सप्ताहन्त

रमिते : अस्तित्व निर्माण/विनिर्माणको कोलाज

विज्ञान राज |
साउन २३, २०७८ ६:५६ बजे

त्यो दिन अप्रत्याशित रूपले गोजीमा पैसा जम्मा भएको थियो । खासमा म त्यो दिन कालिका मन्दिर, आफ्नो ठूलीममीको घर गएको थिएँ । काँचो आँप ल्याउन । अचार खान । खाना खाईवरी म हिँड्न तम्सेँ तर मलाई जान दिएनन् ।

‘करिब एक वर्षपछि आको छस् । एकछिन् पनि नबसी गैहाल्छस्,’ भनेर निकै कर गर्न थाले । बस्न मन नभएको होइन । थियो । तर ती दिनहरूमा मलाई अरुसँग लामो समय कटाउन गाह्रो पर्न थालेको थियो । मन क्षतविक्षत हँुदा को नै पो अरुसँग लामो समयसम्म बस्न सक्छ होला र ! खोज्छ होला र ! र सोच्छ होला र !


थप बसे म उकुसमुकुस भएर जस्तो अवस्थामा पनि पुग्‍न सक्थेँ । तुरुन्त भनिहालेँ, ‘हेर्नु त कपाल बढेर कति लामो भएको छ । कपाल आज जसरी पनि काटेर आएस् भनेर भनेका छन् । फेरि हजुरहरूलाई थाहै छ, यो लकडाउनमा सुर्खेत बजार एक बजेदेखि बन्द हुने तालिका छ । अनि अरु काम पनि छ कलेजको । परीक्षा आउँदै छ । नोटहरू प्रिन्ट नि गर्नु छ ।’ यति भनेर के चुपचाप लागेको थिएँ । आकाशबाट पानीका छिटा पर्न थाले जस्तो भयो । मेरो मन आत्तियो । जो बस्न भनिरहेका थिए, उनीहरूको मन फुरुङ्गियो । संसारको प्रक्रिया नै यही त रहेछ, कसैको मन आत्तिँदा कसैको मन फुरुङ्गिने । मन फुरुङ्गिएकाहरूले फुरुङ्गिँदै थपिहाले, ‘ ल अब ठूलो पानी पर्छ । पानीमा भिजेर कसरी जान्छस् ? बस । रोकिएपछि जालास् ।’ 

मलाई हर हालमा त्याँबाट फुत्किनु थियो । ‘नाइँ नाइँ म गइहाल्छु । पानी परुन्जेल म सैलुनमा छिरिहाल्छु । कपाल त नकाटी नहुने भाछ ।’उनीहरूले हो कि क्या हो जस्तो आवरण बनाए । ठूला बा छाता खोज्न थाले । मैले पर्दैन म गइहाल्छु भने । ठूली ममीलाई ढोग्‍न गइरहेको थिएँ, ‘ल रिचार्ज हालेस्’ भनेर सय रुपैया दिनुभयो ।

आनाकानी गर्दै समातेँ । ठूलाबालाई ढोग्‍न गइरहेको थिएँ, ‘कपाल काट्ने पैसा छैन भने’ भनेर दुई सय पचास रुपैयाँ दिनुभयो । म अक्क न बक्क भएँ । नसमाऊँ सोच्दै थिएँ समातिहालेँ । भाउजू कतै जानुभएको थियो । देखिनँ । म हिँडेँ । पानीले ठूलाठूला छिटा हानिरहेको थियो । म पनि फटाफट फाटक हालेर लम्किन थालेँ ।

केही तल पुगेपछि पानी पूर्ण रूपले बन्द भयो । गोजी छामेँ । पैसाले टम्म भएको थियो । निकालेँ । गनेँ । पाँच सय पुग्यो । मन ढक्क भयो । (तर त्यो कसको मन होला यतिखेरै ओइलिएको ?)
अब के गर्ने दोधारमा भएँ । 

कपाल काटूँ ? किताब किनूँ ? कपाल काटूँ ? किताब किनूँ ? कपाल काटूँ ? किताब किनूँ ? कपाल काटूँ ? किताब किनूँ ?

अन्ततः कपाल काट्ने निधोमा पुगेँ । राजाचोक कटेर एरिचोकतिर लागेँ । एरिचोक पुग्‍नै आटेको थिएँ । लाग्यो, कपाल त म जहिले पनि काट्न सक्छु अथवा नकाट्दैमा खासै हानि केही गर्दैन अथवा नकाटे त्यै गाली त खाने हो खाइदिन्छु तर किताब सितिमिती किन्‍ने अवसर पाइन्‍न । पैसा यसरी जम्मा हुँदैन । कुन स्थितिबाट गुज्रेर एउटा किताब किन्‍नुपरेको हुन्छ, त्यो किताब किन्‍नेहरूलाई थाहा छ । फनक्कै फर्कें । राजाचोक आएँ । अलि तलतिर रहेको हाम्रो पुस्तक पसलको गोदाममा सिधै छिरे । 

किताब छान्‍न थालेँ । किताब छान्‍नु कस्तो मानसिक स्थितिको सामना गर्नु हो, यो मनोविज्ञान किताब छान्‍नेहरूलाई थाहा छ । छान्दै थिएँ । मेरा आँखा एउटा किताबको आवरणमा पर्‍यो । कस्तो चहक लाग्यो । समाएँ । सुमसुमाएँ । हार्ड कभर थियो । कभरमा प्रोट्रेट पेन्टिङ थियो ।

पेन्टिङ हेर्दै र देख्दै लागेको थियो यो पक्कै आर्टिस्टको किताब हो । त्यसलाई अघि रहेकै स्थानमा राखेर म अरु किताब छान्‍न थालेँ । धुइँपताल ओल्टाईपोल्टाई गरिरहेको थिएँ । यो छानूँ कि त्यो छोडूँ, भइरहेको थियो । कहिलेकाहीँ आफ्नो किताब छनाई हाँसोलाग्दो लाग्छ ।

एउटा किताब छान्‍नका लागि म किताब बिचराहरूको बस्ती नै उलटपुलट बनाइदिइराखेको हुन्छु । कहिलेकाहीँ आफ्नो किताब छनाइ दार्शनिक लाग्छ । एउटा किताब छान्‍नका लागि म किताब बिचराहरूको बस्ती नै उलटपुलट बनाइदिइराखेको हुन्छु । छान्दैछान्दै म फेरि त्यै आएँ । किताब उठाएँ । निकै प्रेमले सुमसुमाएँ । 

लेखकको नाम : जेसन कुँवर
किताबको नाम : रमिते

अहँ, मैले यो किताब समाएर हिँडिन । त्यै स्थानमा राखिदिएँ । कायाकल्प उठाएँ । पैसा तिरेँ । हिडेँ । किताबको फोटो खिचेको थिएँ । एक दुई जनालाई देखाएँ पनि । तर केही समयपछि मैले मोबाइल सदाका लागी त्याग्‍ने निधो गरँे । मोबाइल बहिनीलाई दिएँ । बहिनीले उक्त फोटो डिलेट गरिछ । त्यसको ठाउँमा आफ्ना फोटो राखिछ ।

जसरी अप्रत्यासित रूपले मेरो गोजीमा पैसा आइपुगेको थियो । त्यसको करिब दुई महिनापछि रमिते मेरो हातमा अप्रत्याशित रूपले पर्‍यो । खासमा कुरो के भन्देखिन, मोबाइल छोडेको एक हप्ताभन्दा बेसी भएको थियो । अनुभव भाइले मेल गरेर भेट्न बोलाए । हाम्रो पुस्तक पसलअघि भेट्ने कुरो भो । भेट पनि भो । सायद हामी कल्पग्रन्थ आयो कि आएन भनेर कुरियर कम्पनीमा बुझ्न गइरहेका थियौँ । कल्पग्रन्थ उनले प्री–अर्डर गरेका थिए । आउनुपर्ने मितिभन्दा ढिलो आएर उनी छटपटाइरहेका थिए । 

