सप्ताहन्त

खगेन्द्रजंग गुरुङका आँखाबाट फरक इतिहास

नीरज लवजू |
भदौ ५, २०७८ शनिबार १३:३२ बजे

लार्केको विषयमा अहिले सीमा विवादको चर्चा चलेको छ । लार्केमा चिनियाँहरूले सीमा मिच्यो भन्‍ने कुरा आइरहेको छ नि । थुप्रै ठाउँमा चीनसँग विवाद भनेर आइरहेको छ । नेपाल अहिले अनौठो अवस्थामा पुगेको छ । पहिले त मैले सोचेको थिइनँ । अहिले कस्तो लाग्दै छ भने नेपाललाई दुवै छिमेकीसँग झगडा पार्न खोजिएजस्तो म देख्दै छु । 

रुई गाउँ र नुनको कथा 
रुई गाउँ । जंगबहादुर राणाका भाइ जो मारिए । उनका कमान्डर इन चिफ धीर शम्शेर थिए । उनलाई वीर शमशेरले मारेका थिए । हामी गुरुङ राजाको सन्तान कहलिएका छौं । त्यसताका लमजुङबाट मनाङ पुग्‍ने उत्तिबेला चौध दिन लाग्थ्यो । मनाङको पूर्वतिर धौलागिरी शृङ्खला छ । धौलागिरीको पारि लार्के पर्छ ।


त्यहाँबाट पनि डाँडा पारि रुई गाउँ पर्छ । धौलागिरी पारि चौर छ । त्यो ठाउँलाई लार्के भनिन्छ । लार्केमा मानिसको बसोबास छैन । त्यसको दक्षिणमा सामा गाउँ पर्छ । तिब्बती भाषामा नुब्री पनि भन्छन् । सामा गाउँ त पहिले देखि नै राम्रो अधिनमा थियो । तर, लार्के भने रुईका मानिसहरूको थियो । 

मनाङका मानिस त्यत्तिबेला तिरो पनि तिर्दैनथे । आपसमा लड्थे । जसको सत्ता भयो, उसले चलाउँथ्यो । त्यहाँ पुग्‍ने भीर चढेर जनावर नै जान सक्दैनथे । अरु को जाओस् । तलबाट कोही तिरो उठाउन गइहाले पनि तिरो पनि उठाउन सक्दैनथे । तिरो उठाउन जानेलाई बन्दुक तेर्‍साउँथे । 

मनाङ दुई भागमा विभाजित छ । तल्लो मनाङमा गुरुङहरूको बस्ती छ । उनीहरू सरकारलाई तिरो तिर्थे । माथिल्लो मनाङका मानिस आफूलाई अहिले गुरुङ भन्छन् । खासमा उनीहरू गुरुङ पनि होइनन् । तिब्बतीहरू पनि होइनन् । त्यहाँको अलग संस्कृति छ । आजभोलि मनाङ्गी भन्छन् नि आफूलाई । पञ्चायतकालमा पनि उनीहरू सित्तिमिती अरू उठ्न पाउँदैथ्यो । 

मेरो बाजेलाई धीर शमशेरले दुई वटा काम अह्राएछन् । पहिलो काम, मनाङसम्म जान चौध-पन्ध्र दिन लाग्‍ने भिरालो बाटोलाई छ-सात दिनमा पुग्‍ने छोटो बाटो बनाउनुपर्ने । जनावर पनि नजाने विकट भीर थियो । अर्को काम, लार्केबाट त्यहाँ नुन आउँथ्यो । त्यहाँका घले गुरुङहरूले मात्र माथिबाट नुन ल्याउँथे । मनाङेहरू नुन बोक्दैनथे । मुस्ताङबाट नुन आए आयो, नत्र नुन पाउँदैनथे । चौरीसँग नुन लिन जान र फर्किन एक महिनाको समय लाग्थ्यो । नुनको असाध्यै समस्या थियो । गोरखा, लमजुङलगायत गण्डकी अञ्चलमा नै नुनको ठुलो समस्या थियो । वर्षको पचास साठी भारीभन्दा बढी नुन आउँदैन्थ्यो । नुनको समस्या सहज बनाउने दोस्रो काम अह्राएका रहेछन् । 

बाजेले आफूलाई अधिकार दिए काम फत्ते गर्ने भन्‍नुभएछ । खोलाको किनारै किनार बाटो बनाउन सम्भव थिएन । डाँडोको टुप्पामा डोरी बाँधेर तल भीर खोपेर काठमा फ्ल्याक ठोकेर दुई दिनमै मनाङ पुग्‍ने बाटो बनाउनुभएछ । मान्छेसम्म हिँड्ने बाटो बन्यो । चार स्थानमा मर्स्याङ्‍दीको दायाँ-बाँया गरेर चोयाको झोलुङ्गे पुल बनाउनुभएछ ।

बाटोमा थोँते भन्‍ने गाउँ पर्छ । त्यो गाउँ लार्के र मनाङ जाने दोबाटो हो । त्यहाँ बाजेले बस्ती बसाल्नुभयो । अनि माथि घलेहरूसँग सम्पर्क गर्नुभएछ । घलेहरूसँग नुन ल्याउने विषयमा कुराकानी गर्नुभएछ । घलेहरू तिब्बतसम्म पुगेर नुन ल्याउन कम्तीमा एक महिना नत्र दुई महिनासम्म लाग्‍ने गर्छ । त्यसकारण उनीहरूले लार्केसम्म तिब्बतीहरूले नुन ल्याए नुनको आपूर्ति सहज हुने कुरा बताए । उनीहरूकै सुझावअनुसार बाजे रुई गाउँ पुग्‍नुभयो । रुईमा मानिसको भेला बोलाएर लार्केको जग्गा दिन आग्रह गर्नुभएछ । रुई गाउँमा खाद्यान्‍नको ठुलो संकट हुन्छ । तर, नुनको कुनै समस्या थिएन । तिब्बतमा नुन जति भने पनि पाइन्थ्यो । ठुला तालमा नुन जमेको हुन्छ । रातभर जमेको नुन दिनभर जम्मा गरिन्थ्यो । 

