विचार

शून्य समय : मृत्युको कारखानामा बरालिँदा !

लिलाराज खतिवडा |
असार २४, २०७८ बिहीबार १७:१७ बजे

आज जताततै यस्ता अप्ठ्यारा र मुटु हल्लाउने प्रश्न उठिरहेका छन् : के पश्चिमा धनाढ्यहरूले दुनियाँलाई कैयन् तरहले मूर्ख बनाएर मार्नै खोजेका हुन् त ? के ‘मास किलिङ’ अर्थात् ‘समूह हत्या’का लागि विज्ञानलाई दुरुपयोग गरिएकै हो त ? अनुसन्धानलाई पोख्त तुल्याएर हिसाबकिताब गर्दा माथिका प्रश्नहरूको जवाफ ‘हो’ भनेर भन्न बाध्य भइन्छ ।

ताजा उदाहरण : ‘कोभिड १९’ महामारीले आज सारा विश्व आक्रान्त छ ।  मेडिकल साइन्स र पूरै जगत्लाई यसले ठूलो चुनौती दिइसकेको छ । कैयन् पटक अनेक महामारी दोहोरिँदा पनि मेडिकल साइन्स आफ्ना तामझामहरूका बाबजुद पटकपटक नराम्रोसँग हार खान बाध्य भएको छ । आमरूपमा हुने रुघामर्कीलाई प्रतिरोध गर्ने सामान्य सुरक्षा संयन्त्र पनि सर्वसुलभ नहुनुले मेडिकल साइन्सका अनेक ‘सोफिस्टिकेटेड’ र ‘फेन्सी रिसर्च’ तथा अथाह लगानीहरू आज बेकार साबित हुन पुगेका छन् । त्यसैले अब ‘हिप्पोक्र्याटिक ओथ’लगायत कैयौँ भौतिकवादी परिभाषाहरू नै परिवर्तन गर्नुपर्ने आवश्यकता देखिएको छ । नत्र सभ्यता जोगाउन मुश्किल !


केही भूमिका मन्थन गरौँ :  ‘हिप्पोक्र्याटिक ओथ’ ४६० बिसीदेखि अहिलेसम्म जारी छ । महामारीको इतिहास पनि निकै लामो । महामारीहरूले पटकपटक जनधनको भयंकर क्षति । यहाँनेर महसुस हुने जटिल विरोधाभास के हो भने, मेडिकल साइन्सले अहिलेसम्म के गर्यो ? कति पैसा सक्यो ? कति धेरै रिसर्चहरू गरिए ? कति धेरै मेडिकल कलेज, अस्पताल र तदनुरूप दोकानहरू खुले ? कति धेरै विद्यार्थीहरू काँधमा स्टेथेस्कोप भिरेर ‘सेता अप्रोन’भित्र सजिए ? अनि मेडिकल साइन्सले जीवनदानको नाउँमा कति धेरै ज्यानहरू अनाहकमा लियो ? अनि कति धेरैलाई उसले उपचारको नाउँमा लुटपाट गरेर सडकछाप र दिवालिया तुल्यायो ? अनि कति अस्तित्वहरू यसैको आडभरोसामा ग्राउन्डेड वा लिक्विडेट भए ? खोइ यथार्थ हिसाबकिताब ?

ठूलासाना अनेक अत्याधुनिक मेडिकल उपकरणहरू बने पनि उनीहरूले अहिलेसम्म धेरै मामिलामा केवल धामीझाँक्री साबित भए । वा त्यो पनि हुन सकेनन् । उनीहरूका धेरैजसो उपचार पद्धतिहरू आफैँमा विवादित छन् । उनीहरूका इन्साइक्लोपेडियामा रोगको चर्चा र परिभाषा बढी, अनि स्वस्थताको कम । झूठो आडम्बर र दम्भ बढी, इमानजमानको खडेरी । 

