सप्ताहन्त

सुर्खेतमा के पढिन्छ ? मैले के पढेँ ?

विज्ञान राज |
साउन ३०, २०७८ शनिवार १०:० बजे

‘काठमाडौँमा एक दिन’ पढिसकेपछि त्यसको हृयाङओभर थेग्न नसकेर म निदाएँ । उठिसकेपछि पनि हृयाङओभर दिमागमा सलबलाएझैँ लाग्यो । चिया खान निस्केँ, बहिनीसँग पैसा मागेर । एरिचोक नजिकको आचार्य चिया नास्ता पसलभित्र छिरेँ । मानिसहरूको भारी उपस्थिति थियो । खाली कुर्सीमा गएर बसेँ । 

मेरो उमेरभन्दा सानो उमेरको आएर चियाको अर्डर लिई गयो । 


आजसम्म मैले पढेका महिला लेखक र उनीहरूका किताब सम्झिन खोजेँ । ‘शिरीषको फूल’, ‘जीवन काँडा कि फूल’, ‘आलय’, ‘नथिया’, ‘खलंगामा हमला’, ‘चीरहरण’, ‘मान्छेको रङ’ र ‘काठमाडौंमा एक दिन’ । 

सर्सती यति नै स्मरणमा आए । अरू भुलेको रहेछु भने पनि एक दुइटा नै होलान् । मानौँ न भुलेकै रहेछु । तैपनि बढीमा दशवटा नै पुग्‍ने रहेछन् । एकजना मेरो उमेरको आएर फेरि चियाको अर्डर लिई गयो । 

जम्मा दश ! म एकछिन चकित परेँ । कस्तो लाजमर्दो लाग्यो । कस्तो नाजुक लाग्यो । कुनै दिन लेखक भइटोपल्ने सोचेको मान्छे र त्यसका निम्ति घनघोर पाठक हुन तम्सिएको मैले महिला लेखकका जम्मा दशवटा किताब पढेको रहेछु । मेरो पुरुष अहं मज्जैले झल्किएको पाएँ । झाँगिएको पाएँ । पुरुष अहंको सिकार भएको तत्क्षण बढी नै महसुस भयो ।  

तर म जुन ठाउँमा बसेर साहित्य पठन गरिरहेको छु, त्यो ठाउँको हकमा यो संख्या निकै राम्रो हो भन्‍ने लाग्छ । यो भन्‍नुपछिका थुप्रा कारण र मनोविज्ञानहरू छन् । तीमध्ये केही म संक्षिप्तमा राख्‍ने प्रयास गर्नेछु । पहिलो । म सुर्खेतको जुन साहित्यिक माहोलमा हुर्केँ, त्यो माहोलले अपवादबाहेक कहिल्यै पनि महिला लेखकले लेखेका किताब पढ भनेर सुझाएन ।

सुझाउनका निम्ति पहिले आफूले खुद पढेको हुनुपर्ने हुन्छ । त्यसैले उनीहरूले जहिले पनि ‘शिरीषको फूल’ र ‘जीवन काँडा कि फूल’ मात्र सुझाइरहे । किनकि उनीहरूले पढेका र सुनेका महिला लेखकहरूका किताब ती दुइटा मात्र थिए । अरू भए आक्कलझुक्कल । 

मलाई अचम्म लाग्‍ने गर्छ, यी दुइटा किताब फेरि जसले पनि सुझाइरहेको हुन्थ्यो । त्यो कोही खुँखार साहित्यिक पाठक होस् वा भर्खर साहित्यमा अभिरुचि राख्ने कोही होस् वा गैरसाहित्यिक मानिस नै किन नहोस् । मलाई सन्देह उतिखेर पनि लाग्ने गथ्र्यो र अहिले पनि लाग्ने गर्छ । जसले जसले यी दुइटा किताब सुझाए, तिनीहरूले पहिले यी दुइटा किताब पढे कि पढेनन् ? विडम्बना ! यी दुइटा किताबको रटान लगाउने जमात सुर्खेतमा अझै पनि सक्रिय छ । झन्झन् फैलिँदै छ ।

एउटा अधबैँसे आएर फेरि चियाको अर्डर लिई गयो ।

दोस्रो । सुर्खेतमा मेरो सूचनामा आएका जति पनि पुस्तक विमर्शका कार्यक्रम भए । ती सम्पूर्ण कार्यक्रममा मेरो लगभग उपस्थिति रह्यो । मलाई स्मरण भएसम्म कुनै एक दिन आएन, जुन दिन महिला लेखकको किताबबारे विमर्श भएको होस् । 

यदि मेरो अनुपस्थितिमा भइहालेको रहेछ भने पनि ती दुइटा किताबबारे भयो । यदि ती दुइटा किताबबाहेक अरू किताबमा भएको थियो भने पनि त्यो अपवाद नै थियो । हो र हुनेछ । अँ, साँच्ची मलाई याद आयो । त्यो एकदिन वास्तवमै महिला लेखकले लेखेको किताबबारे विमर्श भएको थियो । त्यो किताब थियो, योगमाया (त्यो सालको मदन पुरस्कार पाएको हुनाले) । 

विमर्श हिमाली पुस्तकालयमा भएको थियो । तर त्यो दिन मानिस साह्रै कम उपस्थित भएका थिए । जति उपस्थित भएका थियौँ, आभा निन्याउरो लगाएर पुस्तकालयको आँगनमा घाम तापेर बसेका थियौँ । पठन सम्बन्धित अनेक चिन्ता र चासो फलाकी बसेका थियौँ । म सत्य त बोल्दै छु नि किरण सापकोटा दाइ ?

