सप्ताहन्त

विश्व षडयन्त्रको पर्दाफास : २

समस्याको जड् : मान्छेको खोक्रो आडम्बर !

लिलाराज खतिवडा |
असार २६, २०७८ शनिबार १९:५१ बजे

मान्छेका बानीब्यहोराहरूको अनुसन्धान गर्ने विशेषज्ञहरूको के मत छ भने अहंकार, क्रोध र वासनाले मान्छेलाई आँखामा पट्टा बाँधिएको घोडा बनाइदिएको छ । र, ऊ अनेक प्रतिस्पर्धाहरूमा लगातार जोतिएको छ । अनि मान्छे खुद मान्छे र मेसिनहरू जोतेर पृथ्वीमा फटाफट समय काटिरहेको छ । 

फरक - कहीँ ऊ जोत्छ भने कहीँ जोतिन्छ !


एउटा स्यानो उदाहरणले विषयवस्तुको केन्द्रमा झाँक्ने प्रयास गरौं । दम्भराम एउटा काल्पनिक नाम हो । उसले केही दिनअघि फेसबुकमा पाँच हजार डलरको सुट लगाएको फोटो हाल्यो । फोटोको ब्याकग्राउन्डमा उसको नयाँ कार पनि टिलिक्क टल्किएर पोज दिइरहेको थियो । 

दम्भराम यस्तै गर्छ । आफूले किनेका महंगा सामानहरूको फोटो, दाम र किनेको पसलको नामसमेत ऊ फेसबुक र इन्स्टाग्राममा बडा मजाले अप्लोड गर्नेगर्छ । उसका पोस्टहरूमा कमेन्ट, उपकमेन्टका खात लाग्छन् । जाडोमा सर्वसाधारणहरू दन्केको आगो जो ताप्न रुचाउँछन् ।

दम्भराम विगत दश वर्षदेखि लगातार अमेरिकामा छ । कथाअनुसार, ऊ डिभी परेर अमेरिका गएको हो । अमेरिका जानुअघि ऊ रक्सिले ध्वस्त थियो । बिहानैदेखि घुट्क्याएर ऊ मान्छेहरूका अगाडि ठूलाठूला डिङ् हाँक्न सिपालु ।

केही दिनअघि दम्भरामले काठमाडाँै आएका बेला मलाई फोन गरेर भेट्ने इच्छा जतायो । नभन्दै संयोगले चक्रपथमा दम्भरामसँग भेट पनि हुन पुग्यो ।

सुरुमै उसले आफ्नो पुरानै आदतमा धमास पोखिहाल्यो, ‘यो मेरो सुट हेर्दै हुनुहुन्छ नि, दाजु ? यो पाँच हजार डलरको हो । पाँच हजार अमेरिकी डलर तपाईंको देशको कति भयो ?’

तपाईंको देश ? मैले मनमनै उसको भनाइ दोहोर्याएँ । के यो उसको पनि देश होइन र ? आफ्नो नागरिकता त्यागेर विदेशी नागरिकता लिँदैमा यो उसको देश रहेन त ? उसले बोल्ने भाषा, अपनाउने संस्कार आदिको त कुरै भिन्नै ।

यस्तो लाग्छ कि मान्छेहरू धातुका आफूभन्दा गह्रौं गुडने वा उड्ने इन्जिनहरूमा सवार भएर मृत्युको पछिपछि दगुरिरहेका छन् । लाग्छ, उनीहरू मृत्युलाई भेट्न आतुर छन् । 

 

म तिलमिलाएँ । तर मैले आफ्नो अनुहारको भाव सकेसम्म स्थिर राख्ने प्रयास गरेँ । आज दम्भरामलाई एउटा स्यानो स्वाद चखाउने विचार आयो । आँणाटेढा भेजाहरू भुट्न यदाकदा मलाई मजा पनि आउने गर्छ । तर यो मेरो आदत भने बिल्कुलै होइन ।