एकातिर महामारी बारबार दोहोरिएको इतिहास छ । अर्कातिर  दोहोरिन सक्छ भनेर उनीहरूले किन आफूलाई तदनुरूप तयार र चुस्त राखेनन् ? उनीहरू अरु केमा अल्झिए ? उनीहरूले कहाँ बाटो बिराए ? निश्चय नै उनीहरू बालुवाको महल तयार गरिरहेका थिए वा छन् । तथापि दोष ‘मेडिकल डाइमेन्सन’लाई मात्रै नथोपरेर सारा विज्ञानलाई दुरुपयोग गर्ने पुँजीपति र शक्तिशाली मुलुकका ‘म्यागालोमेनिक’ शासकहरूमाथि पनि थोपरिन्छ ।
विज्ञानलाई दुरुपयोग गरेर दुनियाँलाई मूर्ख बनाइएका अरु पनि कैयन् उदाहरण छन् । खासमा यो लेखको चूरो नै यसै विकराल विषयमा केन्द्रित छ ।

प्रस्थान बिन्दु : केको हतार हो ?
 एक वर्षमा विश्वभर तेह्र लाख मानिसहरू सडक दुर्घटनामा मर्ने गर्दछन् । यस हिसाबले दैनिक ३ हजार २ सय ८७ मानिसहरूले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् । लगभग प्रत्येक २५ सेकेन्डमा एक जना मानिस सडक दुर्घटनामा मर्ने गर्दछ ।

आज म सकुशल यो लेख लेखिरहेको छु । यस कुराले उदेक पनि लागिरहेको छ । अनि परमात्माप्रति म कृतज्ञ भइदिन्छु । मेरो जिन्दगीमा एउटा अर्को दिन थपिदिएकोमा । उसले मलाई हिजो यतिका धेरै मान्छेहरूमध्येमा पारेन जो सडक दुर्घटनामा मरे वा मारिए । अहिले मैले यति शब्द लेखिसक्दा नै तथ्यांकअनुसार, निकै मान्छे मरिसकेका छन् । याद राख्नुहोस्, प्रत्येक २५ सेकेन्डमा एक जना ! र, यो संख्या हरपल बढिरहेको हुन्छ । कुनै पनि महामारी वा प्राकृतिक प्रकोपमा त लाखौँकरोडौँ जिन्दगीहरू हताहत हुनु सामान्य जस्तो लागिदिन्छ ।

अनि यहाँ ‘बाँचेको छु’ र ‘ज्यूँदो छु’ भन्न पाउनु मात्रै पनि प्रायः आश्चर्य र भाग्यको कुरा भइदिन्छ । उता विश्वभरमा सडक दुर्घटनामा मर्नेहरूमध्ये आधाको कारण मोटरसाइकल दुर्घटना हो । मोटरसाइकलहरू जति नै महँगा भए पनि अक्सर सुरक्षित मानिँदैनन् ।

सडक दुर्घटनामा ज्यान गुमाउनेहरूमा एक तिहाइ पैदल यात्रु र साइकलयात्रु रहने गरेका छन् । अरु बाँकी चाहिँ लापरबाह वा गम्भीर पाराले सवारी चलाउने ड्राइभर र तिनीहरूका सवारीमा सवार यात्रुहरू नै हुन् । अर्को विकराल तथ्य, दुई करोडदेखि पाँच करोड मानिस वर्षेनि सडक दुर्घटनामा घाइते वा अंगभंग हुने गर्दछन् ।

सबै खाले सडक दुर्घटनामा मर्नेहरूमध्ये आधाको औसत उमेर १५ देखि ४४ वर्षको हुन्छ । यी लगभग तीस वर्ष मान्छेको जीवनका सबैभन्दा ऊर्जामय, उत्सवमय र उन्नत काल हुन् । अन्य किसिमका मृत्युहरूमध्ये सडक दुर्घटना मानव मृत्युको नवौँ प्रमुख कारण हो ।

