आज गणेश चतुर्थी मनाइँदै
फाइल तस्बिर
काठमाडौं- प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ। सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ। यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ।
नयाँ भेरियन्टसहितको कोभिडको सङ्क्रमणको त्रास कायम रहे पनि काठमाडौं उपत्यकालगायत देशभरका सबै मन्दिर खुलिसकेका छन्। कोभिड त्रासका कारण कतिपय भक्तजनले भने घरमै गणेशको पूजा आराधना गर्नेछन्।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ। बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अघ्र्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् गौतमले सुनाए। यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया