सप्ताहन्त

तनको तन्दुरुस्ती र मनको स्फूर्तिका लागि डाँडाकाँडा हिँड्दै युवा

सदिक्षा आचार्य |
माघ २८, २०७९ शनिवार ८:४३ बजे

काठमाडौं - ललितपुरको नख्खु बस्दै आएकी २२ वर्षीया रस्मिता माझी शनिबार आउनासाथ ‘हाइक’ जाने योजना बनाउँछिन् । उनलाई हिँड्न, घुम्न मन पर्छ । किताब सँगसँगै प्रकृतिबाट पनि धेरै ज्ञान लिन सक्ने उनको बुझाइ छ । ‘हाइक’मा उनको लत नै बसेको छ । गत शनिबार कार्यस्थलका अन्य मित्रहरूसँग माझी तारेभिर गएकी थिइन् । 

कीर्तिपुर निवासी शिक्षक शर्मिला शर्मालाई पनि प्रकृतिको समीप जान निकै मन पर्छ । प्रकृतिसँग नजिकिँदा आफूलाई बढी चिनिने उनको तर्क छ । शनिबारको दिनलाई सदुपयोग गर्दै उपत्यकाभित्रका ‘हाइक’ जान मिल्ने जति ठाउँहरूमा उनी गइसकेको बताउँछिन् । 


कीर्तिपुर निवासी पूजा भट्ट पनि शिक्षक हुन् । हप्ताका अरू बार पढाउनमै केन्द्रित भए तापनि शनिबार भने उनी समय निकालेरै ‘हाइक’ जान्छिन् । उनलाई ‘हाइक’ जाँदा शरीर निकै स्वस्थ भएको अनुभव हुन्छ । ‘जीवनलाई जीवन्त राख्न हाइक जानुपर्छ,’ उनले भनिन् । 

मनोचिकित्सक डा. कपिल उपाध्यायका अनुसार नेपालीहरूमा पछिल्लो समय हाइक जाने लहर बढ्दै गएकोे छ । ‘हाइक’ समूहमा र ‘सोलो’ अर्थात् एक्लै जाने चलन पनि छ । यसमा दुईवटा तत्व छन्, एक्लै कि समूहमा, उनले भने । हाम्रो शरीरका अंगहरूबाट विभिन्न रसायन निस्किछन् । डा. उपाध्यायले हिँड्दा मानिसहरूको दिमागबाट ‘इन्डोर्फिन’ नामक  रसायन निस्कने र उक्त रसायनको उत्पादनले शरीरलाई आनन्दित तुल्याउने बताए । 

पछिल्लो समय युवापुस्तामा ‘हाइक’को मोह बढ्दो छ । विभिन्न उमेर समूहका व्यक्तिहरू हिजोआज अब कहाँ घुम्न जाने होला ? यसपालिको शनिबार कता हाइक जाने होला भन्ने संवाद चियापसल, खाजा पसलमा, साथीभाइको जमघटमा सुन्ने गरिन्छ । सामाजिक सञ्जालमा पनि भेटघाटको सल्लाहकै लागि विभिन्न समूह बनाइएका हुन्छन् । त्यसो त, हिजोआज सामाजिक सञ्जाल (फेसबुक, इन्स्टाग्राम, टिकटक) मा हाइक गएका तस्बिर÷भिडिओहरू निकै देख्न पाइन्छ । 

माझीले तारेभिर गएका फोटो फेसबुकमा पोस्ट्याएकी छिन् । ‘शनिबार दिनभरि हिँडेर बित्यो’ उनले भनिन् । ‘साँझ घर फर्केपछि निकै थकित भएकी थिएँ, तर मन भने आनन्दित थियो’, उनले भनिन् । मनोचिकित्सक डा. उपाध्यायका अनुसार, हाइक जाँदा पूरै शरीरको कसरत हुन्छ, खुट्टाका मांसपेसी बलिया हुन्छन् । हड्डी बलिया हुन्छन् । मुटु बलियो हुन्छ । 

कीर्तिपुरकी शर्मिला पछिल्लो शनिबार चम्पादेवी गएकी थिइन् । त्यहाँ पुग्दा गाह्रो भए पनि, नतिजा भने राम्रो पाएको उनको अनुभव छ । भन्छिन्, ‘बाटो त अप्ठ्यारै थियो । उकालो, ओरालो, खुट्टा काँपे जस्तै हुने । माथि पुग्दा त्यहाँको हावाले सारा थकान नै गायब बनाइदियो । छुट्टै ऊर्जा मिलेको थियो । अब अर्को शनिबार फेरि हाइक जान्छु, यसपालि शिवपुरी ।’

डा. उपाध्यायले आध्यात्मिक रूपमा पनि हिँडडुलको निकै महत्व भएको बताउँछन् । हाइक गर्दा पृथ्वी, बोटबिरुवा, खोलानाला आदिबाट पनि ऊर्जा प्राप्त गर्न सकिने उनले बताए ।

त्यस्तै हाइक लैजाने विभिन्न सामाजिक समूह पनि छन् । ‘हाइक फर नेपाल’ त्यस्तै एउटा सामाजिक संस्था हो । बाग्लुङका गणेश शर्मा सुरुवातमा बाह्य पर्यटन प्रर्वद्धन गर्नका निम्ति ‘हाइक फर नेपाल’को स्थापना गरेको बताउँछन् । १० हजारभन्दा बढी व्यक्ति हाइकमार्फत जोडिएको उक्त संस्थाका उनी अध्यक्ष हुन् ।

शर्माका अनुसार, पछिल्लो समय नेपालीहरूमा पनि ‘हाइक’ जाने ट्रेन्ड बढेको छ । ‘हाइक’ जानेमा विभिन्न उमेर समूहका व्यक्तिहरू छन् । ‘हामीसँग बालकदेखि वृद्ध उमेर समूहका व्यक्तिहरू ‘हाइक’ जानका लागि जोडिनुहुन्छ’, उनले भने । हुन पनि चिकित्सकहरू सबै उमेर समूहका व्यक्ति स्वस्थ रहनका लागि हिँडडुलको निकै महत्व भएको बताउँछन् । 

सहरमा एउटा ट्रेन्ड नै छ ‘हाइक’ जाने । सहरी जीवनशैलीबाट ब्रेक लिनकै लागि पनि हाइक जानेको संख्या बढ्दै गरेको देखिन्छ । वरपरका पार्कमा  मात्रै नभएर प्रकृति, गाउँघर, संस्कृति बुझ्नलाई पनि हाइक जाने गरिएको देखिन्छ । 

एक व्यक्तिका सामाजिक सञ्जालका पोस्टले अरू व्यक्तिहरूलाई हिँड्न घुम्न लालायित बनाउँछन् । हिजोआज फेसबुक, टिकटकमार्फत मानिसहरू आफ्ना गतिविधि सेयर गर्छन् । फेसबुकका रिल, टिकटकका स–साना भिडियोमार्फत घुमघामका गतिविधि, दृश्यहरू आदि पोस्ट गर्छन् । कताकता यस्ता भिडियो, तस्बिरहरूले ‘रिले’को काम गरेको, धेरै ठाउँहरूको चिनारी दिएकाले ‘हाइक’ जाने लहर बढ्दै गरेको ‘हाइक फर नेपाल’का अध्यक्ष शर्मा बताउँछन् । 

प्रविधिले संसार जोडेका बेला हामीले गर्ने हरेक काममा इन्टरनेटको आवश्यकता झल्किन्छ । इन्टरनेट नभए प्रायः कामहरू अपुरा जस्तै देखिएका छन् । सामाजिक सञ्जाल अझै भन्दा इन्टरनेट सञ्जालले मानिसलाई प्रकृतिबाट अलिक पर लगेजस्तै हुन्छ । त्यस्तैमा ‘आइटी’सम्बन्धी काम गर्ने साथीहरू एक दिन हाइक जाँदा एक हप्ता काम गर्ने ऊर्जा मिल्ने गरेको अनुभवसमेत शर्माले सुनेका छन् । यो प्रतिनिधि उदाहरण हो । भन्छन्, ‘यस्ता अनेकन् कुरा, सयौँ कथा हामीले सुनेका छौँ ।’ 

‘हामीले १९६ सिरिज हाइक सम्पन्न गरिसकेका छौँ’, उनले भने । हाइक जान मन गर्ने÷मन पराउने आफ्नो स्वास्थ्यमा निकै सजग हुने गरेको उनले बताए । त्यसो त हाइक जाने अधिकांश मनको आनन्दका लागि जाने गरेको पाइएको छ । व्यक्तिगत सचेतना, स्वास्थ्यप्रतिको संवेदनशीलता, घुमघाम संस्कारको विकास बढ्दै गएको हुनाले हाइक जाने लहर बढेको उनको अनुभव छ । 

हाइक पनि छोटो दुरीको जाने कि धेरै दिन लगाएर लामो दुरीको जाने भन्ने कुरा हुन सक्छ । काठमाडौँले हाइकका लागि विभिन्न ठाउँ अफर गरेको छ । त्यो मध्ये शिवपुरी, नागार्जुन, नमोबुद्ध, काभ्रे, पनौती आदि ठाउँहरू निकै चर्चित् छन् । झरनाहरू प्रशस्तै हुँदा शिवपुरी सेरोफेरोमा भने बर्खायाममा ‘हाइक’ जाँदा राम्रो हुन्छ । पानी परिरहने हुँदा बर्खायाममा झरना निकै सुन्दर देखिने नै उनी बताउँछन् । 

हाइक जान रुचाउने, हाइक लाने संस्थासँगको कुराकानीका आधारमा  हामीले काठमाडौँमा हिँड्न/हाइक जान मिल्ने केही ठाउँहरू उल्लेख गरेका छौँ । 
–    शिवपुरी/नागार्जुन राष्ट्रिय निकुञ्ज ( जमाचो, नागी गुम्बा, तारेभीर, सुन्दरीजल आदि)
–    चम्पादेवी
–    चन्द्रागीरी 
–    पनौती 
–    फूलचोकी 
–    बल्थली 
–    नमोबुद्ध
–    नगरकोट
–    चाङ्गुनारायण 

शर्माका अनुसार छोटो हाइकका लागि पूरै वर्ष उपयुक्त हुन्छ । छोटो हाइकको गन्तव्यमा शिवपुरी–नागार्जुन, चम्पादेवी आदि पर्छन् । त्यस्तै लामो दुरीको हाइक मार्च/अप्रिल र अक्टोबर/नोभेम्बर ठीक हुन्छ । 
 


Author

थप समाचार
x