लार्केमा कुनै मानिस बस्ती थिएन । त्यसकारण त्यो जग्गा नेपाल सरकारको अधीनमा ल्याउन सके तिब्बतबाट ल्याएको नुन भण्डारण गर्ने बन्दोबस्त गर्न सकिन्थ्यो । त्यही नुन तल आपूर्ति गर्न सकिन्थ्यो । त्यहाँ निकै लुटपाट र आतंक पनि कम हुने थियो । जग्गा दिए वापत रुईका गाउँलेलाई चामल ल्याइदिने वचन दिनुभयो बाजेले । खान नै धौधौै भएको रुईका गाउँले बाजेको प्रस्ताव माने । तर, उनीहरू भने-हामीले मात्र दिएर हुँदैन । माथि झोङ्खा भोते(तिब्बती)हरूले नुन ल्याइदिए मात्र काम फत्ते हुन्छ । 

जङ्गबहादुरको दबदबाले तिब्बतीहरू सितिमिती सम्पर्कमा आउन चाहँदैन्थे । भेटे पछि हुन्‍न भन्‍न पनि नसक्ने, दिन पनि मन नहुने । बाजे ब्रम्हपुत्र नदी तरेर झोङ्खाका भोतेहरूलाई भेट्न झोङ्खा पुग्‍नुभयो । उनीहरूलाई तिब्बतबाट नुन ल्याउने जिम्मा लिन बाजेले भन्‍नुभयो । तिब्बतमा सित्तैमा नुन पाइन्थ्यो । उनीहरूले माने ।

बाजेले नुन ल्याएर राख्‍न राँके, भिम्द र थोँते भन्‍ने ठाउँमा ती तीन वटा कोठी थाप्‍नुभयो । त्यत्तिबेला मानिसहरू मधेस झर्न मान्दैनथे । मधेस झरे पछि औंलोले मान्छे मर्थे । त्यसकारण गोरखा, लमजुङलगायतका जिल्लाका धार्केहरू बाजेले थपेका कोठीहरूमा चामल बोकेर नुन लिन त्यहाँ पुग्थे । बाजेको व्यापार निकै फस्टाएछ । गुरुङ राजाका सन्तति भनेर सरकारले हामीलाई सुब्बा पद पनि दियो ।  

तिब्बती खम्पालीहरूले माथितिर लुटपाट गरेर दुःख दिए । नुन ल्याउने जोङ्खालीहरूलाई खम्पालीहरूले लुट्थे । बाजेहरूले राणा सरकारसमक्ष सुरक्षाको माग गरे । राणाहरूले त्यहाँ सुरक्षाकर्मी पठाउने सम्भावना नै थिएन । अनि सुरक्षा खर्चको व्यवस्था गर्न पनि सम्भव थिएन । राणाहरूले बाजे स्वयम्लाई बन्दोबस्त गर्ने जिम्मेवारी दिएछन् । बाजेले त्यही अनुसार झण्डै पाँच सय जनाको गुरुङ सेना बनाउनुभयो । उनीहरूले नै खम्पाहरूको आतंक नियन्त्रण गरे । 

रुई गाउँका बासिन्दा ‘हामीहरू तिमीहरूकै निर्भर भयौं । अब जग्गा लिए पछि हामीलाई पनि तिमीहरूकै तिर रैती बनाऔ’ भने । उनीहरू नभई व्यापार पनि नचल्ने अवस्था बन्यो । बाजेले माथि तिब्बतमा दलाई लामाहरूसँग पनि सम्पर्क गरेछन् । उता पनि सकारात्मक उत्तर आए पछि बाजेले डाँडापारिको डोबी गाउँ तिब्बत हुने र लार्के अनि रुई गाउँ नेपालको अधीनमा हुने भनी कुरा मिलाएछन् । त्यहाँ तिरो उठाउने जिम्मेवारी हाम्रो परिवारले लियो । मेरै पालो सम्म पनि हामी हनुमानढोका पुगेर त्यहाँको तिरो तिर्थ्यौ । पछि म मन्त्री हुँदा ताका भने त्यहाँको व्यापार खस्किन थालेको थियो । 

चीनको जनमुक्ति सेनाले तिब्बत मुक्त गरे पछि दलाई लामा पनि चीनको अधीनमा गए । तर, भित्रभित्र भने उनले भारतमा शरण लिने तयारी गरिरहेका रहेछन् । उनी तीर्थयात्रा गर्ने भनी भारततिर गए । सँगै पञ्चेन लामा पनि थिए । म त्यत्तिबेला भारतमै थिएँ । भारत पुगेर दलाई लामाले नेहरुलाई ‘म माथि (तिब्बत) जान्‍न । यही शरण देऊ’ भनेछन् । त्यत्तिबेला ‘हिन्दी-चिनी भाइ भाइ’ को जमाना थियो । नेहरु निकै कुटिल नेता थिए । नेहरुले जवाफमा भनेछन्,‘तिमीहरूलाई भारतमा शरण दिए, चीन हामीसँग रिसाउँछ । तिब्बत र भारतबीच नेपाल पर्छ । नेपालमा अहिले अस्थिर सरकार छ । नेपालमा बलियो सरकार भए पछि नेपालमै तिमीलाई बस्ने बन्दोबस्त गरुँला ।’ दलाई लामा फर्के । चाउ एनलाई त्यो विषयमा जानकारी रहेछ । 

त्यत्तिबेला (२००८-०९ साल) नेपालको अवस्था निकै अस्थिर थियो । महिना दुई महिनामा सरकार परिवर्तन भइरह्न्थ्यो । राजा त्रिभुवन उपचारका लागि स्वीट्जरल्यान्ड गएका थिए । यताको जिम्मेवारी महेन्द्रलाई छोडेर गएका थिए । महेन्द्रले नीति फेरे । त्यत्तिबेला नेपालमा भारत र बेलायतको मात्र कूटनीतिक नियोग थिए । महेन्द्र चीनसँग पनि कूटनीतिक सम्बन्ध बिस्तारको पक्षमा थिए । त्यसो नगरे नेपालको संरक्षण नहुने निष्कर्षमा उनी पुगिसकेका थिए । भारतले तिब्बत चीनकै भूभाग हो भन्‍ने कुरा त स्वीकार्‍यो । तर, भित्रभित्र भने गडबड गर्न खोजिरहेको थियो ।

त्यसको असर नेपालमा पनि परे यहाँका राजनीतिक दलले सम्हाल्न सक्दैनन् भन्‍नेमा उनी थिए । त्यसकारण महेन्द्र आफू राजा भएलगत्तै चीनसँग सम्बन्ध जोड्नतिर लागे । तिनताक नेपालको व्यापार घाटा पनि निकै थियो । भारतको एक सय भारु बराबर नेपालीले २ सय नेरु तिर्नुपथ्र्यो । त्यस्तो परिस्थितिमा पहिलो चोटी चिनियाँहरूले ६ करोड डलर सहयोग दिएका थिए । यो १०-११ सालको कुरा हो । हामी मन्त्री बन्‍न ६ महिना जति अघिको कुरा हो । 