हामी कुरियर कम्पनी जाँदै थियौँ । उनले आफूलाई रोकेर भने, ‘म तपाईंलाई जियरा किनिदिन्छु ।’ अहो म त प्रफुल्ल भैगएँ । कसैले किताब किनिदिन्छु भन्दा को बहुला खुसी नहोला । अझ जियरा, त्यो किताब जसको प्रतीक्षा म हदभन्दा ज्यादा गरिरहेको थिएँ । अफसोस जियरा कतै भेटिएन ।

सायद जियरा प्रकाशित भएर बजारमा आएको एक हप्ता मात्र भएको थियो । उता काठमाडौँ खाल्डोभित्रका कुनाकुना पुगेको छ कि छैन ? सुर्खेतमा के आइपुग्थ्यो ? केही निराश पक्कै भएँ । ‘तपाईंलाई मन पर्ने अरु कुनै किताब छाने पनि हुन्छ’ भनेपछि मेरो आभा फेरि बौरिएर आयो । हामी पुग्यौँ हाम्रो पुस्तक पसलको गोदाम घरभित्र । फेरि सुरु भो छान्‍ने प्रक्रिया । 

मैले जहाँ छाडेर हिँडेको थिएँ, त्यो किताब त्यही स्थानमा अवस्थित थियो । मैले बारबार सुमसुमाएको देखेर, यसअघि चियागफमा धेरै पटक यसको चर्चा गरेको थाहा पाएर, स्वयं अनुभव भाइलाई यसको प्रोट्रेट पेन्टिङ र कालो रङले लतपतिएको कभर मन परेर त्यही किताब किनिदिने बताए । मैले हुन्छ भनेँ । 

होस त तब उड्यो हाम्रो, जब काउन्टरमा यसको मूल्य सोध्यौँ । रु. ८०० । दुवै जनाले एकआपसलाई हेराहेर ग¥यौँ । यो हामीलाई राम्रैसित थाहा थियो कि सुर्खेतमा एक प्रतिशत पनि छुट मिल्दैन । यसको मर्का हामीले केही वर्षदेखि खेप्दै आएका छौँ । तर केही बिन्ती बिसाएपछि हामीले केही छुट पायौँ । छुट एउटा सम्झनायोग्य कुरा भयो हाम्रा लागि । जो रमितेले गराइदिएको थियो । यसरी रमिते मेरो हातमा अप्रत्यासित रूपले आइपुग्यो ।

तर मैले रमिते पढिहाल्न चैँ सकिनँ । किनभने मेरो छैटाँै सेमेस्टारको अन्तिम परीक्षा चल्नेवाला थियो । परीक्षा तयारी गरिरहेको अवधिमा म रमितेलाई नियालिरहेको हुन्थेँ । सुमसुमाउँथे । ओल्टाईपोल्टाई गर्थें । बेलाबेला लाग्थ्यो, कतै भाइले पैसा त खेर फालेन । सोचे जस्तो रहनेछ भने त बिनासित्ती पैसा र समय खर्च भइहाल्ने भयो भनेर म चिन्तित हुने गर्थें । 

संयोग कस्तो भइदियो भने अनलाइन परीक्षा हुनुपर्छ भनेर आन्दोलन चक्र्यो । परीक्षा एक हप्तापछि सर्यो भनेर सूचना आयो तर खासमा त्यो अनिश्चित रूपले सरेको हो । अनि परीक्षा सरेको एक दुई दिनपछि मदन पुरस्कारले छनोटमा परेका कृतिहरूको लिस्ट प्रकाशित गर्‍यो । लिस्टमा रमिते देखिहालेँ । अनि त्यसै साँझ परीक्षा हुने-नहुने सँघारमै पढ्न बसे । चार दिनमा सकेँ । प्रिय पाठक, हेर्नु न यो लेख लेखिरहँदा पनि परीक्षा हुने कुनै टुङ्गो भएको छैन । तपाईंले पढ्न पाउँदासम्म के हुन्छ ? जुग जानोस् ।