सिगरेट किन्ने निहँुले मैले पसलमा दम्भरामले सुइँको नपाउने गरी एउटा सियो पनि किनिहालेँ । अनि उसको छेउमा पुगेर ढिला नगरी काँधमा त्यो सियोे ल्वाम्मै रोपेँ ।
‘ऐया नि !’ भनेर दम्भराम बुरुक्कै उफ्रियो । सियो अझै उसको काँधमा लगभग आधा रोपिएको अवस्थामा थियो । ऊ भर्याकभर्याक गर्न थालेपछि मैले एकै झट्कामा सियो झिकेँ । दम्भरामले एउटा चिसो सित्कार छाड्यो ।

पीडालाई दबाउन खोज्दै उसले मलाई रातो अनुहार गरेर सोध्यो, ‘किन घोप्नुभो मेरो काँधमा सियो, दाजु ?’

ऊ अलिक क्रोधित पनि नजर आइरहेको थियो ।

मैले फटाफट भने, ‘तिम्रो काँधमा होइन । सियो त मैंले तिम्रो सुटमा घोपेको थिएँ ।’

‘सुटमा ? किन नि ?’ उसले राता आँखा पारेर मलाई हेर्दै सोध्यो ।

‘पाँच लाख प्लस नेपाली रुपियाँको सुटको ताकत जाँचेको नि ! एउटा सियो त रोक्न सकेन, बुलेट हान्यो भने त झन् के होला ? केका लागि तिरेको यतिका पैसा, भाइ ? देखाउनका लागि ? रवाफका लागि ? सेल्फी खिचेर फेसबुकमा हाल्न ?’ मेरो जवाफले ऊ निघुरमुन्टी न हुनपुगेको थियो ।

दम्भराम त एउटा उदाहरण मात्रै थियो । कुराको चुरो, लुगा प्रथमतः शरीरको सुरक्षाका लागि हुनु पर्ने हो । दश करोडकै सुट लगाए पनि के गर्ने, यदि त्यो एउटा दश रुपिँयाको मामुली छुरीले छेडिन्छ भने ?

अलिकति गहिरिएर हेर्ने हो भने, यस्तो लाग्छ यो दुनियाँमा मान्छेहरू एकले अर्कालाई मूर्ख बनाएर सदियौंदेखि मजा लिइरहेका छन् । यहाँ पढेकाले नपढेकालाई मूर्ख बनाइरहेको छ । पैसा हुनेले कम पैसा हुनेलाई वा पैसा नहुनेलाई मूर्ख बनाइरहेको छ । मोटोले दुब्लोलाई, अग्लोले होचोलाई, सग्लोले निरिहलाई – यहाँ सक्नेले नसक्नेलाई हरतरफ लुटेको छ । बेवकुफ बनाएको छ । कजाएको छ । जोतेको छ । डसेको छ । सिकार बनाएको छ । यहाँ मान्छेले मान्छेलाई नै उसिनेर वा काँचै खाइभ्याएको छ ।

ज्ञानको खडेरी : महंगो जिन्दगी, सस्तो मृत्यु !

विश्वका सबैभन्दा धनी मान्छेहरूले दुनियाँलाई कसरी बेवकुफ बनाएका छन्, एकपटक त्यता बाजदृष्टि दिऊँ । सुट वा अन्य अचाक्ली महंगा वस्त्रपछि सवारी साधनको कुरा गरौं । ठूलाठूला मोटर कम्पनीहरू वर्षाैंदेखि सवारी साधन उत्पादन गरेर बेचिरहेका छन् । दुनियाँभरमा उनीहरूका शाखा, उपशाखा पनि छन् । दुनियाँका चप्पाचप्पामा छ्याप्छ्याप्ती सवारी साधनहरू गुडिरहेका छन् । सवाल ः तर के उनीहरू सुरक्षित छन् ? उनीहरूको छेउछाउकासमेत कति सुरक्षित छन् ?

सवारी साधनका कैयन अत्याधुनिक महंगा ब्रान्डहरूसँगै अहिलेसम्म उनीहरूले सवारी चलाउँदा लगाउने कुनै सुरक्षाकवच सर्वसुलभ गरेका छन् ? सिट बेल्ट बाँधेर मात्रै त केही पनि भएन । भयो त हजुर ?