त्यही बेला राष्ट्र बैड्ढ स्थापना र मुद्रामाथि नियन्त्रण गरेर महेन्द्रले बजेट घाटालाई पूर्ण नियन्त्रण गरे । गुञ्जनमान सरदारलाई राष्ट्र बैड्ढको प्रमुखमा नियुक्त गर्‍यो । उनी विदेशमा अर्थशास्त्र पढेर आएका विद्वान थिए । अनि महेन्द्रले सिमानामा ध्यान दिन थाले । त्यत्तिबेला कुनै पनि राजनीतिक दलका मान्छे नपुगेका गाउँ गाउँसम्म उनी पुगिसकेका थिए । २०१५ सालमा आम चुनाव भयो । त्यत्तिबेला अरू राजनीतिक दलहरू त्यत्ति थिएनन् । नेपाली काङ्ग्रेस मात्र थियो । काङ्ग्रेसले दुईतिहाई बहुमत पायो । काङ्ग्रेसको सरकार आए पछि सजिलो होला भन्ठानेर जुन दिन बीपी कोइरालाले प्रधानमन्त्री पदमा शपथ ग्रहण गरे, त्यसको भोलि दलाई लामा तिब्बतबाट भागे । उनी भारत गए । 

१५-२० हजार जति तिब्बतका खम्पालीहरूलाई अमेरिकीहरूले तालिम दिएका रहेछन् । बीपी प्रधानमन्त्री भएको महिना दिन पनि नबित्दै खम्पालीहरू हतियार सहित धमाधम नेपाल(मुस्ताङ)तिर झर्न थाले । मुस्ताङमा १४ हजार जति मान्छे राखेर खम्पालीहरू अघि बढे । उनीहरू पूर्वतिर लागे । चिनियाँ पुरै सीमामा तैनाथ थिए । परिआए जे पनि गर्छौं भन्‍ने चीनको भनाई थियो । चिनियाँ सेना सीमा क्षेत्रतिर नआउँदासम्म खम्पाहरू तिब्बतका गाउँ गाउँ पसेर सबैलाई भारततिर जबरजस्ती पठाउँथे ।

बीपीको चरित्र
खम्पालीहरू नेपाल पसेको झण्डै महिना दिनपछि नेहरुले एउटा वक्तव्य जारी गरे । वक्तव्यमा ‘यदि भुटान र नेपालमाथि हमला भए त्यो भारतमाथि हमला भएको मानिनेछ’ भनी उल्लेख थियो । उत्तर सीमामा २०-२२ हजार खम्पाली आइसकेका थिए । चीनले सिमानामा सेना तैनाथ गरिसकेको थियो । सन् १९५० को सन्धिअनुसार नेपालमा कसैले हमला गरे भारतीय सेना आउन पाउने बन्दोबस्त छ ।

खम्पालीहरूलाई दबाउन चिनियाँ सेना नेपालमा भित्र्याएर नेपालमा भारतीय सेना ल्याउने भारतको सोच रहेछ । यता बीपी कोइरालाहरूको सोच पनि त्यस्तै पाएँ । चीनले सीमामा केही गडबड गरोस् अनि त्यही बहानामा भारतले हात हालोस् भन्‍ने काङ्ग्रेस र बीपीको चाहना थियो । चिनियाँ कम बोल्ने तर व्यवहार कडा गर्ने । 

यो सबै कुरा थाहा पाएर पनि बीपी कोइराला चीनमा जाँदा चिनियाँहरूले एकशब्द पनि बोलेनन् । बीपी प्रधानमन्त्री रहँदै दुई देशको सीमा मिलाउने भनी नेपाल र चीनको संयुक्त सीमा समिति गठन भयो । यताबाट सेना, भन्सार, प्रशासनको कर्मचारी सम्मिलित टोली गयो । उताबाट चिनियाँ टोली पनि आइसकेको थियो ।

यताबाट नेपाली टोली आएको कुरा चिनियाँहरूलाई सूचना पठाउनुपथ्र्यो । त्यसो नगरी सिधै गएछन् । त्यत्तिबेला मुस्ताङको डाँडा सबैमा खम्पाली बसेका थिए । सीमा टुंगो लगाउन गएको नेपाली टोलीलाई पनि चिनियाँहरूले खम्पालीहरू नै ठानेछन् । नेपाली टोलीमा सिपाहींको पोशाक लगाएका मान्छे पनि थिए ।

चिनियाँहरूले गोली हाने । एक जना नेपाली सुबदार मारिए । चिनियाँहरूले पछि नेपाली मरेको थाहा पाए । तत्काल चीन सरकारले नेपाल सरकारलाई सम्पर्क गरेर माफी माग्यो । चिनियाँहरूलाई सूचना दिएर जानुपर्ने थियो, झडप होस् भनेर नै सूचना नदिई गएको देखियो । चाओ एन लाई आफैंले पत्र पठाएर माफी मागे ।

बीपीले क्षतिपूर्ति दिनुपर्ने अडान लिए । चिनियाँहरू ६० हजार चाँदीका सिक्का क्षतिपूर्ति दिए । योजना के रहेछ भने नेपाली यसरी मारियो भनेर भारतीय सेना नेपालमा पसाउने भारतको योजना थियो । 

म त्यत्तिबेला मनाङमा थिएँ । खम्पालीहरू धेरै सङ्ख्यामा आएर बसिसकेका थिए । मुद्दा मामिला पर्दा गाउँलेहरू खम्पालीहरूकैमा जाने गर्थे । नेपालका कर्मचारी डरले गाउँ छिर्न सकिने अवस्था थिएन । मुस्ताङमा बडाहाकिमले खम्पालीहरूलाई वार्ताका लागि बोलाएका रहेछन् । खम्पालीहरूले एक सातासम्म बडाहाकिमको सुरक्षाकर्मीलाई कैदमा राखेछन् । मनाङमा खम्पालीहरूको त्यत्तिबेला आतंक थियो । 

