पाण्डेलाई पढ्नुपर्ने कारण अनेक छन्
डा. देवेन्द्रराज पाण्डेले आत्ममन्थन भनी लेख्नुभएको ‘एक ज्यान दुई जुनी’ नामक पुस्तक २०७७ पुसमा काठमाडौँबाट फाइनप्रिन्टले प्रकाशन गर्यो । जम्मा १० वटा शीर्षकमा विभक्त यो पुस्तकमा ३०६ पाना छन् । बाक्लो गाता र राम्रो कागजमा छापिएको यो पुस्तक पढ्न चाहनेका लागि बजारमा, सबैजसो पुस्तक पसलमा उपलब्ध छ ।
देवेन्द्रराज पाण्डेको नाम नसुन्ने चेतनशील समुदाय कमै होलान् । हक्की स्वभाव, प्रखर वक्ता, चिन्तनशील विद्वान् र नागरिक समाजका अगुवा पाण्डेले जीवनका विभिन्न मोडका भोगाइलाई सरल तरिकाले वर्णन गर्नुभएको छ । यसले लेखकको जीवनका विभिन्न पाटा जान्ने, बुझ्ने र केलाउने मौका दिएको छ ।
नागरिक अगुवाका रूपमा मात्र चिन्नेले २०३६ साल अघिको उहाँको जीवनबारे बुझ्ने अवसर मिलेको छ । बाल्यकाल, युवा अवस्था, निजामती सेवाको जागिरे जीवन र राजीनामा समेटिएको पहिलो जुनी र सामाजिक र राजनैतिक चेतको विकासको क्रमसँगै समाजका पिछडिएका र पीडित वर्गका लागि केही गर्नुपर्ने हुटहुटीले गर्दा दोस्रो जुनी पाएकोबारे वर्णन गरिएको छ । समयचक्रको परिक्रमासँगै घटना-परिघटनाको आलोकमा कारण र परिणामका सम्बन्धमा विशद् विवेचना गरिएको पुस्तकले उहाँको जीवनयात्राको मात्र नभई तत्कालीन आर्थिक, सामाजिक र राजनैतिक अवस्थाको चित्रण गरेको छ ।
‘काठमाडौँको सम्भ्रान्त र असफल निजामती कर्मचारी’ नामक सुरुका दुई शीर्षकमा डा. पाण्डेको पारिवारिक पृष्ठभूमिदेखि निजामती सेवाबाट राजीनामा दिएको विषय परेको छ । राणा परिवारसँगको निकटता र पिताजी पढेलेखेका व्यक्ति भई आर्जन गर्न सक्ने भएकाले सम्भ्रान्त परिवारमा गणना गर्ने गरिएको भए पनि त्यो सत्य होइन । खाइस् खाइस् लाइस् लाइस्को अवस्था हुँदा मावलीबाट समेत भरथेग भएको कुरा इमानदारीसाथ राख्नुभएको छ । पिताजी लन्डन दूतावासमा काम गर्न राजदूत सिंह शमशेरसँग जानुभएको अवस्थामा हाडसम्बन्धी रोग लाग्दा बेलायतमै उपचार गर्नुको सट्टा रोगी बाबुलाई नेपाल फिर्ता पठाइदिएको कुराले तत्कालीन शासकप्रति वितृष्णा पैदा भएको कुरा व्यक्त गर्नुभएको छ ।
नेपाल सरकारको निजामती सेवामा प्रवेश गरेपछि भने अमेरिका पढ्न जाने मौका मिलेको र श्रमको सम्मान गर्ने अमेरिकीहरूको परम्परा र कामप्रतिको लगनशीलताले आफ्नो दृष्टिकोण विस्तृत भएको साथै विकाससम्बन्धी अवधारणामा परिवर्तन भएको बताउनुभएको छ । यसले काम गर्ने क्षमतामा पनि वृद्धि भएको थियो ।
पैसाको खोलो बगाउन नसक्नेले सफल हुन नसक्ने निष्कर्ष निकाल्नुभएको छ किनकि पैसा बटुल्न पैसावालहरूसँग पारस्परिक लेनदेन गर्नुपर्ने यथार्थ सबैसामु छ ।
सन् १९६० को दशकमा अमेरिकामा विद्यार्थी हुँदाको अनुभवको वृत्तान्त सम्झनायोग्य रहको छ । अमेरिकामा कालाहरूप्रति गोराहरूको भेदभाव र क्रुर व्यवहार तर राजनैतिक नेतृत्वको निष्ठा र इमानदार प्रयासले कालाहरूलाई नागरिक अधिकार दिन सफल भएको भए पनि यो अधिकार दिलाउने क्रममा राष्ट्रपति, राष्ट्रपतिका उम्मेदवार र मानवअधिकारका लागि लड्ने नेताले ज्यानको आहुति दिनुपरेको दर्दनाक पाटो पनि उल्लेखनीय छ ।
विद्यार्थी भई अमेरिकामै रहँदा समयमै बढुवा भई सेवा प्रवेशको १७ वर्षमा कायम मुकायम अर्थसचिव हुनुमा उहाँको मेहनत, कार्यक्षमता, इमानदारी, लगनशीलताको यथोचित पुरस्कार दिइएको थियो । तर तत्कालीन राजनैतिक खेल मैदानमा राजनैतिक नेतृत्वको इच्छाअनुसारको खेलाडी हुन नसक्दा अर्थसचिव पदबाट राजीनामा दिनुपर्यो । १९ वर्षको निजामती सेवाले पेन्सन पाउनु भएन र राजीनामा स्वीकृतिको जनाउपत्र पठाउँदा धन्यवाद दिने सौजन्यसमेत देखाइएन भन्ने लेख्नुभएको छ ।
२०३६ सालमा सुधारिएको पञ्चायतको पक्षमा राज्य हस्तक्षेपको नांगो नाचको वर्णन गर्दै भ्रष्टाचारका विभिन्न स्वरूपको व्याख्या गर्नुभएको छ । राजनैतिक स्वार्थका लागि संस्थागत भ्रष्टाचारको आहालमा डुबाउने प्रधानमन्त्री सूर्यबहादुर थापा हो भन्ने विभिन्न पानाहरूमा उल्लेख गरिएको भए पनि सूर्यबहादुर थापाको कार्यकुशलताको प्रशंसा गर्न भने लेखक चुक्नुभएको छैन । षड्यन्त्रकारी र दोषी दरबार भएकाले प्रधानमन्त्री एउटा विवश पात्र हो भन्ने पनि लेख्नुभएको छ । यसरी उहाँले दरबारप्रति आक्रोश व्यक्त गर्नुभएको छ । यो मनस्थितिले गर्दा पनि दोस्रो जुनीको जन्म भएको अनुमान गर्न सकिन्छ ।
आफूलाई असफल निजामती कर्मचारी भन्नुभए पनि जुन पदमा रहे पनि नेपाल सरकारको नीति निर्देशनबमोजिम नै निष्ठा र इमानदारीसाथ देशको सेवा गर्नुभयो । ‘अर्थशास्त्रमा डिग्री नभएको अर्थविद्’ शीर्षकमा अर्थशास्त्रमा र हिसाबमा गहन अध्ययन गर्न त्यति चाख नभएको भनी इमानदारीपूर्वक स्वीकार गर्नुभएको छ । तर पनि आर्थिक नीति र कार्यक्रमहरूमा अध्ययन गर्न सकेको र यसैको व्यावहारिक प्रयोगमा संलग्न भई काम गर्दा भने सन्तोष लागेको उल्लेख गर्नुभएको छ । सायद अर्थशास्त्र र हिसाबमा ध्यान दिन नसकेकामा चुकचुकाउनु भएको छ र यो अध्ययन गर्ने सपना आफ्नो छोरी र नातिबाट पूरा भएको हो कि भनी लख भने काट्नुभएको छ ।
‘अध्ययन सीमित, उपाधि बुद्धिजीवी’मा पञ्चायती व्यवस्थाको राजनैतिक, आर्थिक तथा सामाजिक नीतिको आलोचनात्मक टिप्पणी गर्न थालेपछि अखबारहरूमा विचारोत्तेजक लेख र अन्तर्वार्ता छापिन थाले र पञ्चायतको आर्थिक राजनीतिक विसंगतिहरूका सम्बन्धमा उहाँका विश्लेषणात्मक लेखलाई प्राथमिकतासाथ प्रकाशित हुन थालेको विषयलाई सविस्तार वर्णन गरिएको छ । पञ्चायती शासकहरू यतिसम्म क्रुद्ध थिए कि २०४४ सालमा प्रकाशित लेखहरूको सँगालो ‘अर्थ-राजनीतिक विसङ्गति राष्ट्रनिर्माणको तगारो’लाई प्रकाशित हुनबाट रोकेको तीतो सत्य पनि हाम्रासामु छ ।
‘राजनीतिक मैदानमा गैरराजनीतिक खेलाडी’