रमिते पढिसकेपछि
मूलतः यो अस्तित्वको कथा हो ।

एउटा गाउँले अन्‍न दिएर छ भन्दा बढी गाउँको अस्तित्व बचाएको छ । तर तीमध्येका केही गाउँ सन्तुष्ट छैनन् । तिनलाई अरु गाउँ भन्दा बेसी अन्‍न चाहिएको छ । अन्‍न बढी चाहिनुको अर्थ अरु भन्दा बेसी अस्तित्व चाहनु नै हो । त्यो गाउँ, जसको नाम उगा हो, जसले छ भन्दा बढी गाउँलाई आफू खाई नखाई अस्तित्वमा राखेको छ, त्यो गाउँको नै अस्तित्व मेटाउन तमतयार छन् । यो कहालीलाग्दो सुनिन्छ तर यो भन्दा कयौँ कहालिलाग्दा अस्तित्व नामेट पार्ने भँगालाहरू यस किताबभित्र छन् । 

जस्तै उगाले प्रत्येक दश वर्षमा आफ्ना मान्ठहरूलाई दश पर्म पठाउने गरेको हुन्छ । दश पर्म भन्‍नाले उगाभन्दा टाढाका विभिन्‍न गाउँहरूको अवलोकन गरेर त्यहाँको स्थिति कस्तो छ, बुझेर आउने हो । यस्तै खिले र खिलेका साथीहरू दशपर्म गएका हुन्छन् ।

उनीहरू एउटा भयानक दलदलमा पर्छन् । त्यो दलदलको आफ्नै कथा छ । उनीहरू त्यो दलदलबाट निक्लिएपछि एउटा साथी सिकिस्तै हुन्छ । त्यस साथीलाई अगाडि लिन नसकेपछि त्यही छोडेर उनीहरू अघि बढ्छन् । उनीहरूको साथमा नक्सा हुन्छ । उनीहरूले नक्साअनुसार हिँडेनन् वा नक्सामा ठाउँ छुटेको छ । उनीहरूले घना जंगलको बिचमै बाटो बिराउँछन् । अर्को साथी एकसुरे भएको हुन्छ ।

जो पारि डाँडातिर जाऊँ भनिरहेको हुन्छ जहाँबाट दमाहको आवाज आइरहेको हुन्छ । फेरि त्यो त्यै डाँडा हुन्छ, जहाँ राती खिलेले कोही राको लिएर हिँडेको देखेको थियो । एक बाटो बिराएका हुन्छन्, दुई साथीहरूको हालत त्यस्तो छ, तीन घना जंगल छ, चार उनीहरूको ह्याउ नै खसिसकेको छ । उनीहरूलाई के आश पनि लाग्छ भने दमाहको आवाज आइरहेको छ भने पक्कै त्यहाँ नजिकै मानव बस्ती हुन सक्छ । यस्तो अवस्थामा त्यै डाँडातिर जाने निधो गर्छन् । 

कठै ! उनीहरूलाई के थाहा त्यो राँको कुनै सिङ्गो मानव बस्तीको अस्तित्व जलाउन हिँडेको थियो भनेर । उनीहरूलाई के थाहा, त्यो दमाह कुनै सिंगो गाउँको अस्तित्व नै नामेट हुने गरी जलिरहेको उद्घोष गर्नका खातिर जोडजोडले बजिरहेको थियो भनेर । 

उनीहरू हसिनपसिन हुँदै एउटा गुफामा पुग्छन् । त्यो गुफाको नाम सर्प गुफा हुन्छ । सर्प गुफाको पनि आफ्नै कथा छ । त्यहाँ उनीहरूले दुईटा लास देख्छन् । उनीहरू आमा छोरी हुन्छन् । तर छोरी अझै मरी नसकेको थाहा पाएपछि यत्तिकै छोडेर उनीहरू जान सक्दैनन् । र उनीहरू कयौँ दिन उसलाई बचाउन अहोरात्र खटिन्छन् । त्यो बच्चीको होस आउँछ । त्यसपछि उसले जुन कुरा भन्छे उनीहरू छाँगाबाट खसेझैँ हुन्छन् । एउटा गाउँले अर्को गाउँको अस्तित्व कसरी मेटाउन सक्छ ? कुन कारणले ? कुन मानवीयताले ? पढिसकेपछि यो आफँै थाहा पाइहाल्नु हुन्छ । 

