाले पोसेर हुर्काएकी कन्या फलानोको नाति फलानोको छोरालाई दिएँ भनेर दिइन्छ । यसलाई धार्मिक, सामाजिक बन्धन, अनुशासनको पाटोबाट हेर्नुपर्छ । यस्ता संस्कारलाई हल्काफुल्का तरिकाले विश्लेषण गर्नु हुँदैन ।’

उनको अर्थमा पनि कन्यादान भनेको बुवाआमाको स्वामित्वबाट पति कुलमा पठाउने परिपाटी हो । ‘केटी गएर केटाको घरमा बस्ने चलन हाम्रो छ,’ उनी भन्छन्, ‘केटी पक्षले नदिई केटापक्षलाई लैजाने अधिकार हुँदैन । त्यसैले पनि कन्यादान गरिन्छ ।’
कन्यादानलाई वस्तुसँग तुलना गर्नुलाई उनी पश्चिमा संस्कृति हाबी भएको बताउँछन् । ‘उनीहरूलाई कन्यादानको जरो के हो त्यो थाहा हुँदैन,’ उनी भन्छन्, ‘महिला दान गर्ने वस्तु हो र ? भन्नेदेखि बाहेक उनीहरूले केही जानेका हुँदैनन् ।’ 

‘आधुनिक बिहेमा जग्गे राख्नुपरेन, पुरोहित डाक्नुपरेन,’ उनी थप्छन्, ‘अदालतमा गएपछि बिहे भयो । जति सजिलै यो बिहे हुन्छ, उति सजिलै छुट्छ पनि । यस्तो अवस्थामा दम्पतीको सम्बन्ध नै संशयमा अडिएको छ ।’ पश्चिमा वैवाहिक जीवनपद्धति दुःखपूर्ण छ भन्दै उनी पश्चिमाहरूले नेपाली धार्मिक विवाहलाई राम्रो मानेको बताउँछन् । ‘आधुनिक बिहे गरेर मन परेन भने श्रीमान् श्रीमती बदल्न सकिन्छ,’ उनी भन्छन्, ‘भौतिकतावादी यो संसारमा धार्मिक बिहेले यस्तो खालको भावना आउँन दिँदैन । कारको नयाँ मोडल फेरेजसरी आफ्नो पार्टनर फेर्नै दिँदैन ।’

विवाहलाई स्वतन्त्रतासँग जोड्नेहरूलाई उनको जवाफ छ । ‘यो सबै पश्चिमा संस्कारले ‘ब्रेनवास’ गरेको विचार हो,’ उनी भन्छन्, ‘परिवारमा बन्धन हुन्छ, अनुशासन हुन्छ । परिवारदेखि स्वतन्त्र भएर जाने ठाउँ कहाँ छ ?’ 
तर, संस्कृतिविद् आचार्यको यो प्रश्नलाई विनाबीको कविताले पुनः प्रश्न गर्छ :

चढाएर पाउमा आत्मसम्मान
पिएर पाउ पखालेको पानी
बाँधेर पाउजुले यी पाउहरू
गुमाएर आफ्नै निधारको स्वामित्व
कसरी मान्न सक्छु
आफ्नै जीवनसाथीलाई
पति परमेश्वर या विष्णु

यो पनि भन्नुहोस् बा !
कसरी गर्नुहुन्छ
जिउँदै छोरीको किरिया
र भन्न सक्नुहुन्छ
मारे पाप पाले पुण्य

विराटनगरको छठ रौनक : नदी, तलाउ र नहर किनारबाट अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै (फोटो फिचर)

बाबुराम भण्डारी | कात्तिक २४, २०७८

विराटनगर - अस्ताउँदो सूर्यलाई अर्घ्य दिन भक्तजनहरु विराटनगरका नदी, तलाउ र नहर किनारमा पुगेका छन् । उनीहरु…

लगाइयो भाइटीका

इकागज | कात्तिक २०, २०७८

काठमाडौँ - प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दि…