सप्ताहन्त

दक्षिण कोरियाबाट नेपालको सम्झना : फेरियो कि मेरो गाउँ अझै उस्तै होला ?

माधव न्यौपाने |
जेठ १, २०८० सोमवार १३:३३ बजे

परदेशको जीवन विचित्रको हुन्छ । अर्लामको आवाजसँगै उठ् । अनुहार पनि राम्रोसँग धुन नपाई हतारहतार केही खाऊ र काममा जाऊँ । थकाइ नमानी हप्ताभरि उही कम्पनीको ड्रेस लगाएर रातदिन नभनी काममा जोतिनु पर्ने बाध्यता । कोठामा साथीलाई डिस्टर्ब होला कि भनी अपनाउनु पर्ने अतिरिक्त सतर्कता । मेसिनजस्तो जिन्दगी । खालि काम, काम अनि काम । काम सकियो , सम्बन्ध सकियो । कसैलाई कसैको मतलब समेत हुँदैन ।

केही दिनअघि एकजना दाइको बिदाइ कार्यक्रम भयो । दक्षिण कोरियाको झन्डै–झन्डै एकदशकको बसाइलाई बिट मार्दै उहाँ घर फर्किँदै हुनुहुन्थ्यो । लामो समय बसेको ठाउँ , सँगै काम गरेका साथीहरुसँग छुटिँदा पक्कै पनि नरमाइलो त लाग्दो हो , तर घर फर्किन पाउँदाको खुसी उहाँको अनुहारमा प्रयाप्त देखिन्थ्यो । मैले यसो उहाँलाई हेरेँ – झन्डै– झन्डै पाँच दशक देखेका ती आँखाहरु । तिलचामले केश । प्रौढ शरीर । कुनै दिन उहाँ पनि तन्नेरी हुनुहुन्थ्यो होला  । आफ्नै आवश्यकता र रहरहरु थिए होलान्  । आँखामा रंगीन सपनाहरु सजिएका थिए होलान् । के उहाँले चाहेजस्तै जीवन बाँच्नु भयो होला त ? के उहाँका सबै आवश्यकता , ईच्छा , आकांक्षाहरु पूरा भएछन् ? 


औसत नेपालीहरु निश्चित उमेर पार गरेपछि बिहेवारी गर्छन् । दुई–चार थान सन्तान उत्पादन गर्छन् । देशमा बेरोजगारी व्याप्त छ । कतै रोजगार पाइहाले पनि तलबले परिवार धान्न मुश्किल पर्छ । शासन प्रणाली बदलिए पनि जनताको जीवनमा आर्थिक रुपान्तरण हुनसकेको छैन । श्रमकार्यमा भेदभाव छ । कामको सम्मान छैन , मूल्य छैन । कर्मचारीमा कामप्रतिको समर्पण भाव छैन ।

शासक त शासकै भए जनतामा पनि आत्म –अनुशासन र उत्तरदायित्व हराउँदै गएको छ । व्याप्त बेथिति र स–साना काम गर्न पनि ठूला नेताको सोर्स– फोर्स र चाकडी गर्नुपर्ने प्रवृतिदेखि आजित भएर युवाहरू जिन्दगीको खोजीमा विदेशतिर हानिन्छन् । विदेशमा अनेकौं हन्डर ठक्कर खान्छन् । कठोर काम गरेर कोही स–शरीर धन कमाई फर्किन्छन् । कोही उतै हराउँछन् त कोही बन्द बाकसमा कहिल्यै नउठ्ने गरी फर्किन्छन् । यही हो औसत नेपालीहरुको नियति । 

सानै छँदा एकदिन ठूलो आवाजमा आकाशमा उडिरहेको जिनिसलाई देखाउँदै मैले आमालाई सोधेको थिएँ – आमा त्यो के हो ? ‘त्यो हवाइजहाज हो’ ,आमाले मतिर हेर्दै भन्नुभएको थियो  ‘त्यसमा मान्छे चढ्छन् ।’ 
आमाको जवाफ सुनेर म छक्क परेको थिएँ । त्यो हवाइजहाज नामक जिनिस कसरी उड्छ होला ? त्यसमा कस्ता मान्छे चढ्छन् होला ? फेरि त्यो जिनिस कहाँ जाने होला ? म निकै जिज्ञासु बनेको थिएँ । आमाले मेरो अनुहारको भाव बुझ्नु भएको थियो । आफ्नो दाहिने हत्केलाले मेरो निधार सुम्सुमाउँदै भन्नुभएको थियो – चिन्ता नगर् । ठूलो भएसी मेरो छोरो पनि चढ्ला । 

म गजक्क परेको थिएँ । आमाले मलाई आफ्नो छातीमा टपक्क टाँस्नु भएको थियो । वर्षाैपछि आज म त्यही हवाइजहाज नामक जिनिसमा चढ्न गइरहेको  थिएँ । तर, विगतको त्यो उत्सुकता ममा थिएन । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण उराठलाग्दो थियो । उफ् ! हामी कामदार निर्यात गर्ने देशका बासिन्दा । बाआमाको अनुहार मलिन थियो । मलाई रातो खादा ओढाउँदै बाआमाले दशैँमाझैंँ फररर आशिर्वाद दिँदै भन्नु भो, ‘कसैको नजर नलागोस् । दैव सधैं दाहिना रहून् । चिताएका सबै कुरा पूरा होऊन् । सबैको भलो गर्नू बाबै ’ बोल्दाबोल्दै आमाका आँखा सरर रसाए । 

‘आमा त जम्मै रोको रोयै हुनुहुन्छ । अब नरुनुस् के ’ दिदीले मेरो शिर सुम्सुमाउँदै फेरि आमातिर हेर्दै भनिन् , ‘ भाइ यति ठूलो भैसक्यो । आइहाल्छ नि एक/दुई वर्षपछि । म छँदै छु त हजुरहरुसँग ।’ 

‘हुन्दे, आमाको रुन्चे स्वर सुनेँ,‘ तिमीहरु जतिसुकै ठूला भए पनि हाम्रा लागि त साना हौ । एकदमै साना । आँखाका नानी जस्ता ।’ आमाले सारीको सप्कोले आँसु पुछ्नु भो । बा शिरमा आयातीत ढाकाको टोपी मिलाउँदै हुनुहुन्थ्यो । दिदी भने अन्तिमपटक सेल्फीको तरखरमा थिइन् । पालैपालो बाआमा र दिदीलाई ढोगेँ । आँखाभरि सप्तरङ्गी सपना र मनभरि विछोडको पीडा लिएर दक्षिण कोरियाका लागि प्रस्थान गेटतिर लम्किएँ । 

ईपीएस मार्फत दक्षिण कोरिया जाने युवायुवतीहरु कालो ज्याकेट र रातो क्याप टोपीमा सोझिएर लामबद्ध थिए । उक्त दृश्यले तत्कालीन नेकपा माओवादीले प्रतिक्रियावादी राज्यव्यवस्थालाई ध्वंस गर्दै नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने मूल नाराका साथ सुरु गरेको सशस्त्र संघर्षमा होमिएका युवायुवतीको झल्को दिन्थ्यो । फरक यत्ति थियो –तत्कालीन युवायुवतीसँग हातहतियार , बन्दुक , गोलीगठ्ठा थिए । अहिले यी युवायुवतीसँग भने हातमा हरियो पासपोर्ट थियो । करिब पाँच सय कामदार बोकेर हवाइजहाज उड्यो , अन्धकार आकाशमा । म उडेँ । पहिलोपल्ट गुँड छाडेर उडेको बचेरोझैं ।

‘सधैं हाम्रै मात्र भर परेर काँ हुन्छ ? हाम्रो उमेर पनि ढल्किँदै गो । हातगोडा बस्न थाले । तेरो पनि त उमेर भयो , अब त केही गर्नुपर्‍यो नि  ।  सधैं बाआमाकै मुख ताकेर जिन्दगी चल्दैन बाबै ।’ बाले पहिलोपटक साँच्चिकै पहिलोपटक मतिर हेर्दै भन्नुभएको थियो । बाको स्वर सुनेर छक्क परेँ । त्यो पुस महिनाको पहिलो शनिबारको दिन थियो । सूर्य आकाशको पश्चिमपट्टी थियो । हामी स–परिवार घाम ताप्दै सुन्तला छोडाएर खाँदै थियौँ । उमेरले बाइस नाघिसक्दा पनि  म पूरापूर बाआमामा आश्रित थिएँ  । चाहिएको बेला बाआमालाई दंगाउँदै पैसा माग्थेँ । चढ्ने साधन छँदै थियो । बिहान कलेज जान्थेँ । दिनभरि फुर्सदिलो फुन्थेँ । जिन्दगी यस्तै त हो नि भन्ने लाग्थ्यो । निकै पुल्पुलिएर होला , म भविष्यप्रति खासै गम्भीर थिइनँ ।

‘अब अल्लि गम्भीर बन्न सिक् । सधैं यसरी बरालिएर हुँदैन । हामी पनि डाँडामाथिका घाम भैसक्यौँ’, आमाको तिखो स्वर सुनियो । सुन्तला छोडाउनमै तल्लीन थिएँ म ।

‘कम्मर कसेर पढ् । लोकसेवामा नाम निकालिस् भने बेसै होला  । सरकारी जागीर भनेको सरकारी जागीर नै हो । भोलिका दिनमा राम्रो हुन्छ’ बाले खोक्नु भो । मैले दिदीतिर आँखा घुमाएँ , उनी फेसबुकमा व्यस्त थिइन् । 

जीवनमा सरकारी जागिर खाने मेरा बाआमाको ठूलो सपना थियो रे ! विडम्बना , उहाँहरुको त्यो सपना पूरा भएन । आफ्नो अपूरो सपनालाई छोराले पूरा गरिदेओस् भन्ने चाहना राख्नुभएको रहेछ । अभिभावकले सन्तानप्रति चाहना राख्नु स्वभाविक हो । तर, उनीहरुले सन्तानको गुण र झुकाब कस्तो र कता छ भन्ने कुराको पनि ख्याल राख्नुपर्छ । सरकारी जागिरप्रति मेरो कहिल्यै झुकाब भएन । सायद ममा त्यस्तो गुण पनि नहोला !

‘म सरकारी जागीर खान्न’ मैले भनेँ, ठाडै । 
‘अनि के अर्चस् त ?’ बाले सोध्नु भो, सोझै । 
‘बरु व्यापार गर्छु ।’
मेरो स्वर सुनेर बाआमा निकै खिन्न देखिनुहुन्थ्यो । 

व्यवस्थापन पढेकै लहडमा व्यापार गर्छु त भनेँ , तर मसँग चाहिने व्यावहारिक ज्ञान थिएन । के गर्ने ? कसरी गर्ने ? भन्ने विषयमै मेरा दिनहरु बित्न थाले । केही महिनापछि जेनतेन एउटा पसल सुरु गरेँ बाआमाको सहयोगमा । तर समयको लेखान्त अर्कै रहेछ । पसल फस्टाउन सकेन । फस्टाउन सकेन पनि के भनुँ ? व्यापारमा प्रयाप्त लगानी चाहिने । आफूसँग लगानी भएन । विभिन्न बैंक र संघसंस्था धाइयो तर उपलब्धि हात लागेन । कलेजमा अकाउन्ट् पढ्दा डेबिट र क्रेडिटको ब्यालेन्स सिट सहजै मिलाइन्थ्यो तर व्यावहारिक जीवनको डेबिट र क्रेडिटको ब्यालेन्स सिट मिलाउन त्यति सहज रहेनछ । म झोक्राउन थालेँ । स्नातक चौथौँ वर्षको परीक्षा पनि दिइनँ । म भत्किएँ । 

नेपाली समाजमा मानिसको सफलताको मापन गर्ने कसी भनेकै पैसा रहेछ । आर्थिक सम्पन्नताले नै मानिसको सामाजिक प्रतिष्ठा निर्धारण गर्दाेरहेछ । पैसा भन्ने चिज नभएपछि साहुहरु सिंह बन्दा रहेछन् । छिमेकी शत्रु बन्दा रहेछन् । आफन्त पराइ बन्दा रहेछन् । आफूचाहिँ मजाकको पात्र बनिँदो रहेछ ।

हावा हो मित्र पोल्दा जंगल अग्निको 
त्यही गर्छ दीपको नाश 
निर्धाको मित्र हुन्छ को ? 
- कवि शिरोमणि लेखनाथ पौड्याल

हावाले जंगलमा डढेलो दन्काउँछ । त्यही हावाले एउटा निर्धो बत्तीलाई निभाउँछ । निर्धाको मित्र को हुन्छ ? कोही पनि हुँदैन । सबैले उही बलेकै आगो ताप्ने हुन् ।

व्यापारमा ठक्कर खाएपछि अब मैले विदेश जाने सोच बनाएँ । हुन त मलाई पहिल्यै थाहा थियो – नेपाली समाजले देशमै केही गर्नेलाई भन्दा विदेश जानेलाई बढ्दा मान गर्छ भन्ने कुरा । तैपनि सकेसम्म आफ्नै देशमा केही गर्छु भन्ने चाहनाले विदेसिने इच्छा पहिले कहिल्यै पलाएको थिएन ।

गाउँघरमा विदेश जाने फेसन नै चलेको थियो । अझ राम्रो कमाइ हुने ठाउँ भनेपछि त उल्कै हुन्थ्यो । दक्षिण कोरियामा राम्रो कमाइ हुन्छ रे भन्ने हल्ला थियो । मैले पनि हल्लाकै भरमा दक्षिण कोरिया जान कोरियन भाषा पढ्ने निधो गरेँ । अपितु बाआमा भने मेरो यस निर्णयप्रति पटक्कै खुसी हुनुहुन्थेन । करिब तीन महिना कोरियन भाषा दत्तचित्त भएर पढेँ । यस्तो पढेँ कि , कोठाका समानदेखि जानेका शब्दसम्म मनमनै कोरियन भाषामै उल्था गर्न थालेँ । मानौँ यो नै मेरो सर्वथोक हो । ईपीएसले लिएको भाषा परीक्षामा पास पनि भएँ । जीवनमा दिएका अन्य परीक्षाका रिजल्टभन्दा यो रिजल्टले बेग्लै खुसी दियो । 

भाषा पास भएको करिब एक वर्षपछि मेरो श्रम सम्झौता आयो । खुसीले फुलेल भएँ । ईपीएस सम्बन्धी सम्पूर्ण कागजी प्रक्रिया र भैसीपाटीको सात दिने अभिमुखिकरण तालिम पूरा गरी केही वर्षका लागि घर छोड्ने तयारी पूरा भयो ।  
                                     

करिब ६ घण्टाको हवाइयात्रापछि बिहानपख दक्षिण कोरियाको इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण  हुँदा मेरा तनमनका पखेटा निकै फुकेका थिए । कोरियाको विकास देखेर म चकित परेथेँ । लाग्थ्यो , यो देशमा काम नै काम छ  । यो पैसै पैसाको सहर हो, यहाँ दुई हातले पैसा सोहोर्न सक्नुपर्छ  ।  

करिब तीन दिनको तालिमपछि कम्पनी पुग्दा मलाई सेप्टेम्बरको चिसो हावाको झोक्काले स्वागत गर्‍यो । पहिलोपल्ट फलामका चाङ देख्दा मेरा आँखा जोडले तिरमिराए । म कल्पनाकाशको दक्षिण कोरियाबाट यथार्थको वास्तविक धरातलमा पुग्दा निकै रन्थनिएँ । काम गर्ने मेसिन देख्दा म पिजडामा परेको पंन्छीझैं छटपटाएँ । 

फलामका चाङका बीचबाट इशाराका भरमा काम सुरु गरेँ । मलाई काम सिकाउने एकजना बैसठ्ठी वर्षे कोरियन बूढा थिए । उनी निकै मिहिनेती थिए । खालि काम मात्रै गरिरहन्थे । उनको अनुहारको बान्की नै त्यस्तै हो या खै किन हो उनी निकै रिसाएझैँ देखिन्थे । अपितु उनको बोली भने नम्र थियो । सुरुसुरुमा उनले मलाई उछिन्दै कोरियन अभिवादन गर्थे । म जिस्काएझैँ ठान्थेँ । पछि पो थाहा भयो , कोरियनले कामलाई पुज्दा रहेछन् । कोरियामा कामदारलाई सम्मान गर्ने संस्कार रहेछ । कोटीकोटी नमन छ उनीहरुको कामप्रतिको त्यो श्रद्धा र समर्पणको भावलाई । 

एकदिन रेस्ट टाइममा मैले ती सहकर्मी बूढासँग परिवारबारे जिज्ञासा राख्दा उनले मोबाइलमा रहेको फोटो देखाउँदै कोरियनमा भनेका थिए ,  ‘उनी मेरी श्रीमती हुन् । उनी फुड कम्पनीमा काम गर्छिन् । हप्तामा हाम्रो एकपटक भेट हुन्छ । अनि यी दायाँबायाँ उभिएका चाहिँ छोरा हुन् । उनीहरु झन्डै –झन्डै तिम्रै उमेरका भए होलान् । उतै राजधानी सउलतिरै बस्छन् । उतै काम गर्छन् ।’ उनले चुरोटको खिल्ली मतिर बढाए । मैले नकारात्मक भावमा टाउको हल्लाएँ । उनले चुरोट सल्काए ।

लामो सर्को ताने अनि बाहिर धूवाँको अमूर्त आकृति फ्याकेर बोले , ‘यहाँ कसैलाई कसैको मतलब हुँदैन । सन्तानले बाआमालाई हेर्दैनन् । उनीहरू उनीहरुकै लागि काम गर्छन् । हामी हाम्रै लागि हातखुट्टा चल्ने बेलासम्म काम गर्छौं । नत्र खान पाइँदैन नि,’ उनले मतिर पुलुक्क हेरे । मैले उनलाई हाम्रो चलन सुनाएँ । ‘हाम्रातिर त गजब छ । एकजना सदस्यको भरमा सिङ्गो परिवार बाँचेको हुन्छ । कामलाई भन्दा मानवीय संवेदनालाई बढी प्राथमिकता दिइन्छ । पचास नाघेपछि नेपालीहरु बूढो भइयो भन्न थाल्छन् । सरकार पनि अन्ठाउन्न मै अवकाश दिन्छ । बूढाबूढीले बोनसमा नातिनातिना पाउँछन् । नातिनातिना हुर्काउँदै दिन बिताउँछन्,’ मेरो कुरा सुनेर उनी छक्क परे । 

वास्तवमा दक्षिण कोरियाका मेरा हनिमुन दिनहरु निकै कष्टपूर्ण रहे भन्दा हुन्छ । बिरानो मुलुक , भिन्न परिवेश ,फरक रहनसहन र खानपिनमा एड्जस्ट हुन कठिन हुने नै भयो । त्यसमाथि दैनिक चौध / पन्ध्र घण्टा निरन्तर काम गर्दा थाकेर लखतरान हुन्थेँ । खाना खान गयो , टाढै गन्हाउने । जेनतेन गाँस हाल्यो , निल्नै गाह्रो हुन्थ्यो । नेपालमा बाआमालाई यो भएन ,त्यो भएन , यो खान्न , त्यो खान्छु भन्दै घुर्काउँदै , दंग्याउँदै खान पाइन्थ्यो । 

दुई/चार घण्टा काम गर्‍यो भने थाकेको अभिनय गरिन्थ्यो । जीवनमा कहिल्यै कल्पनासमेत नगरेको दुःख पाउँदा म झोक्राउन थालेँ । सबै मानिसहरू पराइ लाग्थे । घर–परिवार र साथीभाइ त हुँदै भए , गाउँघरको ढुङ्गा , मुढाको समेत याद आउँथ्यो । चारैतिर अन्धकार लाग्थ्यो । जीवनदेखि नै विरक्त लाग्न थालेको थियो । समाचार हेर्‍यो, हप्तैपिच्छे मानिस मरेको खबर । कोही आत्महत्या त कोही औद्योगिक दुर्घटनामा । विरक्तिले छोपेको बेला यस्ता समाचार पढ्दा मन अझ खुम्चिने रहेछ । नेपालमा हुँदा यसो सोच्थेँ – परदेशमा गएर किन आत्महत्या गर्छन् होला ? परदेश कहाँ स्वदेश जस्तो हुन्छ र, मन त बुझाउनै पर्छ नि भन्ने लाग्थ्यो । 

दक्षिण कोरिया आएको एक/दुई हप्तामै किन नेपाली श्रमिकले आत्महत्या गर्दा रहेछन् भन्ने गतिलो अनुभव भयो । मानिस निराशाको चरम विन्दुमा पुगेपछि आफूलाई व्यर्थ ठानेर बेहोसीमै ज्यान फालिदिने रहेछ । दक्षिण कोरियामा कामको चाप , ‘होमसिक’ र घरपरिवारले दिने तनाव नै आत्महत्याको मुख्य कारण रहेछ । 

जतिसुकै तनाव हुँदा पनि मैले कहिल्यै हार खाइनँ । बरु धेरै पीडा भएको दिन कहिले मन हलुङ्गो पार्न  कोठाको कुनामा मुख छोपेर रोएँ । कहिले मध्यरातमा एक्लै सडकका बत्तीसँग रमाएँ त कहिले मोबाइलमा बज्ने गीतहरुमा हराएँ । सम्झेँ, गाउँमा निकै सम्मान पाएका ती कोरियनबाट फर्किएकाहरुलाई । फेरि सम्झेँ, परदेशमै पसिना र रगत बगाएका ती लाखै लाख युवायुवतीलाई अनि चित्त बुझाएँ । आखिर बुझाउनुपर्ने त चित्त नै रहेछ ।

जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा परिस्थितिको विश्लेषण गरी आफूलाई त्यस अनुरुप ढाल्न सक्नु रहेछ । मैले आफूलाई समायोजित गर्न थालेँ । महिना बितेपछि प्राप्त गरेको तलबले पनि केही उर्जा दियो  होला ! अघि सय मिटर टाढै गन्हाउने खाना दिनदिनै खाँदा मीठो लाग्न थाल्यो । चौंध/ पन्ध्र घन्टा काम गरेर लखतरान हुने शरीर अब केही अभ्यस्त भयो । साँच्चै मानव शरीर त गजबको हुने रहेछ । मेसिन बरु खिया लागेर भाँचिएला । धेरै चलाए तातिएर पड्किएला । तर यो शरीर जस्तो गरायो त्यस्तै हुने । 

‘कता हरायौ दृश्य भाइ ?’ दाइले कोट्याएपछि म झस्किएँ । दाइको अनुहारमा हेर्दाहेर्दै म त आफ्नो विगतमा पो फर्किएछु । मोवाइलमा कसैकी पत्नी भइसकेकी मेरी भूतपूर्व प्रेमिकाको तस्बिर हेरेँ , नचाहँदा नचाहँदै । 
‘डन्ट फर्गेट मी है,’ उसले अन्तिम भेटमा भनेकी थिई । हे दैव ! ‘म छिटै फर्किन्छु’ मैले आश्वस्त पार्न खोजेको थिएँ । 

विज्ञानले जतिसुकै नवीन आविष्कार गरे पनि उसको याद मेटाउन सक्ने कुनै ओखती बनाउन सकेको छैन । पानी कहिले दर्किएला खै ?       
                   
चियर्स.चियर्स..चियर्स...

झम्म नसामाथि नसा लाग्यो । 

खै कहाँ छन् अरु सोजुका बोटल ? के मैले त्यति धेरै पिउन हुन्थ्यो ? साथीहरू राजनीतिक गफगाफमा व्यस्त थिए । नेपालीलाई जहाँ गए पनि राजनीति नै गर्नुपर्ने ।  कोही कोही त देशको अवस्थाप्रति चिन्तित देखिन्थे , मदिराको प्रतापमा । 

‘डन्ट वेरी केटा हो ’ बल्ल दाइ भकभकाउनु भो पुरै पारामा,‘यी बूढाखाडा नेताबाट हुँदैन । नेपाल फर्किने बित्तिकै अध्यक्ष कमरेडलाई भेट्छु । आउँदो चुनावमा टिकट पाए भने देन आइ वेल सो द फिउचर अफ आवर कन्ट्री ।’
पुनः हाँसोका फोहरा छुटे ।     

हाहा ...ही ही ...होहो...

समय आफ्नै गतिमा थियो । रातको अन्धकार गहिरिँदै थियो । सप्ताहन्त भएर होला , कसैलाई  समयको कुनै पर्वाह थिएन । पृष्ठभूमिमा उदितनारायणको स्वर ‘ आँखाभरि हिउँचुली छनछन बग्ने खोला , फेरियो कि मेरो गाउँ अझै उस्तै होला ?’ गुञ्जिरहेको थियो ।


Author

थप समाचार
x