अर्को डरलाग्दो तथ्यांक के छ भने प्रत्येक वर्ष २५ वर्षमुनिका चार लाख युवाहरू सडक दुर्घटनामा मारिन्छन् । यस हिसाबले प्रति दिन औसत एक हजार होनहार कर्णधारहरूको त्यसरी मृत्यु हुने गर्दछ । यसमा अधिकांश विद्यार्थी नै हुने गर्दछन् । विश्वका सारा सडक दुर्घटनाहरूमध्ये नब्बे प्रतिशत कम र मध्य आय भएका मुलुकहरूमा हुने गर्दछन् । विश्वका सारा सवारी साधनहरूमध्ये आधा त त्यस्ता मुलुकमा मात्रै छन् ।

यो आम मान्छेहरूलाई मृत्युको कारखानामा फटाफट मारेर छिटोछिटो रंगमञ्च खाली गर्ने पुँजीपतिहरूको खतरनाक षड्यन्त्र हो ।

अध्ययनमा देखिएअनुसार, विश्वभरका सडक दुर्घटनाहरूले वर्षेनि ५ सय १८ बिलियनभन्दा बढी डलर खर्च गराउँछन् । यस हिसाबले प्रत्येक मुलुकमा त्यहाँको प्रतिव्यक्ति आयको औसत एकदेखि दुई प्रतिशत खर्च सडक दुर्घटनाहरूले लगिरहेका हुन्छन् । यस्तै ताल हो भने, सन् २०३० सम्ममा सडक दुर्घटना मानव मृत्युको पाँचौँ प्रमुख कारण हुनेछ ।

‘एसोसिएसन फर सेफ इन्टरनेसनल रोड ट्राभल’ र विश्व स्वास्थ्य संगठनका वेबसाइटहरूबाट उपर्युक्त तथ्यांकहरू निकाल्दै गर्दा आफ्नो आङ सिरिंग हुन पुग्यो । हुन त म एक ड्राइभर होइन । तर म एउटा प्यासेन्जर जरुर हुँ । त्यहीँमाथि म फकिरझैँ आफ्नै वरिपरि फन्का लगाइरहने मान्छे । सडक दुर्घटनाको भयानक तथ्य स्क्यान गर्दैगर्दा रौँहरू ठाडा नहुने कुरै भएन । जहाँ ‘एक मिस्टेकमा गेम फिनिस’ हुनसक्छ त्यहाँ नाभि चिसो हुनु स्वाभाविक ! यसप्रकार कैयन् यात्राहरूमा जिन्दगी बालबाल बचेको हुन्थ्यो । रहस्यमय जिन्दगी यो, रामभरोसेमा चलिरहेकै छ ।

तथ्यांक बताउँछ कि सवारी दुर्घटनाका पाँच प्रमुख जोखिम तीव्र गति, मापसे, बिनाहेल्मेट सवारी चलाउनु, सिट बेल्ट नबाँध्नु र बच्चाहरूको लापर्वाही वा भवितव्य प्रमुख हुन् । यहाँ सवारी चलाउँदा लगाउने सुरक्षा संयन्त्रको नाउँमा हेल्मेट र सिटबेल्ट मात्रै देखिन्छ । कुनै पनि विकसित वा कम विकसित मुलुकले सवारी चलाउँदा वा सवारीमा यात्रा गर्दा पूरै शरीर ढाक्ने चुस्त स्फूर्त सुरक्षाकवचको जरुरत औँल्याएको कतै पाइएन । न त सवारी खरिद गर्नेहरू स्वयंले आफ्नो या अरुका लागि दुर्घटना क्षति न्यूनीकरण गर्ने कुनै पनि किसिमको सुरक्षाकवचको व्यवस्था गरेको पाइयो ।

आपसमा टकराउँदा आगो निस्किने फलाम वा सो सरहका धातुबाट निर्मित महँगा, चित्ताकर्षक र गह्रौँ सवारी साधनहरूको दुनियाँभरमा भइरहेको अचाक्ली वृद्धि भयानक छ । यो आम मान्छेहरूलाई मृत्युको कारखानामा फटाफट मारेर छिटोछिटो रंगमञ्च खाली गर्ने पुँजीपतिहरूको खतरनाक षड्यन्त्र हो ।