लुगा प्रथमतः शरीरको सुरक्षाका लागि हुनु पर्ने हो । दश करोडकै सुट लगाए पनि के गर्ने, यदि त्यो एउटा दश रुपिँयाको मामुली छुरीले छेडिन्छ भने ?
 

मानौं, तपाईंसँग एउटा कार छ । दश लाखको होस् वा दश करोडको । त्यो कार विपरित दिशाबाट आइरहेको एउटा दमकलसँग ठोक्कियो भने तपाईंको बाँच्ने मौका कति प्रतिशत छ ? अंगभंग नहुने मौका कति प्रतिशत छ ? केको लागि महंगो पैसा तिर्नुभयो, महासय ? कारको ब्रान्डको लागि तिर्नु भयो ? कि उसको रङ्गरोगनको लागि तिर्नु भयो ? कि कार कम्पनीको मालिकलाई उसले संचार माध्यममा गर्ने विज्ञापनको ठूलो धनराशिमा सघाइरहनु भएको छ, तपाईं ?

हेर्दा सामान्य लाग्ने यो दृष्टान्त कति खतरनाक छ, पौने दुई सय किलोको मोटरसाइकल सत्तरी किलोको मान्छेले नब्बेको स्पिडमा राजमार्गमा हुत्याउँछ । त्यो पनि सुतिको लुगा लगाएर । मेरो सवाल ः ऊ कति सुरक्षित छ ? के उसले एउटा फ्याङ्लो हेल्मेटबाहेक तदनुरुप कुनै सुरक्षाकवच पहिरिनु आवश्यक ठानेको छ ? उता ‘एक मिस्टेकमा गेम फिनिस’ भएका कैयन् सवारी दुर्घटनाहरू हामीले स्वयं देखेका छौं वा तिनबारे अखवारमा मनग्य पढेका पनि छौं । अनि हरेक दिन पढिरहेकै पनि छौं । नजाने अरु कति भविष्यमा पढ्ने छौँ ।

एउटा भनाइ छ, हिँड्नेहरूको गन्तव्यमा पुग्ने सम्भावना तेज हुन्छ । दगुर्नेहरू चाहिँ प्रायः लड्ने गर्छन् । हुन त हिँड्नेहरू भन्दा दगुर्नेहरूमा नै लक्ष्यमा चाँडो पुग्न सक्ने सम्भावना प्रचुर हुन्छ । तर दगुर्नेहरूमा लड्न सक्ने जोखिम पनि अत्याधिक रहने गर्दछ । सडक दुर्घटनाको कुरा गर्नुपर्दा, हतारले निम्त्याएको मृत्यु हो, यो । अरुभन्दा छिटो बित्थाको वा आजको भाषामा महत्वपूर्ण लक्ष्यमा पुग्ने होडले निम्त्याएको मृत्यु हो, यो । अनावश्यक प्रतिस्पर्धाका कारण उब्जिएको मृत्यु हो, यो । याद रहोस्, गन्तव्यमा पुग्ने हतारोसँगै सबै किसिमका ड्राइभरहरूले तदनुरुप दुर्घटनामा न्यूनभन्दा न्यून क्षति हुने वा क्षति नै नहुने सुरक्षाकवच पनि पहिरिएको भए, कुरा बुद्धिमानी ठहथ्र्यो । कुरा धेरै हदसम्म प्रांगारिक नै ठहथ्र्यो ।

ठेट हिसाबले भन्दा मान्छेहरूले आफ्नै नाजुक शरीरमाथि गरेको घनघोर अन्याय हो, यो । स्यानो काँडाले कोतरेर घाउ हुन सक्ने ज्यानको सुरक्षाका लागि कपासको कपडा ? कि धातुका रेसाहरूले बुन्ने हो अब आफूले लगाउने कपडा ? अब सुट सिलाउँदा धातुको हल्का तर बुलेटप्रुफ बक्रम हाल्न लगाउने हो कि ? मान्छेले विलासिताका साधनहरूमा मात्रै त्यति बिघ्न खर्च गरेको छ । के ऊ ब्रान्डका पछि कुद्ने अरबौं भेडाहरूकै बथानको केवल एक सदस्य हो ? कि ऊ शरीरको सुरक्षा र सरसफाइको पनि बदलिँदो समय र कालअनुरुप उत्तिकै खयाल राख्न सक्षम छ ?