बनारसको यात्रा 
बनारसमा म संस्कृत व्याकरणको परीक्षा दिन गएको थिएँ । त्यत्तिबेला प्रथमा, मध्यमा, शास्त्री आदि तहको परीक्षा दिनुपथ्र्यो । बनारस हिन्दु विश्वविद्यालयमा गान्धीवादीहरूको प्रभाव थियो । आचार्य नरेन्द्रदेव विश्वविद्यालयका उपकुलपति थिए । उनी गान्धीवादी विचारका लेखक थिए । धेरै पुस्तक पनि लेखेका थिए । उनले नेपालबाट त्यहाँ पढ्न गएकाहरूलाई राजनीतिक कक्षा सञ्चालन गर्थे । म पनि त्यहाँ पुगें । उनीहरूले सबै दर्शन, विज्ञान र अन्य विषयका पुस्तक हिन्दीभाषामा अनुवाद गर्ने र त्यही पढाउने अभियान सञ्चालन गरेका थिए । 

त्यत्तिबेला अङ्ग्रेजहरूले छोड्ने बेला भएको थियो । म अङ्ग्रेजी भाषा पढ्नतिर लागेको थिएँ । हाम्रो गाउँका बाहुनहरू पनि त्यहाँ पढ्दै थिए । उनीहरूले अङ्ग्रेजहरूको बहिस्कार अभियान चलिरहेको बेला अङ्ग्रेजी भाषा नपढ्न सल्लाह दिए । मैले हिन्दी भाषामा चार वर्ष दर्शन, राजनीतिशास्त्र र संसारको इतिहास पढें । बनारसमा विद्यार्थी छँदा नेपाली काङ्ग्रेस दुई वटा थियो । एउटा बीपी कोइराला नेतृत्वको र अर्को सुवर्ण शम्शेरको नेतृत्वको ।

भारतमा लर्ड माउन्ट बेटनभन्दाअघिका भोइसराय लर्ड वेभलले भारतका ६ वटा अधिराज्यलाई बोलाएर बेलायत फर्केपछि अलग अस्तित्व कायम गर्ने वा कोसँग मिल्ने हो भन्‍ने विषयमा एउटा गोलमेच सम्मेलनको आयोजना गरेका थिए । त्यो सम्मेलनमा दाजिर्लिङतिरबाट डम्बरसिं गुरुङ, उनका भाई अरी गुरुङ र रणवीर सुब्बाले पनि भाग लिएका थिए । उनीहरूलाई बेलायतीहरूले सुगौली सन्धिपछि भारतमा मिसिएको भूभाग भारत वा नेपालसँग मिल्ने अथवा स्वतन्त्र देश बनाउने विषयमा निर्णय मागेछन् । २००४ सालतिरको कुरा हुनुपर्छ । 

हामी पनि बनारसमै थियौं । बनारसमा उनीहरूको भेला भयो । कुमाउ गढवालका बाहुनदेखि देहरादुनका राणाहरू सबै भेला भए । त्यो भेलाको अग्रसरता दाजिर्लिङ र कालिङपोङका मानिसहरूको थियो । कुमाउ गढवालमा बाहुनहरूको बाहुल्य थियो । देहरादुनतिर सबै खालका मानिस थिए । दाजिर्लिङमा राई लिम्बुको बाहुल्य थियो । बनारस भेलामा उनीहरूबीच पुरै अन्तर देखियो । कुमाउ गढवालका बाहुनहरू भारतसँगै मिल्ने पक्षमा उभिए । त्यहाँबाट जितेर गएका गोविन्दवल्लभ पन्त नेहरुको मन्त्रीमण्डलम सहायक मन्त्री थिए ।

आफ्नो मान्छे त्यस्तो उच्च पदमा पुगेको हुनाले उनीहरूले भारतसँगै मिल्दा आफ्ना हित हुने निष्कर्षमा पुगे । नेपालको कर्णाली अञ्चलका मानिसहरू वर्षको आठ महिना कुल्ली बनेर खान्छन् भनेर उनीहरू नेपालसँग मिल्न मानेनन् । देहरादुनका राणाहरू अलमलमा परे । अरु पनि अलमलमा परे । तर, दार्जिलिङका नेपालीहरूले भने आफू भारतीय नभएको र नेपाल नै आफ्नो पुर्खा भएकाले नेपालमै मिल्ने अडान लिए । कुरा मिलेन । 

त्यही बेला बीपीहरूले कलकत्तामा अनौठो प्रस्ताव पारित गरेछन् । उनीहरूले सुरुमा त आफ्नो संगठनको नाम नै भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस भनेर राखेका थिए । उनीहरूले भने-‘हाम्रो धर्म, संस्कृति र थितिले नेपालको राजा र अन्य छ वटा अधिराज्यको अवस्थामा खास अन्तर छैन ।’ त्यसकारण राणाले माने सहजै नभए हैदराबादजस्तै सेना पठाएर नेपाललाई पनि भारतमा मिलाउनुपर्छ भनी प्रस्ताव गरे । यो कुरा हाम्रो इतिहासमा लुकाइन्छ । 

बीपीहरूले यस्तो प्रस्ताव पारित गरे पछि दार्जिलिङका रणधीर सुब्बा, अरी र डम्बर गुरुङको झगडा परेछ । ‘माटो त हाम्रो हो । तिमीहरू धेरै समय पछि कुमाउ गढवालबाट आएर अहिले भारतसँग मिलाउनुपर्छ भन्‍ने’ भनेर विवाद भयो । बीपीहरूले तिमीहरू आफ्नो बाटो लाग, हामीले यो प्रस्ताव पारित गरिसक्यौं भनेर जवाफ दिएछन् । दार्जिलिङेहरू त्यसपछि काठमाडौं आए । पद्म शम्शेरको सरकार थियो । मोहन शम्शेर कमान्डर इन चिफ थिए । राणाहरूसमक्ष उनीहरूले आफ्नो प्रस्ताव राखे । कुमाउ गढवाल नआए पनि दार्जिलिङ लगायत क्षेत्र नेपालमा मिल्ने उनीहरूको प्रस्ताव थियो । काठमाडौंमा भारदार सभा बोलाइयो । त्यतिबेला १४-१५ वर्षको थिएँ । त्यो भारदारी सभामा पनि सहभागी थिएँ । बुवाको निधन भइसकेको थियो । दाजुहरूसँग म पनि आएको थिएँ । 

भारदार सभामा कोही पनि बोलेनन् । अङ्ग्रेजी जान्‍ने नाटककार बालकृष्ण शम्शेरमा थिए । विश्व परिस्थितिबारे बुझ्‍ने मान्छे कम थिए । मोहन शम्शेरले आफ्नो कुरा भन्‍न बालकृष्णलाई अह्रायो । उनी तर्किन खोजे । उनले आफूभन्दा वरिष्ठ राममणि दिक्षित, लेखनाथ पौड्यालहरू भएकोले उनीहरूको कुरा सुन्‍नुपर्ने विचार राखे ।

उनीहरूलाई कुरा राख्‍न भनियो । उनीहरूले ‘नेपाल हिन्दु अधिराज्य हो । यताका जुनसुकै जातमा मानिसले पनि बाहुनलाई ढोगछन्, उतातिरका मान्छेहरू मिसाए ढोग्दैनन्, त्यसकारण मिलाउन हुन्‍न’ भने । दार्जिलिङ नेपालमा मिलाएर भारत पनि नेपालसँग रिसाउँछ भन्‍ने उनीहरूको अर्को तर्क थियो । त्यहाँ सहभागी अधिकांश बाहुन नै थिए । सबैले उनीहरूको कुरामा हो मा हो मिलाए । आखिरमा नमिलाउने कुरा पारित भयो । 

रणधीर सुब्बा नेपालमै बसे । दार्जिलिङ भारतमा मिसे पछि आफूमाथि रिस साँध्‍ने डरले उनी गएनन् । डम्बरहरू भने गए । उनीहरू उता गएर दार्जिलिङ र कालिङपोङ स्वायत्त हुनुपर्छ भनी माग गरे । त्यत्तिबेला सुरु भएको गोर्खाल्यान्डको आन्दोलन आज पनि चालु छ ।

बीपीहरू नेपाललाई भारतसँग मिलाउनुपर्छ भन्‍ने प्रस्ताव लिएर दिल्लीमा नेहरुलाई भेट्न गए । नेहरु आफ्नो प्रस्तावबाट खुशी हुने उनीहरूको बुझाई थियो । नेहरुको योजना अलि भिन्‍न रहेछ । नेपाल, भुटान र सिक्किमको रक्षा र परराष्ट्र आफ्नो हातमा लिएर चीन र भारतबीचको बफर जोनको रूपमा राख्‍ने नेहरुको योजना थियो । बीपीले राणाशासन हटाउन भारतले सेना पठाओस् भन्‍ने चाहन्थे । यो कुरा सुनेर नेहरु रिसाए । उनलाई आफ्नै देश सम्हाल्न धौ धौ थियो ।

बीपीहरूलाई आफै आन्दोलन गर भनेर फर्काएछन् । पछि नेहरुले मोहन शम्शेरलाई बोलाएर १९५० को सन्धीमा हस्ताक्षर गराए । मोहन शम्शेरको ठाउँमा अरु कोही पढेलेखेको र बाठो मान्छे हुँदो हो त घटना अर्कै हुने थियो । मोहन शम्शेर त्यस्ता थिएनन् । रामायण, महाभारत, मनुस्मृति जस्ता धार्मिक पुस्तक पढेर हुर्केका थिए । भारत भ्रमणमा गएका मोहन शम्शेरलाई भव्य स्वागत गरिएछ । रेलवे स्टेशनदेखि राष्ट्रपति भवनसम्म रातो कपडा बिछ्याएर भव्य स्वागत भएछ । बग्गीमा राखेर राष्ट्रपति भवन लिएर गएछ । मोहन शम्शेर मख्ख परे ।  नेहरुले मोहन शम्शेरलाई भनेछन्-‘माथिबाट चीन आउँदैछ, कुनै पनि बेला यता आउन सक्छन् । तिमीहरूको के योजना छ ?’ 

जवाफमा मोहन शम्शेरले तिब्बत र नेपालबीच भएको थापाथली सन्धिको कुरा उठाएछन् । त्यो सन्धिमा तिब्बतमा कुनै अर्को देशले हमला गरे, नेपालीले पनि सहयोग गर्नुपर्ने र नेपालमा कुनै अर्को देशले हमला गरे तिब्बतीले पनि सहायता गर्नुपर्ने व्यवस्था थियो । भारदार सभामा सहभागीहरू ‘चीन भनेको कहाँ हो कहाँ टाढा छ, चीनको नेपालमा कुनै खतरा छैन’ भनेर सुनाएका रहेछन् । त्यहीअनुसार मोहन शम्शेरले नेहरुसमक्ष आफ्नो कुरा राखे । मोहन शम्शेरको यस्तो जवाफ सुनेर नेहरु झस्के । अनि राणाको सत्ता फाल्ने योजना बुन्‍न थाले । बीपीहरूलाई बोलाएर राणाशासनविरुद्ध २००७ सालको आन्दोलनको तयारी गर्न लगाइयो । आजाद हिन्द फौजमा भर्ती गर्न गएका नेपालीहरू नै काङ्ग्रेस बनेर लडेका थिए । 

बनारसमा पढाइ सकेर म गाउँ फर्के । मलाई काङ्ग्रेसप्रति राम्रो छाप परेन । आफ्नो देश पनि भारतसँग मिलाउने कुरा पनि हुन्छ भन्‍ने भावना थियो । म गाउँमा पुग्दा राजा त्रिभुवनको लालमोहर गाउँ गाउँसम्म पुगिसकेको थियो । राणाहरूको विरुद्धमा विद्रोह गर्न त्रिभुवनले जारी गरेको लालमोहर थियो त्यो । अर्कोतिर राणाहरूले पनि आफ्नो देश बेचेर भारतमा मिलाउन खोज्ने काङ्गे्रसहरूको हातमा देश दिन हुन्‍न भनी ज्ञानेन्द्रको अर्को लालमोहर जारी भएको थियो । त्यत्तिबेला आजभोलि जस्तो राजनीतिक दल केही थिएन । 

गुरुङहरूको कुनै आपतविपत पर्दा सल्लाह गर्ने समुदायको सभा हुन्छ । त्यसलाई नाला सभा भनिन्छ । त्यो एकप्रकारले गोर्खा र लमजुङका गुरुङहरूको पुर्ख्यौली एकाइ हो । म १७-१८ वर्षको थिएँ । बाहिर गएर पढेलेखेको हाम्रो खलकको मै थिएँ । गुरूङहरूको ठुलो सभा भएको थियो । सभामा मेरो काकाले ‘हावा जता बहन्छ, हामी पनि उतै बहनुपर्छ’ भने । उनी संस्कृतका विद्वान थिए । सहभागीहरूलाई उनको कुरा चित्त बुझेको थिएन । म बाहिर पढेर आएको हुनाले मलाई पनि बोल्न भनियो । 

मैले काङ्ग्रेसबारे मलाई पारेको छाप त्यहाँ बोलें । भारतसँग नमिल्दा त हामीलाई सानो जातको भनेर हेप्छन्, भारतसँगै मिलेपछि हाम्रो सबै खेत, खर्क उनीहरूकै हुन्छ । त्यसकारण काङ्ग्रेसलाई समर्थन गर्ने पक्षमा आफू नभएको कुरा सुनाएँ । अनि बनारसमा मैले देखेको कुरा, दार्जिलिङको कुरा आदि सबै कुरा सुनाएँ । 

गाउँघरमै बसेको मेरो एक जना भतिजाले राजाको नाम लेखिएको मोहर देखाएर भने, 'हामीले तिर्ने मोहरमा जसको नाम छ, उसलाई हामीले राजा मान्‍ने हो । राणाले राजाको नातिलाई राजा घोषणा गरेर हुन्छ ? हामीले पुरानै राजालाई मान्‍नुपर्छ ।” उसले काङ्ग्रेसको कुरा बुझेर त्यसो बोलेको थिएन । सबैले त्यसैमा सही थपे । 

२००७ सालको राणाविरोधी आन्दोलन भयो । काङ्ग्रेसको सरकार आयो । पोखरामा पूर्णसिं खवास नामको बडाहाकिम आएका थिए । मेरो नाम भने काङ्ग्रेसहरूले ब्ल्याक लिस्टमा चढाइसकेका थिए । म मनाङमा फर्कें । मनाङमा त्यहीका मनाङेहरूबीच बेलाबेला गोली हानाहान र झैझगडा चलिरहन्थ्यो । उनीहरूका मुद्दामामिला र झैझगडा मिलाउने जिम्मेवारी हाम्रै थियो । काङ्ग्रेस सरकारमा आए पछि मैले उनीहरूलाई त्यहाँ नआउन भनें । त्यस्ता झैझगडाको पार्टीकरण हुन्छ भनेर मैले नआउन भनेको थिएँ । त्यसकारण काङ्ग्रेसहरू मसँग बढी रिसाए । 

त्यसपछि काङ्ग्रेसले हतियार दिएर एउटा समूह तयार गर्‍यो । त्यो समूहको नेताको नाम टुल्कु थियो । हतियार भएर मात्र उनीहरूलाई गाउँले मानेका थिए । गाउँले उसको कुरा खास मान्दैन्थ्यो । पछि उसका दुई छोरालाई मारिदियो । त्यसको दोष ममाथि लगाए । मलाई गिरफ्तार गर्न सेनाको टुकडी नै पोखराबाट माथितिर आए । त्यहाँ प्रतिरोध गर्ने अवस्था देखिएन । म त्यहींबाट तिब्बततिर लागें । 

केही समय त्यहीं बसें । वर्षामा म पारिको बाटो हुँदै दिल्ली पुगें । राजा महेन्द्रसँग त्यही भेट भयो । यो सम्भवतः २००८ सालतिरको कुरा हुनुपर्छ । मेरो वारेन्टबारे उनलाई थाहा रहेछ । उनले मेरो वारेन्ट खारेज गराउने भन्दै काठमाडौं सँगै लिएर आए । 

महेन्द्रसँग 
राजा महेन्द्रले मलाई ‘तिब्बतमा बसेको हुनाले तिम्रो चिनियाँहरूसँग सम्पर्क छ कि ?’ भनी सोधे । तिब्बतको झोङ्खामा काम गर्न आएको चिनियाँ टोलीसँग मेरो परिचय थियो । उनीहरू प्रायशः आफ्नै काममा मस्त हुन्थे । राजनीतिमा त्यत्ति वास्ता गर्दैनथे । ब्रम्हपुत्र नदीमा पुल हाल्दै थिए उनीहरूले । 

महेन्द्रले भने, 'भारतले हाम्रो देश कब्जा गर्न खोजिरहेको छ । भोलि परिआएको खण्डमा मनाङमा आधार क्षेत्र बनाउन सकिन्छ कि सकिंदैन ?'
मैले भने, 'मनाङे भनेका त काबिला जस्तो जात हो । पैसा जता आयो, त्यतै लाग्छन् । त्यस्तो परिस्थिति आए त पारि चिनियाँहरूको सहायता नलिई हुन्‍न ।'
महेन्द्रले भने, 'मैले पनि त्यही भनेको हो । चीनसँग हाम्रो दौत्य सम्बन्ध कायम हुन सकेको छैन । तिमी जान सक्छौ ?' 
नेपालमा केही कुरा भए पछि सिधैं भारत पुग्‍ने रहेछ ।
महेन्द्रले भने, 'माओ त्से तुङको नाममा म पत्र लेख्छु । तिमीले गोप्य रुपमा आफ्नै तरिकाले जानु ।' 
हिन्दी-चिनी भाई भाईको जमाना थियो । त्यसकारण राजाले भने,'कदाचित चिनियाँहरूले तिमीलाई समाते हामीसँग कुनै सम्बन्ध भन्‍नुपर्छ । आफू खुशी गएको भन्‍नुपर्छ । एक दुई वर्ष जेल पनि बस्नुपर्ने हुनसक्छ ।' 
म जान तयार भएँ । 

म झोङ्खा पुगेर चिनियाँ टोलीको मुख्य मान्छेलाई भेटें । मैले उसलाई भने, 'मलाई राजाले चिट्ठी दिएर पठाएका छन् । तिमीले पठाए म जान्छु नभए म यहींबाट फर्किन्छु ।' उसले आफूभन्दा माथिको अधिकारीलाई सम्पर्क गरे । हामीलाई जान दिइयो । पचास-साठी वटा याकमा चामल र अरु खानेकुरा जोरजुलुम गरेर गएका थियौं । हामी ल्हासा पुग्यौं । पुरै एक महिना लागेको थियो । बीचमा लुटपाटको डर थियो । तिब्बतमा त अराजक अवस्था थियो । चिनियाँहरू आए पछि अलि सुरक्षा भएको हो । ल्हासामा नेपालको वाणिज्य दुतावास थियो । तर, सम्पर्क गर्ने कुरा त भएन ।

ल्हासामा एक महिना जति राखे । अनि बल्ल पठाए । डाकोटा विमानमा ल्हासाबाट पेइचिङ पुग्‍न तीन दिन लागेको थियो । महेन्द्रले दिएको चिट्ठीमा के थियो, मलाई केही थाहा थिएन । मैले पढ्ने कुरा पनि भएन । 

माओ र चाओ एन लाईसँग भेट
पुगेको दुई दिनपछि प्रधानमन्त्री चाओ एनलाईसँग भेटाइयो । मैले महेन्द्रको पत्र चाओ एनलाईलाई दिन खोजें । उनले लिन मानेनन् । माओ त्से तुङकै हातमा दिनु भने । राष्ट्रपति र पार्टी अध्यक्ष दुवै माओ नै थिए । माओ पेइचिङबाट एक घण्टाजति जानुपर्ने गाउँमा बसेका थिए । चिनियाँ टाइलको छाना छाएको गाउँले शैलीको घरमा बसेका थिए माओ । दार्जिलिङको एकजना नेपाली भाषा बुझ्ने र बोल्ने चिनियाँ दोभाषे बनेका थिए । महेन्द्रका पत्र अङ्ग्रेजी भाषामा लेखिएको थियो । माओलाई अङ्ग्रेजी भाषा आउँदैन्थ्यो । चाओ एनलाईलाई पनि फ्रान्सेली भाषा आउँथ्यो, अङ्ग्रेजी राम्रो आउँदैन्थ्यो । 

महेन्द्रले पत्रमा लेखेको कुरा मैले त्यहीँ मात्र थाहा पाएँ । पत्रमा लेखिएको थियो-‘हाम्रो नेपालमा आजमात्र होइन, हाम्रो पुर्खाले जतिबेला राज्य स्थापना गर्‍यो, त्यत्तिबेलादेखि नै दक्षिणबाट खतरा भोग्दै आएको छ । भारतमा अङ्ग्रेजको शासन छँदा उनीहरूका कर्मचारी प्रायशः बाहुनहरू हुन्थे । पढेलेखेका उनीहरू नै हुन्थे । त्यसको प्रभाव नेपालमा जति पनि आन्तरिक विद्रोह हुन्छ, नेपालबाट भागेर जसले भारतको शरण लिन्थ्यो, त्यही व्यक्ति आएर यहाँ शासन गर्थ्यो । भारतको हस्तक्षेप राणशासन हुँदै दलहरूको शासनमा पनि कायम रह्यो । 

भारतीय हस्तक्षेपको कारण हामीलाई श्वास फेर्न गाह्रो भएको छ । त्यसकारण सन्तुलन मिलाउन र देश जोगाउन चीनसँग सम्बन्ध जोड्न चाहन्छु । परिआएको खण्डमा म कम्युनिष्ट बन्‍न पनि तयार छु र राजतन्त्र छोड्न पनि तयार छु । नेपालमा विविध जातिहरू छन् । अहिले शासक विशेषतः भारतीय मूलका जातिहरूको प्रभाव बढी छ । यदि नेपालका विभिन्‍न जातिलाई स्वशासित क्षेत्र बनाएर शासनमा ल्याउन सकिए भारतको प्रभाव कम हुन्छ । मैले त्यस्तो प्रयास थाल्दा भोलि भारतले विद्रोह पनि गराउन सक्छ । त्यसकारण चीनको मद्दत चाहियो ।’

मेरो बुझाईमा महेन्द्रको यस्तो कुरा पछाडि बुवा त्रिभुवनको पनि हात हुनुपर्छ । बाबु छोराको सल्लाह भएको हुनुपर्छ मेरो विचारमा । त्रिभुवन उपचारको लागि स्वीट्जरल्यान्ड गएका थिए । उपचारको क्रममा उनी महिनौं स्वीट्जरल्यान्ड बसेका थिए । त्यहाँ बस्ने क्रममा उनले त्यहाँको राजनीतिक बन्दोबस्तबारे अध्ययन गरे ।

युरोपमा जर्मनी, इटाली, फ्रान्सलगायत देशहरू आपसमा लडिरहेका हुन्थे । तर, स्वीट्जरल्यान्डमा त्यस्तो थिएन । त्यहाँ सबै थरी मानिस थिए । तै पनि उनीहरू सबै मिलेर बसेका थिए । सेना पनि थिएन । पहिलो विश्व युद्ध पछि बनेको लिग अफ नेशनको कार्यालय पनि त्यही राखिएको थियो । दोस्रो विश्व युद्धपछि भने परिस्थिति अर्कै बन्यो । महेन्द्रले नेपाललाई पनि स्वीट्जरल्यान्ड जस्तो बनाउने सोच भएको कुरा चीनलाई लेखेको पत्रमा उल्लेख थियो । माओलाई महेन्द्रको चिट्ठीले धेरै प्रभाव पार्न सफल भयो । दोभाषेमार्फत् माओले दोहोर्‍याएर तेहेर्‍याएर त्यो चिट्ठी पढे । 

जवाफमा माओले भने-हेर मैले संसारमा धेरै राजा र सामन्तलाई भेटेको छु । तर, आफ्नो देशको लागि सबै कुरा त्याग्न सक्ने राजा एक दुई जना मात्र देखेको छु । एकजना त्यस्ता राजा कम्बोडियाका नरोदम सिंहानुक हुन् । अर्को नेपालका राजालाई पाएँ । कम्युनिष्ट व्यवस्था भन्‍ने कुरा आ-आफ्नो देशको राष्ट्रिय आवश्यकतामा भर पर्ने विषय हो । जापानसँग लड्न हामीले त्यो नीति अंगीकार गर्‍यो ।  कम्युनिष्ट व्यवस्थालाई अहिले हामीले राष्ट्रिय आवश्यकताको रूपमा लिएका छौं ।

माओले नेपाललाई विविध जातिको देश बनाउने प्रस्तावको समर्थन गरे र नेपालले कम्बोडियाबाट सिक्नुपर्ने कुरा बताए । उनले नेपाललाई तटस्थ देशको भूमिकामा रहनु उचित हुने सुझाव दिए । संयुक्त राष्ट्र सङ्घकै एसिया हेर्ने कार्यालय नेपालमा राख्‍न सकिने र त्यसमा चीनको समर्थन हुने माओले बताए । ‘तर, यो कुरामा कम्बोडियाले जस्तो प्रचारमा ल्याइ नहाल्नु ।

कम्बोडियालाई पनि यही प्रस्ताव गरेको तर सिंहानुकले हतारमा यो प्रस्ताव पेरिसमा चौध पन्ध्र देशसामू सार्वजनिक गर्दा सफल भएन । शक्ति देशहरूबीच कुरा नगरी एकैचोटी सबै देशसामू प्रस्ताव राख्दा सफल हुन सकेन । नेपालमा संयुक्त राष्ट्र सङ्घको एसिया हेर्ने केन्द्र स्थापना गर्ने विषयमा पनि रुस र संरा अमेरिकासँग कुरा गर्नुपर्छ । मुख्य कुरा आन्तरिक तयारी गर्नुपर्छ’, माओले भने । पेइचिङमा म एक साता बसें ।

माओलाई पत्र बुझाएर म पेइचिङबाट ल्हासा विमानमै फर्कें । ल्हासाबाट पैदल नै मनाङ फर्कें । म मनाङ पुग्दासम्म चिनियाँहरूको प्रतिनिधिमण्डल नेपाल पुगिसकेका थिए । उनीहरू दौत्य सम्बन्ध कायम गर्न काठमाडौं आइसकेका थिए । त्यत्तिबेला प्रधानमन्त्री टड्ढप्रसाद आचार्य थिए । उनी पछि चीनको भ्रमण गरे । 

चीनले काठमाडौंमा राजदुतावास स्थापना गरे । राजदुतावास खोल्ने काममा भारतले रोक्न सकेनन् । माओको विचार सानो देशलाई पनि मद्दत गर्नुपर्छ, हेप्‍नुहुन्‍न भन्‍ने थियो । भियतनामसँग चीनको धेरै अघि नै मतभेद थियो । तर, भियतनामलाई चीनले पूरै सहयोग गर्‍यो । आजको चीन माओको पालाको चीनको होइन । आज ऊ अहिले विश्वको कसरी नं १ बन्‍ने भन्‍ने दौडमा लागेको छ ।

चिनियाँहरू फेरि एक पल्ट बोले पछि त्यसैमा अडिग हुन्छन् । चीनको सहयोगमा उत्तर कोरियालाई आज संसारको कसैले छुन सकेको छैन । कम्बोडियालाई पनि चिनियाँहरूले सहयोग गरेका थिए । तर नेपालका शासकहरू कुन बेला कतातिर लाग्‍ने हो, कुनै पत्तै हुन्‍न । चीनले बेल्ट एन्ड रोड परियोजना ल्यायो । त्यो परियोजनामा नेपालले पनि हस्ताक्षर गर्‍यो । हस्ताक्षर गरेको झण्डै चार वर्ष पुगिसकेको छ । अहिलेसम्म त्यसको कुनै काम हुन सकेको छैन । 

कोदारी राजमार्ग बनाउने विषयमा सुरुमा बीपी कोइरालाले खुलेर नै विरोध गरेका थिए । पछि महेन्द्रले चीन भ्रमणको क्रममा त्यसबारे सम्झौता गरे । उनी नेपालमा फर्केर आफैले चीनसमक्ष सो राजमार्ग निर्माणबारे प्रस्ताव गरेको बोले । संसारभर बेल्ट एन्ड रोड परियोजना लिएर गइरहेको चीनले आफ्नै दैलोमा फ्रि तिब्बतको नाममा उपद्रव भएको हेरिरहने कुरै भएन । त्यसकारण चीनसँग व्यवहार गर्दा संवदेनशील हुनपर्छ । अहिलेका शासकहरूको व्यवहारले नेपाललाई नै खतरामा पार्न सक्छ ।

माओको छाप 
माओलाई भेट्दा हाम्रो गाउँघरको एक जना बुढापाका मान्छे जस्तो लाग्यो । हाम्रो गाउँघरतिर बुढापाकाले आफूभन्दा सानालाई जस्तो व्यवहार गर्छ, त्यस्तै व्यवहार गरेजस्तो मलाई लाग्यो । मान्छे त विद्वान् हुन् । तर, उनीसँग कुरा गर्दा मलाई कुनै बौद्धिक व्यक्तिसँग कुराकानी गरिरहेजस्तो लागेन । हाम्रै गाउँघरको एक जना पाको मान्छेसँग कुरा गरिरहेजस्तो लाग्यो । 

तर, चाओ एनलाई भने निकै बौद्धिक लाग्यो । चाओ एनलाई, देङ स्याओपिङहरू सबै फ्रान्समा पढेका रहेछन् । मैले पेइचिङ त श्रव्यदृश्यमा मात्र देखेको । ठुलठुला धापिलो पोखरी थिए । त्यस्ता ठाउँमा चाओ एनलाईहरू काम गरिरहेको मैले देखें । चीनको ह्वाङ हो रिभरमा बाह्रै महिना बाढी आएजस्तो पानी धमिलो हुन्छ । त्यो नदीको किनारामा रहेका ठुलठुला ढुंगामा मजदुरहरू कम्मरमा डोरीले बाँधेर छिनाले हिर्काउँदै प्वाल बनाइरहेका थिए । त्यसरी बनाइएका प्वालमा बारुद कोचेर पड्काउँथे । त्यही ढु·ालाई ह्वाङ हो नदीको किनारामा पर्खाल लगाइन्थ्यो । लाखौं लाख मानिस मिलेर काम गरिरहेका थिए । अहिलेजस्तो उपकरण पनि थिएन । ट्रक पनि थिएन । सबै हातले गरिरहेका थिए । 

माओको एउटा भनाइ छ- आणविक कागजी बाघ हो, मुख्य कुरा जनताको शक्ति हो । अमेरिकीहरूसँगको लडाईमा भियतनामीहरूले यो भनाई पुष्टि गरेर देखाए । भियतनामी जनताको बमबारीले अमेरिकी अघि पनि जान नसक्ने अवस्था बन्यो । भियतनामी जनताको शक्तिले अमेरिकाको रकेट, अटम वम सब फिक्का बन्यो । घङ्गारुको काँडाले पनि भियतनामीहरू लडेका थिए । त्यस्ता घङ्गारुका ज·ल सबै अमेरिकीहरूले रसायन प्रयोग गरी ध्वस्त बनाएका थिए । भियतनामीहरूको वाणले यसो छोए मात्र पनि अमेरिकीहरूको ज्यान जान्थ्यो । जनताको शक्ति त्यस्तो बलियो हुने रहेछ । त्यस्तो जनताको शक्ति नेपालमा पनि चाँडै आओस् भन्‍ने लाग्छ ।

(गुरुङ पञ्चायतकालीन मन्त्री हुन् ।)


Author

थप समाचार
x