उनीहरू विज्ञानको चरम दुरुपयोग गरेर दुनियाँका अधिसंख्यक मान्छेलाई यसरी नै एक आपसमा टकराएर फटाफट मर्न बाध्य तुल्याउँछन् । फलस्वरूप, उनीहरूलाई शासन चलाउन सहज होस् । अर्थात्, ठाडै भन्नुपर्दा मान्छेहरूलाई अनेक तरहले नियन्त्रण गरेर दुनियाँ कब्जा गरी एकमना सरकार बनाउने उनीहरूको लक्ष्य हो । जो बारबार असफल भइसकेको छ ।

तथ्यांकले थप बताउँछ कि मेसिनहरूको आविष्कार र त्यसको प्रविधिमा भएको अचाक्ली विकासको दुरुपयोगले आज सडक दुर्घटनाभन्दा बढी अन्य आठ तरिकाले मान्छेहरूको मृत्यु भइरहेको छ । रोग प्रकृतिमा होइन, मान्छेको रुग्ण टाउकोमा छ । दुनियाँका सारा रोग मान्छेको लापरबाही र उसले गरेको फोहोरका कारण नै उब्जिएका हुन् ।

यहाँ आम मान्छेहरूलाई मार्न एन्टिबायोटिकहरू बनेका हुन् । युरिया र अन्य रासायनिक मल, पेस्टिसाइड, टेक्स्टाइल आदि इत्यादि सबै विषादी नै हुन् । पुँजीपतिहरू अनेक ट्याक्टिस लगाएर सर्वसाधारणहरूलाई मृत्युको वृत्ताकार कारखानामा जोतिरहेका छन् । वा जोतिन बाध्य तुल्याइरहेका छन् । फलस्वरूप, हुलका हुल मानिसहरू तत्काल वा घिसारिएको मृत्यु भोग्न बाध्य छन् ।

यो लेख सुती वा अन्य कुनै पनि लुगा लगाएर पैदल यात्रुलाई सडकमा तर्साउँदै, घिसार्दै र मार्दै सवारी हुइँक्याउने विश्वभरका तमाम ‘ड्राइभर’हरूको हितमा लेखिएको हो । जो हरेक दिन राजमार्गहरूमा मृत्युसँग पौँठेजोरी खेलिरहेका हुन्छन् । त्यस्ता मृत्युखेलमा ती ड्राइभरहरू जो सुकै भए पनि र उनीहरूले चढ्ने सवारी साधन जति नै महँगो भए पनि कुनै न कुनै तरिकाले उनीहरू माथि उल्लेख गरिएका तथ्यांकहरूको धेरै नजिक लाग्छन् । त्यस्ता भयानक रफ्तारहरूमा उनीहरू बालबाल बचेर साँझ घर पुगिरहेका हुन्छन् । वा रक्ताम्य भएर अस्पताल पुगिरहेका हुन्छन् । वा टुक्राटुक्रा भएर सकिएका पनि हुन सक्छन् । अंगभंग भएका पनि हुन सक्छन् । जसरी पनि उनीहरू अकालमै सकिन सक्छन् । 

मान्छेका बानी–व्यहोराहरूको अनुसन्धान गर्ने विशेषज्ञहरूको के मत छ भने अहंकार, क्रोध र वासनाले मान्छेलाई आँखामा पट्टा बाँधिएको घोडा बनाइदिएको छ । र ऊ अनेक प्रतिस्पर्धाहरूमा लगातार जोतिएको छ । अनि मान्छे खूद मान्छे र मेसिनहरू जोतेर पृथ्वीमा फटाफट समय काटिरहेको छ । फरक - कहीँ ऊ जोत्छ भने कहीँ जोतिन्छ !
(क्रमशः)


 


Author

थप समाचार
x