सप्ताहन्त

संस्मरण

विवेकानन्द र टेगोरको खोजीमा भौँतारिँदा

गोपाल झापाली |
माघ ७, २०७९ शनिबार १३:५९ बजे

भारतको पश्चिम बंगाल भन्‍ने बित्तिकै मैले सम्झने चाँहि दुई महान् व्यक्ति हुन्, स्वामी विवेकानन्द र टेगोर । विद्यालय तहमा नै जीवनी पढेकाले पनि स्वामी विवेकानन्दको नाम स्मरणमा रहिरह्यो । अनि क्याम्पस कालमा पढेको टेगोरको प्रियकथा काबुलीवालाका कारण पनि म उनलाई बिर्सन सक्दिन । 

अझैसम्म पनि अघिल्लै पुस्ताको निर्देशनमा चल्ने मेरो मस्तिस्कसँग तुलना गर्छु, करिब अहिलेको म जस्तै हुने बेलासम्ममा संसारको ध्यान खिच्ने स्वामी विवेकानन्दको ज्ञान, दर्शन र व्यक्तित्व अनि म । अनि भन्छु, वर्षमा ३ सय ५० दिन भन्दा बढि, बाह्रै महिना, साताका सातै दिन दिनको १६–१८ घण्टाको धपेडी । उपलव्धि खोई ? चिमोट्छ स्वामीजीको त्यो चामत्कारिक दिव्यताले । जम्मा ३९ वर्षमै भौतिक जीवनबाट अवकास पाए पनि सवा सय वर्ष हुन लाग्दा पनि उनको ज्ञानको ज्योति र महिमा उस्तै महिमामय छ । कठै, जाबो म । 


१२ जनवरी १८६३ मा कलकत्ताको धनाढ्य परिवारमा जन्मिएका नरेन्द्रनाथ दत्त नेपालका सिद्धार्थ गौतम गौतम बुद्धमा रूपान्तरित भए जस्तै स्वामी विवेकानन्दमा बदलिए र सारा संसारका मानिसहरूलाई बदलिन प्रेरित गरे । 

चोक चोकमा विवेकानन्द
कुरा भर्खरैको हो । ७९ मंसिरको अन्तिम साता काँकडभिट्टाबाट भारत पश्चिम बंगालको राजधानी कलकत्ताको यात्रा थाल्दै गर्दा उनै दिव्यज्ञानी स्वामीलाई पनि सुम्सुम्याउने उत्कट चाहना थियो । अनि एकछिन टेगोरसँग भलाकुसारी गरेर ‘काबुलीवाला’ की बिचरी त्यो बालख मिनीको खबरको सोध्ने मन थियो । तर कहाँका स्वामीजी र टेगोर ? कहाँको म ? कसरी मिलोस् भेट ?

कलकत्तामा बरालिँदै गर्दा  ४ जुलाई १९०२ मा ३९ वर्षको उमेरमा निधन भएका स्वामीजीको गाउँ–गोठ वा कुटीको बाटो सोधखोज गरी हेरियो । तर कलकत्ता यात्राको मूल लक्ष्य त्यो नभएकाले त्यसैमा मात्रै केन्द्रित हुन समयले दिएन । केही भुँईमान्छेहरूलाई सोधखोज गर्दा उनीसँग जोडिएका कुनै स्थानको बाटो पहिल्याउन सकिएन । संसारलाई नै धर्म र ज्ञानको दिव्यपथ देखाउन सक्ने महान् व्यक्तिको घरसम्म पुग्ने बाटो पनि पहिल्याउन नसक्ने म मेरै ज्ञान र बुद्धिमाथि शंका गरिरहेको थिएँ ।

स्वामीजीको सहर कलकत्ताको बिल्डिङ् मोडमा रहेको सानो उद्यानमा मौन मुस्कुराइरहेका उनैका सामु पुग्दा सम्झिँए कतै पढेको प्रसंग । अमेरिकाको सिकागोमा सन् १८९३ मा भएको विश्वधर्म महासभामा हिन्दू धर्मको प्रतिनिधित्व गर्दै उनले प्रवचन दिँदा अहिलेको उनको मौनता जस्तै भएथ्यो होला पाश्चात्य समाज । अर्को कुरा पनि थाहा पाइयो, रामकृष्ण परम्हंसका अनुयायी उनले चाहिँ कसैलाई अनुयायी, चेलाचेली वा शिष्य बनाउन चाहेनन् । परन्तु, स्वाकर्षण र मोहले उनका लाखौँ अनुयायीहरू अहिले संसारभरि छरिएका छन् । अहिले जबरजस्ती ‘फ्यान क्लब’ बनाउने सेलिब्रेटी, कार्यकर्ताका प्रश्न विहिन भिडमा रमाउने नेता र बन्दुक र अस्त्रको घेरामा दम्भ पिट्ने धर्मगुरुहरूलाई देख्दा के भन्थे होला डा.स्वामी विवेकानन्दले ?

‘राजा पुजिन्छ देशमा, विद्वान सबै तिर’ भन्‍ने कुरा स्वामीजीको जीवनमा पनि मिलेको रहेछ । कुरो के रैछ भने, राजनस्थानको झुंझुनु जिल्लास्थित खेतडीका राजा अजीतसिंह गर्मी समयमा माउन्टआबुस्थित महलमा पुग्थे । त्यहीँ उनको वर्षायाम बित्थ्यो । वातानुकुलन भए पछि दरबार फर्कन्थे । यसरी माउण्ट आबुमा रहने क्रममा उनै राजा र स्वामीजी बीच ४ जुन १८९१मा भेट भयो ।

आस्तिक भावनाका राजा जवान स्वामीको दिव्यज्ञान र वचनबाट यति प्रभावित भए कि उनले स्वामीजीलाई आफ्नो चेलो बनाउन आग्रह गरे । तर स्वामीले भनेछन्, ‘मेरो ज्ञान र वचनलाई स्वीकार गर्न वा अरुलाई बाँड्न मसँग अनुमति मागिरहनु पर्दैन । तपाईलाई जे लाग्छ मलाई त्यो रूपमा स्वीकार्न तपाई मात्र होइन हरेक व्यक्ति स्वतन्त्र छन् । यो कुराले राजालाई आफू स्वामीको शिष्य भएकोमा गौरव महसुस भयो । भेट बाक्लिँदै जाँदा सन् १८९३ मो सिकागो सभामा जान पनि स्वामीलाई तिनै राजाले अनुनय गरे, सहयोग गरे । स्वामी पनि आफ्नो ज्ञान अरुलाई बुझाउन पाइने भए पछि मन्जुर भए र सन् १८९३ को मे १० मा सिकागो प्रस्थान गरे ।

राजाका मुन्सी जगमोहन लालले स्वामीलाई बम्बईसम्म पुर्‍याए र आवश्यक सबै श्रोत साधनको व्यवस्था पनि गरिदिए । भनिन्छ, आफ्नो विवेकमा आनन्दित हुने उनै विवेकानन्दलाई पहिलो पटक स्वामी भनेर सम्वोधन गर्ने पनि उनै राजा अजितसिंह थिए । आखिर ज्ञान, विद्धता र विवेकसँग सत्ता र शक्ति पनि नझुकेको त कहाँ छ र ? तर त्यसरी झुक्न ज्ञान, विवेक र दर्शन चिन्‍न सक्ने चेत पनि त हुनु पर्‍यो नि शासकमा । कठै मेरा शासक ! कलकत्ताका हरेक चोक र चौबाटामा ठिंग उभिइरहेका विवेकानन्दलाई सोध्थेँ–‘स्वामी मेरा शासकहरूलाई यो सद्बुद्धि नदिई किन तिम्रो अवकाश भयो ?’ उत्तर दिने न स्वामी मसँग थिए, न मेरा शासकहरूसँग उत्तर । कोलाहलपूर्ण विशाल सहरमा सलह जस्ता मान्छेका ताँती पन्साउँदै एक्लै हिँड्नुको विकल्प थिएन । 

टेगारलाई भेट्न नपाउँदा
मलाई कलकत्ता पुगे पछि टेगोरलाई भेट्ने ठूलो हुटहुटी थियो । त्यसैले गएका दिनदेखि नै उनको ठाउँ ठहर खोजी गर्ने मेलो सुरु भयो । बोल्न लागेको धकलाई उछिनेर ठाउँ ठाउँका व्यक्तिहरूलाई सोधेँ, टेगोरका बारेमा । गंगामा जलयात्रा गर्दा होस् वा मेट्रोमा रेल यात्रा गर्दा । अटोमा सररर कलकत्ता घुम्दा वा पैदलमा टहलिँदा पनि मैले टेगोरलाई सोध्न छोडिन । रवीन्द्र सरोवर, रवीन्द्र सदन जस्ता उनीसँग जोडिएका ठाउँहरू थाहा भयो । तर ती ठाउँका बारेमा प्रशस्त जानकारी नपाउँदा मन त्यता हुत्तिएन ।

सहयात्रीका साथीहरूले पनि गिज्याउन थालेका थिए, रवीन्द्र र स्वामी विवेकानन्दको प्रतिमा देख्दा तपाईँको मान्छे भन्‍न थालिसकेका थिए । तर के भयो भने, कलकत्तामा म बसेको साल्टलेक स्टेडियमलाई स्वामी विवेकानन्द स्टेडियम पनि भनिँदो रहेछ, त्यहाँ उनको बडो सुन्दर प्रतिमा थियो । कलकत्ताका विभिन्‍न मोड र घुम्तिमा उनी उभिएका थिए तर उनको तुलनामा टेगोर त्यहाँ दुर्लभ ।

हुन त, कविहरू शान्त र एकान्तमानै रमाउँछन् भनेर पनि हो कि ? हुन त त्यहाँ उनको अमर कृति गीताञ्जलीको नाममा गीताञ्जली स्टेसन पनि रहेछ, त्यहाँसम्म पनि जान सकिएन । पशुपतिनाथको जात्रा, सिद्राको व्यापार गरौँला भन्‍ने थियो तर सिद्राकै व्यापारले समय खायो । 

७ मे १८६१ मा सम्पन्‍न र शिक्षित परिवारमा जन्म भएका रवीन्द्रनाथ ठाकुर सानो रूपान्तरणले टेगोर बनेका पनि होइन रहेछन् । पत्रिकाको सम्पादकदेखि बालभित्ते पत्रिकाका प्रवद्र्धकसम्म भएका उनको काव्य रचना गीताञ्जलीका लागि उनलाई सन् १९१३ मा साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिनु चानचुने रूपान्तरण कहाँ थियो र ? ठाकुर शव्दलाई उच्चारणमा कठिनाईकै कारण नोबेल धनीहरूले टेगोर उच्चारण गरिदिए, हामी दक्षिण एसियालीहरू पनि त्यतै बग्यौँ, त्यसैले होला हामी पनि गर्व साथ ठाकुरजीलाई टेगोर भनेर मख्ख परिरहेका छौँ । 

साहित्य मात्र होइन, संगीत विधामा पनि टेगोरको अद्वितीय योगदान रहेछ । रवीन्द्र संगीत भारत वर्षमा संगीतको नयाँ विधाको रूपमा जीवन्त छ । यस संगीतले बङ्गाल क्षेत्र अर्थात् हालको भारत तथा बङ्गलादेशको संगीताकाशमानै नयाँ नक्षत्र थपिदियो ।

उनले विकास गरेको रवीन्द्र संगीत भारतीय चलचित्रहरूमा पनि बडा सम्मानका लागि प्रयोग गरिएको छ ।  भारतीय चलचित्र लेखक निर्माता सत्यजीत रे, ऋत्विक घटक, मृणाल सेन आदिले चलचित्रमा रवीन्द्र संगीतलाई उच्च सम्मान दिएका छन् । नितिन बोस, तपन सिन्हा, कुमार सहनी लगायत विभिन्‍न चलचित्र निर्माताले पनि आफ्ना चलचित्रमा रवीन्द्र संगीतको उपयोगमा हिचकिचाहट नगर्नुले यसलाई विस्तार गरेर ब्रिटिश, युरोपेली तथा अष्ट्रेलियाली चलचित्रसम्म पुर्‍याएको अध्येताहरूले बताएका छन् ।   

संगीत गुरुहरू दिनेन्द्रनाथ टेगोर, शान्तिदेव घोष, रुमा गुहा ठाकुर, सुचित्रा मित्रा, कनिका बन्द्योपाध्याय लगायतको संगतले उनलाई युगकै कुशल श्रष्टाको रूपमा उभ्याएकै कारण सन् १९६१ मा रवीन्द्र भारती विश्वविद्यालय स्थापना भएको छ । यस्ता महान् विद्वानको गाउँसम्म पुगेँ तर म मुला, उनकै आँगनसम्म पुगेर पनि उनको जन्मस्थल पुग्न सकिन । अझै छुकछुक लागि रहेको छ । भारत र बंगलादेश दुई देशको राष्ट्रगानका रचयिता टेगोर । यस प्रकारको व्यक्ति दोश्रो कोही होला र ?

टेगोर र सुन्तला
टेगोरको जीवनको अन्तिम क्षणसम्म पनि सुन्तला बडो प्रिय फल रहेछ । हामी कलकत्ता पुगेको खास कारण थियो, सुन्तला महोत्सव । त्यसैका संयोजक राज बसु भन्दै थिए, ‘गुरु टेगोरको जीवनमा सुन्तलासँगको प्रेम बडो रोचक छ । के भएछ भने, उहाँ जीवन र मृत्युको संघर्षमा रहेका बेला सवै शिष्यहरूले आ आफ्ना प्रिय वस्तु, पकवान, मिष्ठान्‍न गुरुलाई अर्पण गर्न लागेछन् । त्यही बेला केही शिष्यहरूले चाँहि पहाडी पानीले सिँचित दुई डोको सुन्तला लिएर गुरु सामु अर्पण गर्न लागेछन् ।

जीवनको अन्तिम प्रहरमा रहेका टेगोर त्यस बेला यति विधि भाव विभोर भएछन् कि उनको जीवनको अन्तिम घडीमा पनि आफ्नो प्रिय फल प्रतिको मोहले सबै शिष्यहरूका गह भरिए ।’ फलफूलको राजा अर्थात ‘किंग अफ फ्रुट’ आँपलाई भनिए झैँ ‘क्विन अफ फ्रुट’ सुन्तलालाई भनिँदो रहेछ । अझ प्रिय लेखक टेगोरको पनि प्रिय भएको थाह पाए पछि मलाई पनि खै किन किन सुन्तलाप्रति अचम्मले अनुराग बढेर आयो ।

सुन्तलासँगको मेरो प्रसङ्ग चाँहि के छ भने, म बालख हुँदा पहाडबाट बोरामा कोसेली आएका बएलिएका सुन्तला यति खाइएछ कि, जति बेर सुन्तला खाइयो त्यो भन्दा बढि बेर बमन गरियो । राम्रो वा नराम्रो बाल्यकालमा जे छाप गाडिए पनि त्यो खिल बनेर खिलिँदो रहेछ जस्तो लाग्छ अहिले । सुन्तलाले मेरो मुख मात्र होइन शरीर नै कोक्याए पछि मैले त्यस पछि एक दशकभन्दा लामो समय सुन्तला नै खाइँन । प्रिय टेगोरको पनि प्रिय फल सुन्तला नै थियो भन्‍ने थाह पाउनु पर्ने रहेछ क्यार, अचेल सुन्तला निक्कै मन पर्छ । पछिल्लो प्रसङ्ग थाह पाए पछि अझ बढि ।

काम के बदल्छ, नाम कि नजर ?
खासमा कलकत्ता घुमाइका चार पाँच दिनमा मेरो मथिङ्गल पनि उसैगरि घुम्यो । म घुमेको अरुले पनि देखे होलान्, म भित्रको मन र मथिङ्गल घुमेको चाँहि मबाहेक अरुले थाह पाएनन् । जीवनमा गरेका सत्कर्म र अपनाएका सत्मार्गले जीवन त बदलिएला, मैले माने । कर्म अनुसारको फल त पाइन्छ भन्‍ने पक्षको मान्छे हुँ म । तर कामले के बदल्छ ? नाम कि नजर ? वा दुवै सँगसँगै ? कर्मकै कारण बदलिए सिद्धार्थ गौतम अनि बने गौतम बुद्ध । 

धनाड्य परिवारमा जन्मिएका नरेन्द्रनाथ दत्त सारा सम्पत्तीको मोहबाट माथि उक्लिए पछि बने, स्वामी विवेकानन्द । गीताञ्जली लेखेका रवीन्द्रनाथ ठाकुर बने टेगोर । कर्मकै कारण उनीहरूको नाम मात्र बदलिएन, सायद संसारलाई उनीहरूले हेर्ने नजर र संसारले उनीहरूलाई हेर्ने नजर पनि बदलियो । तर खासमा यो उनीहरूको नाम बदलिएको हो कि, उनीहरू आँफै बदलिएका हुन् ?

कर्मका कारण बदलिएको थियो कि थिएन उनीहरूको हृदय ? कसले देख्यो होला र ? १९ औँ शताब्दीका महान् समकालीन पुरुषहरूको खोजी गरिरहँदा मैले खोजेको यो प्रश्नको उत्तर भेटेको छैन, अझै खोजिरहेको छु । पहिलो कलकत्ता यात्रामा त मेरो हृदयमा तिर्थ झैँ छाप बनेर छापिएका यि महान् व्यक्तिहरूको उद्गम थलो र त्यहाँ उनीहरूको शरीरमा टाँसिने धुलो एक पटक छुन पाइएन, अर्को पटक चाँहि पक्कै पुगिएला भन्‍ने लागेको छ ।

झापालीको अरु लेख


Author

थप समाचार
x