सप्ताहन्त

आमाविनाको घर

चन्द्रकला खनाल ‘देवी’ |
बैशाख ११, २०७८ शनिबार १२:२५ बजे

आमा हुन् जननी सबै जगतकी सन्तानकी सत्गुण
आमाको महिमा अपार छ यहाँ भन्‍न कहाँ सक्छु र
सन्तान निम्ति सधैँ सफलता चाहने मातृत्व माया छ र
सोच्‍न सम्म पनि सकिन्थ्यो र कहाँ आमाविनाको घर ।।

कस्तो हो यो अचम्म जीवन पनि त्यस्तो त्यो दिन आइदियो
आज यही घरमा अचानक अहो नसोचेको कुरा भइदियो
बहत्तर साल असोज तीन गतेको त्यो दिन कालो नै भइदियो
आयो के कहाँ बाट केही देखेनौ आमा टिपी लइदियो ।।


रोक्न छेक्न को सक्दो रहेछ र यहाँ त्यो दैवको दुर्गति
जान्छ ज्यान बचाउनै नसकिने के काम त्यो सम्पत्ति
गर्छन धाक देखाउँदै धन धेरै गर्न हुँदैन् तर
साँच्चै नै सुनसानको भइदियो आमाविनाको घर ।।

बोल्न हाँस्‍ने रमाउने कहीँ कतै देख्छु कतै झलमल
गर्न खोज्छ के काम हो भनी त्यहाँ हुन्छु आफैँ अलमल
सोच्छु गहिरिएर अलिकति कतै यो जीवन के छ र
औँसी रात जस्तै भएको छ यहाँ आमाविनाको घर ।।

दु:ख सुख बिसाउने स्थल यहाँ देखिन्‍न खै कहीँ पनि
एक्लै झैँ हुनुभयो छोराछोरी यहाँ बुहारी हुँ मै पनि
सासु भन्‍ने नठानि आमा भनी म बोल्थेँ खुलेरै तर
लाग्दा घाम पनि अँध्यारो हुन गयो आमाविनाको घर ।।

सुन्दा राम्रा नराम्रा केही कुरा भएर भन्छु आमालाई भनि
हुनुहुन्‍न आमा भन्‍ने आउँछ झस्किन्छ यही मन पनि
हाँस्‍न खोज्छु समालेर मनमनै काँप्छु त्यसै थरथर
साँच्चैको मरुभूमि नै भइदियो आमाविनाको घर ।।

नसुन्‍ने कति निष्ठुरी त्यो काल असत्ति रोए पनि धरधरी
रोक्न छेक्न केही कसैले सकेनौँ सन्तान थियौँ घरभरी
देख्‍नसम्म पनि नपाइने यहाँ त्यो आत्मा कहाँ छ र
चाडपर्व पनि कालो रातसरी छन् आमाविनाको घर ।।

सन्तान पर्दा बिरामी खाना नखाँदा कसले यहाँ सोध्छ र
आमा नै नहुँदा विडम्बना यहाँ सन्तानको को छ र
बिर्सनै नसकिँदो रहेछ के भयो बाबु भनेको तर
सबैको लागि उजाड भइदियो यहाँ आमाविनाको घर ।।

नौ महिना तक गर्भमा राखी दुःखले जन्माउने आमा हुन्
आमाले जति माया गर्ने जगतमा अर्को यहाँ छ र कुन
मातृत्व बिर्साउने अरु यहाँ अर्को कहाँ के छ र
पछि थाहा हुनेछ आमा हुनेलाई आमाविनाको घर ।।

बाबा आमा हुने ती छोराछोरीले माया धेरै गर्नु है
बोल्ने ईश्वर हुन् भनेर सन्तान उनकै शरण पर्नु है
पहिले होस हुँदैन कहीँ कसैलाई सबथोक त्यहाँ छ र
आउँछ होस पछि उजाड बन्दा आमाविनाको घर ।।


Author

थप समाचार
x