जानी नजानी राजनैतिक मैदानमा होमिएको तर राजनीतिका खेलाडीहरूमा आर्थिक चिन्तन र मुलुकको गरिबी निवारण गर्ने सम्बन्धमा सोच र विस्तृत ढाँचा र कार्यक्रमको अभाव भएको कुराको अनुभव लेख्नुभएको छ । राजनैतिक खेलाडीहरू बौद्धिक समाज, नागरिक अभियन्ताहरूको उपयोग गर्ने तर राजनैतिक दल सत्तामा पुगेपछि नागरिक समाजले उठाएका सवालहरूमा उपेक्षा गर्ने मात्र होइन, आँखाको कसिंगर ठान्ने प्रवृत्ति अनुभव भएको वर्णन गर्नु एउटा विडम्बना हो । आफैँले दल खोली आफैँले नेतृत्व लिन खोज्दा सफल नभएको कुराको पक्ष विपक्ष केलाउनु भएकाले पैसाको खोलो बगाउन नसक्नेले सफल हुन नसक्ने निष्कर्ष निकाल्नुभएको छ किनकि पैसा बटुल्न पैसावालहरूसँग पारस्परिक लेनदेन गर्नुपर्ने यथार्थ सबैसामु छ ।
‘राजा, बहुदल, माओवादी’ शीर्षकको परिच्छेदमा विकासलाई केन्द्रविन्दुमा राखेर लेखिएको छ । जनताको हितमा र जनताको जीवनस्तरमा असर पर्ने हुँदा जनमतलाई प्रभाव पार्न पनि विकासको नारा जुनसुकै सिद्धान्त लिएका भए पनि दिनुपर्ने बाध्यता हुन्छ । तर नारा दिने राजा हुन्, बहुदलवादी हुन् वा गणतन्त्रवादी उनीहरूको अभीष्ट के हो भनी बुझनु आवश्यक रहेको विषय उठाइएको छ । विकाससँग गाँसिएको विषय शान्ति र लोकतन्त्र हो भनी बारम्बार कुरा गरिएको छ । राजाले लोकतन्त्र र मानव अधिकार लत्याएको र शान्ति माओवादीले खलबल्याइरहेको हुँदा माओवादीलाई शान्ति प्रक्रियामा आउन अनुरोध गरी लेखक आफँै पनि माओवादीसँग भेटी आग्रह गरेको कुरा रमाइलोसँग लेखिएको छ । मुख्य कुरा विकासका सम्बन्धमा कुनै पनि दलसँग विकासको मार्गचित्र प्रस्ट नभएको पनि लेख्नुभएको छ ।
‘विकास र लोकतन्त्र पञ्चायतदेखि गणतन्त्रसम्म’
राजनैतिक परिवर्तन हुँदैमा विकास हुन्छ र गरिब जनताले प्रतिफल तुरुन्तै पाउँछन् भन्ने भ्रम पाल्न नहुने रहेछ । २००७ सालदेखि चारवटा राजनैतिक परिवर्तन भए तर जनताको आकांक्षालाई सम्बोधन गर्ने सम्बन्धमा ती अनुकूलका संरचना बन्न सकेनन् । यसका लागि राजनैतिक नेताहरूमा इच्छाशक्तिको अभाव, उत्तरदायित्वविहीन आचरण हो भनी ठम्याई रहेको छ । ‘दायित्वबोधले मात्र नीति निर्माण र कार्यान्वयनमा लगन र निष्ठाको चयन गराउन सक्छ’
‘छिमेकी र अन्य सहयोगी’
भारतको नोकरशाहीको हेपाहा प्रवृत्ति र आत्मनिर्भर हुने भारतको प्रयासमा अड्चन पैदा गर्ने मनोवृत्तिले भारतको आलोचना गरिएको छ । भारतीयहरू असल, सहयोगी, माया गर्ने खालका छन् तर सरकारी कर्मचारीहरूको चाहिनेभन्दा बढी सुरक्षा चासोले गर्दा विशाल भारतको ठूलो नेतृत्वको कुखुराको जस्तो सानो छातीले समस्या ल्याएको हो । जलस्रोत, व्यापार र पारवहनमा जहिले पनि किचलो भइरहेकाले नेपालको आर्थिक उन्नतिमा अवरोध सिर्जना गर्ने खेलले गर्दा भारतप्रति शुभेच्छा र मैत्रीपूर्ण सम्बन्ध राख्न खोज्दाखोज्दै पनि मन अमिलो भएर आउने गरेको कुरा व्यक्त गर्नु भएका डा. पाण्डेको भनाइमा भारतको नोकरशाहीसँग व्यवहार गरेका कर्मचारीहरूको मनका कुरा राखिदिनुभएको जस्तो लाग्छ । यो विषयमा हामी पनि दोषी छौँ । नेताहरूको बानी व्यहोरा, विदेशीको ढाड चढेर सत्तामा पुग्ने प्रवृत्ति र व्यक्तिगत स्वार्थले गर्दा पनि विदेशीहरूको हेपाहा प्रवृत्ति देखिएको हो ।