यो एउटा गह्रौं मोटरसाइकल नाजुक शरीरले विनाकुनै सुरक्षाकवच दौडाएको प्रसंग थियो । यहाँ अन्य गह्रौं सवारी साधन, मोटर, टिप्पर, हेलिकप्टर र हवाइजहाज आदिको त कुरै छुट्टै ।

अब अर्को कोणबाट हेरौं । मान्छेहरूले पाँच लाख रुपैयाँको मोटरबाइक वा पाँच करोड रुपैयाँ वा त्योभन्दा महंगो दाममा गाडी त किने । तर उनीहरूले मानिलिउँ पचास हजार रुपैयाँको कुनै सुरक्षाकवचबारे सोधीखोजी गरेनन् । गुड्ने कुनै यन्त्र दुर्घटना भएर मान्छेहरू सडकमा पछारिँदा अहिले जसरी च्यातिन्छन् वा कोतरिन्छन् वा टुक्राटुक्रा हुन्छन् त्यसलाई प्रतिरोध गर्ने कुनै सुरक्षाकवच पहिरिएर सवारी हाँक्ने हो भने धेरै मान्छेहरू अकालमा मर्नबाट वा अंगभंग हुनबाट जोगिन्छन् । दुर्घटना भइहाले पनि न्यूनभन्दा न्यून क्षति हुने वा क्षति नै नहुने सुरक्षाकवच बनाउनु आजको युगमा कुनै गाह्रो विषय पनि होइन । 

प्रविधिले पराकाष्ठा चुमिरहेको युग हो, यो । यहाँ आजकल के असम्भव ? तर थाहा छैन मान्छेहरू जीवनलाई लात हानेर किन यति शीघ्र रफ्तारमा मृत्युलाई पिछा गरिरहेका छन् ? तर मान्छेहरू महंगा वा सस्ता सुति वा अन्य च्यांग्ला र नाजुक वस्त्रभित्र घुसेर वा अर्धनग्न नै अनेकानेक ब्रान्डका महंगा वा सस्ता सवारी साधनहरूमा बडा अदवसाथ रफ्तार चुम्छन् । मृत्युको पर्वाहै नगरी सडकमा उनीहरू अन्धाधुन्ध बत्तिन्छन् । मान्छेले गुड्न वा उड्न पायो भने किन सम्भावित मृत्युलाई पनि बिर्सिदिन्छ वा अवहेलना गर्छ ? यो भने खोजकै विषय हुनसक्छ ।

यस्तो पनि लाग्छ कि मान्छेहरू धातुका आफूभन्दा गह्रौं गुडने वा उड्ने इन्जिनहरूमा सवार भएर मृत्युको पछिपछि दगुरिरहेका छन् । लाग्छ, उनीहरू मृत्युलाई भेट्न अति आतुर छन् । 
हुन त हाम्रा ग्रन्थमा भनिएकै पनि छ :

असतोमा सद्गमयः
तमसोमा ज्योतिर्गमयः
मृत्योर्मा अमृतंगमयः !

आखिर मृत्युमा अमृत हुने भएपछि मान्छेहरू कुनै न कुनै तरहले त्यो अज्ञात तत्वले तानिने नै भए । वा भनौं, अमृतले नै कुनै न कुनै बहाना दिएर मान्छेलाई आफूतिर तान्ने नै भयो । अकाट्य सत्य पनि त्यही मृत्यु वा अमृृत नै हो । सबै मान्छेहरूको समष्टिगत चेतनाको आवश्यक्ता पनि त्यही अज्ञात अमृत हो भने आखिर को पिउन चाहन्छ यहाँ हलाहल विष ?
क्रमशः

र, यो पनि

शून्य समय : मृत्युको कारखानामा बरालिँदा !

 


Author

थप समाचार
x