सबैभन्दा डरलाग्दो अवस्था त त्यहाँका महिलाहरूको छ । आफ्ना मान्ठहरू ज्यादती सहन नसकेर भागेपछि ती महिलाहरू, बच्चीहरू, बूढीहरूले कस्तो सास्ती पाउँछन् ? कस्तो शारीरिक, मानसिक र यौनिक तनाव, दुःख, पीडा, चोटको सामना गर्छन् ? पढिरहँदा के लाग्छ भने त्यस्तो बीभत्स सास्ती, चोट, पीडा र दुःख एक्काइसौँ शताब्दीका हामी मनुवाहरूले झेल्नै सक्दैनौँ । सोच्नै सक्दैनौँ । बाँच्‍नै सक्दैनौँ । 

एउटा बडो घतलाग्दो दृश्य छ । एउटी महिला शारीरिक रूपमा कमजोर भएको देबे नाम गरेको पुरुषसँग बस्दै आएकी हुन्छे । उनीहरू जसोतसो गुजारा गरिरहेका हुन्छन् । एकदिन उनीहरू घरभित्रै हुन्छन् । देबे बिरामी भएको हुन्छ । महिला अँगेनामा आगो बालेर तातो बनाउन खोजिरहेकी हुन्छे ।

यत्तिकैमा केही मानिसहरू ढोका फोडेरभित्र पस्छन् । कत्ति पनि ढिलो नगरी देबेको निधार बन्चरोले चिरेर दुई फ्याक बनाइदिन्छन् । अनि महिलालाई डोरीले बाँधिदिन्छन् । फेरि देबेको कुममा हानेर दुवै हात छिनालिदिन्छन् । अनि अघि उसले बालेको आगोमा देबेका हातहरू पोल्छन् । खान्छन् । अरु मानिसहरू पनि घरभित्र छिर्छन् । बचेका अरु भागहरू खोसाखोस, तानतान गर्छन् । ती भागहरू आगोमा पोल्छन् । कपाकप खान थाल्छन् । महिलाले यो दृश्य टुलुटुलु मात्र हेरिरहन सक्छे । के यो दृश्य तपाईं सोच्न सक्नुहुन्छ ?

कुन हदसम्मको भोकमरी फैलिरहेको रहेछ, त्यो समयमा हामी सजिलै अनुमान लगाउन सक्छौँ । मैले भनिहालेँ नि, यो अस्तित्वको कथा हो । आफ्नो अस्तित्व बचाउन र बचाइराख्‍न के के गर्छन् । यसको शृखलाबद्ध सिलसिला छ । यो पहिलो सिलसिला हो । यसैगरी तीनवटा सिलसिला आउनेछन् ।

किताबभित्र प्रशस्त मात्रामा गीतहरू प्रयोग गरिएका छन् । जो गीतहरू त्यहाँकै बस्तीका हुन् । जसले एकअर्काका संवेदनाहरू प्रकट गर्ने गर्छन् । गीतहरूले संवाद र सिङ्गो किताबलाई नै जीवन्त बनाइदिएको आभास मलाई भएको छ । 

किताबभित्र विचित्रका चित्रहरू, अक्षरहरू प्रयोग गरिएका छन् । जसले हाम्रो इतिहासलाई जगमगाउने गर्दछ । 

एउटा कथा छ हात्ती र कछुवाको । यसले मनलाई कस्तरी पो हुँडलेर लैजान्छ !

अहिलेको नेपाली साहित्यको भाषाशैलीभन्दा धेरै भिन्‍न भाषाशैली पाएँ । वास्तवमै भिन्‍न छ ।

बाँकी तपाईं आफैँ पढेर समीक्षा गर्नुहुने नै छ ।

अन्त्यमा,
अहिले सोचिराछु खासमा परीक्षा रोकिनु, मदन पुरस्कारले लिस्ट प्रकाशित गर्नु यो सब रमिते पढ्नका निम्ति रहेछ । यदि मैले सत्य सोचिरहेको छु भने, म रमितेलाई चियाका लागि आह्वान गर्न चाहन्छु । एरिचोक नजिक एउटा अन्डरग्राउन्ड क्याफे छ तिमी त्यही आऊ है । तिमी आइपुग्दा सम्भवतः तिमीले मदन पुरस्कार पाइसकेका हुनेछौँ । 
तिमीलाई बधाइ छ ।


Author

थप समाचार
ad
x