‘संस्था निर्माणको अधुरो प्रयास’ शीर्षकमा संस्था निर्माण र दिगो स्वरूपबारे संस्मरण छ । संगठनलाई संस्था बनाउन समर्पित नेतृत्व र लगनशील पेसागत व्यक्तिहरूको सहयोग आवश्यक हुने कुराको चर्चा गर्नुभएको छ । चारवटा संस्थाहरूमा उहाँको संलग्नता र संस्थालाई दिगो बनाउन गरिएको प्रयासको सजीव चित्रण गर्नुभएको छ । संस्था निर्माणमा लागेका व्यक्तिहरूका लागि यो मार्गदर्शन हुन सक्छ । वैदेशिक सहायता समन्वय महाशाखाको संरचना परिवर्तन भएका बेलादेखिको यो टिप्पणीकर्ताको पनि संलग्नता र अनुभवले पनि कर्मचारीहरूले विज्ञता हासिल गर्न र आत्मविश्वाससाथ काम गर्ने हौसला पाएका थिए । ‘सेक्टोरल अप्रोच’ले गर्दा योजनाका उद्देश्य, नीति र कार्यक्रमसँग विदेशी सहायतालाई समाहित गरेर काम गर्न सुगम भएको र उपसचिव तहमा सम्बन्धित मन्त्रालयसँग नजिकको सम्बन्ध स्थापना गरी काम गर्दा छिटो-छरितो तरिकासँग काम हुने गरेको अनुभव यो टिप्पणीकर्ताको छ । क्षेत्रगत विज्ञता र आत्मविश्वासले गर्दा विदेशीहरूसँग वार्ता गर्न सजिलो भएको आफूले पछि (२०५१ साल) यो महाशाखाको नेतृत्व गर्दा अनुभव गरेको छु । अहिले पनि यही संरचना स्थापित भई टिकाउ भएकाले यसको उपादेयता र प्रभावकारिता बुझ्न सकिन्छ ।
पिताजी लन्डन दूतावासमा काम गर्न राजदूत सिंह शमशेरसँग जानुभएको अवस्थामा हाडसम्बन्धी रोग लाग्दा बेलायतमै उपचार गर्नुको सट्टा रोगी बाबुलाई नेपाल फिर्ता पठाइदिएको कुराले तत्कालीन शासकप्रति वितृष्णा पैदा भएको कुरा व्यक्त गर्नुभएको छ ।
दोस्रो जुनीमा प्रवेश गरेपछि आईआईडीएस, ट्रान्सपरेन्सी इन्टरनेसनल, दक्षिण एसिया केन्द्रको स्थापना र सञ्चालनको जिम्मेवारी लिएर काम गर्दाको अनुभव समेटिएको छ । पिछडिएको समूहसँग काम गर्दा स्वावलम्बनको सिद्धान्त अपनाएको र परम्परागत परिभाषाभन्दा फरक किसिमबाट काम गर्दा आय आर्जन समूहको माध्यमबाट प्राप्त भएको उपलब्धिबाट सन्तोष लागेको कुरा व्यक्त गर्नुभएको छ । स्वावलम्बन कार्यक्रमको सुरुवातदेखि जनताको विश्वास जित्नेसम्मको अवधिसम्म डा. पाण्डेको निरन्तर संलग्नता देखिन्छ भने अरु दुई संरचना ट्रान्सपरेन्सी इन्टरनेसनल, दक्षिण एसिया केन्द्रको थालनी हुँदादेखि नै डा. पाण्डेको ध्यान राजनैतिक मुद्दामा बढी केन्द्रित भएकाले होला, यी दुई संरचनाहरूमा निरन्तर संलग्नता नभएको देखिन्छ । त्यसले गर्दा यी दुई संस्था संरचनागत रूपमा हाल चालु अवस्थामै रहे पनि डा. पाण्डेको भनाइअनुसारको ‘संस्था’ बन्न अझै धेरै मेहनत गर्नुपर्नेछ । यी दुई संस्थाहरूको उद्देश्यअनुरूप दिगो रूपमा संस्था बनाउन आफू विभिन्न कारणले सफल हुन नसकेको कुरालाई अधुरो भयो भनी आफ्ना कमजोरी स्वीकार गर्नुभएको छ ।