तेस्रो । ठीक छ पुरुषहरूले पुरुषले लेखेका किताबहरू मात्र पढे अरे । उनीहरूको प्राथमिकतामा महिला लेखकका किताब परेनन् अरे । तर महिलाहरूले महिलाले लेखेका किताबहरू पढे कि पढेनन् ? तिनीहरूको प्राथमिकतामा परे कि परेनन् ? तिनीहरूले विचार-विमर्श गरे कि गरेनन् ? अरू कसैलाई सुझाए कि सुझाएनन् ? यी प्रश्नको उत्तरमा सुर्खेत शून्यप्रायः नै थियो, छ र धेरै वर्षसम्म हुनेछ । 

फेरि तिनीहरूले पढिहालेछन् भने पनि तिनै दुइटा किताब । यदि बेसी नै पढे भने मदन पुरस्कारमा छनोट भएका र पाएका । कोही त्यस्ता महिला भेटिनँ मैले सुर्खेती माहोलमा (अपवाद त छँदै छ), जसले नेपालका अधिकांश महिला लेखकहरूलाई पढेका होऊन् । 

जब महिलाहरूले नै महिला लेखकका किताब पढ्दैनन् भने पुरुषहरूले पढेनन् भनेर कसरी उम्किनु ? अथवा यो भनौँ न, महिला लेखकका किताब पढ्ने माहोल न पुरुष पक्षबाट भएको देखिन्छ, न महिला पक्षबाट नै । 

तर अचम्म ! पुरुष लेखकका किताबहरू चाहे ती मदन पुरस्कार पाएका होऊन्, छनोटमा परेका होऊन्, चलेका होऊन्, नचलेका होऊन्, कमसल नै किन नहोऊन् वा ती सबै खाले किताब पढ्ने माहोल बनाउनका निम्ति दुवै पक्षबाट जब्बर रूपमा प्रयास भएको देखिन्छ । 

घनघोर रूपमा अभ्यास भएको देखिन्छ । जो यथार्थमा दुघर्टना सरह हो । पठन संस्कृति बढ्यो भन्‍ने तर्कलाई साइडमा राखेर भन्‍ने हो भने । उसो त सुर्खेतमा नपढेरै साहित्यकार हुनेको लाम दिनानुदिन बढ्दो क्रममा छ । यो जमातले सुर्खेती साहित्यलाई थाम्छ भन्दा पनि एक दिन पूरै धराशयी बनाउने चिन्ता बढेर गएको छ ।  

यसपटक स्वयं साहुजीले नै चियाको अर्डर लिई गए ।

चौथो । महिलाले लेखेका किताब के पढ्नु ? त्यही मनो कुण्ठा, त्यै चुलोचौको, त्यै किचकिच । यीबाहेक के नै हुन्छ र तिनीहरूका किताबमा । समयको बर्बादी । पैसाको बर्बादी । बिनासित्ती दिमाग खराब । यस्तै यस्तै फलाक्नेहरूको जमात जहीँतहीँ पाइन्छ । त्यो सुर्खेतमा पनि स्वतः हुने नै भइहाल्यो । न उनीहरूका किताब पढेको छ, न उनीहरूले के लेखेका छन् थाहा नै छ । पुरुष अहंका आधारमा फलाक्ने त्यो वृत्त अझै पनि जीवित छ ।

यसबाट म टाढा रहेँ, त्यो नसोच्नु होला । कच्चा मस्तिष्कमा अझ साहित्यको सुरुवाती दिनहरूमा जसले जे भन्यो त्यो सत्य लाग्दो रहेछ । मैले पनि कयौँ दिन, महिना र वर्ष यही फलाकेँ । तर जब म यो माहोलबाट पन्सिएँ, बिस्तारै मेरा धारणा बदलिँदै गए । मेरा सोच बदलिँदै गए । मैले महिला लेखकहरूका किताब पढ्न सुरु गरेँ । भर्खरै सुरुवात गरेको हुनाले दशवटा मात्र पुगेको हो । यो संख्या निरन्तर बढ्दै जानेछ ।

सुर्खेतमा नपढेरै साहित्यकार हुनेको लाम दिनानुदिन बढ्दो क्रममा छ ।

यस्ता अनेक कारण छन् । मनोविज्ञानहरू छन् । ती सबै उल्लेख गरेर साध्य पनि छैन । तर बताउन खोजेको कुरा यिनै कारणमा छ । अब यस्तो मनोविज्ञान भएको सहरमा पठन गरिरहेको मानिसले महिला लेखकका जम्मा दशवटा किताब पढ्नु तपाईंको विचारमा के लाग्छ ? 

म बसेको टेबलभन्दा ठीक अगाडिको टेबलमा बसेका अधबैँसेहरूमध्येको एउटा अधबैँसे अघिदेखि नै मलाई क्वारक्वार्ती हेर्दै रहेछन् । ध्यान उनीतर्फ परेपछि बल्ल याद गरेँ । उनले अघिदेखि सेलाइरहेको भेज मममा ध्यान दिए । कपाकप खान थाले ।

एउटी बूढी आमा आएर फेरि चियाको अर्डर लिएर गइन् ।

                                                                                एउटा सानो चिट्ठी
                                                                
                                                                                                                   मिति : जुन साल, महिना र गते तिमी पढ्छ्यौ त्यही साल, महिना र गते
प्रिय तिमी,
तिमी र मबीच कुनै साइनो बाँकी छैन मलाई तिख्खर रूपमा अवगत छ । यो पनि अवगत छ, त्यो साइनो मद्वारा नै नास भएको हो । साइनो नाश गर्नेको के सजाय हुन्छ ? त्यो सजाय म निभाइरहेको छु ।  एकदम सही सुन्यौ । त्यो सजाय म निभाइरहेको छु ।

यो चिट्ठी लेख्नुको मुख्य कारण म सजाय पाइरहेको छु भन्‍ने भन्दा पनि निभाइरहेको छु भन्‍ने कुरा जानकारी दिनलाई हो । अनि निभाइरहेको सजाय के हो ? बताउनलाई पनि हो । पर्ख ! सजाय के हो ? थाहा पाउनु पहिले केही कुरा सम्झन अनिवार्य छ । 

के सम्झन अनिवार्य छ भन्देखिन तिम्रो र मेरो पहिलो भेट । असजिलो तरिकाले ढाडको तल्लो भागतिरबाट सर्टलाई पाइन्टभित्र हालेको जस्तो गरेर अचानकसँग मैले तिम्रो सामुन्‍ने किताब राखिदिएको । झोलाभित्र किताब राखेर चेन लगाए जस्तो गरेर तिमीले पनि अकस्मात् मेरो अगाडि किताब राखिदिएको । एकछिनसम्म एक आपसमा हेराहेर गरेको । उत्तेजित भएको । लजाएको । कताकता हराएको ।

मैले दिएको किताब पुरुष लेखकको थियो । अर्थात् जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ थियो । तिमीले दिएको किताब महिला लेखकको थियो । अर्थात् सरस्वती प्रतीक्षाको ‘नथिया’ थियो । त्यो तिमी मात्र थियौ र हौ । जसले मलाई महिला लेखकको किताब उपहार दियो । त्यो तिमी मात्र थियौ र हौ, जसले गर्दा म सुर्खेतको झन्झटिलो साहित्य वृत्तबाट टाढा रहेँ । त्यो तिमी मात्र थियौ र हौ, जसकारणले गर्दा म जीवनमा पहिलो पटक गम्भीर भएर महिला लेखकहरूलाई पढ्न थालेँ । 

यति कुरा सम्झिसकेपछि अब सजाय के हो भन्‍नेतर्फ ध्यानस्थ हौँ । यो सत्य हो । यदि तिमीले मलाई महिला लेखकको किताब उपहार नदिएकी भए म त्यही वृत्तमा रहिरहन्थेँ । त्यही वृत्तमा रहनुको अर्थ महिला लेखकहरूलाई नपढ्नु हुन्थ्यो । इन्कार गर्नुहुन्थ्यो । कुप्रचार गर्नु हुन्थ्यो ।

भद्दा मजाकिला कुराहरू फलाकी बस्‍नु हुन्थ्यो । तिमीले उपहार दिएपछि मात्र हो, मैले लेखकहरूलाई पढ्न सुरुवात गरेको । तिमीसँगको साइनो नाश गरेको दिन यतादेखि म प्राथमिकतासाथ महिला लेखकलाई पढिरहेको छु । घनघोर रूपमा पढ्दै जानेछु । पढेर अरूलाई सुझाउनेछु । कुप्रचार गर्नेहरूलाई प्रचार गर्नेछु । कुप्रचार गर्नेहरू विरुद्धमा प्रचार गर्नेछु ।

तिमीसँगको साइनो नाश गरेको सजाय यही हो । जुन सजाय म कथमकदाचित भोगिरहेको छैन । निभाइरहेको छु । एकदम सही सुन्यौ । त्यो सजाय म निभाइरहेको छु । 

उही
प्रिय पाठक,

तपाईंलाई लाग्यो होला, यो लेखक कताकता भड्क्यो । तपाईंलाई जे लाग्यो, एकदम सही लाग्यो । किनभने जुन दिनदेखि म महिला लेखकहरूलाई पढिरहेको छु, म वास्तवमै भड्किएको छु । यो भड्किएको ‘म’लाई शान्त पार्न म बेलाबखत चिया खान आइपुग्छु । जो सुरुमा अर्डर लिएर गएको थियो । उसले चिया ल्याएर आउँदै छ । अँ, चिया पनि आइपुग्यो । म सुर्काउन लागेँ । सुरुपसुरुप ।
अस्तु !


Author

थप समाचार
x