‘अन्तर्राष्ट्रिय नागरिक समाजमा नेपाली नागरिक’
यो शीर्षकमा विदेशी संस्थाहरूमा समयक्रममा संलग्नता बढ्दै गएको हुँदा विदेशका प्रबुद्ध व्यक्तिहरूसँगको सरसंगतले गर्दा विभिन्न देशहरूको भ्रमण र विभिन्न बैठकमा भाग लिएको र दक्षिण एसियाका मुलुकमा निर्वाचन पर्यवेक्षण गर्न गएको वृत्तान्त उल्लेख छ । मानवअधिकार, शान्ति, विकास, भ्रष्टाचार उन्मूलनका विषय नै प्रमुख मुद्दा हुन्थे । विश्वव्यापी रूपमा चेतना वृद्धि भए पनि लेखकले निष्कर्षकै अन्दाजमा ‘समष्टिगत रूपमा संस्थाहरूको निर्माण गर्दा ऐन, नियम, संरचना र पद्धतिमा मात्र ध्यान केन्द्रित गरेर नपुग्ने रहेछ । सम्बन्धित संस्थाहरूलाई सक्षम, सबल, निष्ठावान् र जनउत्तरदायी कसरी बनाउने भन्ने कुरा नै लोकतान्त्रिक व्यवस्थामा अहं हुने रहेछ ।’ लेख्नुभएको छ ।
श्रीलंकाका राष्ट्रपति जे आर जयवद्र्धनेको कार्यकक्षको डेस्कमा राखिएको कार्डमा लेखिएको ‘तिमीसँग समाधान छ कि तिमी समस्या हौ’ भन्ने सन्देश पुस्तकमा उद्धरण गरिएको छ । वर्तमान पुस्ता विभिन्न समस्या समाधान गर्न अग्रसर भए पनि चिताएको जस्तो गरी सफल नभएकाले समाधान निकाल्न युवा पुस्ता सफल हुने विश्वाससाथ पुस्तक सकिएको छ ।
अन्त्यमा,
डा. पाण्डेको जीवनको उतारचढावको आत्ममूल्यांकन पढ्दा उनको आदर्श, निष्ठा, कर्तव्य, उत्तरदायित्व, मेहनत नै मूलमन्त्रका रूपमा रहेको सबैले अनुभव गरेका छन् जस्तो लागेको छ । यो मूलमन्त्रको अभ्यास गर्दा कतिपय व्यक्तिसँग ठ्याक नमिलेको कुराको सजीव वर्णन पढ्दा आदर्श र व्यवहारको खाडल झन् फराकिलो हुँदै गएको कुरा भने प्रस्टसँग बुझिन्छ । प्रायः ठेट नेपाली शब्दको प्रयोगले वाक्य संयोजन सरस छ र सलल बग्ने नदी जस्तै कतै रोकिनु नपर्ने एकै पटकमा बुझ्ने गरी लेखिएको छ । कतै जासुसी कथा पढे जसरी अब के होला भन्ने उत्सुकता पैदा गर्छ । दिल्लीमा प्रचण्डजीसँगको पहिलो भेटलाई त्यसरी नै बुझ्न सकिन्छ ।
अर्को महत्वपूर्ण पक्ष भनेको लेखाइमा आफ्ना सबल पक्ष र कमजोरीलाई पस्किन सक्नु हो । पाण्डेलाई नभेटेका पाठकले पनि उनको व्यक्तित्वको कल्पना गर्न सक्नेछन् । उनको अनुभव र भोगाइका सम्बन्धमा अनुसन्धान गर्न खोज्ने अनुसन्धानकर्ताले राज्य सञ्चालनका विभिन्न पक्षमा जानकारी पाउनेछन् र राज्यको शासन गर्ने कलाका सम्बन्धमा डा. पाण्डेले विश्वास र भरोसा गर्नुभएको युवापंक्तिले धेरै सिक्न सक्ने स्तरीय पठन सामग्री उपलब्ध भएको छ ।
(अर्थ मन्त्रालयमा वैदेशिक सहायता समन्वय महाशाखामा काम गरेका घिमिरे अर्थ-कूटनीतिज्ञ हुन् । उनी पूर्वकर्मचारी सेवा परिषद नेपालका अध्यक्ष पनि हुन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया